अरुण भ्याली र अरुण कावेली मर्ज हुँदै, स्वाप रेसियो एक बराबर एक, न्यौपाने परिवारले उच्च लाभ लिदै
काठमाडौं, ९ भदौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र अरुण कावेली पावर लिमिटेड मर्जरमा जाने भएका छन् । अरुण कावेलीले असोज १ गतेको साधारण सभाबाट मर्जरमा जाने निर्णय गर्न लागेको छ भने अरुण भ्यालीले अघिल्लो साधारण सभाबाटै मर्जरमा जाने निर्णय गरिसकेको छ । अरुण कावेलीले असोज १ गतेका लागि डाकेको साधारणसभाको बिशेष प्रस्तावको रुपमा ‘अरुण कावेली पावर लिमिटेड, अन्य उपयुक्त हाइड्रोपावर कम्पनीहरुसँग एक आपसमा गाभ्न/गाभिन(एक्विजिसन) आवश्यक पर्ने सम्पूर्ण कार्यहरु गर्न सक्ने गरि सञ्चालक समितिलाई अख्तियारी दिने’ उल्लेख गरिएको छ । ‘अरुण भ्याली र अरुण कावेली कम्पनीबीच मर्जर गर्न लागिएको हो, जलविद्युत कम्पनीमा पहिलो मर्जर यहि हुनेछ’ दुबै कम्पनीका अध्यक्ष रहेका गुरुप्रसाद न्यौपानेले विकासन्युजसँग भने । दुबै कम्पनीका लगानी कर्ता एउटै रहेकाले मर्जर गरेर कम्पनीको क्षमता बढाउन लागिएको न्यौपानेले बताए । अरुण भ्यालीले ३ मेगावाट क्षमताको पिलुवा खोला जलविद्युत आयोजना निर्माण गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडेको छ भने अरुण कावेलीले २५ मेगावाट क्षमताको कावेली बी १ आयोजना निर्माण गर्न लागेको छ । अरुण कावेलीमा न्यौपाने अध्यक्ष र बछ्छा राज तातेर, जीवन राज शाक्य र भेज प्रसाद तिमिल्सिना सञ्चालक रहेका छन् । त्यस्तै, अरुण भ्यालीमा न्यौपाने अध्यक्ष र रमेश प्रसाद न्यौपाने, बछ्छा राज तातेर, जीवनराज शाक्य, पुजा दाहाल न्यौपाने, सञ्जिव न्यौपाने र भेज प्रसाद तिमिल्सिना सञ्चालक रहेका छन् । यीमध्ये रमेश प्रसाद न्यौपाने, पुजा दाहाल न्यौपाने र सञ्जिव न्यौपाने गुरु प्रसादकै पारिवारिक सदस्य हुन भने अन्य सञ्चालक अरुण कावेलीमा पनि सञ्चालक नै छन् । दुबै कम्पनीमा रहेका संचालकहरु बछ्छा राज तातेर, जीवन राज शाक्य र भेज प्रसाद तिमिल्सिना न्यौपाने परिवारको एस म्यान भएको जानकारहरु बताउँछन् । अरुण भ्यालीको चुक्ता पुँजी ७७ करोड रहेको छ भने अरुण कावेलीको चुक्ता पुँजी १५० करोड रहेको छ । अरुण भ्यालीले १० प्रतिशत बोनस सेयर दिने निर्णय गरिसकेको छ । मर्जरपछि कम्पनीको चुक्ता पुँजी २३० करोड पुग्नेछ । मर्जरपछि कम्पनीको नाम अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेड रहने अध्यक्ष न्यौपानेले बताए । उनले एक बराबर एकको स्वाप रेसियामा मर्जर गर्नेबारे छलफल भैरहेको जानकारी पनि दिए । यस मर्जबाट न्यौपाने परिवारले उच्च लाभ लिने देखिएको छ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टले प्रिमियम मूल्यमा निश्काशन गर्ने र सबै प्रमोटर सेयर साधारणमा परिवर्तन गर्ने प्रस्तावसहित भदौ १७ गते साधारणसभा गदैंछ । दुबै कम्पनीको अध्यक्ष न्यौपानेका यी प्रयासलाई साधारण सेयरधनीले गम्भिर रुपमा हेरिरहेका छन् ।
