यूनाइटेड अजोडको सेयर कट-अफ मूल्य ४४७.५० रुपैयाँ

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले लिलाम बढाबढमार्फत बिक्री गरिएको ६ हजार ६३३ कित्ता अवितरित हकप्रद सेयरको बाँडफाँड सम्पन्न गरेको छ । कम्पनीका अनुसार सर्वसाधारण समूहअन्तर्गतको अवितरित हकप्रद सेयर जेठ २९ गतेदेखि असार ८ गतेसम्म लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री खुला गरी बाँडफाँड गरिएकाे हाे । प्राप्त शिलबन्दी बोलपत्रहरू असार ११ गते खोलिएको र प्रचलित कानुन तथा धितोपत्रसम्बन्धी नियम-निर्देशिकाअनुसार असार १६ गते सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । कम्पनीले बाँडफाँडमा नपरेका आवेदकहरूको रकम असार १८ गते (बिहीबार)देखि आवेदन फाराममा उल्लेख गरिएको बैंक तथा वित्तीय संस्थाको खातामा आईपीएस प्रणालीमार्फत फिर्ता पठाइने जनाएको छ । कम्पनीका अनुसार लिलामको अन्तिम मूल्य (कट(अफ प्राइस) प्रतिकित्ता ४४७.५० रुपैयाँ कायम भएको छ । उक्त मूल्यमा बोलपत्र पेश गर्ने आवेदकहरूलाई सापेक्षिक भारअनुसार समानुपातिक रूपमा सेयर वितरण गरिएको कम्पनीले जनाएको छ । 

बैंकहरूमा ६० अर्ब बढीको धितो सम्पत्ति थुप्रियो : अध्यक्ष प्रचण्ड

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसङ्घ, नेपाल (सिबिफिन)का अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले मुलुकको बैंकिङ क्षेत्र अहिले गम्भीर दबाबमा रहेको बताएका छन् । मंगलबार एक कार्यक्रममा बोल्दै उनले आगामी मौद्रिक नीतिले बैंकिङ क्षेत्रले भोगिरहेका यथार्थ समस्यालाई सम्बोधन गर्दै वित्तीय स्थायित्व र आर्थिक पुनरुत्थानबीच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिए । श्रेष्ठका अनुसार कागजमा बैंकिङ प्रणालीमा पर्याप्त तरलता देखिए पनि वास्तविक अर्थतन्त्रमा कर्जाको माग घटेको छ भने व्यावसायिक आत्मविश्वास कमजोर बनेको छ। विभिन्न आर्थिक क्षेत्रहरूमा नगद प्रवाह कमजोर भएकाले बलिया र सक्षम व्यवसायहरूको समेत ऋण भुक्तानी गर्ने क्षमता प्रभावित भएको उनको भनाइ छ । यही अवस्थाको प्रत्यक्ष असर बैंकहरूको सम्पत्ति व्यवस्थापनमा परेको उल्लेख गर्दै उनले बैंकहरूले ६० अर्ब रुपैयाँभन्दा बढीको गैर-बैंकिङ सम्पत्ति थुपार्न बाध्य भएको बताए । धेरै ऋणीले ऋण तिर्न नसक्दा बैंकहरूले धितो सम्पत्ति स्वीकार गर्नुपरेको र ठूलो परिमाणमा बैंकहरूको पुँजी अनुत्पादक सम्पत्तिमा फसेको उनको भनाइ छ ।

कामना सेवा विकास बैंकको वार्षिक प्रतिवेदनले फेरि जित्यो गोल्ड अवार्ड

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड ‘नेसनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट (बीपीए) अवार्ड–२०२५’ अन्तर्गत वित्तीय सेवा क्षेत्रको ‘गोल्ड अवार्ड’बाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले प्रदान गर्ने उक्त अवार्ड बैंकले लगातार दोस्रो वर्ष जितेको हो । यसअघि बैंकले बीपीए अवार्ड–२०२३ मा सिल्भर र बीपीए अवार्ड–२०२४ मा गोल्ड अवार्ड प्राप्त गरेको थियो । बैंकका अनुसार वित्तीय विवरणको पारदर्शिता, संस्थागत सुशासन, उत्तरदायित्व तथा वार्षिक प्रतिवेदनको गुणस्तरीय प्रस्तुतीकरणका आधारमा यो सम्मान प्रदान गरिएको हो । काठमाडौंमा आयोजित विशेष समारोहमा आईक्यानका अध्यक्षले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाललाई उक्त अवार्ड प्रदान गरेका थिए । बैंकले यस सम्मानले वित्तीय पारदर्शिता, सुशासन र गुणस्तरीय प्रतिवेदन प्रस्तुतीकरणप्रतिको आफ्नो प्रतिबद्धतालाई थप पुष्टि गरेको जनाएको छ । आगामी दिनमा पनि समयानुकूल, विश्वसनीय र गुणस्तरीय वित्तीय सूचना प्रवाह गर्दै उत्कृष्ट संस्थागत अभ्यासलाई निरन्तरता दिने बैंकको भनाइ छ ।