एनआईसी एशिया बैंक र रिलायन्स लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । एनआईसी एशिया बैंकले रिलायन्स लाईफ इन्स्योरेन्ससँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले बैंकको जुनसुकै शाखाहरुबाट रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुलीले हस्ताक्षर गरेका छन् ।
ग्लोबल आईएमई लघुवित्तले १५ प्रतिशत बोनस दिने
काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १५ प्रतिशत बोनस दिने भएको छ । साथै, संस्थाले कर प्रयोजनको लागि ७ लाख ५८ हजार २८९ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ । लघुवित्तको हालै सम्पन्न सञ्चालक समितिको बैठकले संस्थाले गत आर्थिक वर्ष २०७४/७५को असार मसान्तमा कायम रहेको चुक्ता पुँजीको सो मात्राको बोनस सेयर दिने प्रस्ताव गरेको हो । हाल संस्थाको चुक्ता पुँजी ९ करोड ६० लाख ५० हजार रुपैयाँ रहेको छ । १५ प्रतिशत (अर्थात एक करोड ४४ लाख ७ हजार ५०० रुपैयाँ) बोनस पश्चात संस्थाको चुक्ता पुँजी ११ करोड रुपैयाँ नाघ्ने छ । उक्त सञ्चालक समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।
गुराँश लाईफ इन्स्योरेन्सको नाफा ५ करोड ७२ लाख
काठमाडौं । गुराँश लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०७४/०७५ मा ३७ प्रतिशत नाफा बढाएको छ । गत आर्थिक वर्षमा कम्पनीले ५ करोड ७२ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४ करोड १८ लाख रुपैयाँ नाफा गरेको थियो । बीमाङकीय मुल्याँकन हुन बाँकी रहेकाले नाफा अझ बढ्ने कम्पनीले बिहीबार सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीले १ करोड ५३ लाख रुपैयाँ नाफा बढाएको छ । गत वर्ष कम्पनीले ११ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ७ करोड ९२ लाख रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ६३ पैसा छ । प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ पुगेको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । हालसम्म कम्पनीले ५ अर्ब ८७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षमा मात्रै १ अर्ब ५३ करोड रुपैयाँ आर्जन गरेको थियो ।