चन्द्रागिरीमा दुई घण्टा चुम्बन (फोटो फिचर)
काठमाडौं, ८ भदौ । कलंकीदेखि थानकोट चेकपोष्टसम्म करिब चार किलोमिटर सडक पार गर्न एक घण्टा लाग्यो । गाडी गुडाउनै कठिन खाल्डाखुल्टी, त्यसमाथि ट्राफिक जाम, गर्मी, धुलो र धुवाँको मुस्लोले त्यो यात्रा यति कठिन भयो कि कथामा सुनिने नर्क नै यहि हो । थकित मोडमा चन्द्रागिरीको बेस स्टेशन पुगियो । लाग्यो नर्कबाट भागेर स्वर्गमा आईपुगियो । जहाँ धुलो, धुँवा र कोलाहल छैन । सफा पीच रोड । व्यवस्थित पार्किङ । ढकमक्क फूल फूलेको बगँैचा सहितको चन्द्रगिरी बेस स्टेशन । चन्द्रागिरी हिलस्टेशनका तर्फबाट राजु पौडेलले स्वागत गरे । धुलाम्मे अनुहारबाट खिस्स दाँत देखाउँदै पहिला रेष्टरुम जाने अनुमति माग्यौं । चन्द्रागिरीको नरम पानीले अनुहारको धुलो पखाल्यौं, टाउको र गर्धनको धुलो पुछ्यौं । हामीलाई बेस स्टेशनको रेष्टुरेण्टमा लगेर बसाउँदै राजु पौडेलले अफर गरे–लञ्चको व्यवस्था माथि छ, यहाँँ चिया लिऊँ कि कफि ? ब्ल्याक टी पिउँदै कुरोकन्थो शुरु भयो । हामीले भन्यौं–‘यहाँसम्म आउन धेरै गाह्रो भयो । बाटो खत्तम रहेछ । यहाँ आईसकेपछि राहत मिल्यो ।’ उनले भने–‘यहाँ आएपछि मलाई कविता लेख्न मनपर्छ । चन्द्र सर (कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकाल) त्यहाँ उभिएर काठमाडौंको नियाल्दै बाटोबाट यता आउँदै गरेका सबै मानिसहरु चन्द्रागिरी जान आएका होलान् भन्ने ठान्नुहुन्छ ।’ चन्द्रागिरी केवुलकार सर्बसाधारणलाई खुला गर्दै अनौपचारिक रुपमा सेवा सञ्चालन गरेको साउन २५ गते करिब १० हजार जनाले केबलकार निःशुल्क चडेको सुनाउँदै दैनिक १० हजार मानिसलाई चन्द्रागिरी यात्रा गराउने कम्पनीको लक्ष्य रहेको उनले बताए । हामीले केबुलकारको यात्रा शुरु गर्यौं । समुन्द्री सतहबाट १४०० मिटर उचाईमा रहेको चन्द्रागिरी बेस स्टेशनबाट २५५१ मिटरको उचाईमा रहेको टप स्टेशन पुग्न साढे दुई किलोमिटर पार गर्नुपर्छ । उक्त दुरी पार गर्न ९ देखि १४ मिनेट लाग्ने रहेछ । तिब्र गतिमा हुँदा चाँडो र विस्तारै चल्दा ढिलो पुगिने । हामी चढेको केबुलकार विस्तारै चल्यो । घना बस्तीबाट माथि उठेको केबुलकार जंगल हुँदै कुहिरोभित्र छिर्यो । ‘यात्रा’ शब्दले अर्थ एउटै हुन्छ । तर यात्राको अनुभव विलकुलै