यसरी बाँढिदैछ चीनले उपहारमा दिएको १० लाख लिटर पेट्रोल !
काठमाडौं, १७ कात्तिक । भारतीय नाका बन्दीसँगै रन्थनिएको नेपालले आफ्नो मुलुकसँग पेट्रोलियम पदार्थको कारोबार गर्ने घोषणा गरेसँगै चीनले उपहारस्वरुप दिने भनेको एक हजार मेट्रिक टन अर्थात १० लाख लिटर पेट्रोल नेपाल धमाधम नेपाल भित्रिरहेको छ । १० लाख लिटरमध्ये सोमबार ९७ हजार नौ सय लिटर पेट्रोल नेपाल आयल निगमको थानकोट डिपोमा पुगिसकेको छ भने मंगलबार थप तीन ट्यांकर पेट्रोल थानकोट आईपुग्दैछन् । औषतमा एउटा ट्यांकरले ९ हजार लिटर पेट्रोल बोकिरहेका छन् । त्यस आधारमा मंगलबार थप २७ हजार लिटर पेट्रोल थानकोट डिपोमा आईपुग्नेछन् । चीनले उपहारस्वरुप दिएको पेट्रोलको केहि अंश राजधानी प्रवेश गरेसँगै नेपाल आयल निगमले निजी कार र मोटरसाईकललाई पेट्रोल बाँढ्ने तालिका सार्वजनिक गर्यो । चीनले १० लाख लिटर पेट्रोल अनुदानमा दिँदैछ भने निगमले तीन दिनमा ९ लाख लिटर पेट्रोल वितरण गर्दैछ । दशैं अघि एक दिन मात्रै निजी सवारी साधनलाई पेट्रोल उपलब्ध गराएको निगमले तालिका बनाएर लगातार तीन दिनसम्म पेट्रोल बाँढ्ने तयारी गरेको हो । रसुवामा रहेका निगम प्रवक्ता दिपक बरालका अनुसार बढिमा १० दिन भित्र चीनले अनुदानमा दिएको पेट्रोल नेपाल आईसक्नेछ । मंगलबार थप १५ ट्यांकर पेट्रोल नेपाल प्रवेश गर्ने उनले जानकारी दिए । ती ट्यांकर बुधबार साँझसम्म थानकोट डिपोसम्म आईसक्नेछन् । यसरी चीनले उपहारस्वरुप दिएको पेट्रोल राजधानी भित्रिएकै दिन नेपाल आयल निगमले नीजि सवारी साधनलाई पेट्रोल दिने तालिका सार्वजनिक गर्यो । भारतबाट पेट्रोलियम पदार्थ आयातमा अवरोध भएसँगै सरकारले चीनसँग पेट्रोलियम पदार्थको कारोबार सम्झौता गरिसकेको छ । सोही सम्झौता गरेको खुसियालीमा चीनले नेपाललाई एक हजार मेट्रिक टन अर्थात १० लाख लिटर पेट्रोल उपहारस्वरुप दिने बताएको थियो । कसरी बाँढिदैछ उपहारको पेट्रोल ? नेपाल आयल निगमले बिहिबारदेखि एकदेखि ३० लटका मोटरसाईकल र एक देखि ५ लटसम्म दर्ता नम्बर भएका कारहरुलाई पेट्रोल उपलब्ध गराउनेछ । शुक्रबार ३१ देखि ५० लटसम्मका मोटरसाईकल तथा ६ देखि ९ लटसम्म दर्ता भएका कारलाई पेट्रोल उपलब्ध गराउनेछ । अन्तिम दिन अर्थात शनिबार भने ५० लट भन्दा माथिका मोटरसाईकल र ९ लटमाथिका कारलाई पेट्रोल उपलब्ध गराउनेछ ।
नाकाबन्दीको कारण ब्यापारघाटा १८ प्रतिशतले घट्यो
