विनासकारी भूकम्पको एक बर्ष: जनताले अझै नागरिकको दर्जा पाएनन्
काठमाडौं, १२ बैशाख । विनासकारी भूकम्प गएको १ बर्ष विते पनि पुननिर्माण र नबनिर्माणको काम अझै सुरु हुन सकेको छैन । गत २ माघमा राष्ट्रपति विद्यादेबी भण्डारीले रानीपोखरीवाट र प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपूरको बुङमतिवाट सुरु गरेको पुननिर्माण महाअभियान नै अलपत्र परेको छ । जनताका घर बनाउन दिने भनिएको अनुदान रकम दिने कार्य थालनी भएको छैन भन्दा पनि हुने अवस्था छ । भूकम्पको कारण ७ खर्ब ७ अर्ब रुपैयाँ बराबरको क्षति भएको थियो । सर्वसाधारणका करिब ८ लाख घर भत्किएका थिए । करिब ९ हजार मानिसले ज्यान गुमाएका थिए । उद्योग कल कारखना, सेवा, कृषि जस्ता अर्थतन्त्रका प्रमुख क्षेत्रमात्र होइन जनताले जिबन गुजारा गर्न चलाएका ब्यवसाय धरासायी भए । भूकम्प र नाकाबन्दीले असर पुर्याएको क्षेत्रलाई राहत दिन स्थापना गरिने भनिएको १ खर्ब रुपैयाँ बराबरको पुनरुद्धार कोष अझै स्थापना हुन सकेको छैन । कोष स्थापना हुन नसक्नुको कारण पनि सरकारी कमजोरी नै हो । सरकारले आफ्नो प्रतिवद्धता अनुसारको रकम नदिदा कोष स्थापना हुन नसकेको हो । गत बर्षको असार दोस्रो साता गरिएको दाता सम्मेलनमा दातृ निकायले पुननिर्माणको लागि ४ खर्ब १ अर्ब रुपैयाँ सहयोग दिने प्रतिबद्धता जाहेर गरेका थिए । सरकारले त्यस्तो प्रतिवद्धता रकम प्राप्त गर्नको लागि सम्झौता पनि गर्न सकेको छैन । अहिलेसम्ममा १ खर्ब ३० अर्ब रुपैयाँ मात्रै सम्झौता गरेको छ । यसरी सरकारले विदेशी सहयोग परिचालन पनि गर्न सकेको अवस्था छैन । सरकारले गत आर्थिक बर्षको बजेटमा राखेको ९० अर्ब रुपैयाँ बजेट पनि पुननिर्माणमा परिचालन गर्न सकेको छैन । भूकम्पको कारण करिब १० लाख नेपाली थप गरिब भए । उनीहरुको आय आर्जन बृद्धि र रोजगारीका कार्यक्रम ल्याउन सकिएको छैन । जसले गर्दा गरिबीको संख्या तेह्रौं योजनाको लक्ष्य २३ दशमलब ८ प्रतिशतवाट १८ प्रतिशतमा झार्ने योजना सफल नहुने देखिएको छ । यस्तै भूकम्प पीडितले बैंकवाट लिएको ५० हजार रुपैयाँसम्मको कर्जा छुट दिने सरकारको निर्णय पनि कार्यान्वयनको लागि अगाडि बढेकै छैन । भूकम्पले घर भत्काइदिएपछि बारीको पाटामा बसेका करिब ८ लाख परिवारले अझै घर पाउन सकेका छैनन् । यो भन्दा दयनीय अवस्था सायद अरु हुन सक्दैन । भूकम्प पीडितको एकिकृत बस्ती विकास गर्ने योजना पनि अलपत्र परेको छ । नयाँ बस्ती बसाउनको लागि स्थान छनोट हुनै सकेको छैन । घर बनाउन दिने भनिएको सरकारी अनुदान पनि बैंकको लाग्ने खर्च कसले ब्यहोर्ने भन्ने विवादले त्यसै थन्किएको छ । राहतको नाममा आएको रकमको पनि दुरुपयोग भएको तथ्य सार्वजनिक भएका छन् । