गर्मी बढेपछि आजदेखि मकवानपुर र चितवनका विद्यालय बन्द, तराईको जनजीवन प्रभावित

काठमाडौँ । अत्याधिक गर्मी बढेपछि आजदेखि मकवानपुर र चितवनका सम्पूर्ण विद्यालयमा बिदा दिने निर्णय गरिएको छ । अत्यधिक गर्मीका कारण हेटौँडा उपमहानगरपालिकाले पाँच दिनका लागि सम्पूर्ण विद्यालयमा बिदा दिने निर्णय गरेको छ । गर्मी बढेपछि अभिभावकको अनुरोध गरेकाले असार २ गते देखि ६ गतेसम्म वर्षे बिदामा कट्टी हुनेगरी पाँच दिन सामुदायिक तथा संस्थागत विद्यालय बिदा दिने निर्णय भएको उपमहानगरको शिक्षा शाखाले जनाएको छ । हेटौँडामा अत्यधिक गर्मी बढेपछि कतिपय विद्यालयका कयौँ विद्यार्थी बेहोससमेत भएका थिए । देशैभरको तापक्रम उकालो लागि रहेको बेला भित्रि मधेस मध्येको सबैभन्दा चिसो शहर मानिने हेटौडाको समेत तापक्रम बढेको हो । अहिले हेटौँडाको तापक्रम ४० डिग्रि सेल्सियसको हाराहारीमा पुगेको छ भने अत्यधिक गर्मी बढेको छ । गर्मीका कारण चहलपहल शुन्य भएको छ भने हेटौँडाका विभिन्न स्थानमा रहेका पौडी पोखरीहरुमा भिड बडेको छ । गर्मी छल्न भारत तथा नेपालका तराई क्षेत्रबाट आएकाले समेत पौडी पोखरीहरु भरिएका छन् । कतिपय व्यक्तिहरु गर्मी छल्न स्थानीय राप्ती, कुखुरेनी तथा सामारी खोलामा समेत पौडी खेल्न पुगेका छन् । यता, अत्याधिक गर्मी बढेसँगै भरतपुर महानगरपालिका क्षेत्रभित्र रहेका विद्यालय तीन दिनका लागि बन्द गरिएको छ । महानगरपालिकाभित्रका विद्यालय असार २ गतेदेखि तीन दिनका लागि बन्द गरिएको हो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीका अनुसार महानगरभित्र रहेका सामुदायिक तथा निजी विद्यालय बन्द गरिएको हो । महानगरप्रमुख रेनु दाहालले बर्खे बिदाबाट मिलान हुने गरी विद्यालय बन्द गरिएको जानकारी दिनुभयो । चितवनमा ३८ डिग्रीभन्दा माथि तापक्रम पुगेको छ । तापक्रम बढेसँगै विद्यालय बन्द गर्नु परेको उनको भनाइ छ । सरोकारवालाको सुझाव र विद्यालयको वस्तुगत अवस्थाको मूल्याङ्कन गरी बिदाको निर्णय लिइएको दाहालले बताउनुभयो । गर्मी बढेसँगै साना बालबालिका बिरामीसमेत पर्न थालेका छन् । यसैबीच, तराईका जिल्लामा अत्याधिक गर्मी बढेपछि धमाधम विद्यालय बिदा दिन थालिएको छ । अचाक्ली बढेको गर्मी छल्न महोत्तरीमा धमाधम विद्यालय बन्द गर्न थालिएका छन् । जेठ अन्तिम सातादेखि क्रमशः बढ्दै गएको प्रचण्ड गर्मी छल्न जिल्लाका स्थानीय तहले धमाधम विद्यालय बन्द गर्न थालेका हुन् । जिल्लाको सोनमा गाउँपालिकाले यही असार ६ गतेसम्म विद्यालय बन्द हुने सार्वजनिक सूचना नै जारी गरेको छ । “बढ्दै गएको घामको रापले स–साना बालबालिका विद्यालयमै आलसतालस पर्न थाले”, सोनमा गाउँपालिका अध्यक्ष राजकुमार यादवले भने, “यसले स्वास्थ्य समस्या बढाउन सक्ने हुनाले गाउँपालिकाभित्रका सबै विद्यालय छ दिन बन्द गर्ने निर्णय गर्यौँ ।” लगत्तै जिल्लाको मनराशिशवा र बलवा नगरपालिकाले पनि आजैदेखि छ दिन विद्यालय बन्द गरिने जनाएका छन् । बिहान सूर्य उदयदेखि साँझ अस्तसम्म एकटङ्कारको घामको राप बढेकाले विद्यालय बन्द लागिएको मनराशिशवा नगरपालिकाका प्रमुख सञ्जयकुमार सिंहले बताए । जिल्लाका अन्य स्थानीय तहले पनि आज नै विद्यालय बन्द गरिनेबारे छलफल गरिने जनाएका छन् । मौसममा सुधार नआए आज नै विद्यालय बन्द गरिने मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलको भनाइ छ । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहले गर्मी छल्न केही दिन विद्यालय बन्द गर्ने तयारी गरेका छन् । जिल्लामा पछिल्ला तीन दिनयता यसअघि कहिल्यै नखेपिएको प्रचण्ड घामको राप बढेको छ । बर्दिवासको भोलावसन्तचोकमा जडित तापमापन सूचना केन्द्रले हिजो शनिबार दिउँसो ३ बजे ४३ डिग्री सेल्सियस तापक्रम देखाएको थियो । अहिले यस भेगमा प्रचण्ड गर्मीको रापले सामान्य हिँडडुल पनि सकस बनेको छ । गर्मीले गर्दा हाटबजार र कार्यालयमा पनि चहलपहल देखिँदैन । गर्मीका कारण महोत्तरीका हाटबजारमा सर्वसाधारणको आवागमन निकै घटेको छ । प्रचण्ड घामको रापले विद्यालय पढ्न जाने स-साना नानी, वृद्धवृद्धा र कडा शारीरिक श्रम गर्ने मजदुर मारमा परेका छन् ।

