“लगानीकर्ता आत्तिनुपर्दैन, म्यानुपुलेसन पनि भएको छैन”-निरज गिरी
काठमाडौं, १२ मंसिर । असोज २० गते कारोबार बन्द हुँदा सेयर बजार परिसूचक (नेप्से) १८२० अंकमा अडिएको थियो । त्यसपछि दशैँ विदा भयो र असोज ३० गते बजार खुल्यो । यसदिन भने लगानीकर्ताहरु केही निरास भए । नेप्से एकैपटक १६.१४ अंकले ओरालो लाग्यो र १८०४ अंकमा झर्यो । त्यसपछि नेप्से निरन्तर रुपमा ओरालो लागिरहेको छ । मंसिर १२ गतेसम्म आएइपुग्दा बजार ३३४.५२ अंकले ओरालो लागिसकेको छ । यसदिन बजार १५ सय भन्दा तल झरेको छ । बजार यसरी ओरालो लाग्दा पनि धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड भने मौन बसिरहेको छ । यदाकदा समाचारमा उनीहरुको भनाई आएपनि आधिकारिक धारणा बाहिर आएको छैन । बजार उकालो लाग्दा लगानीकर्ताहरुलाई सम्हालिएर लगानी गर्न पटक पटक आग्रह गर्ने बोर्ड बजार ओरालो लागेर लगानीकर्ता आत्तिदा भने मौन छ । बजार ओरालो लागेर लगानीकर्ताहरु आत्तिदा पनि तपाईहरु किन मौन ? भनेर विकासन्युजले बोर्डलाई सोधेको थियो । धितोपत्र बोर्डका प्रबक्ता निरज गिरी भन्छन् – “अहिले बोर्ड बोल्ने समय आएको छैन । हामीले बजारलाई सुक्ष्म रुपमा अध्ययन गरिरहेका छौ, आत्तिनुपर्ने अवस्था छैन । बजारमा म्यानुपुलेसन पनि भएको छैन । उनका अनुसार नेपालको धितोपत्र बजार उकालो र ओरालो लाग्नुमा कुनै कारण हुदैन ।” गत वर्षको भन्दा अर्थतन्त्रका परिसुचक पनि उकालो लागेको छ । “कम्पनीहरुले पनि राम्रो प्रतिफल दिइरहेका छन् । पछिल्लो समय बैंकहरुले प्रकाशित गरेको पहिलो त्रैमासिक वित्तिय विवरण हेर्दा पनि उनीहरुको नाफा राम्रो देखिन्छ । तर किन बजार ओरालो लागेको छ भन्ने विषयमा भने अहिले केही भन्न नसक्ने गिरीको भनाइ छ । सेयरको आपुर्ति बढेकाले बजार घटेको उनको तर्क छ । “बजारमा विभिन्न कम्पनीहले हकप्रद सेयर जारी गरिरहेका छन् । हकप्रद सेयर खरिदका लागि रकम जोहो गर्न लगानीकर्ताहरुले आफूसँग भएको सेयर बेचे जसको परिणाम सेयरको आपुर्तिमा बृद्धि भयो र बजार ओरालो लाग्यो” उनले भने । पहिले पनि ३९२ अंकसम्ममा बजार झरेको थियो र १९०० अंकसम्म उकालो लागेको थियो त्यतिबेला पनि बजार घट्नु र बढ्नुमा ठोस कारण नरहेको प्रबक्ता गिरीले दावी गरे । उनले म्युचुअल फन्डहरुलाई अहिले बजारमा लगानी गर्नको लागि दवाव दिन नसक्ने पनि बताए । “साना लगानीकर्ताहरुले जोखिम मोल्न डराउने भएका कारण नै म्युचुअल फन्डमा लगानी गरेका हुन्छन् । उनीहरुको रकममाथि हामीले दवाव दिनु उचित हुदैन” गिरीले भने । सेयर लगानीकर्ता संघका महासचिव नवराज सुवेदीका अनुसार समय समयमा बजारमा देखिएको कृत्रिम र शंकाष्पद गिरावटको कारकहरुलाई पहिचान गर्न बारम्वार संघले नेपाल धितोपत्र बोर्डलाई घच्घच्याइ रहेको छ । संघले लगानीकर्ताहरुलाई आश्वास्त पार्ने र मनोवल बढाउने कार्यहरु पनि गरिरहेको छ सुवेदीले भने हामी नियमनकारी निकायहरुबाट चालिने परिणाममुखी कदमहरुको प्रतिक्षामा रहेका छौ । उनले लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेको पनि स्पष्ट पारे । १५ सय भन्दा मुनि नेप्से, सबैभन्दा बढी बीमा समूह ओरालो लागे साताको पहिलो दिन सेयर बजार परिसुचक (नेप्से) ६४.