कार्ड जारी गर्ने रेमिटान्स कम्पनीको चुक्ता पूजी २५ करोड, अन्यले पनि कम्तिमा दुई गुणा बढाउनै पर्ने

काठमाडौं, १८ साउन । बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पूजी बढाउदै लगेको नेपाल राष्ट्र बैंकले रेमिटान्स ब्यवसायमा संलग्न कम्पनीको चुक्ता पूजी पनि बढाएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत कार्ड जारी गर्ने रेमिटान्स कम्पनीको हकमा छुट्टै ब्यवस्था गरी २५ करोड रुपैयाँ र अन्य कम्पनीले कम्तिमा पनि दुई गुणाले चुक्ता पूजी बढाउनु पर्ने ब्यवस्था गरिएको हो । कार्ड जारी गर्ने रेमिटान्स कम्पनीको चुक्ता पूजी कति हुनुपर्छ भन्ने ब्यवस्था यसअघि थिएन । यसअघि प्रिन्सिपल कम्पनी भइ रेमिटान्स ब्यवसायमा संलग्न कम्पनीको चुक्ता पूजी ५ करोड रुपैयाँ भए हुन्थ्यो । सोही पूजीको आधारमा रेमिटान्स कम्पनीले कार्ड जारी गर्न सक्ने ब्यवस्था थियो । सो ब्यवस्था अनुसार आइएमइ मनि ट्रान्सफर कम्पनीले रेमिटान्स कार्ड जारी पनि गरेको छ । प्रिन्सिपल कम्पनी भइ कारोवार गर्ने रेमिटान्स कम्पनी, फर्म वा संस्थाको चुक्ता पूजी १० करोड रुपैयाँ हुनै पर्ने ब्यवस्था गरिएको छ । यसअघि यस्तो पूजी ५ करोड रुपैयाँ भए हुन्थ्यो । यस्तै विदेशस्थित प्रिन्सिपल कम्पनीको एजेन्ट भइ रेमिटान्स कारोवार गर्ने कम्पनी, फर्म र संस्थाहरुको न्यूनतम चुक्ता पूजी २ करोड रुपैयाँ पुर्याउनु पर्ने भएको छ । यसअघि यस्तो पूजी १ करोड रुपैयाँ भए हुन्थ्यो । नयाँ ब्यवस्था नेपाल राष्ट्र बैंकवाट इजाजतपत्र नविकरण गर्ने समयसम्ममा कायम गरिसक्न राष्ट्र बैंकले सवै कम्पनीहरुलाई निर्देशन दिइसकेको छ । रेमिटान्स कारोवारको इजाजत प्रत्येक बर्ष नविकरण गर्नुपर्ने हुन्छ । यस्तै मनि चेन्जरहरुको चुक्ता पूजी पनि बृद्धि गरिएको छ । नयाँ ब्यवस्था अनुसार भारतीय रुपैयाँ मात्रै खरिद विक्रीको कारोवार गर्ने मनि चेन्जरले आफ्नो न्यूनतम चुक्ता पूजी ५ लाख रुपैयाँ नै राखे हुनेछ । तर परिवत्र्य विदेशी मुद्राको खरिद कारोवार गर्ने मनि चेन्जरले आफ्नो चुक्ता पूजी अहिलेको १० लाख रुपैयाँबाट बढाएर १५ लाख रुपैयाँ पुर्याउनु पर्ने भएको छ । भारतीय रुपैयाँसहित परिवत्र्य विदेशी मुद्राको कारोवार गर्ने मनि चेन्जरले आफ्नो चुक्ता पूजी १५ लाख रुपैयाँबाट बढाएर २० लाख रुपैयाँ पुर्याउनै पर्ने भएको छ ।

चार वटा बाणिज्य बैंकको नाफा चार अर्ब, सिद्धार्थ, प्रभु, सनराईज र लक्ष्मीले कति कमाए ?