फरक । कलंकीदेखि चेकपोष्ट सम्मको अत्यास लाग्दो यात्रा र केबुलकारमा जंगल माथि उडेर कुहिरो भित्र छिर्दाको यात्राको अनुभव नितान्त फरक । सडकको यात्रामा धुलो, धुवाँ, गर्मी, ध्वानीको कोलाहल र त्यसमा पनि जाम । केबुलकारको यात्रा, शान्त, शितल, निरन्तर एउटै गतिमा । चरा उडेको देख्दा रमाउनेहरु सपनामा आफै उडेको सपना देखेजस्तो । यहाँ सपना होइन, ३८ वटा गुण्डोलाहरु (केबलकार) निरन्तर सयौं यात्रुहरुलाई विपनामा उडाई रहेका छन् । अटोमेटिक चल्ने गुण्डोलाले यात्रुलाई जमिनबाट बादलमा र बादलबाट जमिनमा पुर्याउने काम गरिरह्यो । चन्द्रागिरी कुहिरोले ढपक्क डाकेको थियो । दिउँसो १ बजेको मौसम पनि बिहानी ६ बजेतिरको जस्तो । बिहानी पनि भदौको होइन, माघमा तुषारो पर्न लागेको अवस्थामा जस्तो । हामी जुत्ता खोलेर मन्दिर जान लाग्यौं । हामीअघि एक तिर्थालु मन्दिर जाँदै थिए । मन्दिर परिसरमा बसेका फूलपाती व्यवसायीले फूल र पूजाको सामान किन्न आग्रह गरे । ‘हामीले त खाईसक्यौं, के पुजा गर्नु ?’ अघाएका तिर्थालुले भने । ‘यहाँ त दिउँसो पनि बिहानी जस्तै हुन्छ, भर्खरै घाम लाग्ने बेला जस्तो । जतिखेर पनि पूजा गर्न सकिन्छ’ फूलपाती व्यवसायीले आफ्नो कला देखाए । तस्वीरमा भालेश्वर देवता हुन् जहाँ परम्परादेखि पुजा गरिँदै आएको छ । यी देवता अहिले पनि यथावत छन् । चन्द्रागिरी हिलले सो स्थानमा प्यागोडा शैलीमा परम्परालाई टपक्क टिपेर नयाँ शिव मन्दिर बनाएको छ । नयाँ मन्दिर, नयाँ पुजारी तर प्रस्तुति पुरै परम्परागत । झल्को लाग्छ, यो मन्दिर गणतन्त्र आएपछि बनेको होइन, मल्लकाल तिर नै बनेको हुनुपर्छ । हामीले चन्द्रगिरी लेकमा प्रकृतिसँग करिब दुई घण्टा चुम्बन गर्यौं । घरी बादलसँग चुम्बन गर्यौ, घरी घामसँग । तर एउटा सपना मिस गर्ने चिन्ता थियो । पृथ्वीनारायण शाहले जसरी पहिलो पटक सोही स्थानबाट काठमाडौं उपत्यका हेरेर लोभिएका थिए, त्यसरी हामीले काठमाडौं हेर्ने मौका नमिल्ला जस्तो लाग्यो । चन्द्रगिरीबाट हिमाल देखिने, पहाड र तराई देख्न नपाईने हो कि भन्न चिन्ता थियो । अब चिन्ता हट्यो । कहीँ कहीँ बादलको घुम्टो खुल्यो । निलो आकाशसँगै काठकाडौंको घना बस्ती देखिन थाल्यो । आशा लाग्यो, अब हिमाल, पहाड र तराई पनि देख्न पाईन्छ । फोटोका क्रेजीहरुमा नयाँ उत्साह देखियो । अँह, पाईएन । फेरी कुहिरो मडारिएर आयो । तन्नेरीहरु लखर्रलखर्र केबुलकार तिर झर्न थाले । बन्दै गरेको भ्यूटावर, चिल्ड्रेन पार्क, थ्री डी हल लगायत थप पूर्वाधार नियाल्दै फर्कने क्रममा भेट्टिइन–कम्पनीको सेल्स एण्ड मार्केटिङ प्रमुख इन्दिरा