एनसीसी बैंकमा संक्रमण लम्बियो, एपेक्स डेभलपमेन्ट बैंकको ९५ करोड ऋण खराब

काठमाडौं । एनसीसी बैंकमा मर्जपछिको संक्रमण लम्बिएको छ । एपेक्स डेभलपमेन्ट बैंकको वार्षिक प्रतिवदन राष्ट्र बैंकले अस्वीकृत गरेपछि एनसीसी बैंकको नियमित वार्षिक साधारणसभा पनि रोकिएको छ । एनसीसीमा मर्ज हुनुपूर्व एपेक्स डेभलपमेन्ट बैंकमा गरिएको डीडीएले नभेट्टाएको कैफिएत राष्ट्र बैंकले भेट्टाएको छ । राष्ट्र बैंकले करोडौं रुपैयाँ बराबरको थप कर्जामा प्रोभिजन गर्न निर्देशन दिएको छ । अहिलेसम्म एपेक्सको खराव कर्जा ९५ करोड पुगेको स्रोतले बतायो । सबै प्रक्रिया पुरा हुन बाँकी रहेकोले साधारणसभा गर्न केही ढिला भएको एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले बताए । एपेक्स डेभलपमेन्ट बैंकको वार्षिक प्रतिवेदन राष्ट्र बैंकबाट स्वीकृत नभएकोले ढिलाई भएको उनले जानकारी दिए । वार्षिक साधारणसभा ढिलाई हुने भएपछि एनसीसी बैंक सञ्चालक समितिले बैशाख ३ गते विशेष साधारणसभा गरी ५० प्रतिशत हकप्रद सेयर निष्काशन सम्बन्धी निर्णयलाई अनुमोदन गर्ने निर्णय गरेको थियो । तर विशेष साधारणसभा सम्बन्धी प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत नभएपछि बैंक सञ्चालक समितिको पछिल्लो निर्णय पनि कार्यान्वनमा ढिलाई हुने देखिएको छ । विशेष साधारणसभाको लागि १५ दिन अघि सार्वजनिक सूचना निष्काशन गर्नुपर्ने व्यवस्था छ । तर चैत्र २१ गतेसम्म बैंकले विशेष साधारणसभाको लागि सार्वजनिक सूचना प्रकाशन गरेको छैन । बैंकले विशेष साधारणसभा गर्न अनुमति मागेको र त्यसबारेमा राष्ट्र बैंकले अध्ययन गरिरहेको राष्ट्र बैंकका प्रबक्ता नारायणप्रसाद पौडेलले बताए । वार्षिक साधारणसभाको प्रक्रिया पूरा गर्न थप समय लाग्ने र आगामी असार मसान्तअघि नै पुँजी वृद्धि गर्नुपर्ने भएकोले विशेष साधारणसभा गरी हकप्रद सेयर निष्काशन अगाडि बढाउने प्रस्ताव बैंकले गरेको उनले जानकारी दिए । नियमित साधारणसभा गर्दा सञ्चालक समितिको निर्वाचन पनि हुने र वर्तमान सञ्चालक समिति विस्थापित हुने भएकोले वर्तमान सञ्चालक समितिले आफ्नो कार्यकाल लम्व्याउन वार्षिक साधारणसभा नगरेको बैंकका सेयरधनीको आरोप छ । ‘राष्ट्र बैंकले टिका लगाएर बनाएको टिके सञ्चालकहरु आफ्नो आयु लम्याउने वहाना बाजी गरिरहेका छन्’ बैंकका सेयरधनी अनुप खुञ्जेलीले बताए । वाफिया विपरित सांसद्लाई टिका लगाएर राष्ट्र बैंकले सञ्चालक बनाएको र अर्को साधारणसभा नभएसम्म सञ्चालक बन्न पाउने गरि पत्र दिएकोमा उनले राष्ट्र बैंकको आलोचना गरे ।

अध्यक्षको कोठामा तीन वटा कुर्सी राखेपछि महासंघ कमजोर भयो-सुरज बैद्य

