४५ करोड खर्चिएर सिम्रिक एयरले दुई हेलिकोप्टर थप्यो, एक महिना भित्रमै नियमित उडानमा

काठमाडौं १५, मंसिर । निजी क्षेत्रको हेलिकोप्टर सेवाप्रदायक सिम्रिक एयरले नयाँ दुईवटा हेलिकोप्टर थप गरेको छ । दसैं आगाडि ल्याएको एउटा हेलिकोप्टर संचालनको तयारीमा रहेको छ भने मंगलबार बेलुकी अर्को एक हेलिकोप्टर काठमाडौं भित्र्याएको छ । यो वायुसेवाले मंगलबार बेल ४०७ जीएक्सपी नामक नयाँ हेलिकोप्टर ल्याएको हो । यो हेलिकोप्टर आज दिउँसो दुई बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक जानकारी दिने पनि सिम्रिक एयरले जानकारी दिएको छ । सिम्रिक एयरका प्रमुख बजार निर्देशक दिलबहादुर ओलीका अनुसार हेलिकोप्टर काठमाडौं विमानस्थलमा आइसकेकोले आज सार्वजनिक गर्ने र आगामी एक महिनाभित्रमा उडान गरिने छ । सिम्रिकले दसैं अगाडि नै एएस ३५० बीथ्रई नामक ६ सिटरको हेलिकोप्टर भित्र्याएको थियो भने अहिले बेलको पाँच सिटर हेलिकोप्टर ल्याएको छ । यो हेलिकोप्टर सिगापुरहुँदै ढाका ल्याएको र हिजै विराटगरबाट काठमाडौं ल्याएको पनि सिम्रिकले जानकारी दिएको छ । सिम्रिकका अनुसार दसैं अगाडि ल्याएको हेलिकोप्टर एसेम्बलको अन्तिम चरणमा रहेको छ भने नयाँ हेलिकोप्टर भने उडाएरै ल्याएकोले तयारी आवस्थामा रहेको छ । सिम्रिकले तीन महिनाको बीचमा दुइवटा हेलिकोप्टर थप गरेको छ । सिम्रिक एयरको अनुसार यो वायुसेवाले करीक ४५ करोड रुपैयाँमा दुईवटा हेलिकोप्टर थप भएको बताएको छ । बजार मूल्य अनुसार पनि एयरवस हेलिकोप्टरको २५ करोड र बेलको करीब २० करोड रुपैयाँ बजार मूल्य रहेको छ । सिम्रिकले २ वटा हेलिकोप्टर थप गरेपनि यो वायुसेवासँग चारवटा हेलिकोप्टर भएको छ । यस अघि सिम्रिकसँग २ वटा एयरवस हेलिकोप्टरका एसएस ३५० बीथ्री ई नामका आधुनिक सुविधाका हेलिकोप्टर छन् । २ वटा थप भएसँगै अब सिम्रिकसँग चारवटा हेलिकोप्टर भएको छ । हेलिकोप्टरमा अर्को नयाँ कम्पनी थप हुँदै पछिल्लो समय आन्तरिक उडानका हेलिकोप्टर सेवा प्रदायक कम्पनीेले धमाधम हेलिकोप्टर थप थर्न थालेका छन् । दसैं लक्षित गर्दै नेपाली आकासमा अल्टिच्युट थपिएको थियो भने अर्को नयाँ कम्पनी एभरेष्ट हेलिले पनि सेवा सुरु गर्ने अन्तिम तयारी गरिरहेको छ । एभरेष्ट हेलिकोप्टरले श्री एयरलाइन्सका दुई वटा एएस ३५० बी थ्री नामक हेलिकोप्टर किनेर सेवा सुरु गर्ने भएको छ । यो हेलिले नेपालको हवाई क्षेत्रको नियमक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान संचालन अनुमति (एओसी) पाउने चरणमा रहेको छ । यो वायुसेवाले एओसीको लागि प्रारम्भि तयारी पूरा गरेकोले एक दुई साताभित्रै उडान गर्ने गरी तयारी थालेको पनि जानकारी दिएको छ । हेलिकोप्टर सेवामा क्रियाशील आधा दर्जन हेलिकोप्टरको तुलनामा फरक रविन्सन्स कम्पनीको सानो हेलिकोप्टरबाट सेवा दिइरहेको प्रभु हेलिकोप्टरल सोही कम्पनीको अर्को हेलिकोप्टर थप गरेको छ । हेलिकोप्टर सेवामा आफ्नो फरक पहिचान बनाएको फिस्टेल एयरले पनि दसैंलाई नै दृष्ट्रिगत गरेर एक नयाँ हेलिकोप्टर थप गरेको छ । यो वायुसेवा कम्पनीले एयरवस हेलिकोप्टरको एएस ३५० बी थ्री नामक हेलिकोप्टर थप गरेर दसैदेखि नै सेवा सुरु गरेको एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृति सुमन पाण्डेले बताए । फिस्टेलले सिम्रिक हेलि ट्रेडमार्फत बेलका दुईवटा हेलिकोप्टर खरिदको सम्झौता दसैं अगाडि गरिसकेको छ ।  नेपाली आकासमा नेपाली सेनाकोसहित फिस्टेल, अल्टिच्यूट, प्रभु, सिम्रिक एयर, श्री एयरलाइन्स, माउन्टेन हेलिकोप्टर्स, एयर डाइनेष्टि, मनाङ एयरले हेलिकोप्टरको सेवा प्रदान गरिरहेका छन् । एभरेष्ट हेलि थप भएपनि यो क्षेत्रमा हेलिकोप्टर सेवा प्रदायक कम्पनी नौ वटा निजी कम्पनी हुने छन् । यी सबै वायुसेवासँग एकदेखि चारवटासम्म हेलिकोप्टर रहेकोले दैनिक १८÷२० वटासम्म हेलिकोप्टर उड्ने गरेको मनाङ एयरका कर्पोरेट प्रमुख राजु न्यौपानेको भनाइ छ ।

