कक्षा १२ काे परीक्षा असाेजभित्र भइसक्छ: राष्ट्रिय परीक्षा बोर्ड
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोज महिना भित्रमा भइसक्ने बताएको छ । बोर्डका प्लस टुतर्फका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले कक्षा १२ को परीक्षा असोजभित्रमा भइसक्ने बताएका हुन् । ‘स्थिती सामान्य रहे हामी भदौ अन्तिम हप्तादेखि असोजको अन्त्यसम्ममा परीक्षा लिइसक्नेछौं, परीक्षा तयारीको लागि बोर्ड बैठक पनि छिटै बोलाउँदै छौं,’ परीक्षा नियन्त्रक शर्माले भने । कोभिड–१९ संक्रमण नियन्त्रण तथा रोकथामको लागि सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउनका कारण कक्षा १२ लगायत विभिन्न तहको परीक्षा स्थगित भएको थियो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन हटाउँदै परीक्षा लिन पाउने अनुमति दिएसँगै रोकिएको परीक्षाहरु हुने भएको हो । यसअघि एसईईको परीक्षा यस वर्ष नहुने र विद्यार्थीलाई विद्यालयको आन्तरिक मुल्यांकनको आधारमा अंक दिने बताएसँगै केही समय अगडी कक्षा ११ लाई पनि आन्तरिक मुल्यांकनको आधारमा अंकदिने निर्णय भएको थियो । तर कक्षा १२ को हकमा भने परीक्षा लिन बाहेक केही पनि विकल्प नरहेको राष्ट्रिय परीक्षा बोर्डले बताएको थियो । यस बर्ष कक्षा ११ र १२ मा गरेर कुल ९ लाख ६५ हजार विद्यार्थी छन् । जसमा ५ लाख ३२ हजार ६ सय ९२ विद्यार्थी कक्षा ११ मा रहेका छन् भने ४ लाख ३१ हजार ३ सय ३० विद्यार्थी कक्षा १२ मा रहेका छन् ।
आजदेखि त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पसहरु खुल्ने, पठनपाठन भने नहुने
काठमाडौं । सरकारले मंगलबार साँझ लकडाउनको अन्त्य भएको घाेषणा गरेसँगै आजदेखि त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पसहरु पुनः सञ्चालन हुने भएकाे छन । पठनपाठन बाहेक सबै कर्मचारी तथा शिक्षककाे हाजिरी गराई राेकिएका कामहरु अगाडि बढाउने विश्वविद्यालयका रजिष्टार पेसल दाहालले जानकारी दिए । उनी भन्छन्, अहिले सरकारले ताेकेकाे अनुसार कक्षाहरु भने संचालन हुँदैन्न तर अब अन्य कामहरु भने राेकिँदैनन् । नियमित पठनपाठन नहुँदासम्म वैकल्पिक पठनपाठन भने सञ्चालन हुनेछन् । ‘ कोरोना भाइरसको संक्रमण शुरु भएसँगै सबै क्याम्पस तथा कार्यालयहरु २०७६ चैत १० गतेदेखि बन्द गरिएको थियो। जसमा सरकारले २०७७ चैत ११ गतेबाट राष्ट्रव्यापी लकडाउनको घोषणा गरेका कारण सो अवधिभरका लागि त्रिविका क्याम्पसहरुको शैक्षिक गतिविधि स्थगित रहेको थियो।
साउन ८ गतेदेखि शैक्षिक संस्थाले विद्यार्थी भर्ना लिने
काठमाडाैं । सरकारले साउन ८ पछि विद्यार्थी भर्ना गर्न दिने तयारी गरेको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले तत्काल विद्यालयहरु नखोल्ने तर अभिलेखिकरणको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । भर्ना लिए पनि शैक्षिक संस्था भने बन्द नै रहने छन् । सामुदायिक स्कुलका शिक्षकहरुलाई साउन ८ देखि १५ गतेसम्म विद्यालयमा पुग्नु भनिएको छ । साथै क्वारेन्टिन स्थल बनाएका विद्यालयहरुमा निर्मलीकरण गर्ने लगायतका विषयमा पनि निर्णय भएको बताइएको छ ।