५५ अंकले ओरालो लागेर १४६९.४८ अंकमा अडिएको छ । यसदिन बैकिङ ५२.५४ अंकले, होटल १४६.४ अंकले, विकास बैंक ६५.७७ अंकले जलविद्युत १०४.२९ अंकले फाइनान्स २६.७ अंकले विमा ५६२.९४ अंकले र अन्य १९.०८ अंकले ओरालो लागेको छ । आइतबार सबैभन्दा बढी कारोबार हुनेमा एभरेष्ट बैंक रहेको छ । यसदिन सो बैंकको ११ करोड १२ लाख बराबरको कारोबार भएको छ । त्यस्तै शिखर इन्स्योरेन्स, बैंक अफ काठमाडौं लुम्बिनी, मिसन डेभलपमेन्ट बैंक लिमिटेडको प्रमोटर सेयर रहेको छ । त्यस्तै सबैभन्दा बढी गुमाउनेहरुमा हिमालयन जनरल इन्स्योरेन्स, साना किसान विकास बैंक, लक्ष्मी लघुवित्त वित्तिय संस्था र प्रिमियर इन्स्योरेन्सका लगानीकर्ताहरु रहेका छन् । दिनभर एकसय २८ कम्पनीको ९५ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ ।
कुलमान घिसिङको प्रशंसासँगै ५ अर्बको कारोबारमा प्रश्न, नेपाली ट्रान्सफर्मरको प्रयोग किन गर्दैन प्राधिकरण ?
पोखरा, १२ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अधयक्ष कुशकुमार जोशीले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको व्यवस्थापकीय क्षमताको प्रशंशा गरेका छन् । साथै, जोशीले प्राधिकरणको वार्षिक ५ अर्ब रुपैयाँको कारोबारमा प्रश्न उठाएका छन् । लेकसाइडको होटल स्नोल्यान्डले गरेको उद्यमशीलता प्रवद्र्धन कार्यक्रम ‘क्रस दी बोर्डर’ मा बोल्दै जोशीले कुलमानको कुशल व्यवस्थापनकै कारण लोडसेडिङ घटेको बताए । कुलमान ‘राइट म्यान इन राइट जब’ भएको उल्लेख गर्दै जोशीले यस अघि प्राधिकरणमा आउनेले लोडसेडिङ अन्त्यमा चासो नदेखाएको बताए । ‘अहिले पनि स्रोत त्यही हो, लोड त्यही हो,’ उनले भने, ‘पहिलेका कर्मचारी लोडसेडिङ कार्यतालिका बनाएर घरतिर हिड्थे, अहिले पिक आवरमा स्ट्यान्डबाइ राख्ने काम भयो ।’ उनले सर्वसाधारणलाई अध्यारोमा राखेर प्राधिकरणका कर्मचारीले विद्युत बेचेको उल्लेख गर्दै विस्तारै पर्दाफास हुँदै जाने आशा गरे । नेपाल इकरात इन्जिनियरिङ कम्पनी (निक) का प्रबन्ध निर्देशक समेत रहेका जोशीले ट्रान्सफर्मरको बजार नेपालमा ५ अरबको भएपनि नेपाल विद्युत प्राधिकरणले २० करोडको मात्रै स्वदेशी उत्पादन खरिद गरिरहेको बताउँदै प्राधिकरणले स्वदेशी उत्पादन खरिद नगरी विदेशी बस्तु आयात गर्नुको कारणबारे धेरै प्रश्न उठेको तर प्राधिकरणले जवाफ नदिएको बताए । निकले हाल १ केभिए देखि १० हजार केभिएसम्मको ट्रान्सफर्मर उत्पादन गर्दै आएको जानकारी दिए । उनको कम्पनीले निक ब्रान्डको ट्रान्सफर्मर उत्पादन गर्छ र ती ट्रान्सफर्मर