नबिल बैंकलाई नेप्सेको प्रष्टीकरण, २४ घण्टाभित्र जवाफ दिनुपर्ने
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले नबिल बैंक लिमिटेडलाई स्पष्टिकरण सोधेको छ । नेप्सेले सूचना समयमा नपठाएको भन्दै बैंकलाई २४ द्दण्टे स्पष्टिकरण सोधेको हो । नविल बैंकले आफ्नो ३४ औं वार्षिकोत्सव यही फागुन २७ गते गर्दैछ । त्यसका लागि शुक्रबार फागुन १४ गतेलाई शेयरधनी किताब बन्द गर्ने बैंकले नेप्सेलाई गराएको थियो । त्यो सूचना समयमा नपठाएको भन्दै नेप्सेले कारणसहित जवाफ दिन भनेको हो । नेप्से सूचीकरण सम्झौताको बुँदा १० मा यदि कुनै कम्पनीले शेयरधनी दर्ता किताब बन्द गर्ने भए त्यसको एक साता अघि नेपाल स्टक एकसचेञ्जलाई जानकारी गराउनुपर्ने उल्लेख गरिएको छ । नेप्सेले भने ४ दिन अघि मात्र त्यस्तो जानकारी पठाएकोले के कति कारणले त्यस्तो भएको हो जवाफ दिन भनेको हो ।
कृषि विकास बैंकबाट विनाधितो सहूलितयपूर्ण कर्जा, मन्त्रालयसँग भयो सम्झौता
कास्की । कृषि विकास बैंकले सहूलियतपूर्ण कर्जामा विनाधितो ऋण लगानी गर्ने भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश र कृषि विकास बैंक लिमिटेड क्षेत्रीय कार्यालय पोखरा बीच बिहीबार भएको सम्झौतापत्रमा कृषि, पशुपालनलगायतका सहूलियतपूर्ण कर्जामा मन्त्रालयको सिफारिसमा बैंकले नियमानुसार व्यक्तिगत तथा सामूहिक जमानीमा विनाधितो ऋण प्रवाह गर्ने समझदारी भएको छ । सो सम्झौतापत्रमा मन्त्री लेखबहादुर थापाको उपस्थितिमा मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठ र बैंकका क्षेत्रीय निर्देशक चेतनारायण सापकोटाले हस्ताक्षर गरे । कृषि क्षेत्रको व्यावसायिकतामा विकास गरी उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न मन्त्रालयले कृषि, पशुपक्षी तथा मत्स्यपालन र सहकारी तथा गरीबी निवारणसम्बन्धी कार्यक्रमलाई बैंकले प्राथमिकता दिने समझदारी भएको छ । कृषक, कृषि व्यवसायी र सहकारी संस्थालाई मन्त्रालयले प्रदान गर्ने अनुदानको रकम बैंकले खातामार्फत प्रदान गर्ने र शाखा नभएको ठाउँमा अन्य बैंकसँगको सहकार्यमा शून्य मौज्दातमा खाता खोल्ने सम्झौतामा उल्लेख छ । त्यस्तै बैंकले शैक्षिक प्रमाणपत्रका आधारमा नियमानुसार कर्जा प्रवाह, परियोजना धितो स्वीकार, गण्डकी प्रदेशभरको जग्गाजमीन र व्यवसाय धितो स्वीकार गरी सर्वसुलभ ब्याजदरमा लगानी गर्ने उल्लेख छ । मन्त्रालयका सचिव श्रेष्ठले सम्झौताबाट मन्त्रालयले सञ्चालन गर्ने कार्यक्रमलाई बैंकले प्राथमिकता दिएर कार्यक्रम कार्यान्वयनमा सहयोग पुग्ने बताए । बैंकका निर्देशक सापकोटाले बैंकले यसअघि सहुलियत कर्जामा विनाधितो लगानी नगरेको र यसपछि पाँच प्रतिशत ब्याजदरमा लगानी गरिने बताए । रासस
बझाङ र डोटीमा बीमा कम्पनीको उपशाखा बिस्तार
काठमाडौँ । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी लिमिटेडले बझाङको जयपृथ्वी नगरपालिका र डोटीको दिपायल सिलगढी नगरपालिकामा आफ्नो उपशाखा बिस्तार गरेको छ । फागुन ३ गते बझाङको जय पृथ्वी नगरपालिका वाड नं १० चैनपुर तथा फागुन ६ गते सोमबार डोटीको दिपायल सिलगढी ६ मा उपशाखाहरु संचालनमा ल्याएको हो । हाल सञ्चालनमा आएका उपशाखाबाट मोटर बीमा, सम्पती बीमा, ईन्जिनियरिङ बीमा, स्वास्थ्य बीमा लगाएत सबै प्रकारका निर्जीवन बीमाका बीमालेख जारी गरिने कम्पनीले जनाएको छ । कम्पनीका बजार विज्ञ सुकल्याण पराजुलीले कार्यालयले बीमाको पहुँच बढाउन सहयोग गर्ने जानकारी दिए । यसरी दिपायल सिलगढीकी नगर प्रमुख मञ्जु मलासीले बीमाको विकासले आर्थिक विकासमा सहयोग पुरयाउनेमा समेत जोड दिइन् ।