बुधबारदेखि तराईमा बैकिङ सेवा खुला हुने

जनकपुरधाम, २५ असोज । दुई महिनादेखि बन्द रहेको तराईको बैकिङ क्षेत्र बुधबारदेखि खुला हुने भएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा धनुषाले विजया दशमीलाई ध्यानमा राख्दै पाँच दिनका लागि जिल्लाका विभिन्न वित्तीय संस्थालाई खुल्ला राख्ने निर्णय गरेको छ । मोर्चाका संयोजक परमेश्वर साहका अनुसार आन्दोलनका कारण बैंक तथा वित्तीय संस्था पनि बन्द रहँदा जनतालाई परेको मर्कालाई ध्यानमा राख्दै र दसैँमा असहजता उत्पन्न नहोस् भनी पाँच दिनका लागि वित्तीय संस्थालाई खुल्ला गर्ने निर्णय गरेको हो । भोली मंगलबार घटस्थापना परेकोले सार्वजनिक विदा छ । बुध, विही र शुक्रबार तीन दिन र आगामी साताको आईत र सोमबार दुई दिन गरी दशैं अघि जम्मा पाँच दिन मात्र बैक तथा वित्तीय संस्थाले सेवा दिन सक्नेछन् । जनकपुरमा गरिएको यो निर्णयले तराईका अरु जिल्लामा पनि बैक तथा वित्तीय सेवा खुला गर्न मोर्चालाई दवाव पर्ने र अरु जिल्लामा पनि वित्तीय सेवा खुला हुन सम्भावना आफूले देखेको शाहले बताए । दुई महिनादेखिको लगातार बन्दका कारण वित्तीय कारोबार हुन नसक्दा आम जनता बैंकबाट कारोबार गर्न पाएका छैनन् । बैंकका शाखाहरु सञ्चालन नहुँदा एटीएमहरु पनि खाली भएका थिए । बैंकमा बचत रहेका सर्वसाधारणले आफ्नो खाताबाट रकम झिकेर खर्च गर्न समेत पाएका थिएनन् । बन्दका कारण बैंक, बीमा, सहकारी, उद्योग, स्कूल, कलेज लगायत सबै क्षेत्र नराम्ररी प्रभावित भएको छ ।