काठमाडौं, १८ साउन । चार वटा बाणिज्य बैंकहरुले २०७३ असार मसान्तसम्ममा चार अर्ब नाफा कमाएका छन् । मंगलबार वित्तिय विवरण सार्वजनिक गरेका सिद्धार्थ बैंक, प्रभु बैंक, सनराईज बैंक र लक्ष्मी बैंकले सो अवधीमा कुल चार अर्ब नाफा कमाउन सफल भएका हुन् । चारमध्ये सिद्धार्थ बैंक र प्रभु बैंकको नाफा एक अर्ब नाघेको छ भने सनराइज बैंकले आफ्नो नाफा १०२ प्रतिशतले बढाउन सफल भएको छ । त्यस्तै, लक्ष्मी बैंकको नाफा पनि २३ करोडले वृद्धि भएको छ । सिद्धार्थको नाफा १२४ करोड सिद्धार्थ बैंक लिमिटेडले २०७३ असार मसान्तसम्ममा एक अर्ब २४ करोड नाफा कमाएको छ । यो नाफा बैंकले २०७२ असार मसान्तममा कमाएको भन्दा ४७ करोडले बढि हो । बैंकले २०७२ असार मसान्तसम्ममा जम्मा ७७ करोड नाफा कमाएको थियो । बैंकले कमाएको नाफामा १५ करोड रुपैंयाँ राइटब्याकबाट प्राप्त भएको हो । सिद्धार्थको खराब कर्जा एक दशमलब ४१ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी रुपैंयाँ ४९ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ २०६ रुपैंयाँ ९१ पैसा रहेको छ । प्रभुले कमायो ११४ करोड प्रभु बैंकले २०७३ असार मसान्तसम्ममा एक अर्ब १४ करोड नाफा कमाएको छ । बैंकको यो नाफामा एक अर्ब ५ करोड रुपैंयाँ राइटब्याकबाट प्राप्त भएको हो । यो नाफा बैंकले २०७२ असार मसान्तसम्ममा कमाएको भन्दा १३ करोडले बढि हो । बैंकले सो अवधीमा जम्मा एक अर्ब १ करोड रुपैंयाँ नाफा कमाउन सफल भएको थियो । समस्याग्रस्त ग्राण्ड बैंकसँग मर्ज भएको प्रभुको खराब कर्जा ८ दशमलब ३८ प्रतिशत रहेको छ । बैंकले ६० अर्ब निक्षेप संकलन गरेर ४८ अर्ब कर्जा प्रवाह गरेको छ । सनराइजको नाफा १०२ प्रतिशतले वृद्धि त्यस्तै, सनराइज बैंकले आफ्नो नाफामा १०२ प्रतिशतले वृद्धि गरेको छ । बैंकले २०७३ असार मसान्तसम्ममा ९५ लाख रुपैंयाँ नाफा कमाएको हो । यो नाफा बैंकले २०७२ असारमसान्तसम्ममा कमाएको भन्दा ४८ करोड अर्थात १०२ प्रतिशतले बढि हो । सो नाफामा ५५ करोड रुपैंयाँ भने राइटब्याकबाट प्राप्त भएको हो । बैंकले २ दशमलब ९० प्रतिशतमा रहेको खराब कर्जालाई घटाएर एक दशमलब २४ प्रतिशतमा झारेको छ । ३ अर्ब ९७ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब १६ करोड रुपैंयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी २३ रुपैंयाँ ९८ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १५४ रुपैंयाँ ५६ पैसा रहेको छ । लक्ष्मी बैंकले कमायो ६७ करोड लक्ष्मी बैंकले २०७३ असार मसान्तसम्ममा ६७ करोड ३७ लाख मुनाफा आर्जन गरेको छ । बैंकले कमाएको यो नाफा २०७२ असार मसान्तसम्मको भन्दा २३ करोड ७४ लाखले बढि हो । बैंकले सो अवधीमा ४३ करोड ६३ लाख नाफा आर्जन गरेको थियो । लक्ष्मी बैंकको यो नाफामा १० करोड रुपैैंयाँको हिस्सा राइटब्याकले ओगटेको छ । ३ अर्ब चुक्ता पुँजी भएको लक्ष्मी बैंकको जगेडा कोषमा २ अर्ब ६० करोड रुपैंयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी २२ रुपैंयाँ १७ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १८५ रुपैंयाँ ७७ पैसा रहेको छ ।

अब बन्ने भयो बाहिरी चक्रपथ, चोभार–गाम्चा–सतुङ्गल खण्डमा ९९प्रतिशत जग्गाधनीको सहमति

