चिकित्सा विज्ञान विषयको अध्ययन अध्यापन शुरु गरिने

कास्की ।  गण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालयअन्तर्गत शिक्षण अस्पताल स्थापना गरी चिकित्सा विज्ञान विषयको अध्ययन अध्यापन शुरु गर्ने तयारी गरेको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ को बजेटमा गण्डकी विश्वविद्यालयअन्तर्गत सूचना प्रविधि विषय र शिक्षण अस्पताल स्थापना गरी चिकित्सा विज्ञान विषयको अध्ययन अध्यापन कार्य आगामी आवमा शुरु गर्न ४२ करोड करोड ७५ लाख रुपैयाँ व्यवस्था गरिएको जनाइएको छ । सामुदायिक विद्यालय मध्येबाट छनोट भएका विद्यालयलाई आदर्श विद्यालय र नमूना आवासीय विद्यालयको रूपमा विकास गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बताए । उनका अनुसार गुरुकुल, गुम्बा, मदरसा, भाषिक पाठशाला जस्ता वैकल्पिक विद्यालयको पूर्वाधार विकासमा आवश्यक बजेट विनियोजन गरिएको छ । एमबीबीएसलगायत उच्च प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्तिमा छनोट भएका दलित, अल्पसङ्ख्यक तथा गरिब विद्यार्थीलाई थप प्रोत्साहन गर्न उच्च शिक्षा प्रोत्साहन छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइएको मन्त्री गुरुङले बताए । उच्चशिक्षा अध्ययनरत दलित, अल्पसङ्ख्यक तथा गरिब विद्यार्थीलाई प्रदेश सरकारको आवश्यकताका क्षेत्रमा अनुसन्धान गर्न शोधवृत्ति प्रदान गर्ने व्यवस्था मिलाइएको हाे । शैक्षिक जनशक्तिको क्षमता अभिवृद्धि गर्दै प्रविधिमैत्री शैक्षिक कार्यक्रमलाई निरन्तरता दिन शैक्षिक तालिम केन्द्रलाई रु सात करोड ९५ लाख बजेट व्यवस्था गरिएको मन्त्री गुरुङले बताए ।  रासस

अब अनलाइन कक्षा पढाएको पनि शुल्क लाग्ने

काठमाडौं । निजी विद्यालयहरुले  अनलाइन कक्षा पढाएको पनि शुल्क लिने भएका छन्। निजी तथा आवासीय विद्यालय प्याबसन र एनप्याबसनले असार महिनादेखि शुल्क उठाउने उल्लेख गरेका छन् । असार महिनादेखि शुल्क उठाएर नियमित रुपमा शैक्षिक गतिविधि संचालन गर्ने प्याबसन र एनप्याबसनद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएकाे छ । प्याब्सन अध्यक्ष टीकाराम पुरी र एन-प्याब्सन अध्यक्ष ऋतुराज सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘२०७६ को बाँकी बक्यौता सम्भव भएसम्म चुक्ता गर्ने, २०७७ सालको विद्यालयमा बुझाउनुपर्ने शुल्क भुक्तानी गर्ने जस्ता आर्थिक गतिविधिमा सहभागी भई विद्यालयलाई अधिकतम सहयोग गरिदिनु हुन हार्दिक अपिल गर्दछौं ।’ विद्यालयमा उपस्थित भएर विद्यार्थी भर्नाका लागि समेत उनीहरूले आग्रह गरेका छन् । सामाजिक दूरी कायम राखेर नयाँ तथा पुराना विद्यार्थीले अभिलेखीकरण गराउनुपर्ने विज्ञप्तिमा उल्लेख छ । प्याब्सन र एनप्याब्सनले घुमाउरो भाषामा अनलाइन कक्षाको शुल्क उठाउने स्पष्ट संकेत गरेको छ। उनीहरूले वैशाखदेखि नै अनलाइन कक्षाहरू सञ्चालन भएको उल्लेख गरेका छन्। भर्ना भएका विद्यार्थीहरुलाई उपयुक्त माध्यमबाट पाठ्यपुस्तक लगायतका आवश्यक शैक्षिक सामाग्रस् व्यवस्थापन गर्ने जनाएको छ ।

विद्यार्थी र शिक्षकलाई लक्षित गर्दै भायानेटले ल्यायो हाई स्पीडको प्याकेज

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट सर्भिस प्रदायक भायानेटले ई-लर्निङ्ग र टिभीप्लस नामक दुई नयाँ प्याकेजहरु ल्याएको छ । विद्यार्थी र शिक्षकलाई बिना अवरोध हाई स्पीडमा क्लास संचालन गर्न सहयोग मिलोस् भनेर भायानेटले यो प्याकेज ल्याएको हो । भायानेटको नयाँ ई-लर्निङ्ग प्याकले बिहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म इन्टरनेटको स्पीडलाई ५० एमबीपीएससम्म दोब्बर गर्न सक्छ र अन्य समयमा २५ एमबीपीएसमा संचालन हुन्छ । यस प्याकेजमा ‘फोकस मोड’ विशेषता र नेटटिभी टिभी सर्भिस जस्ता विशेष सेवाहरु समावेश छन् । ‘फोकस मोड’ विशेषता भायासेक्योरद्वारा पावर गरिएको छ र यसको मद्दतले समस्त ध्यान विचलित गर्ने अनलाइन चिजहरु जस्तै कि गेमहरु, युट्यूब, फेसबुक र अन्य थुप्रै साइटहरु एक क्लीकमै असक्षम गर्न प्रयोगकर्तालाई सहयोग मिल्छ । यसले विद्यार्थीहरुलाई कक्षामा राम्ररी ध्यान दिन र अभिभावकलाई उनीहरु आफ्नो काममै ध्यान दिइरहेका छन् भन्ने सुनिश्चितता प्रदान गर्दछ । यसैगरी यस प्याकेजमा समावेश गरिएको नेटटिभी टिभी सर्भिसमा २५० भन्दा बढी च्यानलहरुका साथ पज् र प्ले, क्याचअप टिभी, मूभी अन डिमाण्ड र मोबाइल एप जस्ता विशेषताहरु छन् । ई-लर्निङ्ग प्याकेज प्रति महिना १ हजार ७ सय रुपैयाँमा उपलब्ध छ ।