पौडेल । उनका अनुसार सफ्ट लञ्च गरेपछि चन्द्रागिरी केबलकारले व्यवसायिक लञ्चको तिथिमिति तय भएको छैन । सरकारसँग ३६ हेक्टर जमिन ४० वर्षको लागि लिजमा लिएर करिव ५ हेक्टरमा जमिनमा केबुलकार, मन्दिर, रेष्टुरेन्ट, होटल, मनोरञ्जन पार्क, थ्रिडी हल, भ्यू टावर निर्माण गरिँदै छ । बेस स्टेशनको १२० रोपनी जमिन कम्पनीले आफैं खरिद गरेको छ । कम्पनीले २०६६ सालमा नेपाल सरकारसँग लिज सम्झौतामा हस्ताक्षर गरेको थियो भने पछिल्लो दुई वर्षदेखि निर्माण कार्य गरिरहेको छ । सबै पूर्वाधार निर्माण हुन अझै धेरै समय लाग्ने देखिन्छ । कम्पनीले हालसम्म साढे तीन अर्ब लगानी गरिसकेको छ भने अझै केहि लगानी थप्ने कम्पनीकी सेल्स एण्ड मार्केटिङ प्रमुख इन्दिरा पौडेलले बताइन् । कम्पनीमा आइएमई ग्रुप, भाटभटेनी ग्रुप, नवराज नेपाल, उत्तम नेपाल, उमा केसीलगायतको लगानी रहेको छ । कति पर्छ केबल कार चढेको ? केबलकार चढ्नका आम नेपालीले सात सय रुपैंयाँको टिकट काट्नु पर्छ । त्यसमा थानकोट, मकवानपुरको फाखेल र चित्लाङका बासिन्दालाई २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । सार्क मुलुकका पर्यटकहरुका लागि ७ सय भारतीय रुपैंयाँ शुल्क तोकिएको छ भने अन्य मुलुकका पर्यटकले २२ अमेरिकी डलर तिर्नु पर्छ । तीन फिट भन्दा कम उचाई भएका बालबालिकाका लागि निःशुल्क व्यवस्था गरिएको छ भने तीन देखि चार फिट उचाईकाहरुले ४० प्रतिशत छुट प्राप्त गर्नेछन् । जेष्ठ नागरिकले पनि २५ प्रतिशत छुट पाउँछन भने फरक क्षमता भएकाहरुका लागि ४० प्रतिशत सहुलियतको व्यवस्था गरिएको पौडेलले जानकारी दिईन् ।
अटोमोबाइलको बजार ३५ प्रतिशतले बढिरहेको छ–अञ्जन श्रेष्ठ
अञ्जन श्रेष्ठ, अध्यक्ष–नाडा अटोमोबाइल्स एशोसिएसन् अफ नेपाल भदौं १४ गतेदेखि १९ गतेसम्म राजधानीको भृकुटीमण्डपमा सवारीहरुको प्रदर्शनी नाडा अटो शो २०१६ हुँदैछ । नाडा अटोमोबाइल्स एशोसिएशनले आयोजना गर्ने उक्त मेलामा नेपालमा बिक्री हुने प्राय सबै सवारी साधन, सवारी सहायक बस्तुहरुको प्रदर्शनी हुने, ५० हजार भन्दा बढी मानिसले अवलोकन गर्ने र २ अर्ब भन्दा बढीका करोबार हुने अनुमान गरिएको छ । मेलाको तयारी कस्तो छ ? मेलाबाट सवारी पारखीले के पाउने छन् ? प्रस्तुत छ, नाडा अटोमोवाइल्स एशोसिएशनले आयोजना गरेको पत्रकार सम्मेलनमा उठेका प्रश्न र नाडाका अध्यक्ष अञ्जन श्रेष्ठले दिएको जवाफको सारः नाडा अटो शोको तयारी कस्तो छ ? यहि भदौं १४ गतेदेखि १९ गतेसम्म राजधानीको भृकुटीमण्डपमा ११ औं नाडा अटो शोको आयोजना गर्दैछौं । सबै खाले तयारीहरु अन्तिम चरणमा पुगिसकेको छ । सहभागी हुने