किन रोकियो अपर तामाकोशीको एक अर्ब ५ करोड ९० लाख रुपैयाँको सेयर निष्काशन ?

निर्माणाधिन अपर तामाकोशी जलविद्युत आयोजना काठमाडौं,  १४ मंसिर ।  ४५६ मेगावाट क्षमताको अपर तामाकोशी जलविद्युत आयोजनाको एक अर्ब ५ करोड ९० लाख रुपैंयाँ मुल्य बराबरको सेयर निष्काशन अझै अघि बढ्न सकेको छैन् । आयोजनाले २०६३ सालमा दोलखा बासीलाई सो मात्रामा सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । सेयर निष्काशनको तयारी भैरहेका बेला गत बर्ष भूकम्प गएपछि सो प्रक्रिया रोकिएको थियो । त्यस लगत्तै आएको धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ ले अपर तामाकोशीको सेयर निष्काशनलाई थप जटिल बनाइदिएको आरोप लागिरहेको छ । पुरानो निर्णयले सम्पुर्ण दोलखाबासीलाई प्रभावित क्षेत्रभित्र समेट्दै बराबर सेयर निष्काशन गर्ने उल्लेख गरेको थियो । तर धितोपत्र दर्ता तथा निष्काशन नियमावलीले आयोजनाको वातावरणिय प्रभाव मुल्यांकनमा परेका बासिन्दालाई बिशेष प्राथमिकता दिन भनेको छ । यतिबेला सबै दोलखालीलाई बराबर सेयर दिने वा वातारणीय प्रभाव मुल्यांकन रिपोर्टले समेटेका स्थानियलाई बढि प्राथमिकता दिने भन्ने बिषय टुंगो लाग्न नसक्दा सेयर निष्काशन नै अलमलमा परिरहेको छ । ‘सबै दोलखालीले अपर तामाकोशीको सेयर पाउँछन तर कसले कति पाउँने भन्ने एकिन हुन भने बाँकी नै छ, हामी विस्तृत छलफल गरिरहेका छौं’, अपर ताकोशी जलविद्युत आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले विकासन्युजसँग भने । हालसम्म आयोजनाको ८१ दशमलब ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । विसं २०६८ बाट निर्माण सुरु भएको आयोजना २०७४ साल असारसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको थियो । तर २०७२ सालको भूकम्पले असर गरेपछि निर्माण प्रभावित बनेको थियो । आयोजनाले हालसम्म ३१ अर्ब ८४ करोड खर्च गरिसकेको छ । कुल ३५ अर्ब २९ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा भूकम्पले क्षति पुर्याएपछि ४१ अर्ब ७२ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । यस अघि नै आयोजनाले २०७२ जेठ २९ गते कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताहरुको लागि १,८२,९९,५२० कित्ता, कम्पनी लाई ऋण प्रदान गर्ने सँस्थाका कर्मचारीहरुका लागि ३०,४९,९२० कित्ता र कम्पनी तथा विद्युत प्राधिकरणका कर्मचारीहरुका लागि ४०,६६,५६० कित्ता शेयर बाँडफाँड गरिसकेको छ ।

घरजग्गामा वित्तीय क्षेत्रको २ खर्ब ६५ अर्ब लगानी, घडेरीको मूल्यमा गुणात्मक वृद्धि

