नेपाल बैंकले १० लाख ३१ हजार कित्ता सेयर बेच्दै
काठमाडौं, १५ बैशाख । नेपाल बैंक लिमिटेडले नेपाल इन्स्योरेन्स कम्पनीमा रहेको सेयर बिक्रि गर्ने भएको छ । बैंकले सार्वजनिक सूचना प्रकाशित गर्दै १० लाख ३१ हजार ६ सय ७४ कित्ता सेयर खरिदका लागि आव्हान गरेको हो । प्रति कित्ता न्युनतम ४ सयबाट बोलकबोलका आधारमा आवेदन भर्न सकिनेछ । आवेदकले न्युनतम १०० कित्तादेखि अधिकतम ४ लाख २१ हजार ४ सय १० कित्ताका लागि शिलबन्दी गरि आवेदन दिन सक्नेछन् । १० लाख मुल्यसम्मको आवेदन दिनेले स्वेच्छिक रुपमा प्यान नम्बर उल्लख गर्नु पर्नेछ भने सो भन्दा बढिको आवेदन दिनेले अनिवार्य रुपमा प्यान नम्बर उल्लेख गर्नु पर्नेछ । बैशाख १५ गतेबाट आवेदन खुल्ला गरिएको छ भने जेठ ४ गते आवेदन दिने अन्तिम म्याद तोकिएको छ । जेष्ठ ५ गते सेयर बाँडफाँट हुनेछ । बैंकले बिक्रि प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ । आवेदकले सिद्धार्थ क्यापिटल लिमिटेडको खाता नम्बर ००११५२०७२८१ मा रकम जम्मा गर्नु पर्नेछ । भुक्तानीका लागि भने गुड फर पेपेन्ट चेक अनिवार्य गरिएको छ । नेपाल राष्ट्र बैंकले तोकेको पुँजी पुर्याउने विकल्पका रुपमा नेपाल बैंकले नेपाल इन्स्योरेन्समा रहेको आफ्नो संस्थापक सेयर बेच्न लागेको हो ।
नेपाल राष्ट्र बैंकको ६१ औं बर्षगाँठः गभर्नर भन्छन–असहजता चिर्दै आत्मनिर्भरताको बाटोमा
काठमाडौं, १४ बैशाख । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले भूकम्प र भारतीय नाका बन्दी जस्ता असहजतालाई चिर्दै नेपाली अर्थतन्त्र आत्मनिर्भरताको बाटोमा अघि बढेको बताएका छन् । नेपाल राष्ट्र बैंकको ६१ औं बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले असाधारण बर्षलाई चिर्र्दै आफ्नै खुट्टामा उभिने प्रयास गरिएको बताएका हुन् । केन्द्रिय बैंकको अथक प्रयासले अर्थतन्त्रलाई ऋणात्मक हुनबाट जोगाउनुका साथै असहज परिस्थितिमा समेत सेवाग्राहीलाई सरल सेवा प्रवाह गरेको उनले बताए । कस्तो छ वित्तिय परिसूचक राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको बैशाख १० गतेसम्ममा जम्मा ३५ अर्ब ७१ करोड मात्रै पूँजीगत खर्च भएको छ । जुन विनियोजित बजेटको १७ दशमलब १ मात्रै भएको छ । मर्जरले घटायो संख्या बैंक तथा वित्तिय संस्था एक आपसमा गाभ्ने वा गाभिने सम्बन्धी विनियमावली २०६८ कार्यान्वयनमा आएपछि ८९ वटा बैंक तथा वित्तिय संस्था मर्जर भएर ३६ वटामा संस्था बनेका छन् । मुद्रा व्यवस्थापन राष्ट्र बैंकले तीन बर्ष तीन महिनासम्मका पुग्ने नोट स्टक राख्ने प्रक्रिया समेत सुरु गरिसकेको जनाएको छ । अन्तराष्ट्रिय सम्बन्ध विस्तार भूकम्पपछि राष्ट्र बैंकले पारस्परिकताको आधारमा सहयोग तथा सुपरिवेक्षकिय सूचनाहरु आदान प्रदान गर्न भारतीय रिजर्भ बैंक र चीनको बैंकिङ नियमनकारी निकाय चाइना बैंकिङ रेगुरलेटरी कमिसनसँग सम्झौता सम्पन्न भएको जनाएको छ । पुर्व गभर्नरलाई सम्मान समारोहमा राष्ट्र बैंकका प्रथम गभर्नर हिमायलय सम्शेर जबरादेखि हालसम्मका सम्पुर्ण गभर्नरहरुलाई सम्मान गरेको छ । उनीहरुलाई नेपालको वित्तिय स्थायीत्व कायम गराउन उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको बैंकले जनाएको छ ।
संसद् अधिवेशन वैशाख २१ का लागि सिफारिस, दुई हजार रुपैयाँ अंकित मुद्रा निकाल्ने
काठमाडौँ, १४ वैशाख । सरकारले यही वैशाख २१ गते व्यवस्थापिका–संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता शेरधन राईले मन्त्रिपरिषद्को आजको बैठकपछि दिँदै सो दिन बिहान ११ बजे संसद्को आउँदो बजेट अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय भएको जानकारी दिए । बैठकले सशस्त्र प्रहरी बलका कामु महानिरीक्षक दुर्जकुमार राईलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेकोे छ । सूचना तथा सञ्चारमन्त्री राईले ‘गोरखापत्र’को ११६औँ वार्षिकोत्सवका अवसरमा सो पत्रिकाको पहिलो अङ्कको साङ्केतिक चित्रअङ्कित रु दुई हजार दरका दुई हजार थान प्रति २५ ग्रामका चाँदीका स्मारिका सिक्का निष्काशन गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय गरेको जानकारी दिए । बैठकले झुटो विवरण पेस गरी रुपन्देही जिल्लाबाट नेपाली नागरिकताको प्रमाणपत्र लिने भारतीयहरु महेन्द्रकुमार मिश्र, अनिलकुमार मिश्र र सतीशकुमार मिश्रको नागरिकताको प्रमाणपत्र रद्द गरी निजहरुलाई नेपाली नागरिकबाट हटाउने निर्णय गरेको छ । सो बैठकले गरिब घरपरिवार सहयोग समन्वय बोर्डको कार्यकारी उपाध्यक्षमा स्याङ्जाका जनकलाल तिवारीलाई नियुक्त गर्ने, राष्ट्रिय परिचयपत्र सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने तथा राष्ट्रिय युवा परिषद्को आव ०७२/७३ सम्मका लागि सङ्गठन संरचना र अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । यस्तै नेपाल सरकारका १२ सहसचिवको पदस्थापन गरिएको छ । तीमध्ये सोमराज कोइराला, सुमन दाहाल, नारायणप्रसाद सापकोटा, जितेन्द्र बस्नेत र शिवराम न्यौपानेलाई राष्ट्रि«य पुनःनिर्माण प्राधिकरणमा, हरिराम शर्मालाई अर्थ मन्त्रालयमा तथा झलकराम अधिकारी, यमलाल भुसाल, यज्ञराज कोइराला, बलराम रिजाल र ईश्वर पौडेललाई अतिरिक्त समूहमा राख्ने निर्णय गरिएको छ ।