ब्राण्ड, तिनको लोकेशन लगायतका सबै कुरा निश्चित भैसकेका छन् । अटो शोमा अटोमोबाइल्सका कुन–कुन उत्पादन समेटिँदैछन् ? र कति स्टल रहनेछन् ? मेलामा ७४ वटा कम्पनीका १२५ वटा स्टलहरु रहने छन् । त्यसमा १६ वटा ब्राण्डका चार पाङग्रे, १५ वटा ब्राण्डका दुई पाङग्रे तथा ५ वटा ब्राण्डका हेवी कमर्शियल सवारी साधनहरू रहने छन् । साथै, नाडा अटो शोमा प्रख्यात ब्राण्डका सवारी साधन, पार्ट पुर्जा तथा अन्य एसेसरिजहरु समावेश गरिनेछन् । कुन–कुन ब्राण्डले सहभागीता जनाउँदैछन् ? नेपाली बजारमा उपस्थितका भएका प्राय सबै ब्राण्डलाई सहभागी गराउने प्रयास गरेका छौं । जस्तो कि चार पाङग्रेमा डाट्सुन, फियट, फोर्ड, होण्डा, हुण्डाई, किया, महिन्द्रा, एमजी, निशान, रेनाउल्ट, स्कोडा, सुजुकी, टाटा, टोयोटा, भक्सवागन र साङयोङ रहेका छन् । त्यस्तै २–पाङग्रेमा बजाज, बेला, बेनेली, हिरो, होण्डा, केटिएम, महिन्द्रा, रोयल इनफिल्ड, रनर, स्कोमाडी, सुजुकी, टिभिएस, युएम ग्लोबल, भेस्पा र यामाहा रहेका छन् । त्यस्तै, हेवी कमर्शियलमा अशोक लिलेण्ड, आइसर, इस्कोर्ट, महिन्द्रा र टाटा रहेका छन् । त्यसबाहेक पनि बिभिन्न वित्तीय संस्था, नया प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस्, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एसेसरिजहरूको पनि सहभागिता रहने छ । मेला कस्तो हुने पूर्वानुमान गर्नु भएको छ ? अटोमोवाईल क्षेत्रको यो सबैभन्दा ठूलो मेला हो । ६ दिनसम्म चल्ने नाडा अटो शोमा ५० हजार आगन्तुकहरुले अवलोकन गर्ने अपेक्षा गरेका छौं । उहाँहरुले मेलामा पक्कै पनि धेरै नयाँ कुरा देख्न पाउनु हुनेछ । गतसाल ४० हजारले अवलोकन गरेका थिए । गत सालको नाडा अटो शो मेलामा १५० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । यसपाली करिब २ अर्बको कारोबार हुने अनुमान गरेका छौं । नाडा अटो शो बेच्ने मात्रै नभएर ब्राण्डिङ गर्ने स्थलका रुपमा पनि स्थापित हुँदै आएको छ । त्यसैले अब वर्षमा दुई पटक अटो शो गर्ने कि भनेर हामीबीच छलफल भैरहेको छ । अर्थतन्त्रमा अटो मोबाइल्स क्षेत्रको योगदान कति छ ? अटो मोबाइल्स क्षेत्र भनेको मुलुकको अर्थतन्त्रको मेरुदण्ड नै हो । करिव बर्षेनी पाँच हजार करोड रुपैयाँ बराबर कारोबार हुने गरेको छ । देशको कुल राजस्वमा करिब २० प्रतिशत योगदान अटोमोबाइल क्षेत्रले पुर्याएको छ । बीमा बजारमा करिब ४५ प्रतिशत हिस्सा अटोमोबाइल क्षेत्रले नै ओगटेको छ । करिब १७ लाख नेपालीले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । अटो मोबाइलको बजार वृद्धिको अवस्था