एसइईको परीक्षाफल असार दोस्रो साता, प्रदेश नं २ मा पुनः परीक्षा हुँदा केही दिन ढिलो

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ । गत वर्ष असार ९ गते नतिजा प्रकाशित भएकामा यस वर्ष भने प्रदेश नं २ मा परीक्षा स्थगित गरी पुनः परीक्षा सञ्चालन गर्नुपरेको र कर्मचारी समायोजनका कारण कर्मचारीको अभाव भएकाले नतिजा प्रकाशनमा केही दिन ढिला हुने भएको बोर्डले जनाएको छ । देशभरका उत्तरपुस्तिका परीक्षण सम्पन्न गरेर नम्बर इन्ट्रीको काम भइरहेको जानकारी दिँदै बोर्डका परीक्षा उपनियन्त्रक चेतनाथ शर्माले ढिलोमा असार दोस्रो सातासम्ममा नतिजा सार्वजनिक गर्ने लक्ष्य लिइएको बताए । यस वर्ष गत चैत १० गतेबाट शुरु भएको एसइई परीक्षामा नियमिततर्फ चार लाख ७५ हजार परीक्षार्थी सहभागी भएका छन् । बोर्डले छिटोमा असार १० गते ढिलोमा असार १४ गतेसम्म नतिजा सार्वजनिक गर्नेगरी काम गरिरहेको बताइएको छ ।

शुक्रबार र शनिबार भारतीय शैक्षिक मेला, उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीलाई उपयोगी

काठमाडौं । ‘भारतीय शैक्षिक मेला २०१९’ शुक्रबारदेखि राजधानीमा शुरु भएको छ । भारतका प्रतिष्ठित कलेज तथा विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरुलाई लक्षित गर्दै त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरको चौंथो तलामा शुक्रबारदेखि उक्त शैक्षिक मेला शुरु भएको हो । ‘स्टडी इन इण्डिया’ भन्ने स्लोगनका साथ शनिबारसम्म चल्ने शैक्षिक मेलामा भारतका प्रतिष्ठित विश्वविद्यालय र कलेजहरुको सहभागिता रहेको आयोजक पक्षले जानकारी दिएको छ । प्लस टु तथा स्नातक दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरिएको एक्स्पोमा भारतमा अध्ययन गर्न उपयुक्त विषय, त्यसको प्रभाव र अध्ययनका लागि आवश्यक तयारीका बारेमा जानकारी दिइएको आयोजक संस्था इन्ट्रोडक्सन ट्रेड शोका कार्यकारी निर्देशक सुमन महर्जनले जानकारी दिए । बिहान १०.३० देखि बेलुकी ५.३० बजेसम्म चल्ने भारतीय शैक्षिक मेलामा उच्च शिक्षा अध्ययनको लागि भारतको एनएएसि, एबिईटि, एनबिए लगायतबाट मान्यताप्राप्त उत्कृष्ट विश्वविद्यालय तथा कलेजको बारेमा नेपाली विद्यार्थीहरुलाई जानकारी दिइएको छ । इन्जिनियरिङ, म्यानेजमेन्ट, प्यारामेडिकल, फेसन डिजाईन, आईटी, पाईलट ट्रेनिङ र आयुर्वेदिक लगायतका संकायका बारेमा जानकारी दिइने उनले बताए । एक दशकभन्दा लामो समय व्यवसायिक ढंगले काम गरेका परामर्शदाताहरुले एउटै थलोमा बसेर सत्यतथ्य तथा भरपर्दो जानकारी उपलब्ध गराउने भएकाले मेला नेपाली विद्यार्थीको लागि विशेष रहने आयोजकको अपेक्षा रहेको छ । मेलामा विद्यार्थीले निःशुल्क रुपमा भारतबाट आउने ठूला र उत्कृष्ट विश्वविद्यालयबाट परामर्श, शुल्क संरचना, कलेजको वातावरण, छात्रबृत्ति, भारतीय शिक्षाका प्रावधान र व्यवस्था, भर्ना हुने तरिका, होस्टेल, खानालगायतको बारेमा प्रत्यक्ष र विस्तृत रुपमा जानकारी दिइने ट्रेड शोका कार्यकारी निर्देशक महर्जनले जानकारी दिए । एकै थलोमा चालिस भन्दा बढी भारतीय कलेज र विश्वविद्यालयको प्रतिनिधित्व रहने सो मेलामार्फत विद्यार्थीले भारतसम्म पुगेर सबै कलेज र विश्वविद्यालय घुमिरहने झन्झटबाट मुक्त गर्न मद्दत मिलेको आयोजक पक्षको भनाई छ ।