धितोपत्र बोर्डको तालाबन्दी खुल्यो, सेयर लगानीकर्ता दवाव समूहको बैठक बस्दै
काठमाडौं । सेयर लगानीकर्ता दवाव समूहले आइतबार नेपाल धितोपत्र बोर्डमा लगाएको ताला प्रहरीले खुलाएको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डमा बिहान ९ बजेदेखि ताला लगाएका थिए । तालाबन्दीका कारण ३ जना कार्यालय भित्र थुनिएका थिए भने बाँकी कर्मचारी कार्यालयमा प्रवेश गर्न पाएका थिएनन् र कार्यालयको काम प्रभावित भएको थियो । प्रहरीले ताला फुटाएपनि समूहका अध्यक्ष हरि ढकाल भन्छन्, “प्रहरीले हामीलाई बोर्डबाट लाठीचार्ज गरेर लखेट्यो । सयौँ जनाको संख्यामा प्रहरी उपस्थित भएर आन्दोलनमा हस्तक्षेप गरेको छ ।” अब यस बारेमा लगानीकर्ता समूहको कोर टिमको बैठक बसेर अब के गर्ने भन्ने बारे निर्णय लिने उनले बताए । पूँजी बजारसम्बन्धी ३२ बुँदे मागको सुनिवाई नभएको भन्दै आन्दोलनमा उत्रिएको अध्यक्ष ढकालले बताए ।
महालक्ष्मी र एभरेष्ट इन्स्योरेन्सबीच बैंकास्योरेन्स संझौता
काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बंैकास्योरेन्स सम्झौता भएको छ । सम्झौता पत्रमा आइतबार महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरेका छन् । सम्झौताबाट महालक्ष्मी विकास बैंकका सम्पूर्ण शाखाहरु मार्फत सरल, सुलभ र उत्कृष्ट सेवासहित एभरेष्ट इन्स्योरेन्स कम्पनीका विभिन्न निर्जिवन बीमालेखहरु उपलब्ध हुनेछन् । साथै बिमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बिमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
नेपाल धितोपत्र बोर्डको कार्यालयमा लगानीकर्ताले लगाए ताला, ३ जना थुनिए
काठमाडौँ । नेपाल धितोपत्र बोर्डको कार्यालयमा शेयर लगानीकर्ता दबाब समूहले आइतबार ताला लगाएका छन् । बिहान ९ बजेदेखि नै कार्यालयमा तालाबन्दी गरिएको छ । शेयर बजारको विकासमा बोर्ड बाधक बनेको लगानीकर्ता बताएका छन् । गत मंसिरमा पूँजी बजारसम्बन्धी माग राखेर लगानीकर्ताहरु अनसन बसेका थिए । त्यतिबेला सरकारले लगानीकर्ताका माग सम्बोधन गर्न कार्यदल गठन गरेको र कार्यदलले लगानीकर्ताका माग पूरा गर्न भन्दै ५८ बुँदे सुझाब दिएको थियो, तर सो ५८ बुँदा कार्यान्वयन नगरेको भन्दै लगानीकर्ता आन्दोलित भएका हुन् । आइतबार बिहानबाटै गरिएको तालाबन्दीका कारण ३ जना कार्यालय भित्र थुनिएका छन् भने बाँकी कर्मचारी कार्यालय प्रवेश गर्न पाएका छैनन् । शिक्षा तथा तालिम शाखामा कार्यरत राजुबहादुर जीसीसहित २ जना सफाई कर्मचारीहरु थुनिएको बुझिएको छ ।