शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिने ६ जना मात्रै, के भयो गडबडी ?

काठमाडौं । नेकपाका अध्यक्ष केपी शर्मा ओलीको दुई तिहाईको सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यक्रम ल्यायो । तर, सुन्दा लोकप्रिय लाग्ने शिक्षित युवा स्वरोजगार कर्जा कार्यक्रम असफल भएको छ । यसरी शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिनेको संख्या अहिलेसम्म जम्मा ६ मात्रै छ । उनीहरुले यो कार्यक्रम मार्फत २५ लाख रुपैयाँ सहुलियत कर्जा लिएका छन् । जेठ २३ मा प्रतिनिधि सभामा आगामी आवको बजेट माथिको छलफल कार्यक्रममा सहभागी सांसदहरुले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिने कुरा किन कार्यान्वयन भएन ? यसमा के गडबडी भयो भन्दै अर्थमन्त्री समक्ष प्रश्न तेस्र्याएका थिए । जवाफमा अर्थमन्त्री डा. युवराज खतिवडाले सरकार ऋण दिन तयार हुँदाहुँदै पनि युवाहरुले यस कार्यक्रमप्रति चासो नदिएको तर्क गरे । तर, यसरी युवाहरु आकर्षित हुन नसक्नु पछाडीको कारणबारे भने उनले खुलाएनन् । यसरी ऋण लिेन प्रकृया झण्झटिलो छ, कत्ति युवाहरु त बैंकबाट रित्ता हातसमेत फर्किएको भन्दै सांसदहरुले आक्रोश पोखेका थिए । सरकारले सहुलियतापूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५ कार्यान्वयनमा ल्याएसँगै नेपाल राष्ट्र बैंकले २०७५ असोज ११ गते नै सबै वाणिज्य बैँक तथा वित्तीय संस्थालाई परिपत्र गरी शैक्षिक ऋण दिने व्यवस्था गर्न निर्देशन दिएको थियो । राष्ट्र बैंकले योग्य नागरिकलाई शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखी ऋण लिएर व्यवसाय गर्न सक्ने बताएसँगै धेरै युवाहरु उत्साहित भएका थिए । तर, चालु आवको बजेट कार्यान्वयनको नौ महिनामा जम्मा ६ जना युवाहरुले मात्रै यस्तो ऋण पाएका हुन् । यस सम्बन्धमा अर्थमन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले कार्यविधिमा प्रकृया नमिलेकोले शुरुमा शैक्षिक ऋण लिन समस्या आएको हो, तर अहिले भने यस्तो केही समस्या नभएको बताए । ६ जनाले मात्र कर्जा पाएको भन्ने तथ्याङ्क गत चैत महिना सम्मको मात्रै हो–उनले भने । बैशाख र जेठमा शैक्षिक कर्जा लिनेको संख्या बढ्दै गएको उनले बताए । कसरी लिने कर्जा ? अर्थ मन्त्रालयले उक्त कार्यविधि अनुसार शैक्षिक कर्जा वाणिज्य बैंक, विकास बैंक र अन्य वित्तीय संस्थाबाट पाइन्छ । तर, लघुवित्त संस्थाले भने त्यस्तो ऋण दिन पाउने छैनन् । सरकारको योजनानुसार कम्तिमा स्नातक तह उत्तीर्ण गरेको र ४० बर्ष ननाघेको नेपाली युवाले ७ लाख सम्मको शिक्षित युवा स्वरोजगार कर्जा र माध्यमिक वा सो सरह उत्तीर्ण गरी २५ वर्ष ननाघेका नेपाली युवाले ५ लाख सम्मको उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा लिन पाउने छन् । कर्जा नपाए के गर्ने ? सबै आवश्यक कागजात बैंकलाई बुझाईसकेपछी बैंकले २१ दिनभित्रमा ऋण लिन चाहने व्यक्तीलाई जवाफ दिईसक्नु पर्ने व्यवस्था रहेको छ । यदी बैंकहरु यसो नगरेको खण्डमा गुनासोको लागि सम्बन्धित व्यक्तीले टोल फ्री नं मार्फत आफ्नो गुनासो राख्न पाउनेछन् । गुनासो सुनुवाईको लागि डेपुटी गभर्नरको समूहमा अर्थमन्त्रालयको तर्फबाट एकजना सहसचिव पनि हुन्छन् । बैंकले सेवाग्राहीलाई ऋण नदिएको बारे जवाफ दिनुपर्नेछ । अर्थमन्त्रालयका प्रवक्ता खत्री भन्छन्–‘सेवाग्राहीले कार्यविधि पालना गरेको अवस्थामा बैंकले ऋण दिदैनौं भन्न मिल्दै मिल्दैन।’ कुन विधामा कति जनाले लिए सहुलियतपूर्ण कर्जा ? सरकारले प्रदान गर्दै आएको विभिन्न ७ विधाको सहुलियतापूर्ण कर्जामा गत चैत महिनासम्म १४,९२३ लाभान्वित भईसकेका छन् । चालु आवमा सहुलियतपूर्ण कर्जाका लागि ५ अर्ब बजेट छुट्याइएको थियो । कर्जा लिनेमा सबैभन्दा बढी कृषि तर्फबाट १४,६३९ जना, शिक्षित युवा स्वरोजगार कर्जा ६ जना, महिला उधमशील कर्जा १७० जना, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा ५५ जना, दलित समुदाय व्यवसाय विकास कर्जा १५ जना, विदेशबाट फर्किएका युवा परियोजना कर्जा ११ जना र भूकम्प पीडितहरुको निजी आवास निर्माण कर्जा २७ जनाले लिएका छन् । कस्ता व्यक्तिले पाउँछन् सहुलियत कर्जा ?  सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५ मा यस्तो उल्लेख छ ।