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार राहत रकमको खर्च पारदर्शी छैन । सरकारले पीडितलाई राहत दिनुको साटो उनीहरुको नाममा लुट मच्चाइरहेको तथ्य सार्वजनिक भएका छन् । यसरी पुननिर्माणको काम सुरु हुन नसक्नु र जनताले राहत पाउन नसक्नुका पछाडि विषेश गरेर दुई कारण छन् । पहिलो कारण सरकारको नेतृत्व गरेको राजनीतिक नेतृत्वको इच्छा शक्तिको कमजोरी हो भने पुरातन ढाचाको कर्मचारी संयन्त्र दोस्रो कारण हो । सत्तामा बसेका राजनीतिक दलहरुले जनतालाई रैती जस्तै ब्यवहार गर्दा र जनताप्रति उत्तरदायी नबन्दा यस्तो अवस्था आएको हो । यसैकार लोकतन्त्र आएको १० बर्ष विते पनि जनताले नागरिक बन्ने अवसर पाउन सकेका छैनन् । अझै पनि रैती जस्तै भएर दुख ब्यहोर्न बाध्य हुनुपरेको छ ।
कनकमणी दीक्षित पक्राउ, आइतबारसम्म हिरासतमै रहने
काठमाडौं, १० बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई पक्राउ गरेको छ । साझा यातायातमा भ्रष्टाचार गरेको आरोपमा आयोगको टोलीले दीक्षितलाई पक्राउ गरेको हो । बरिष्ठ पत्रकार समेत रहेका दीक्षित आइतबारसम्म आयोगकै हिरासतमा रहनेछन् । दीक्षितलाई शुक्रबार कार्यालय समय सकिएपछि पक्राउ गरिएको हो । शनिबार र आइतबार कार्यालय खुल्दैनन् । आइतबार भूकम्प स्मृति दिवसका लागि सरकारले सार्वजनिक विदा दिएको छ । अब दीक्षित सोमबार मात्रै रिहा हुन सक्नेछन् । दिक्षितले साझा यातायातको अध्यक्षका हैसियतले सार्वजनिक पदको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको, संस्थाको आर्थिक हिनामिना गरी स्वदेशी तथा बिदेशी बिभिन्न बैंकमा आफू र आफ्नो परिवारको नाममा रकम जम्मा गरेको, संस्थाको सम्पत्तिलाई पैतृक सम्पत्ति सरह बेचबिखन गरेको र त्यसरी बेचबिखनबाट प्राप्त रकम निजी सम्पत्ति सरह अन्यत्र संस्थामा लगानी गरेको लगायतका एक दर्जन आरोप लगाइएको छ । आयोगले जारी गरेको विज्ञप्ति अनुसार दीक्षितले अमेरिकामा समेत आफ्नो नाममा घरजग्गा खरिद गरेका छन् । त्यस्तै, स्वर्गीय मदन शम्सेर राणा र श्रीमती जगदम्बा राणाका नाममा रहेका चल अचल सम्पत्ति गैरकानूनी रुपमा आफ्नो नाममा नामसारी गरेको आरोप समेत दीक्षित माथी लागेको छ ।
आर्थिक पुनरुद्धार कोषमा बैंकको लगानीः सवैभन्दा धेरै सिद्धार्थ र राष्ट्रिय बाणिज्यको, सवैभन्दा कम माछापुच्छ्रे, जनता र एनसीसीको
काठमाडौं, १० बैशाख । गत बर्षको विनासकारी भूकम्प र नाकाबन्दीको कारण समस्यामा परेका ऋणीलाई ब्याज अनुदान दिन र कर्जा लिन चाहने उद्योगी ब्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा दिन स्थापना गरिने भनिएको आर्थिक पुनरुद्धार कोषमा बैंक तथा वित्तीय संस्थाहरुले दिने रकमको प्रतिवद्धता जाहेर गरेका छन् । सो कोषमा सरकार, दातृ निकाय र बैंक तथा वित्तीय संस्थाले दिने रकम समावेश गरिने ब्यवस्था छ । यस्तै कोषवाट प्रदान गरिने सहुलियत ब्याजदरको कर्जावापत प्राप्त हुने ब्याज रकम पनि सोही कोषमा जम्मा पार्ने ब्यवस्था छ । कोषमा बाणिज्य बैंकहरुको तर्फवाट २८ अर्ब ३५ करोड रुपैयाँ जम्मा हुने भएको छ । २७ बाणिज्य