सेन्ट्रल फाइनान्सको ७ प्रतिशत नगद लाभांश पारित, केन्द्रिय कार्यालय सारिँदै

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडको प्रस्तावित ७ प्रतिशत नगद लाभांश पारित भएको छ । मंगलबार सम्पन्न संस्थाको २२औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेबमोजिम संस्थाले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट सेयरधनीलाई सो मात्राको नगद लाभांश वितरण गर्ने भएको छ । हाल ८ स्थानमा शाखा संचालन गरिरहेको यस फाइनान्सले आगामी साताबाट सिन्धुलीको भिमानमा थप एक शाखा संचालनमा ल्याउने तयारी गरेको छ । साथै, आगामी दिनमा थप शाखा स्थापना गरी शाखा सञ्जाल र कार्यक्षेत्र थप विस्तार गर्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत(सीईओ) रजोजमान श्रेष्ठले बताएका छन् । ललितपुरको कुपण्डोलमा केन्द्रिय कार्यालय रहेको यस संस्थाको चुक्ता पुँजी ८२ करोड ३५ लाख रुपैयाँ रहेको छ । त्यस्तै, निक्षेप ३ अर्ब १३ करोड र कर्जा लगानी २ अर्ब ९८ करोड रुपैयाँ रहेको सीईओ श्रेष्ठले बताए । त्यस्तै, प्रविधिको उच्चतम प्रयोग गरी थप आधुनिक सेवा प्रदान गर्ने उद्देश्यले आगामी २०७६ साल असार मसान्तदेखि ललितपुरको कुपण्डोलस्थित संस्थाको जग्गामा केन्द्रिय कार्यालय सारिने सीईओ श्रेष्ठले बताएका छन् । हाल उक्त जग्गामा कर्पोरेट भवन निर्माण कार्य भइरहेको उनले जानकारी दिए ।

सात महिनामा १४ वटा हिमाल चढ्ने उद्देश्य बोकेका निर्मल पूर्जालाई प्रिमियर ईन्स्योरेन्सले सहयोग गर्ने

काठमाडौ । प्रिमियर ईन्स्योरेन्स कम्पनीले ७ महिनामा विश्वका ८ हजार मिटर उचाई भएका १४ वटा हिमाल चढ्ने उद्देश्य राखेका निर्मल पूर्जा‘निम्स’ लाई सहयोग गर्ने भएको छ । चितवनमा जन्मिएका पूर्जालाई ईन्स्योरेन्स कम्पनीले दुर्घटना बीमा, व्यक्तीगत दुर्घटना बीमा, हाई अल्टिच्यूट बीमा तथा आवश्यकताको अवस्थामा रेक्यूसम्ममा साथ दिने भएको छ । पर्यटकीय क्षेत्रमा रहेको जोखिम बहन गर्न ईन्स्योरेन्स कम्पनीले आफ्नो तर्फबाट सहयोग गर्न लागेको जनाएको छ । पूर्जालाई हामा आईरन स्टिलको समेत साथ रहने जनाईएको छ । पर्वतारोहण कै सन्दर्भलाई लिएर मंगलबार राजधानीमा आयोजित कार्यक्रममा प्रिमियर ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सिईओ) सुधुम्नप्रसाद उपाध्याय तथा हामा आईन एण्ड स्टीलका प्रबन्ध निर्देशक राजनकृष्ण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रिमियर ईन्स्योरेन्सका सिईओ उपाध्यायले भने– ‘नेपालमा पर्यटकीय क्षेत्रमा धेरै अवसरहरु छन्, जोखिमहरुपनि प्रशस्तै रहेका छन्, यदी हामीले बीमाको बारेमा जानकारी लिएमा यस्ता जोखिम बहन गर्न सघाउ पुग्दछ ।’ को हुन त निर्मलपूर्जा ? निर्मल पूर्जा सन् २००३ मा ब्रिटिश गोर्खा बिग्रेडमा नियुक्त भई हाल ‘ब्रिटिश स्पेशल बोट सर्भिस’ को विषेश अंगको रुपमा कार्यरत छन् । उनले सन २०१२ देखी पर्वतारोहणमा सहभागी भई एभरेष्ट बेस क्याम्पसम्मको अनुभव प्राप्त गरेका छन् । पर्वतारोहणको ज्ञान नभएपनि पूर्जाले लबोचे इस्ट हिमाल ६ हजार १ सय मिटर चढ्ने निर्णय गरे । उनले १३ गोर्खालाई चुचुरोमा पुर्याउन सफल भएका थिए । १० घण्टा १५ मिनेटमा एभरेष्टदेखी लोत्से आरोहण गरी २० घण्टाको लोत्से, मकालु कम समयमा चढेर किर्तिमान समेत कायम गरेका छन् । विश्वका १४ वटा ८ हजार मिटरभन्दा माथिका हिमालहरु ७ वर्ष ११ महिना १४ दिनमा चढेर पहिले नै एक पर्वतारोहीले आरोहण गरी पूरा गरी विश्व रेकर्ड कायम राखेको पाईन्छ । पूर्जाले सो विश्व रेकर्ड ७ महिनामा पूरा गर्ने लक्ष्य राखेका छन् ।

सिद्धार्थ बैंकले थप्यो २ नयाँ शाखा

काठमाडौँ । सिद्धार्थ बैंकले मंगलबार इचंगुनारायण र धनेश्वर स्थित दुई शाखाहरुको औपचारिक उद्घाटन गरेको छ । बैंकको इचंगुनारायण शाखाको उद्घाटन नागार्जुननगरपालिकाका उपमेयर सुशीला अधिकारीबाट र धनेश्वर शाखाको उद्घाटन टोखा नगरपालिकाका उपमेयर ज्ञानमाया डङ्गोलबाट भएको थियो । सबैक्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले हालै सञ्चालनमा आएको शाखाहरु सहित बैंकले देशभर १४६ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १५६ एटीएम र १,२०० भन्दा बढी पीएसओ मेसिन मार्फत उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।