भारत, बंगलादेश, भुटानसम्म निर्यात हुन्छ । गएको १२ वर्षमा भुटानमा मात्रै ६ हजार ट्रान्सफर्मर निर्यात गरेको जानकारी उनले दिए । ‘नेपाली ट्रान्सफर्मर भएकैले भारतमा, बंगलादेश र भुटानबाट निर्माणको अडर हुन्छ, बिक्छ तर नेपालमा आफ्नै उत्पादनलाई प्राथमिकता दिइन्त’ उनको गुनासो छ । विदेशबाट कच्चा पदार्थ ल्याएर नेपालमा तयारी बस्तु उत्पादन गरि विदेशमा निर्यात गर्नु नेपालको औद्योगिकरणको क्षेत्रमा ठूलो काम भएको बताएका छन् । विद्युतीय ट्रान्सफर्मर उत्पादन गर्ने उनको कम्पनी नेपाल इकरात इन्जिनियरिङ कम्पनीले विदेशबाट सामान ल्याएर विदेशलाई नै बेचेको उदाहरण उनले दिए । उनले भने, ‘स्वेदशमै उत्पादन गर्दा आयात प्रतिस्थापन भयो । त्यो हो औद्योगिकरण हो, उद्यमशिलता हो ।’ जापानीहरुले दोस्रो विश्वयुद्ध अमेरिकी सेनाले खाएको मिठाइको खोल संकलन गरेर गुडिया बनाइ अमेरिकीलाई नै बेचेको उदाहरणबाट पाठ सिक्ने सकिने उनले जनाए । नेपालमा औद्योगीकरणका लागि आयात प्रतिस्थापनमा मुख्य जोड दिनुपर्ने उनको धारणा छ । कार्यक्रममा उनले सरकारको नीति उद्यमीमैत्री नभएको भन्दै जोशीले नेपालको स्रोत परिचालन गर्न नियम कानुन झन्झिटिलो भएको जनाए । उनले व्यापार गरेर मात्रै सरकारको नीति नबदलिने भएकोले उद्यमी नै बन्नुपर्ने राय व्यक्त गरे । ‘कुनै शुन्य बस्तुलाई मुल्य दिलाउनु नै उद्यमशिलता हो,’ उनले भने, ‘उद्यमी बन्न सके मात्रै राज्यको दिगोविकास हुन्छ ।’ उनले आजकाल युवाको सोच कसरी तुरुन्त धनी बन्ने भन्नेतर्फ मात्रै केन्द्रित भएको बताउँदै दिगो आर्थिक उपार्जनमा ध्यान दिनुपर्ने बताए । जोशीले अहिलेको उद्यमी सामाजिक उद्यमी बन्नुपर्नेमा जोड दिए । ‘आफ्नो उत्पादनले अर्कोलाई हानी गर्नुहुँदैन,’ उनले भने, ‘सामाजिक उत्तरदायित्व सहितको व्यवसाय गर्नु नै सामाजिक उद्यमी बन्नु हो ।’ उनले आफ्नो व्यवसायको निश्चित हिस्सा समाजसेवामा खर्चनु पर्ने धारणा राखे । कार्यक्रममा पत्रकार केशवशरण लामिछानेले जर्ज बर्नाड शाको भनाइ उधृत गर्दै भने, ‘आशावादीले प्लेन बनाउँछ, निराशावादीले प्यारासुट बनाउँछ भनेझै निराशावादले पनि उद्यमशिलता जन्माउँछ ।’ ¥यान्डम रिडर्स सोसाइटी अफ नेपालका अध्यक्ष उपेन्द्र पौडेलले स्वदेशमै उद्यमशीलताको प्रवद्र्धन गरी वैदेसिक रोजगारीको बाध्यता हटाउन पहल गर्नुपर्ने आवश्यकता औल्याए ।
पर्यटनको आम्दानी १० वर्षमै साढे तीन खर्ब बनाउने लक्ष्य, ६ लाखको पर्यटक संख्या २५ लाख पुग्ने
