वित्तीय स्थायित्व, राष्ट्र बैंकको प्रभाव वृद्धि, कर्मचारीको क्षमता अभिवृद्धि गभर्नर नेपालका प्रमुख लक्ष्य
८ चैत । वित्तीय स्थायित्व, राष्ट्र बैंकको प्रभाव वृद्धि र आफ्ना कर्मचारी सक्षम बनाउने आफ्नो प्रमुख तीन लक्ष्य रहेको नवनियुक्त गभर्नर डा. चिरञ्जीवि नेपालले बताएका छन् । राष्ट्र बैंकमा आइतवार पदभार ग्रहण लगत्तै नीतिगत सम्बोधन गरेका नेपालले आफ्ना प्राथमिकता बारे जानकारी गराएका हुन् । ‘‘ कुनै पनि राज्यको अर्थतन्त्रको ‘ब्रेन’ भनेको वित्तीय क्षेत्र’ हो भने वित्तीय क्षेत्रको मुटु बैंकिङ्ग, हो, त्यसैले वित्तीय स्थायित्व नै मेरो पहिलो लक्ष्य हो,’’ गभर्नर डा. नेपालले भने । निजी क्षेत्रसंगको समन्वय बढाउदै जाने बताएका नेपालले यसको लागि उनीहरुको विश्वास बैंक तथा वित्तीय संस्थामा बढाउनेमा जोड दिए । बैंक तथा वित्तीय संस्थामा विश्वासको वातावरण बनाउन सुशासनको पक्षमा ध्यान दिने नेपालले बताएका छन् । समग्र अर्थतन्त्रमा निजी क्षेत्रको लगानी ७० प्रतिशत रहेकोले बैंकिङ क्षेत्र प्रति यस क्षेत्रको विश्वास जित्न आवश्यक रहेको उनले उल्लेख गरे । निजी क्षेत्रको प्रसंग पटक पटक उठाएका नेपालले यस क्षेत्रको नियमन र सहजिकरण गर्ने बताए । निजी क्षेत्रलाई आश्वस्त पार्दै नेपालले राष्ट्र बैंकबाट भोलीका दिनमा निजी क्षेत्रलाई समस्या नआउनेमा आश्वस्त पारेका छन् । नेपालले ६० प्रतिशत जनता अझै बैंकिङ क्षेत्रको पहुँचभन्दा बाहिर रहेकोले यस्तो पहुँच वृद्धि पनि आफ्नो प्राथमिकतामा रहने बताएका छन् । औपचारिक वित्तीय क्षेत्रको दायरा बढाउनमा ध्यान केन्द्रित गर्ने नेपालको योजना रहेको छ । अन्तराष्ट्रिय सन्धिहरुमा गरिएको प्रतिबद्धता जारी राख्ने बताएका नेपालले अन्तराष्ट्रिय क्षेत्रसंगको सम्बन्धलाई थप सशक्त बनाउने लक्ष्य लिएका छन् । सरकारसंगको सम्बन्ध राम्रो बनाउन मौद्रिक नीति, वित्तीय नीतिहरुमा ध्यान दिने र अन्य नीतिहरु बनाउँदै अगाडी बढ्ने नेपालले बताएका छन् । उनले आफु सहित गभर्नरका तीनै जना प्रतिस्पर्धी हाल राष्ट्र बैंकमा रहनुले काम गर्न इतिहास कै राम्रो अवसर बन्न गएको उल्लेख गरे । कर्मचारी सबल र सक्षम नभएसम्म बैंकले काम गर्न नसक्ने भन्दै कर्मचारीको क्षमता अभिवृद्धि आफ्नो प्राथमिकताको बिषय भएको उनले स्पष्ट पारेका छन् । डेपुटी गभर्नर गोपाल काफ्लेले आफुहरुबाट गभर्नरलाई जुनसुकै समय सहयोग हुने प्रतिवद्धता दिएका छन् । उनले हाल अर्थतन्त्रको अवस्था सबल भएकोले नेपाललाई काम गर्न सजिलो भएको समेत टिप्पणी गरे । अधिकांश कर्मचारीको सेवा अवधि ३० बर्ष नाघिसकेको भन्दै बैंकका केही युनियनले सेवा अवकाशको अवधि थप्नु पर्ने सुझाव नेपाललाई दिएका छन् । उनीहरु मध्ये केहीले कर्मचारीको सेवा वृद्धि गर्ने समय भएको भन्दै नेपाललाई त्यसमा नेतृत्व लिन आग्रह गरेका छन् । हाल राष्ट्र बैंकमा १४ सय कर्मचारी रहेका छन् । कार्यक्रममा केही युनियन पदाधिकारीले नव नियुक्त गभर्नरले सफलता कायम गर्न बैंकिङ माफियाहरु प्रति कडा नीति लिन सुझाव दिएका छन् ।