काठमाडौं, १७ कात्तिक । भारतको अघोषित नाकाबन्दी र तराइ–मधेशमा जारी आन्दोलनको कारण नेपालको ब्यापार घाटा कम भएको छ । चालु आर्थिक बर्षको भदौ महिनासम्ममा गत बर्षको सोही अवधिको तुलनामा ब्यापार घाटा कम भएको हो । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकले यस्तो देखाएको हो । तथ्यांक अनुसार भदौ मसान्तसम्ममा कुल वस्तु व्यापार घाटा १७ दशमलब ८ प्रतिशतले कम भई ९१ अर्ब ७१ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो बर्षको सोही अवधिमा यस्तो व्यापार घाटा २४ दशमलब ९ प्रतिशतले बढेकोे थियो । कुल वस्तु व्यापार घाटामध्ये भारत र अन्य मुलुकसँगको व्यापार घाटा क्रमशः १९ दशमलब ६ प्रतिशत र २६ दशमलब ८ प्रतिशतले घटेको छ भने चीनसँगको व्यापार घाटा ६ दशमलब २ प्रतिशतले बढेको छ । पछिल्लो समयमा चीनवाट पेट्रोलियम पदार्थ पनि आयात गर्ने सम्झौता भएकोले चीनसँगको ब्यापार घाटा अझ बढ्ने देखिएको छ । भारतसँगको ब्यापार घाटामा पेट्रोलियम पदार्थको हिस्सा निकै ठूलो रहेको छ । अघिल्लो बर्षको सोही अवधिमा भारत, चीन र अन्य मुलुकसँगको व्यापार घाटा क्रमशः २२ दशमलब ९ प्रतिशत, ४१ दशमलब १ प्रतिशत र २२ दशमलब ४ प्रतिशतले बढेको थियो । आयात उच्च दरले घटेको कारण निर्यात–आयात अनुपात ११ दशमलब ८ प्रतिशत पुगेको छ । अघिल्लो बर्षको सोही अवधिमा यस्तो अनुपात ११ दशमलब ४ प्रतिशत रहेको थियो । निर्यात १५ प्रतिशतले घट्यो कुल वस्तु निर्यात १५ दशमलब २ प्रतिशतले घटेर १२ अर्ब २४ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ४ दशमलब ८ प्रतिशतले कमी आइ १४ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो । भारत, चीन र अन्य मुलुकतर्फको निर्यात घटेको कारण समग्र निर्यातमा ह्रास आएको हो । कुल वस्तु निर्यातमध्ये भारततर्पmको निर्यात अघिल्लो वर्षको सोही अवधिमा ७ दशमलब ६ प्रतिशतले घटेकोमा यो अवधिमा २२ दशमलब ८ प्रतिशतले घटेको छ । जिङ्क शिट, जुस, पोलिष्टर धागो, लत्ताकपडा लगायतका वस्तुहरुको निर्यातमा आएको ह्रासका कारण भारततर्फको निर्यात घट्न गएको हो । चीनतर्फको निर्यात अघिल्लो वर्षको सोही अवधिमा १५ दशमलब ३ प्रतिशतले घटेकोमा यो अवधिमा १२ दशमलब ३ प्रतिशतले घटेको छ । प्रशोधित छाला, तयारी पोशाक, रुद्राक्ष, अगरवत्ति लगायतका वस्तुहरुको निर्यातमा आएको ह्रासका कारण समीक्षा अवधिमा चीनतर्फको निर्यात घटेको हो । अन्य मुलुकतर्पmको निर्यात अघिल्लो वर्षको सोही अवधिमा शुन्य दशमलब ५ प्रतिशतले बढेकोमा यो अवधिमा ३ प्रतिशतले घटेको छ । विशेषतः दाल, प्रशोधित छाला, चिया, हस्तकलाका सामान लगायतका वस्तुहरुको निर्यात घटेको कारण अन्य मुलुकतर्फको निर्यात घटेको हो । आयात साढे १७ प्रतिशतले घट्यो कुल वस्तु आयात १७ दशमलब ५ प्रतिशतले घटेर १ खर्ब ३ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २० दशमलब ५ प्रतिशतले वृद्धि भई १ खर्ब २६ अर्ब २ करोड रुपैयाँ पुगेको थियो । तराई मधेशमा जारी आन्दोलनले आपूर्ति व्यवस्थामा समस्या उत्पन्न भएको कारण नेपालमा आयात हुने पेट्रोलियम पदार्थ लगायतका वस्तुहरुको आयात घटेकोले समीक्षा अवधिमा समग्र आयातको वृद्धिदर कम रहन गएको हो । कुल आयातमध्ये भारतबाट भएको आयात अघिल्लो वर्षको सोही अवधिमा १८ दशमलब ७ प्रतिशतले बढेको तुलनामा यो अवधिमा १९ दशमलब ९ प्रतिशतले घटेको छ । भारतबाट मुख्यतया रासायनिक मल, एम.एस.वायर रड, कोल्ड रोल्ड शिट इन क्वायल, हट रोल्ड शिट इन क्वायल लगायतका वस्तुहरुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, एम.एस.विलेट, सिमेन्ट, औषधि लगायतका वस्तुहरुको आयातमा कमी आएको छ । चीनबाट भएको आयात अघिल्लो वर्षको सोही अवधिमा ३९ दशमलब ८ प्रतिशतले बढेको तुलनामा यो अवधिमा ५ दशमलब ९ प्रतिशतले बढेको छ । मुख्यतयाः तयारी पोशाक, जुत्ता÷चप्पल, दुर सञ्चारका उपकरण तथा पार्टपूर्जा यातायातका उपकरण तथा पार्टपूर्जा लगायतका वस्तुहरुको आयात बढेको कारण चीनबाट भएको आयात बढेको हो । अन्य मुलुकबाट भएको आयात अघिल्लो वर्षको सोही अवधिमा १७ दशमलब ७ प्रतिशतले बढेकोमा यो अवधिमा २२ दशमलब ४ प्रतिशतले घटेको छ । विशेषगरी चाँदी, रासायनिक मल, हवाइजहाजका पार्टपुर्जा कपर वायर रड लगायतका वस्तुहरुकोे आयात घटेको कारण यो अवधिमा अन्य मुलुकबाट भएको आयात घटेको हो ।
बिष्णु पौडेल अर्थमन्त्री !
काठमाडौं, १६ कात्तिक । केपी ओली नेतृत्वको सरकारमा अर्थ मन्त्रालयको जिम्मेवारी कसले सम्हाल्छ भन्ने बहस चलिरहँदा बिष्णु पौडेल पुनः अग्रपंक्तिमा देखिएका छन् । अर्थमन्त्रालयको दौडमा रहेका भिम रावल र सुरेन्द्र पाण्डेलाई पछि पार्दै पौडेल अर्थमन्त्रीको दावेदारीमा अगाडी आएका हुन् । पौडेललाई अर्थ मन्त्री बनाउन प्रधानमन्त्री केपी ओली, बरिष्ठ नेता माधव नेपाल समेत सहमत भएको एमाले श्रोतले बतायो । पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई अर्थमन्त्री बनाउन नहुने भन्दै ईश्वर पोखरेल, शंकर पोखरेल, बामदेव गौतमले प्रधानमन्त्री ओलीलाई दबाव दिईरहेका छन् ।सरकार सफल बनाउनका लागि पनि बिष्णु पौडेलाई अर्थमन्त्री बनाउनु उपयुक्त हुने ओली निकट एक नेताले भने । को को बन्दैछन मन्त्री ? एमालेले उपाध्यक्ष भिम रावललाई उपप्रधान तथा रक्षा मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेको छ । एमालेबाट पशुपति चौलागाईँ, शेरधन राई, श्रीमाया थकाली, भानुभक्त ढकाल र यज्ञराज सुनुवार लगायतलाई मन्त्री बनाउने भद्र सहमति शिर्ष नेताबिच रहेको बताईयो । बामदेव गौतमले रबिन्द्र अधिकारीलाई मन्त्री बनाउन दबाव दिएको श्रोतले बतायो ।