जलविद्युत कम्पनीको २ अर्बको सेयर आयो, नाफा घट्दै जाने प्रक्षेपण

काठमाडौं, २० असोज । जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले कात्तिक १२ गतेदेखि साधारण सेयर बिक्री खुला गरेको छ । छिटोको कात्तिक १६ गते र ढिलोमा कात्तिक २९ गते बिक्री बन्द गरिने कम्पनीले जनाएको छ । कम्पनीले २ अर्ब रुपैयाँ बराबरको साधारण सेयर निश्काशन गरेको हो । १० करोड रुपैयाँको सेयर सामूहिक लगानी कोषको लागि र ४ करोड रुपैयाँको सेयर कर्मचारीको लागि छुट्याईएको छ । एक अर्ब ८६ करोड रुपैयाँको सेयर सर्बसाधारणले खरिद गर्न सक्नेछन् । प्रतिकित्ता १०० रुपैयाँ अंकित सेयर कम्तिमा ५० कित्ता र बढीमा ५० लाख कित्ता सेयर आवेदन गर्न सकिने कम्पनीले जनाएको छ । १० अर्ब चुक्ता पुँजी रहेको यस कम्पनीमा सर्वसाधारणको २० प्रतिशत मात्र सेयर हुनेछ । ८० प्रतिशत सरकारी निकायको लगानी रहेको छ । यस कम्पनीमा अर्थ मन्त्रालयको २ अर्ब, उर्जा मन्त्रालय, कानुन मन्त्रालय, महालेखा नियन्त्रकको कार्यलय, कर्मचारी संचयकोष, नागरिक लगानीकोष र राष्ट्रिय बीमा संस्थानको १÷१ अर्ब रुपैयाँ सेयर लगानी रहेको छ । कम्पनीको सञ्चालक समिति सेयर स्वामित्वका आधारमा समान छैन । १० प्रतिशत सेयर लिएको कानुन मन्त्रालयले १ जना सञ्चालक पठाउने तर २० प्रतिशत सेयर लगानी गर्ने सर्वसाधारणबाट एक जना मात्र सञ्चालक हुने व्यवस्था गरिएको छ । नेपाल सरकारले ८ अर्ब लगानी गरेर २०६८ सालमा स्थापना गरेको यस कम्पनीको हाल संचित नाफा ५६ करोड रुपैयाँ छ । तर कम्पनीले आगामी तीन वर्ष नाफा घट्दै जाने प्रक्षेपण गरेको छ । आगामी तीन आर्थिक वर्षमा कम्पनीको नाफा क्रमशः ५६ करोड, ५० करोड र ४९ करोड रुपैयाँ हुने जनाएको छ ।

इन्धन वितरणमा सेनाको कालोबजारी (फोटो फिचरसहित)

काठमाडौं, १९ असोज । जनता इन्धन नपाएर छटपटाईरहेका बेला नेपाली सेनाले भने आफ्नो हात जगन्नाथकै शैलीमा आफन्त र पहुँचवालालाई धमाधम इन्धन बाढिरहेको फेला परेको छ । नेपाली सेनाको जन सम्पर्क निर्देशनालयकै गेटमा रहेको रिपुमर्दिनी पेट्रोल पम्पबाट सेनाले आफन्त र पहुँचवालालाई इन्धन बाँढेर कालोबजारी गरिरहेको तथ्य फेला परेको हो । पेट्रोलियम पदार्थ भरिएको ग्यालिन लिएर रिपुमर्दिनी पम्पबाट बाहिरिँदै गरेका व्यक्ति । मंगलबार मध्यान्ह सेनाको रिपुमर्दिनी पम्पमा पुग्दा ठुलो मात्रामा सरकारी नम्बर प्लेटका सवारी साधनहरु लाईनमा बसेका थिए । तर सेनाले भने आफन्त र पहुँचवालाई धमाधम ग्यालिनका ग्यालिन इन्धन सप्लाई गरिरहेको थियो । पानीका खाली बोतल लिएर इन्धन भर्न पम्प तर्फ जाँदै गरेका सैनिक जवान । नेपाल आयल निगमले मंगलबार रिपुमर्दिनी पम्पलाई ६ हजार लिटर डिजेल तथा ६ हजार लिटर पेट्रोल उपलब्ध गराएको थियो । श्रोतका अनुसार सैनिक अधिकारीहरुसँगको मिलोमत्तोमा कालोबजारी गर्नेहरुले सो पेट्रोल पम्पबाट दैनिक हजारौ लिटर पेट्रोल र डिजेल ड्रम, ग्लाल्लिनमा लैजान्छन् र प्रतिलिटर दुई सय रुपैयाँ भन्दा बढीमा बिक्री गर्दै आएका छन् । धादिङ स्थायी घर भएको सागर कँडेलले पुतली सडकको गल्लीबाट प्रतिलिटर २ सयका दरले ५ लिटर पेट्रोल किनेको विकासन्यूजलाई बताए । पेट्रोलियम पदार्थ भरिएका ड्रम बोकेर रिपुमर्दिनी पम्पबाट निस्कँदै गरेको सवारी साधन ।   पेट्रोलियम पदार्थको पालो कुरेर रिपुमर्दिनी पम्प अगाडी लामवद्ध सरकारी नम्बर प्लेटका मोटरसाईकल तथा कर्मचारीहरु ।

विराटनगरवाट २६ ट्याङ्कर पेट्रोलियम पदार्थ आयो, नेपालगन्जवाट ल्याउन वार्ता जारी

काठमाडौं, १८ असोज । विराटनगर भन्सार कार्यालयवाट २६ ट्याङ्कर पेट्रोलियम पदार्थ नेपाल भित्रिएको छ । यसमध्ये पेट्रोल बोकेका ११, डिजेलका १३ र ग्यास बोकेका २ ट्याङ्कर नेपाल भित्रिएको नेपाल आयाल निगमका निमित्त निर्देशक मुकुन्द घिमिरेले जानकारी दिए । ‘दिउसो २ बजेसम्ममा ११ ट्याङ्कर पेट्रल, १३ ट्याङ्कर डिजेल र २ बुलेट एलपीजी भित्रिएको छ, सो समयसम्ममा अन्य स्थानवाट पेट्रोलियम पदार्थ नेपाल आएको छैन,’ घिमिरेले भने । यस्तै आज नेपालगन्जबाट पेट्रोलियम पदार्थ आउन सक्ने सम्भावना रहेको निगम स्रोतको भनाइ छ । निगमको नेपालगन्ज डिपो प्रमुख श्रीचन्द्र श्रेष्ठले सीमा नाकाका भारतीय समकक्षीसँग छलफल गरिरहेकोले बेलुकीसम्ममा पेट्रोलियम पदार्थ आउन सक्ने निगम अधिकारीको विश्वास छ ।