काठमाडौँ, १७ साउन । बाहिरी चक्रपथ निर्माणको चर्चा चलेको एक दशकपछि काठमाडौँ उपत्यकाका तीनै जिल्ला जोडिने ७३ किमी चक्रपथ निर्माण हुने भएको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले गत असार ११ गते चोभार–गाम्चा–सतुङ्गल ६.६ किमी दूरीको ३.५ वर्ग किमी जग्गा विकास गरी बाहिरी चक्रपथ निर्माण गर्न त्यस क्षेत्रका जग्गाधनीको असहमति भए ३५ दिनभित्र उजुरी दर्ता गर्न सार्वजनिक सूचना प्रकाशन गरेको थियो । आइतबार अन्तिम असहमति दर्ता गराउने दिनसम्म ९६ मात्र उजुरी परेकाले बाहिरी चक्रपथ बन्ने निश्चित भएको हो । आयोजना रोकिनका लागि कम्तीमा चार हजार असहमतिका उजुरी पर्नुपर्ने प्राधिकरणका शाखा अधिकृत ध्रुव सापकोटाले जानकारी दिए । “चोभार–गाम्चा–सतुङ्गल ६.६ किमी दूरीको ३.५ वर्ग किमी क्षेत्रमा अनुमानित सात हजार व्यक्तिको जग्गा छ, यसको ५१ प्रतिशतले असहमति जनाएका भए बाहिरी चक्रपथको काम रोकिन्थ्यो, धेरैको सहमति भएकाले बाहिरी चक्रपथ बन्ने सुनिश्चित भएको छ”– उनले भने । करिव ९८ प्रतिशतभन्दा बढी जग्गाधनीले चक्रपथ निर्माण गर्न सहमति दिएकोले अब निर्माण कार्य अगाडि बढाईने उनले बताए । बाहिरी चक्रपथको सडक ५० मिको हुनेछ । सडकका लागि प्राधिकरणले जग्गा अधिग्रहण गर्दैन । नमिलेको जग्गालाई योजनाबद्ध रुपमा विकास गरी समुदायलाई हस्तान्तरण गर्छ । जग्गा विकास गरिदिएबापत जग्गाधनीले बाहिरी चक्रपथ र जग्गा विकास गरिने ३.५ वर्ग किमी क्षेत्रमा छ, आठ र ११ मिटरका अन्य ती सहायक सडक निर्माणका लागि आवश्यक जग्गाको योगदान गर्नुपर्ने प्राधिकरणका प्रवक्ता केशवप्रसाद न्यौपानेले बताए । “असहमति जनाएका ९६ जना जग्गाधनीमध्ये अधिकांशले बाहिरी चक्रपथ निर्माण हुनुहुँदैन भन्ने नभई आयोजना छिटो सम्पन्न होस् र २० प्रतिशतभन्दा कम जग्गा काटियोस् भनी माग गर्नेको सङ्ख्या धेरै छ, पूर्ण रुपमा असहमति राख्नेको सङ्ख्या कम छ”– उनले भने । बाहिरी चक्रपथ निर्माण प्रक्रियामा चार वर्षअघि कीर्तिपुर नगरपालिकाका बासिन्दाले धेरै विरोध गरेका थिए । यस पटक कीर्तिपुरका मानिसले बाहिरी चक्रपथ निर्माणका लागि सकारात्मक सहयोग गरेको प्राधिकरणले जनाएको छ । यसबीचमा गत वर्ष आएको भूकम्प र प्राधिकरणले स्थानीयवासीमा जनचेतना जगाएकाले स्थानीयवासी सकारात्मक बनेका हुन् । सूचनामा सकारात्मक प्रतिक्रिया आएपछि छिटो गरी बाहिरी चक्रपथको चोभार–गाम्चा–सतुङ्गल ६.६ किमी निर्माण अघि बढ्ने भएको छ । बाहिरी चक्रपथको सो खण्डमा त्रिभुवन, पृथ्वी, काठमाडौँ–तराई दु्रतमार्ग र काठमाडौँ–केरुङ मार्गसमेत जोडिनेछ । यसअघि बाहिरी चक्रपथ निर्माणका लागि गरिएका प्रयासमा यही खण्डमा विवाद आएकाले काम रोकिएको थियो । रासस