जापान सरकारको करिब डेढ करोडभन्दा माथिको लागतमा आधारभूत विद्यालय भवन निर्माण सम्पन्न

काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–१९ स्थित गणेश आधारभूत विद्यालय कुवापानीमा जापान सरकारको सहयोगमा निर्मित चारकोठे भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । आधारभूत तह कक्षा १ देखि ५ सम्मका लागि आवश्यक फर्निचरसहितका सामग्रीसमेत गरी कूल एक करोड ७७ लाख २६ हजार ३०३ रूपैयाँको लागतमा  विद्यालय निर्माण भएको साे भवन विद्यालयलाई हस्तान्तरण गरिएको हो । भवनमा छात्रछात्रा शौचालय, स्टोर, प्रधानाध्यापक कक्ष र भान्साकोठा रहेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर रुम्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का प्रमुख बद्रीबहादुर पाठक, जाइका परामर्शकर्ताको तर्फबाट जिल्ला आवासीय इञ्जिनीयर रोजेशगोविन्द श्रेष्ठ, निर्मल मावि बस्तीपुरका प्रधानाध्यापक प्रवोध बिडारी, जिल्ला आयोजना कार्यान्वयन एकाइका इञ्जिनीयर सन्दीप अधिकारी, वडा नं १९ का वडासदस्य वागसिं स्याङ्तान, निर्माण कम्पनी स्वच्छन्द खानी बानियाँ जेभी निर्माण सेवाका सागर भण्डारी, प्राविधिक र अभिभावक समेतको उपस्थिति रहेकाे थियो । यसैगरी, निर्माण सेवाका तर्फबाट सागर भण्डारीले विद्यालयको साँचो जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुखलाई हस्तान्तरण गरेका छन्र  भने  एकाइ प्रमुखले विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई भवन हस्तान्तरण गरेका हुन्र । साथै, भवनले कुवापानी क्षेत्रका बालबालिकाको गुणस्तरीय पठनपाठनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । उक्त  कार्यक्रममा वक्ताहरुले हस्तान्तरण भएको भवनको सरसफाइ, उचित व्यवस्थापन र संरक्षणमा रचनात्मक भूमिका खेल्न सबैमा आग्रह गरे ।विद्यालय पुनःनिर्माणअन्तर्गत मकवानपुर जिल्लामा जाइकाको ऋण सहयोगमा निर्माणाधीन ४१ विद्यालयमध्ये प्रथम चरणमा निर्माण थालिएका तीन विद्यालय यसअघि नै हस्तान्तरण भएका छन् । रासस

गरिमा विकास बैंकद्वारा १० जना विधार्थीलाई ५० हजार छात्रबृत्ति प्रदान

काठमाठौँ । गरिमा विकास बैंक लिमिटेडले मोरङ्ग जिल्लाको सुन्दरहरैचामा स्थित सुकुना बहुमुखी क्याम्पसमा कक्षा १२, स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत १० जना विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको छ । मंगलबार विद्यालयम आयोजित कार्यक्रममा ५० हजार रुपैयाँ छात्रबृत्ति प्रदान गरिएको हो । बैंकको धरान क्लष्टरका कर्मचारी सुदीप आचार्यले विद्यार्थीहरुलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।