म २७ वर्षदेखि निरन्तर नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध भएको छु । बास्तवमा म मेरो श्रीमतीसँग भन्दा महासंघसँग नजिक छु । मैले श्रीमतीलाई भन्दा बढी समय महासंघलाई दिएको छु । म आज विगतको बारेमा केही बोल्छु । इतिहास विर्सने मान्छे नेता बन्न सक्दैन, अगाडि बढ्न सक्दैन । महेशलाल प्रधान महासंघको अध्यक्ष हुँदा महासंघको अफिसमा कोठा भन्दा ठूलो टेबुल थियो । भनाईको मतलब टेबुल ठूलो होइन, टेबुलको तुलनामा कोठा धेरै सानो थियो । महासंघको अफिस सारै सानो थियो । उहाँले अफिस ठूलो र व्यवस्थित बनाउन जोड दिनु भयो । पञ्चकन्य ग्रुपले ठूलो सहयोग गर्यो । मेरो बुबाले पनि महत्वपूर्ण सहयोग गर्नुभयो । अरु धेरैले सहयोग गरे । त्यतिबेलाको सचिवलय धेरै राम्रो बन्यो । महेशलाल अध्यक्ष भएको बेलामा भारतले नेपालमा नाकाबन्दी गर्यो । मलाई याद छ, त्यो बेला नेपाल वायुसेवा निगमले बेलुका भएपछि सबै सिट निकालेर बंगलादेशबाट तेल बोकेर नेपाल ल्याउँथ्यो । महेशलाल यस्तो महासंघको अध्यक्ष हुुनुहुन्थ्यो जसले निजी क्षेत्रको उद्योग बन्द हुनु हुन्न र सामान आवत जावत गर्नु दिनुपर्छ भनेर जोड दिनु भयो । त्यतिबेला रमेशनाथ शर्मा वाणिज्य मन्त्री हुनुहुन्थ्यो । महासंघका अध्यक्ष महेशलालको जोडबलमा नाकाबन्दीको समयमा पनि निजी क्षेत्रलाई डिजेल उपलब्ध गराउनुभएको थियो । त्यतिबेला देशमा त्यत्रो समस्या हुँदा पनि हाम्रो उद्योग चले । महासंघको ठूलो काम थियो त्यो । मलाई अझै याद छ, विनोद चौधरीको कार्यकाल । उहाँको नेतृत्वमा महासंघको भवन बनाउँन पहल भयो । उहाँले मोहन गोपाल खेनातलाई विशेष स्थान दिएर पैसा संकलन गर्नुभयो । हामीले जग्गा किन्यौ र भबन बनायौ । त्यहि भवनमा महासंघको अहिलेको सचिवालय बसेको छ । पद्म ज्योति अध्यक्ष भएको समय पनि ऐतिहासिक रह्यो । उहाँले भारतीय लगानी नेपाल भित्र्याउनु भनेर महासंघ र सीआईआईसँग मिलेर संयुक्त आर्थिक परिषद् स्थापना गर्नुभयो । भारतीय लगानी भित्र्याउने र निर्यात बढाउने त्यतिबेलाको उदेश्य थियो । डावर नेपाल, यूनिलिभर, सूर्य नेपाल लगायत कम्पनी नेपालमा स्थापना हुनुमा उहाँको ठूलो देन छ । उहाँकै पालामा नेपाल भारत व्यापार सम्झौता भयो । सम्झौता गर्न जाने टोलिमा म पनि थिए । त्यो काम त्यति सजिलो थिएन, बडो अफ्ठारो अवस्था थियो । नरसिंह राव भारतका प्रधानमन्त्री हुनुहुन्थ्यो, नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा हुनुहुन्थ्यो । दुई देशका प्रधानमन्त्रीसँगै निजी क्षेत्रका प्रतिनिधि उभ्याएर त्यो सम्झौता भयो । दुई देशबीचको सम्झौतामा निजी क्षेत्र प्रत्यक्ष सहभागि गराईएको त्यो पहिलो घट्ना थियो । महासंघको छवि त्यति राम्रो भएको थियो । आन्दराज मुल्मीको समयमा महासंघ फुट्ने अवस्था आयो । रविभक्त र प्रदिप श्रेष्ठबीच चुनाव हुने संभावना थियो । विवाद यसरी चर्कियो कि महासंघ फुट्छ नै भन्ने स्थिति भएको थियो । तर उहाँले आफ्नो पक्षको अध्यक्षका उम्मेदवार रविभक्तलाई बसाएर, प्रदिपकुमार श्रेष्ठलाई निर्विरोध अध्यक्ष बनाउनु भयो । नेतृत्वमा हुनु पर्ने गुण त्यो हो, आनन्ददाईले देखाउनुभयो । प्रदीप कुमार श्रेष्ठ एकदमै योग अध्यक्ष । उहाँले धेरै राम्रो काम गर्नुभयो । ट्रेड यूनियन दिवस मनाउने उद्योग दिवस नमनाउने भनेर उहाँले सरकारलाई प्रश्न गर्नुभयो । उहाँकै पालादेखि हो उद्योग