एनसीसी बैंक र सन नेपाल लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी) लिमिटेड र सन नेपाल लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौता अनुसार एनसीसी बैंकले आफ्नो जुनसुकै शाखाबाट लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने छ । उक्त सम्झौतामा एनसीसी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र सन नेपाल लाईफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याललले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

राष्ट्रिय बीमा कम्पनीे र ओम डभेलपमेन्ट बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेड र ओम डभेलपमेन्ट बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र राष्ट्रिय बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत वीर बिक्रम रायमाझिले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात बैंकले आफ्नो सम्पत्ति, ग्राहक तथा कर्मचारीहरुको दुर्घटना, स्वास्थ्य र लगानी गरिएको सम्पत्तिमाथीको विभिन्न प्रकारको बीमा राष्ट्रिय बीमा कम्पनीबाट सजिलै गर्न सक्नेछ । अब बैंकका ग्राहकहरुले कम्पनीको जुनसुकै शाखाबाट सबै प्रकारका निर्जीवन बीमा लेख प्राप्त गरी आवश्यक परेको समयमा दाबी भुक्तानी पनि सजिलै दिन सक्नेछन् । यो सम्झौताले ओम डेभलपमेन्ट बैंकको सबै प्रकारको लगानीलाई सुरक्षा दिनुका साथै बैंक र बीमाको माध्यमबाट नै देशको अर्थ व्यवस्थामा प्रभावकारी विकास गर्न सकिने छ ।

एशियन लाईफले ल्यायो जीवन संजीवनी योजना, ५० हजारमै बीमा गर्न सकिने

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ जीवन बीमा योजना “जीवन संजीवनी” (अग्रिम भुक्तानी सावधिक र आजीवन) सार्वजनिक गरेको छ । कम्पनीको संचालक समितिका अध्यक्ष दिपकुमार श्रेष्ठले शनिबार आयोजित एक कार्यक्रमका अवसरमा नयाँ बीमा योजना सार्वजनिक गरेका हुन् । न्यूनत्तम ५० हजारको बीमाङ्कमै शुरु गर्न सकिने यस योजनामा बीमितले बीमा अवधीभर पटक-पटक किस्तामा भुक्तानी पाउनेछन् । त्यस्तै, बीमित ९९ वर्ष पुरा हुन्जेल जीवितै रहेमा थप बीमाङ्क रकम भुक्तानी पाउने कम्पनीले जनाएको छ । यस अन्तर्गत बीमितले बीमाको अवधीका आधारमा बीमा शुरु भएको ३ वर्षदेखि नै किस्तामा बीमाङ्कको रकम भुक्तानी पाउनेछन् । साथै, उनीहरुले रकम भुक्तानी पाउन बीमा समाप्ती अवधीसम्म कुर्नु नपेर्ने इन्स्योरेन्सले बताएको छ । यदि बीमा अवधीभित्रै बीमितको मृत्यु भएमा परिवारजनले बाँकी बीमाशुल्क नतिरी नै बीमाङ्क रकम र आर्जित बोनस एकमुष्ठ भुक्तानी पाउने छन् । यस कम्पनीको अधिकृत पुँजी ५ अर्ब रुपैयाँ र चुक्ता पुँजी १ अर्ब २५ करोड ६७ लाख रुपैयाँ रहेको छ । कम्पनीले यसअघि नै १८ वटा जीवन बीमा योजनाहरु प्रचलनमा ल्याई सकेको छ ।