पूर्नबीमा कम्पनीमा २५ करोड लगानी गर्न आईएमई समूहको आवेदन, विशाल ग्रुपले पनि २५ करोडको सेयर माग्यो
७ चैत । हालै एनबी इन्स्योरेन्सबाट बीमा क्षेत्रमा पहिलो पटक हात हालेको ग्लोबल आइएमइ समुहले पुनर्बीमा कम्पनीमा पनि लगानी गर्ने भएको छ । पुनर्बीमा कम्पनीमा लगानी गर्न समुह अन्तर्गतका बिभिन्न कम्पनीले २५ करोड ५० लाख रुपैयाँ बराबरको आवेदन दिएका छन । पुनर्बीमा कम्पनीमा लगानी गर्न हाथवे इन्भेष्टमेन्टले आठ करोड रुपैयाँ, ग्लोबल आएमइ बैंकले पाँच करोड रुपैयाँ, ग्लोबल आइएमइ क्यापिटलले दुई करोड ५० लाख रुपैयाँ र आइएमइ प्रालीले १० करोड रुपैयाँ लगानी गर्न प्रतिवद्धता दिएको छ । विहीवार कम्पनीहरुले प्रतिवद्धता अनुसार आफुले लगानी गर्न चाहेको रकमको ५० प्रतिशत ग्लोबलआइएमइको बैंक खातामा राखिसकेका छन् । पुनर्बीमा कम्पनीले बीमा कम्पनीहरु बाहेक अन्य संस्थासंग ४५ करोड रुपैयाँको माग गरेको हो । यो समुहमा माग गरेको भन्दा पनि बढि रकमको आवेदन कम्पनीहरुले गरेका छन् । यही समुह अन्र्तगत लगानी गर्न ग्लोबल आइएमइ सहित बिभिन्न कम्पनीहरुले ५५ करोड रुपैयाँको प्रतिबद्धता दिएका हुन् । बिशाल समुहले पनि २५ करोड रुपैयाँको प्रतिवद्धता दिएको छ । बाँकी पाँच करोड रुपैयाँको प्रतिवद्धता दिनेमा गृह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, क्वान्टम क्यापिटल सहित एक कम्पनी रहेको छ । पुनर्बीमा कम्पनीले चुक्तापुँजी पाँच अर्ब रुपैयाँ पुर्याउने उदेश्य अनुसार कम्पनीहरुसंग रकम माग गरेको हो । हाल भने कम्पनीमा चुक्तापुँजी दुई अर्ब १० करोड रुपैयाँ रहेको छ । कम्पनीले जीवन बीमा कम्पनीको ९.०३ प्रतिशत, निर्जीवन बीमा कम्पनीको ३८.९४, अन्य संस्थाको पनि ९.०३ र सरकारको ४३ प्रतिशत सेयर स्वामित्व रहने गरि चुक्तापुँजी पाँच अर्ब रुपैयाँ पुर्याउँने भएको हो । पुनर्बीमा कम्पनीले गत फागुन एक गते कम्पनीहरुसंग लगानी गर्न आवेदन माग गरेको थियो । हालै ग्लोबल आइएमइ समुहले एनबी इन्योरेन्समा पनि करिब साढे सात करोड रुपैयाँ लगानी गरिसकेको छ । समुहको बैंकिङ, इन्भेष्टमेन्ट कम्पनी, रेमिट्यान्स, जलविद्युत्, अटोमोबाइल, केबुल कार र सुचना प्रविधिको क्षेत्रमा लगानी रहेको छ ।
पुनर्बीमा कम्पनीको चुक्तापूँजी पाँच अर्ब पुग्यो, मागभन्दा बढि रकमको आवेदन
६ चैत । नेपाल पुनर्बीमा कम्पनीले चुक्तापुँजी पाँच अर्ब रुपैयाँ पुर्याउने भएको छ । पुँजीवृद्धि गर्ने योजना अनुसार कम्पनीले गत फागुन एक गते लगानीकर्ताहरुसंग एक अर्ब ६९ करोड ५० लाख रुपैयाँ मागेकोमा त्यो भन्दा बढी रकमको आवेदन परेको हो । सरकारको तर्फबाट गर्नुपर्ने लगानी बाहेकको सेयरपुँजी जुटेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश लम्सालले बताए । ‘हामीसंग