वाणिज्य दिवस मनाउन शुरु भएको । रविभक्त श्रेष्ठ महासंघको अध्यक्ष भएकै समयमा उहाँ मन्त्री बन्नुभयो । निजी क्षेत्रको उचाई बढ्यो । नेपाल सरकारभित्र यसको महत्व कत्ति हुँदो रहेछ भनेर उहाँले स्थापित गर्नुभयो । विनोदबहादुर श्रेष्ठ अध्यक्ष भएको समयमा नेपालीको लगानी मात्रै हैन, विदेशीको मात्रै हैन, एनआरएनको लगानी भित्र्याउँनुर्छ भनेर लाग्नुभयो । एनआरएनको लगानी भित्र्याउने अवधारण सुरु भयो र एनआरएनको लगानी नेपालमा भित्र्न थाल्यो ।  यो पनि महासंघले गरेको राम्रो काम हो । त्यसपछि चण्डीराज ढकाल अध्यक्ष बन्नुभयो । बडा अप्ठ्यारो अवस्था थियो त्यतिबेला पनि । टे«ड युनियएन बडा संगठित रुपले अगाडि आएको थियो । चण्डीजीको समयमा गार्मेन्ट इण्डष्टिलाई बडा अप्ठ्यारोमा थियो । उहाँले ट्रेड युनिएनसँग मिलेर अगाडि बढुनुपर्छ भनेर भन्नुभयो । हामीले सहमति गरेर अगाडि बढ्यो । कुशकुमार जोशी ध्यक्ष हुँदा पनि नेपाल बडो अप्ठ्यारो अवस्थामा थियो । माओवादीले अनिश्चित कालिन हड्ताल गर्यो । ७ दिनसम्म नेपाल बन्द भयो । त्यो बन्द तोड्ने काम महासंघको अगुवाईमा भयो । बसन्तपुरमा गरिएको शान्ति र्याली ऐतिहासिक थियो । त्यतिबेला राजनीतिक दलका शिर्ष नेताहरुबीच बोलचाल नै बन्द भएको, राजनीतिमा ठूलो गतिरोध आएको बेलामा निर्णयक वहस महासंघले गरायो । सबै दलहरुका शिर्ष नेताहरुलाई एउटै हलमा राखेर, राष्ट्रिय टेलिभिजनहरुमा लाईभ प्रसारण गरिएको निर्णयक निकै वहस सफल भयो । मेरो पालामा के भयो मैले बोल्ने कुरा भएन । मैले भन्न खोजेको को हो भने महासंघ हामी कहाँ थियौ । अहिले काहाँ पुग्यौ भन्न खोजेको हो । आजको दिनमा पनि महासंघ अफ्ठारो अवस्थामा आउँदा कसले बचाउँने ? सीएनआई जस्ता संस्था छन्, चेम्बर अफ कमर्श छ । सबै दलले भातृ संस्था झै व्यवसायिक संस्था खोल्न थालेका छन् । अब निजी क्षेत्रको साझा मुद्दामा कसले बोल्ने ? थरीथरीका संस्थाले थरी थरीका कुरा गर्छन, सरकारले कसलाई मान्ने, कसलाई नमान्ने ? निजी क्षेत्रको आवाज कसले र कहाँ उठाउने भन्ने महत्वपूर्ण प्रश्न छ । अध्यक्षको कोठामा एउटै मात्रै कुर्सी थियो, हुनुपथ्र्यो । अहिले महासंघको अध्यक्षको कोठामा २/३ वटा कुर्सी छन् भन्ने मैले सुनेको छु । अध्यक्षको कोठामा धेरै कुर्सी राखिएपछि महासंघ कमजोर बनेको छ । मैले महासंघ कसरी बुझेको छु भने पूर्वअध्यक्षहरुले महासंघ अप्ठ्यारो परेको बेलामा सुझाव दिने हो । मैले अध्यक्ष पशुपति मुरारकालाई पटक पटक विधान संशोधन गर्नुअघि सम्झाए । के हामी तयार छौ भनेर ? पूर्व अध्यक्षज्युहरु हुनुहुन्छ, उहाँहरुले यो संस्था बुझ्नु भएको छ, उहाँहरुसँग सल्लाह गर्नुपर्छ भनेर मैले ४/५ पटक सल्लाह दिएँ । जब सल्लाह नै मान्दैन के सल्लाह दिने ? विधान संशोधन गरेर हिजो गल्ती भएकै हो । हिजोको गल्तीले भोली महासंघमा नव्रिगियोस भन्ने मेरो चाहना हो । अब गल्ती नहोस भन्ने मेरो भनाइ होस् । विधान सांसोधन भयो । विधान बनेको छैन । अगाडि बढेको छैन । विधानले के भन्छ भने जवबसम्म