बैंकहरुले नेपाल राष्ट्र बैंकलाई सो रकम बराबरको प्रतिवद्धता पत्र बुझाएका छन् । कोष १ खर्ब रुपैयाँको हुनेछ भने कोष संचालन नेपाल राष्ट्र बैंकले गर्नेछ । राष्ट्र बैंकले दिएको जानकारी अनुसार सवैभन्दा धेरै रकमको प्रतिवद्धता निजी क्षेत्रवाट संचालिन सिद्धार्थ बैंक र सरकारको पूर्ण स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले गरेका छन् । दुबै बैंकले ३/३ अर्ब रुपैयाँ दिने प्रतिवद्धता जनाएका छन् । कम रकम दिने प्रतिवद्धता जनाउने बैंकहरुमा माछापुच्छ्रे, जनता र एनसीसी बैंक रहेका छन् । यी तीनओटै बैंकले प्रतिबैंक २५/२५ करोड रुपैयाँका दरले रकम दिने प्रतिवद्धता जनाएका छन् । सानिमा र नविल बैंकले २/२ अर्ब रुपैयाँका दरले रकम दिने प्रतिवद्धता जनाएका छन् । यस्तै बैंक अफ काठमाडूले ५० करोड, प्रभु बैंकले ३० करोड, कुमारी बैंकले ४० करोड, नेपाल बंगलादेश बैंकले ५० करोड, लुम्बिनी बैंकले ३० करोड, सिभिल बैंकले ६० करोड र मेगा बैंकले ५० करोड रुपैयाँ दिने प्रतिवद्धता जनाएको छ । एक/एक अर्बका दरले रकम दिने प्रतिवद्धता जनाउने बैंकहरुको संख्या भने धेरै छ । सिटिजन्स बैंक इन्टरनेसनल, नेपाल बैंक, ग्लोबल आइएमइ बैंक, एनएमबी बैंक, सेन्चुरी कमर्शियल बैंक, लक्ष्मी बैंक, सनराइज बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले १/१ अर्ब रुपैयाँका दरले रकम दिने प्रतिबद्धता जनाएका छन् । नेपाल इन्भेष्टमेन्ट बैंक, कृषि विकास बैंक र प्राइम कमर्शियल बैंकले १ अर्ब ५० करोड रुपैयाँका दरले रकम दिने प्रतिवद्धता जनाएका छन् । सवै बैंकलाई पत्राचार गरिएको भएपनि नेपाल एसविआइ बैंकले यस्तो प्रतिवद्धता जनाएको छैन । ११ विकास बैंकबाट ७८ करोड १० लाख यस्तै ११ ओटा विकास बैंकहरुले पनि कोषमा रकम दिने प्रतिवद्धता जनाएका छन् । यसरी रकम दिने प्रतिवद्धता जनाउने विकास बैंकहरुमा विजनेस युभिर्सल विकास बैंक १५ करोड, कैलाश विकास बैंक २० करोड, इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक १० करोड, देबः विकास बैंक ५ करोड, सिटी डेभलपमेन्ट बैंक ३ करोड, साझा विकास बैंक १० लाख र महाकाली विकास बैंकले ३ करोड रुपैयाँ रकम उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् । यस्तै एनआइडिसी डेभलमेन्ट बैंकले १२ करोड, टुरिजम डेभलमेन्ट बैंकले ५ करोड, अरनिको डेभलमेन्ट बैंकले २ करोड र गन्डकी विकास बैंकले ३ करोड रुपैयाँ दिने प्रतिवद्धता जनाएको छ । ५ फाइनान्स कम्पनीवाट २१ करोड २५ लाख कोषमा ५ फाइनान्स कम्पनीले मात्रै रकम दिन सकिने प्रतिवद्धता जनाएका छन् । यसरी प्रतिवद्धता जनाउने कम्पनीहरुमा युनाइटेड फाइनान्स १० करोड, नारायणी नेसनल फाइनान्स ५ करोड, ओम फाइनान्स ३ करोड, सगरमाथा मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स २ करोड ५० लाख र प्रोग्रेसिभ फाइनान्सले ७५ लाख रुपैयाँ दिने प्रतिवद्धता जनाएको छ ।