लाइफ इन्स्योरेन्स कर्पोरेशनले ३६ प्रतिशत बोनस दिने, पुँजी एक अर्ब ८१ करोड नाघ्ने

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेडले ३६ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, इन्स्योरेन्सले कर प्रयोजनको लागि १.८९४७४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव गत बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले गत आवको मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको सो मात्राको बोनस दिने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ३३ करोड रुपैयाँ रहेको छ । ३६ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ८१ करोड रुपैयाँ नाघ्ने छ । समितिको प्रस्तावलाई बीमा समितिले स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रा लगानीकर्ताले सो मात्राको बोनस पाउने छन् ।

२६०० परिवारद्वारा स्वास्थ्य बीमा

म्याग्दी । डेढ वर्षको अवधिमा जिल्लाका २ हजार ६०० परिवारले स्वास्थ्य बीमा गराएका छन् । विपन्न र गरीब समुदायका नागरिकको गुणस्तरीय स्वास्थ्य उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले २०७३ पुस १३ देखि जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको हो । यस क्रममा ११ हजार ७३० जनाले स्वास्थ्य बीमा गराएको समितिको बेनीस्थित कार्यालयले जनाएको छ । अघिल्लो आवमा बीमा गरेका ६ हजार २९६ जनाले नविकरण गरेका छन् । आव २०७४/७५ मा ५ हजार ४३४ जनाले स्वास्थ्य बीमा गराएका थिए । बीमा गरेकाहरुले ९ हजार ३२३ पटक सो सेवा लिएका छन् । बेनी अस्पताल, दरवाङ प्राथमिक स्वास्थ्य केन्द्र, धौलागिरि अञ्चल अस्पताल बागलुङले सिफारिश गरेमा बिमा गराएका नागरिकले सूचीकृत भएका मुलुकका विभिन्न अस्पतालबाट स्वास्थ्य सेवा पाउने व्यवस्था छ । पाँच जनासम्मको परिवारले वार्षिक रूपमा प्रतिपरिवार २ हजार ५०० तिर्नुपर्ने र परिवारका सदस्य ५ भन्दा बढी भएमा प्रतिसदस्य ४२५ का दरले थप शुल्क तिरेर एक वर्षका लागि स्वास्थ्य बीमामा आवद्ध हुन सक्नेछन् । पाँच जनाको परिवारका लागि प्रतिपरिवार वार्षिक ५० हजार रुपैयाँसम्मको स्वास्थ्य सेवा पाइने तथा पाँचभन्दा बढी सदस्य भएमा १ लाख रुपैयाँसम्मको सेवा पाउने प्रावधान छ । कार्यक्रमबाट बीमाकर्ताले बहिरंग, प्रसूति, एक्सरे, प्रयोगशाला, घाउ चिरफार, टाँका सिलाइ, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, फिजियोथेरापी, मधुमेह, आँखाको उपचारलगायत ३२ किसिमका स्वास्थ्य सेवा पाउनेछन् । वडास्तरमा खटिएका दर्ता सहयोगीमार्फत स्वास्थ्य बीमा गराउन सकिन्छ । जिल्लामा ४३ दर्ता सहयोगी परिचालित छन् । रासस

अब महालक्ष्मी विकास बैंकबाटै प्रभु लाइफको इन्स्योरेन्स सेवा पाइने

काठमाडौं । अब महालक्ष्मी विकास बैंकबाटै प्रभु लाइफ इन्स्योरेन्सको सेवा पाइने छ । बिहीबार दुई कम्पनीबीच भएको बैंकास्योरेन्स सम्झौता अनुसार प्रभु इन्स्योरेन्सका ग्राहकले महालक्ष्मी विकास बैंकबाटै सम्पूर्ण बीमा सेवा पाउने भएका छन् । उक्त सम्झौतामा प्रभु लाइफ इन्स्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछाने तथा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्ताक्षर गरेका छन् । अब जीवन बीमाको प्रिमियम महालक्ष्मी बिकास बैंक मार्फत समेत बुझाउन सकिने छ । प्रभु लाइफ इन्स्योरेन्सले केही समयमै थप शाखाहरु विस्तार गर्दे लैजाने लक्ष्य लिएको छ । दुई अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडमा संस्थापक सेयरधनीले १ अर्ब ४० करोड रुपैयाँ लगानी गरेका छन् । कम्पनीले निकट भविष्यमा बाँकी ६० करोड रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने बताएको छ ।