काठमाडौं, १४ मंसिर । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा घरजग्गा (रियलस्टेट) मा बैंक तथा वित्तीय संस्थाको कुल लगानीे २ खर्ब ६५ अर्ब ८५ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्थाले गरेको लगानी प्रति ग्राहक १ करोडभन्दा कमको १ खर्ब ५२ अर्ब ८१ करोड रुपैयाँको आवासीय घरकर्जा समेत गरी लगानी त्यति पुगेको हो । उक्त कर्जा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कुल कर्जाको १४ दशमलव ९ प्रतिशत हुन आउँछ । गएको असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल लगानीमा रहेको कर्जामध्ये घरजग्गा क्षेत्रमा २ खर्ब ५० अर्ब ८७ करोड रहेको थियो । उक्त कर्जा प्रति ग्राहक १ करोडभन्दा कमको १ खर्ब ४२ अर्ब ८१ करोडको आवासीय घरकर्जा समेतको हो । केही समय सुस्ताएको घरजग्गा कारोबार भूकम्पयता पुनः फस्टाउन थालेपछि कर्जा लिने बढेसँगै बैंक तथा वित्तीय संस्थामा लगानी पनि बढेको हो । आर्थिक वर्ष ०६४÷६५ मा राष्ट्र बैंकले रियल स्टेटको लगानीमा कडाइ गरेकाले यो क्षेत्रमा वित्तीय संस्थाको लगानी घटेको थियो । तर, पछिल्ला एक डेढ वर्षयता यो क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी बढ्दो क्रममा छ । विगतमा कडाइ गरिएका केही व्यवस्थाहरूमा राष्ट्र बैंक लचिलो बन्दै गएकाले यो क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी बढेको हो । गत वर्षको विनाशकारी भूकम्पपछि केही समय घरजग्गा कारोबार केही सुस्ताए पनि पछिल्ला केही महिनायता फेरि बढ्दै गएको सरोकारवालाहरू बताउँछन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट घरजग्गामा प्रवाह ऋण बढी हुन थालेको संकेत दिएको बताएका छन् । पछिल्लो समय विशेषत काठमाडौं तथा देशका अन्य सुविधा सम्पन्न स्थानमा ऋण काटेरै भएपनि आवास निर्माणका कार्यहरु तीव्र गतिमा अघि छ । घरजग्गामा गरिएको लगानीले आकर्षक प्रतिफल दिने ऋणीहरुले सहजै ऋण तिर्ने भएकाले पनि वित्तीय संस्था घरजग्गा कारोबारीलाई कर्जा उपलब्ध गराउन आकर्षित भएका हुन् । पछिल्लो समय देशका प्रया सबै स्थानमा घरजग्गाको भाउमा वृद्धि भएको छ । बैंकले दिएको ऋणका कारण नै घरजग्गाको भाउ बढेको जानकारहरु बताउँछन् । बैंकहरुले घरजग्गा, जलविद्युत आयोजना, पर्यटन, सेयर लगायत क्षेत्रमा लगानी बढाएका कारण लगानीयोग्य पुँजी (तरलता) को अभाव हुन थालेको छ । गत वर्षको भूकम्प, तराई–मधेस आन्दोलन र नाकाबन्दीका कारण बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्न सकेका थिएनन् । वातावरणमा सुधार आएपछि उनीहरुले बढी ऋण प्रवाह गर्न थालेका हुन् । नयाँ मौद्रिक नीतिमार्फत सरकारले घरजग्गा कारोबारमा जाने कर्जामा कडाइ गरेको छ । राष्ट्र बैंकले एक करोड रुपैयाँसम्मको व्यक्तिगत आवास कर्जालाई यथावत राखे पनि व्यापारिक प्रयोजनको रियलस्टेट कर्जालाई भने केही कसिलो बनाएको थियो । नयाँ नीतिअनुसार धितो मूल्यांकनको ५० प्रतिशतसम्म मात्र कर्जा दिन पाइनेछ । रियलस्टेट कर्जा र त्यसको सुरक्षणबीचको अनुपात ५० प्रतिशत कायम गर्नुपर्ने पनि यसमा व्यवस्था छ । रियलस्टेट कर्जामा यसअघि धितो मूल्यांकनको ६० प्रतिशतसम्म कर्जा दिन पाउने व्यवस्था थियो । तर आवासीय रियलस्टेट कर्जामा भने धितो मूल्यांकनको ६० प्रतिशतसम्मै कर्जा दिन पाइने नीति छ । पछिल्लो समय घडेरीयोग्य जमिनको मूल्य उच्चदरले वृद्धि भईरहेकोले बैंकहरुले पनि यस्तो जग्गा धितोमा सजिलै कर्जा प्रवाह गर्ने गरेका छन् ।