काठमाडौं १२, मंसिर । सरकारले अबको नौ वर्षमा नै नेपालको पर्यटन आगमन संख्या २५ लाख २२ हजार पुर्याउने अनुमानित लक्ष्य सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको नेपालको राष्ट्रिय पर्यटन रणनीतिक योजना (सन् २०१६—२०२५)मा हाल ६ लाख हजारको हाराहारीमा रहेका पर्यटक आगामी सन् २०२५ मा नै २५ लाख २२ हजार पुराइने भएको छ । नेपालको पर्यटन क्षेत्रमा विदेशी मुद्रा सहटिबाट हुने हालको करीब ४९ अर्बलाई आगामी सन् २०२५ सम्ममा साढे तीन खर्ब (३ खर्ब ४० अर्ब) रुपैयाँ पुर्याइने भएको छ । सरकारले ल्याएको सन् १० वर्षे पर्यटन रणनीतिक योजनामा पर्यटन क्षेत्रबाट हुने आम्दानीलाई तीन अर्ब ४० करोड अमेरिकी डलर पुराउने लक्ष्य सार्वजनिक भएको छ । यो आम्दानी अहिलेकै अमेरिकी डलरको मूल्य एक सय सात रुपैयाँको तुलनामा तीन खर्ब ४० अर्ब रुपैयाँ हुने पनि उल्लेख छ । १० वर्षमा नेपाली मुद्रासँगको अमेरिकी डलरको मूल्य पनि बढ्ने भएकोल यस्तो आम्दानी चार खर्ब रुपैयाँसम्म नै बन्नसक्ने पनि उल्लेख छ । गत असार ३१ गते मन्त्रीपरिषद्को पूर्वाधार विकास समितिबाट स्वीकृत भएको यो रणनीति अनुसार आगामी १० वर्षमा वैदेशिक परिवत्र्य मुद्रा आर्जनबाट मात्रै पर्यटन क्षेत्रले दुई अर्ब ७५ करोड ५० लाख अमेरिकी डलर आम्दानी गर्ने तथ्यांक रणनीतिक योजनामा रहेको छ । विदेशी मुद्राको सटहिमार्फत हुने आम्दानीबाहेक नेपालमा नै हुने पर्यटन क्षेत्रको आम्दानी एक अर्ब १५ करोड हुने रणनीतिक योजनामा रहेको छ । सरकारले ल्याएको यो योजनामा पर्यटनको माध्यमबाट गरिबी निवारण गर्ने तथा स्थानिय स्तरसम्म आर्थिक लाभ लिने प्रमुख उद्देश्य रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं प्रवक्ता घनश्याम उपाध्यायले बताए । उनका अनुसार पर्यटन नेपालमा संभावना भएको क्षेत्र हो भन्ने निष्कर्षलाई रणनीतिले पुष्टि गर्न खोजिएको छ । पर्यटन क्षेत्रबाट नै मुलुकले आर्थिक समृद्धि हासिल गर्न सक्ने भएकोले सरकारले प्राथमिकताका साथ यो १० वर्षे रणनीतिक योजना ल्याएको उपाध्यायको बुझाई छ । सन् २०१५ मा नेपाल आउने पर्यटक ५ लाख ३९ हजार रहेको छन् । यो संख्या सन् २०१९ मा सन् २०१८ को तुलनामा ९ प्रतिशतले वृद्धि हुने उल्लेख छ । सन् २०१८ मा वार्षिक १० लाख पर्यटक आउने सरकारी लक्ष्य रहेको छ । यही दर बढ्दै जाँदा सन् २०२० मा १३ लाख पर्यटक आउने तथ्यांकमा उल्लेख छ । सन् २०२४ मा नेपाल आउने विदेशी पर्यटकको संख्या साढे २२ लाख हुने र २०२५ मा २५ लाख नाघ्ने अनुमानित तथ्यांक पर्यटन रणनीतिले लिएको छ । दुईलाखको रोजगारी ८ लाख पुग्ने मन्त्रालयका अनुसार सन् २०१५ मा पर्यटनमा प्रत्यक्ष रोजगारी दुई लाख रहेको छ । यो संख्या विश्व पर्यटन परिषद्को तथ्यांक भने ६ लाख भन्दा बढि रहेको छ । आगामी सन् २०२५ सम्ममा पर्यटन क्षेत्रको प्रत्यक्ष रोजगारी साढे आठ लाख हुने पनि मन्त्रालयको अनुमान रहेको छ । नेपालको पर्यटन क्षेत्रले प्रत्यक्षको तुलनामा अप्रत्यक्ष रोजगारी सिर्जनालाई भने निकै उत्साहजनक रूपमा बढाउने गरेको छ । नेपालमा एक जना पर्यटक आउँदा नौ जनासम्मले अप्रत्यक्ष रोजगारी पाउने गरेको उल्लेख छ । प्रत्यक्ष रुपमा थोरैले रोजगारी पाएको देखिएपनि यसको अप्रत्यक्ष प्रभाव रहेको पनि मन्त्रालयको औल्याएको