कस्तो छ ? भूकम्प र नाका बन्दीका बाबजुद पनि गत वर्ष ३५ देखि ४० प्रतिशत बजार बढेको थियो । यसपालीमा पनि सोही मात्रामा बजार वृद्धि हुन्छ । यसको स्कोप अझै ठूलो छ, त्यसैले बजार अझै वृद्धि हुन्छ । करको दरमा सधै असन्तुष्ठि व्यक्त गर्दै आउनु भएको छ, किन ? विश्वमै नभएको भन्सार दर हामी कहाँ छ, अटो मोबाइल क्षेत्रमा । अब यसलाई बिलासिताको बस्तुबाट आवश्यक बस्तुका रुपमा मान्यता दिनु पर्छ त्यसका लागि करको दर घटाउनु पर्छ भन्ने हाम्रो माग हो । खास गरी सरकारी अधिकारी तथा नीति निर्माताले अटोमोवाईल क्षेत्रलाई विलासीका बस्तुको रुपमा लिनु भएन । यसलाई बिलासीको बस्तुबाट आवश्यकताका बस्तुका रुपमा परिभाषित गरिनुपर्छ भन्ने हाम्रो माग हो । ५ हजार करोड रुपैयाँको कारोबार हुन्छ भन्नु भयो । यति ठूलो बजार भए पनि नेपालमा नै एसेम्बल गरी मोटर निर्माण किन गर्न सकिएको छैन ? हामी पनि एसेम्बलको काम गर्नु पर्छ भन्ने निष्कर्षमा पुगेको धेरै पहिले नै हो । त्यसका लागि सरकारसँग पनि विशेष सुबिधा माग गर्दै आएका छौं । नेपालमा एसेम्बल गरियो भने त्यसले सहायक कम्पनीहरुको स्थापना गराउँछ र रोजगारीको ठूलो अवसर सृजना हुन्छ । एसेम्बलका लागि सरकारले छोटो समय सुबिधा दियो भने लामो समयसम्म अर्थतन्त्रामा योगदान पुग्छ । यसपालीको बजेट मै केहि सुबिधाका लागि आग्रह गरेका थियौं । तर त्यस्तो सुबिधा केहि पनि आएन् । बजाज मोटर साइकलको एसेम्बल युनिट स्थापना भैसकेको छ । त्यहि छुटको बिषयमा कुरा नमिलेर उत्पादन बजारमा ल्याउन नसकिएको हो । सडक मर्मत तथा सम्भार दस्तुर उठाइँदै आएको छ, तर सडकको दुर्दशा र दुर्घट्ना घटेका छैनन् नि ? सरकारलाई सडक मर्मत तथा सम्भार दस्तुर लिन र त्यस कोषले सडक मर्मत गर्न हामीले नै सरकारलाई सुझाव दिएका हौं । तर सरकारले त्यो शिर्षकमा रकम उठाए पनि काम गरेन । सुरुमा दुई प्रतिशत, त्यसपछि पाँच प्रतिशत हुँदै यसपाली ७ प्रतिशत सडक मर्मत तथा सम्भार दस्तुर पुर्याएको छ । त्यो रकम राजश्व खातामा हालेको देखिन्छ । अब त्यो ७ प्रतिशत दस्तुर छुट्टै कोष बनाएर सडक मर्मतमा खर्च गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । ट्राफिक व्यवस्थापनमा पनि सोही कोषको केहि रकम खर्च गर्न सकिन्छ । नेपालमा यतिबेला सडक विस्तारको काम द्रुतगतिमा अघि बढेको छ । निर्वाचन क्षेत्र विकास कार्यक्रम, हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, उत्तर दक्षिण छिचोल्ने सडक करिडोरहरुको काम अघि बढेसँगै त्यसको पुष्टि हुन्छ । तर त्यसको गुणस्तर मापनको उपयुक्त विधि अबलम्बन गरिनु आवश्यक छ ।