नपुग रकम दुई अर्ब ९० करोड रुपैयाँ हो, सरकारले हाल्न बाँकी बाहेक अन्य सबै क्षेत्रबाट लगभग आवश्यक रकम आइसकेको छ,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत लम्सालले बताए । हाल २ अर्ब १० करोड रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीमा सरकार र १७ निर्जीवन बीमा कम्पनीको लगानी छ । फागुन एक गते सार्वजनिक सूचना जारी गरेर कम्पनीले संस्थागत लगानीकर्ताहरुसंग लगानी गर्न इच्छुक रकम माग गरेको थियो । लगानीकर्ताहरुले आफुले लिन चाहेको रकमको ५० प्रतिशत चैत पाँच गतेभित्र ग्लोबल आइएमइ बैंकको खातामा राख्न सूचना जारी गरेको थियो । कम्पनीमा लगानी गर्न सबै बीमा कम्पनीले आवेदन गरेका छन् । नौंवटा जीवन बीमा कम्पनी र १७ वटै निर्जीवन बीमा कम्पनीबाट प्रतिवद्धता आएको र अधिंकाशले आफूले लिन चाहेको रकम बुधवार नै बैंक खातामा राखेको लम्सालले जानकारी दिए । त्यस्तै, कम्पनीले अन्य संस्थागत लगानीकर्ताहरुसंग ४५ करोड रुपैयाँ माग गरेकोमा आठ संस्थाबाट ५४ करोड रुपैयाँको प्रतिवद्धता आएको छ । विहीवार नै उनीहरुले ५० प्रतिशत रकम अर्थात् २७ करोड रुपैयाँ ग्लोबल आइएमइ बैंकको खातामा जम्मा गरेको लम्सालले उल्लेख गरे । पुनर्बीमा कम्पनीमा लगानी गर्न ग्लोबल आइएमइ बैंक, आइएमइ प्राली, गुह्श्वरी क्यापिटल मर्चेन्ट एण्ड फाइनान्स, क्वान्टम क्यापिटल इन्भेष्टमेन्ट, हाथवे इन्भेष्टमेन्ट, ग्लोबल आइएमइ क्यापिटल, बिशाल ग्रुप लगायतबाट लगानीको लागि आवेदन परेको हो । कम्पनीको कुल चुक्तापुँजी रकम पाँच अर्ब मध्ये जीवन बीमा कम्पनीहरुले ९.०३ प्रतिशत र नीर्जिवन बीमा कम्पनीहरुले ३८.९४ प्रतिशत लगानी गर्न पाँउने छन् । पहिले नै लगानी गरेका निर्जीवन बीमा कम्पनीहरुले पनि थप लगानी गर्ने भएका छन् । केही कम्पनीले भने उनीहरुको हिस्सामा पर्नेभन्दा बढि रकम लगानी गर्न आवेदन दिएका छन् । सरकारले कुल चुक्तापुँजी रकममा ९४ करोड ५० लाख रुपैयाँ यसअघि नै लगानी गरिसकेको छ । अब सरकारले एक अर्ब २० करोड ५० लाख रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ । सरकारले यो रकम लगानी गरेमा कम्पनीमा सरकारको हिस्सा ४३ प्रतिशत हुनेछ । सरकारले आफ्नो हिस्सामा पर्ने रकम हाल्न नसकेमा सरकारी लगानीका कम्पनीहरु कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष लगायत मार्फत् लगानी गर्न सक्ने लम्सालले बताए । १० करोड रुपैयाँको बीज पूँजीबाट शुरु भएको आकस्मिक बीमा कोषलाई गत कात्तिक २१ गतेबाट कम्पनीको रुपमा सञ्चालनमा ल्याइएको हो । हाल कम्पनीको अधिकृत पूँजी पाँच अर्ब रुपैयाँ र जारी पूँजी तीन अर्ब रुपैयाँ रहेको छ । बीमा गरिएका क्षेत्रको जोखिमभार कम्पनीहरुले व्यहोर्न नसक्ने अवस्थामा पुर्नबीमा कम्पनीहरुमा सारिन्छ । हालसम्म नेपालमा सञ्चालीत बीमा कम्पनीहरुले अन्तराष्ट्रिय पुनर्बीमा कम्पनीबाट पुनर्बीमाको सुविधा लिदै आएका छन् ।