छ । रणनीतिक योजना अनुसार हाल नेपालमा प्रत्यक्ष रोजगारी पाउने साढे पाँच लाख भएपनि यस क्षेत्रमा हुने अप्रत्यक्ष रोजगारी भने साढे १२ लाख जना रहेको छ । यो संख्या सन् २०२५ सम्ममा करीब १९ लाख पुग्ने रणनीतिक योजनाको तथ्यांकमा उल्लेख छ । पर्यटन मन्त्रालयको अगुवाइमा तयार भएको यो रणनीतिक योजनामा १० वर्षको दीर्घकालिन र पाँच वर्षको अल्पकालिन विस्तृत योजना तयार पारेको छ । यस्तो योजनामा पहिलो पाँच वर्षमा नै आवश्यक लगानी र पूर्वाधारको काम गर्ने उख्लेख छ । नेपालका प्रमुख पर्यटकीय बजारमा नेपालको पर्यटकीय ब्राण्डको बजारीकरण, पर्यटकीय सम्पदा तथा पर्यटन क्षेत्रमा काम गर्ने जनशक्तिको क्षमता विकास पर्यटनको माध्यमबाट कुल गार्हस्थ उत्पादनमा उल्लेख योगदान दिनेसहितका योजना रणनीतिमा रहको छ । रणनीतिले सन् २०१४ को पर्यटकीय अवस्था र त्यसपछिको वर्षमा हुने पर्यटकीय लगानी तथा विकासको विश्लेषण गरेको छ । यो योजनालाई सन् २०१३ देखि २३ सम्मको १० वर्षे योजना बनाउने भनेर तयारी भएको भएपनि आवश्यक प्रक्रिया नपुग्दा सन् २०१६ बाट मात्रै सुरु हुने गरी सार्वजनिक भएको छ । रणनीतिक योजना सार्वजनिक हुँदा सन् २०१६ सकिन लागेकोले पनि छिटोभन्दा छिटो यसलाई कार्यान्वयन गरेर लक्ष्य भेट्टाउन चुनौति थपिएको पर्यटन मन्त्रालयकै बुझाई छ । निजी क्षेत्रसँग सहकार्य नै नभएको गुनासो सरकारले ल्याएको यस्तो रणनीतक योजनामा निजी क्षेत्रका पर्यटन व्यवासायीसँग सहकार्य नभएको टे«किङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)का महासचिव कर्ण लामाले बताए । उनका अनुसार सरकारले १० वर्षको रणनीति तयार पार्दा पनि व्यवसायीसँग औपचारिक रूपमा कुनै पनि सहकार्य भएको छैन । निजी क्षेत्र र सरकारसँगसँगै अगाडि बढ्नुपर्ने पर्यटनमा सहकार्य नहुँदा सरकारी योजना र तथा कार्यक्रम घोषणामा मात्रै सिमित हुन पुगेको विगतको अनुभवले देखाइसकेको पनि व्यवसायीको बुझाई छ । सरकारले ल्याएको यो रणनीतिको महत्वकांक्षी योजना पूरा हुनेमा कुनै ठोस आधार नदेखिएको भएपनि जति पूरा गर्न सकिन्छ सरकारी तहबाट इमान्दारीपूर्वक लागू हुनुपर्ने बुझाई पनि लामाको छ । सन् २०२५ सम्मको पर्यटकीय अवस्था तथ्यांकमा शीर्षक २०१४ २०१५ २०२५ वृद्धि दर (%) (१) (३३) १२.५ पर्यटक आगमन संख्या (०००) ७९० ५३९ २,५२२ औसत बसाइँ दिन (२.७% वृद्धि) १२ १३ १५ प्रति पर्यटक आय प्रतिदिन (अमेरिकी डलर) ४८ ६९ ९० कूल विदेशी मुद्रा आय (अमेरिकी डलर १० लाखमा) ४७२ ४९८ ३,४०१ कूल विदेशी मुद्रा आय (ने.रु. करोडमा) ४,७२० ४,९७८ ३४०१२ जीडीपी वृद्धि रु. मा (अर्बमा) १९७७ २०३६ ३६६३ पर्यटनको आयको जीडीपीमा प्रतिशत २.३९ २.४४ ९.२९ पर्यटनमा रोजगारी (संख्या) ६१२.५ ६३३.४ ८९८ पर्यटनबाट जीडीपीमा प्रत्यक्ष योगदान प्रतिशत ४.४ ४.५ ५.२ तथ्यांक स्रोत: नेपालको राष्ट्रिय पर्यटन रणनीति सन २०१६-२०२५