प्रदेशको चुनाव हुँदैन तबसम्म यो चुनाव हुनै सक्दैन । कि विशेष कारण हुनुपर्यो । म उहाँहरुलाई सोध्न् चाहन्छु । विशेष कारण के थियो र प्रदेशको चुनाव नगरेको पहिला ? किन ? जालझेल किन ? मैले सुनेको कतिसम्म सत्य हो मलाई थाहा छैन । अहिलेको बरिष्ठ उपाध्यक्ष भवानी राणा भैरवहाको चुनावी घोषणा सभामा जान चाहानु भएको थिएन । प्रेसर गरियो, जानै पर्ने, ड्यासमा बस्नै पर्ने, फोटो देशभर देखाउनै पर्ने । जति सम्म जायाज अभ्यास हो ? मलाई साथीहरुले भन्नुभयो–किशोर प्रधानको उम्मेदवारी घोषणा सभामा नजान धेरैलाई दवाव दिइयो । मतदातालाई उम्मेदवारको कुरै सुन्न हुन्न भन्ने ? यसले महासंघलाई बलियो बनाउँछ कि कमजोर ? सोच्ने बेला आएको छ । तपाईहरुले सोचेर निर्णय गर्ने बेला आएको छ । हामीले लोभ र लालस देखाउन चाहान्न । हामी कसैलाई दवाव दिन चाहान्नौं । नेता जम्माउने तपाईहरुले हो, सहि मान्छे छानेर भोट हाल्नुहोस् । (किशोर प्रधानको समूहले आइतबार आयोजना गरेको कार्यक्रममा बैद्यले व्यक्त गरेको विचार)

जीवन बीमा बजार २३ प्रतिशतले विस्तार, पुँजी वृद्धिलाई बजारको समर्थन

काठमाडौ । बीमाको पुँजी वृद्धिलाई बजार विस्तारले पनि समर्थन गरेको छ । बीमा क्षेत्रको प्रचार–प्रसारपछि बीमा गर्नेहरूको संख्यासँगै बीमा कारोबार रकम पनि बढेको छ । गएको वर्षको दोस्रो त्रैमासम्म १३ अर्ब ११ करोड करोड रहेको यस्तो रकम यस वर्षको दोस्रो चौमासमा आइपुग्दा बढेर १६ अर्ब १५ करोड पुगेको छ । जीबन बीमा प्रिमियमको वृद्धि २३.१८ प्रतिशतले बढेको देखिएको छ । त्यस्तै, चालू आर्थिक वर्ष २०७३÷७४ को दोस्रो त्रैमासिकसम्म ७ लाख ५९ हजार २० जनाले बीमा गरेका छन् । गत वर्ष सोही अवधिमा ६ लाख ५६ हजार १ सय ४९ जनाले जीवनबीमा गरेको समितिले जनाएको छ । गत आर्थिक वर्षको तुलनामा यस वर्ष १ लाख २ हजार ८ सय ५१ जना बीमा गर्ने बढेका छन् । बीमा गर्नेको रकम बढेसँगै बीमा रकम पनि बढेको बीमा समितिका अध्यक्ष चिलञ्जीवी चापागाईँले बताए । गत वर्षको तुलनामा यस आर्थिक वर्षमा ३ अर्बभन्दा बढीले जीवन बीमाबापतको शुल्क बढेको समितिको तथ्यांकले देखाएको छ । यस अवधिमा ७ अर्बको सर्वाधिक जीवन बीमा भएको छ भने गएको वर्षको समीक्षा अवधिमा यस्तो बीमा ६ अर्ब रुपैयाँको मात्र थियो । यसरी बीमा गराउने कम्पनीहरूमा सबैभन्दा अगाडि नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीले यस अवधिमा ४ अर्ब ९४ करोडको जीवन बीमा प्रिमियम संकलन गरेको छ । जीवन बीमा गराउने दोस्रो कम्पनी लाइफ इन्स्योरेन्स परेको छ । कम्पनीले यो अवधिमा ३ अर्ब ६७ करोडको जीवन बीमा गराएको छ । नेशनल लाइफ इन्स्योरेन्स सर्वाधिक जीवन बीमा गराउने कम्पनीको तेस्रो स्थानमा रहेको छ । उक्त अवधिमा सो कम्पनीले दुई अर्ब ९ करोडको जीवन बीमा गराएका थिए । गएको वर्षको दोस्रो चौमाससम्म नेपाल लाइफ इन्स्योरेन्सले ४ अर्ब १२ करोड, लाइफ इन्स्योरेन्स २ अर्ब ९५ करोड, नेशनल लाइफ इन्स्योरेन्स १ अर्ब ४९ करोड रकमको जीवन बीमा गराएका थिए ।