ग्लोबल आइएमईले निष्काशन गर्यो ऋणपत्र,  १०.२५ % ब्याजदर

काठमाडौँ । ग्लोबल आइएमई बैंकले सर्वाधिक व्याज दर १०.२५% सहितको ऋणपत्र निष्कासन गरेको छ । उक्त ऋणपत्रमा बजारमा उपलब्ध अन्य ऋणपत्रहरु मध्ये सवैभन्दा बढि १०.२५% व्याजदर रहेको छ । फागुन ११ गतेदेखि खरिद गर्न सकिने गरी १५ लाखकित्ता ऋणपत्र निष्कासन गरिएको हो । ५ वर्षमा परिपक्क हुने कुल १५ लाख कित्ता ऋणपत्र मध्ये ५ लाख ९७ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् भने ३ हजार कित्ता सामुहिक लगानी कोषका लागि र बाँकी ९ लाख कित्ता संस्थागत लगानीकर्ताको लागि छुट्याईएको छ । सर्वसाधारण लगानीकर्ता तर्फ प्रतिकित्ता १ हजार रुपैयाँका दरले न्यूनतम २५ देखि ७५ हजार कित्तासम्म आवेदन दिन सकिने छ भने संस्थागत लगानीकर्ताहरुको लागि अधिकतम लगानी सिमा लागू हुनेछैन । सी–आस्वाको माध्यमबाट फागुन १५ गते देखि फागुन १९ गतेसम्म आवेदन दिन सकिने ऋणपत्रमा उक्त अवधि भित्र आवश्यक मात्रामा बिक्री नभएमा चैत्र १४ गते सम्म पनि आवेदन दिई लगानीकर्ताले आफ्नो लगानीमा उच्चतम प्रतिफल प्राप्त गर्न सक्नेछन् । अर्धवार्षिक रुपमा ग्लोबल आइएमई बैंक लि. का जुनसुकै शाखाहरु मार्फत व्याज भुक्तानी लिन सकिने र लगानीकर्ताले आवश्यकता परेको खण्डमा सोही ऋणपत्र धितोमा राखेर अन्य कुनैपनि बैंकबाट कर्जा लिन सक्नेछन् । ऋणपत्र फारम ग्लोबल आइएमई बै.क लि. का सम्पूर्ण शाखा कार्यालयहरुका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र ती संस्थाहरुका तोकिएका शाखा कार्यालयहरुबाट निःशुल्क प्राप्तगर्न सकिनेछ ।

मुक्तिनाथले इटहरीमा वितरण गर्यो डस्टबीन

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सुनसरीको ईटहरी शाखाले डस्टबीन वितरण गरेको छ । ईटहरी बजार वरिपरीको सरसफाईमा ध्यानदिदैं टोल तथा बजारको सरसफाई गरी बजारका मुख्यचोकहरु लगायत इलाका प्रहरी कार्यालय, ईटहरीमा डस्टबीन वितरण गरेको बैंकका सूचना अधिकारी तिलबहादुर गुरुङले जनाएका छन् ।

सदर चिडियाखानामा शैक्षिक केन्द्र उद्घाटन, इन्भेस्टमेन्ट बैंकको ५० लाख सहयोग

काठमाडौँ । जावालाखेल स्थित सदर चिडियाखानामा ‘फिल्ड मार्शल सर जोन च्यापल शैक्षिक केन्द्र’को उद्घाटन भएको छ । वन तथा वातावरण मन्त्री एवम् राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष शक्तिबहादुर बस्नेतले मंगलबार केन्द्रको उद्घाटन गरेका हुन् । सो समारोहमा नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसले सर जोन च्यापलको प्रतिनिधित्व गरेकोे थियो । समारोहमा वन तथा वातावरण मन्त्रालयका सचिव डा. बी.एन. ओली, राष्ट्रिय प्रकृति संरक्षण कोष-सदर चिडियाखानाको परियोजना व्यवस्थापक डा. चिरञ्जीवीप्रसाद पोखरेल तथा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे लगायतको उपस्थिति रहेको थियो । ११ लाखले गरे अवलोकन आर्थिक वर्ष २०७४/७५मा ११ लाख ५९ हजार ११४ जनाले सदर चिडियाखानाको अवलोकन गरेका छन् । विद्यालयमा अध्ययनरत बालबालिकाहरूमा संरक्षण शिक्षासम्बन्धी कार्यक्रम सञ्चालित गरिने सदस्यतामा आधारित कार्यक्रम ‘फ्रेन्ड्स अफ जू’ मा हाल काठमाडौं उपत्यका भित्रका १२३ विद्यालयका ८० हजार विद्यार्थीहरू सदस्य भइसकेका छन् । इन्भेस्टमेन्ट बैंकको सहयोग नेपाल इन्भेस्टमेन्ट बैंकले आफ्नो संगठित व्यावसायिक उत्तरदायित्व रणनीति अन्तर्गत नेपाल प्राकृतिक संरक्षण कोषको यस कार्यमा सहकार्य गरेको छ । नेपालको एकमात्र चिडियाखानामा शैक्षिक श्रव्यदृष्य केन्द्र स्थापना गर्न स्वेच्छिक सहयोग गरेको हो । प्रविधिको प्रयोगबाट सिकाईको अनुभवद्वारा बढाउन सकिन्छ भन्नेमा विश्वास नेपाल इन्भेस्टमेन्ट बैंकले लिएको छ । चिडियाखानामा संरक्षण र सार्वजनिक शिक्षा, विशेषतः युवा पिढीका लागि सूचना केन्द्रको आवश्यकता देखिएको छ । त्यसैले नेपाल इन्भेस्टमेन्ट बैंकले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई ५० लाखको वित्तीय सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । जसले अन्ततः केन्द्रीय चिडियाखानामा आगन्तुकहरूको सिकाइका अनुभव र समग्र वन्यजन्तुको व्यवस्थापनमा सुधार गर्ने बैंकले जनाएको छ ।