भोलि सबै निजी सवारी साधनले पेट्रोल पाउने, पेट्रोल हाल्न ब्लुबुक अनिवार्य

काठमाडौं, २५ असोज । नेपाल आयाल निगमले भोलि (२६ असोजमा) सवै निजी सवारी साधनलाई पेट्रोल दिने भएको छ । दशैंलाई लक्षित गर्दै नेपाल आयल निगमले काठमाडौं उपत्यकामा भोलि मंगलबार निजी सवारीलाई पनि एक दिनका लागि डिजेल र पेट्रोल वितरण गर्दैछ । भारतको अघोषित नाकाबन्दीका कारण इन्धन अभाव भएपछि केही दिनदेखि निगमले कोटा प्रणाली अनुसार सार्वजनिक, सरकारी र अत्यावश्यक सेवाका सवारीलाई केही पम्पहरुबाट मात्रै तेल दिँदै आएको थियो । दशैंमा घर जाने यात्रुहरुलाई लक्षित गरी आयल निगमले निजी सवारीलाई पनि तेल दिने निर्णय गरेको हो । निगमले मंगलबार काठमाडौं उपत्यकाका सबै पेट्रोल पम्पहरुबाट तेल वितरण गर्दैछ । दिउँसो १ बजेदेखि सबै पम्पमा पेट्रोल/डिजेल वितरण सुरु गर्ने तयारी गरिएको छ । एक स्थानमा तेल भरेकाले अर्को स्थानमा गएर भर्न पाउने छैनन् । उपत्यकामा रहेका झण्डै १ सय २५ पेट्रोलपम्पहरुले निजी सवारीलार्इ इन्धन वितरण गर्नेछन् । ‘मंगलबार निजी सवारी साधनलाई पेट्रोल वितरण गरिने छ,’ नेपाल आयल निगमका प्रवक्ता दीपक बरालले भने । निगमले सहजरुपमा तेल लिने वातावरण बनाउन सबै पम्पहरुलाई तेल दिन लागेको उनले जानकारी दिए । उनका अनुसार सार्वजनिक सवारीलाई भने बसपार्क क्षेत्रका केही पम्पहरूमा मात्र तेल पाउने छन् । निगमले गरेको ब्यवस्था अनुसार निजी मोटरसाइकलले ५ लिटर मात्रै पेट्रोल पाउने छन् । यस्तै चारपांग्रे कार, जिप/भ्यानलगायतलाई १५ लिटरका दरले इन्धन उपलब्ध गराउन लागिएको छ । निगमले सार्वजनिक यतायात अन्तरगत जोरबिजोर नम्बरका आधारमा माइक्रोबसलाई १५, मिनीबसलाई २० र ठूला बसलाई ३० लिटर पेट्रोलियम पदार्थ उपलब्ध गराउँदै आएको छ । यस्तै अत्यावश्यक बस्तु ढुवानीमा संलग्न साना गाडीहरुले जोरबिजोरका आधारमा १० लिटर तेल पाउँदै आएका छन् । अतिआवश्यक सेवाका दमकल, एम्बुलेन्स लगायतलाई दैनिक १० लिटर तेल उपलब्ध गराउने क्रम चलिरहेको छ । ट्याक्सीले सातामा १० लिटर पेट्रोल पाउँदै आएका छन् । निगमले तेल भर्न आउँदा सवारीको ब्लुबुक बोकेर आउन आग्रह गरेको छ । तोकिएको परिमाणअनुसार इन्धन भरेर ब्लु बुकमा आयल निगमको लोगो अंकित छाप लगाउने व्यवस्था गरिएको प्रवक्ता बरालले बताए । ‘सवारीसाधनमा इन्धन भरेपछि मिति उल्लेख गरी ब्लु बुकमा आयल निगमको छाप लगाउँछौं, ‘त्यसैका आधारमा एक ठाउँमा तेल भरेको सवारीले अन्यत्र तेल भर्न पाउँदैन,’ बरालले भने । दसैँमा सवारीसाधन चलाउन सजिलो गराउन र उपत्यकाबाट बाहिरिनेलाई पनि ध्यानमा राखेर निगमले आफ्नो क्षमता अनुरुप अधिकतम तेल वितरण गरिने स्पष्ट गरेको छ । उपत्यकामा मंगलबार ६ लाख लिटर पेट्रोल वितरण गर्ने योजना छ । भारतबाट तेल आउन कम भएपछि निगमले कोटा निजी सवारीलाई तेल दिन बन्द गरेको छ । तर, मंगलबार एक दिन मात्र निजी सवारीलाई तेल दिन लागिएकाले पेट्रोल पम्पहरुमा भिड सोमवारदेखि नै लागिसकेको छ ।

२ उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् गठन

२५ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सात सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । मन्त्रिपरिषद्मा दुई जना उपप्रधानमन्त्री छन् । उपप्रधानमन्त्रीमा कमल थापा र विजय गच्छदार छन् । थापाले उपप्रधानसहित परराष्ट्र र गच्छदारले उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात ब्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हाल्ने बताइएको छ । यस्तै मन्त्रीहरुमा अग्नि खरेल,सोमप्रसाद पाण्डे, सत्यनारायण मण्डल, हरिबाल गजुरेल र रामकुमार सुब्बा छन् । खरेल, पाण्डे र मण्डल एमालेको तर्फवाट मन्त्री बनेका हुन् भने गजुरेल एमाओवादीको तर्फवाट मन्त्री बनेका हुन् । सुब्बा भने राप्रपा नेपालका हुन् ।