अस्पताल क्षेत्रमा ३ अर्ब लगानी, ११ अर्बको प्रतिफल
२७ भदौ । अस्पताल क्षेत्रले लगानीको दोब्बरभन्दा पनि बढी प्रतिफल प्रदान गरेको छ । केन्द्रीय तथ्यांक विभागले गरेको अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । विभागले सन् २०१३ मा गरेको निजी अस्पतालहरुको अध्ययन प्रतिवेदनले अस्पताल क्षेत्रको प्रतिफल दोब्बरभन्दा बढी रहेको देखाएको छ । नेपालका निजी अस्पतालहरुमा ३ अर्ब ३९ करोड ६८ लाख रुपैयाँको लगानीले ११ अर्ब ३९ करोड १२ लाख रुपैयाँ आम्दानी भएको पाइएको छ । यस्तो लगानीवाट ७ अर्ब ९९ करोड ४३ लाख रुपैयाँ मूल्य अभिबृद्धि भएको पाइएको हो । नेपालमा अहिले निजी सामुदायिक र अन्य गरी ३ सय १ अस्पताल रहेका छन् । यसमध्ये निजी अस्पतालको संख्या २ सय १४, सामुदायिक अस्पतालको संख्या ५४ र अन्यको ३३ छ । सरकारी वाहेकका अस्पतालहरुमा काठमाडौं उपत्यकामा ६७ र उपत्यका वाहिर २ सय ३४ अस्पताल छन् । यी सबै अस्पतालमा गरी १९ हजार ८ सय ५६ बेड रहेको तथ्यांकले देखाएको छ । यसमध्ये पूर्वाञ्चल विकास क्षेत्रमा २ हजार ६ सय ६३, मध्यमाञ्चलमा १० हजार ५ सय ५४, पश्चिमाञ्चलमा ४ हजार ७ सय ४१, मध्यपश्चिमाञ्चलमा १ हजार ५ सय ३२ र सुदुरपश्चिमाञ्चलमा ३ सय ६६ बेड भएका अस्पतालहरु रहेका छन् । यस्तै भौगोलिक रुपमा हिमाली क्षेत्रमा १ सय ७५ बेड, पहाडी क्षेत्रमा १० हजार ४ सय २१ र तराइ क्षेत्रमा ९ हजार ४ सय २० बेड छन् । काठमाडौं उपत्यकामा ६ हजार २४ र उपत्यका वाहिर १३ हजार ८ सय ३२ बेड छन् । यसमध्ये निजी अस्पतालको बेड संख्या १५ हजार २ सय ३, सामुदायिक अस्पतालको २ हजार ५ सय ७७ र अन्य अस्पतालको २ हजार ९९ रहेका छन् । जनसंख्या तराइमा बढी भएपनि निजी अस्पतालहरुको बढी उपस्थिति पहाडमा देखिएका छ । प्रतिवेदनले पहाडी क्षेत्रमा १ सय ४८, हिमाली क्षेत्रमा ९ र तराइमा १ सय ४४ अस्पताल भएको तथ्यांक सार्वजनिक गरेको छ । तथ्यांकले २०६२÷६३ को जनआन्दोलन पछि निजी अस्पतालको संख्या उल्लेख्य रुपमा बढेको देखाएको छ । सो समयदेखि हालसम्म १ सय ९० निजी अस्पताल खुलेका छन् । यस्तै विसं २०४७ देखि २०६२ सम्ममा ९५ अस्पताल खुलेका थिए । त्यो भन्दा अगाडि नेपालमा अस्पतालको संख्या १६ थियो । अहिले पूर्वाञ्चल विकास क्षेत्रमा ६८, मध्यमाञ्चलमा १ सय ४३, पश्चिमाञ्चलमा ५९, मध्यपश्चिमाञ्चलमा २१ र सुदरपश्चिममा १० अस्पताल छन् । निजी अस्पतालहरुमा २४ हजार ३१ जना आवद्ध भएका छन् । यसमध्ये संचालक वा सक्रिय साझेदारको संख्या १ हजार ४ सय ५०, प्राविधिक १५ हजार ८ सय ९० र प्रशासनिक तहमा ६ हजार ६ सय ९१ जना आवद्ध भएका छन् । यसरी अवद्ध हुने मध्येमा महिलाको संख्या १२ हजार ४ सय १३ र पुरुषको संख्या ११ हजार ६ सय १८ रहेको छ । निजी, सामुदायिक र अन्य अस्पतालले यी कर्मचारीलाई तलब तथा ज्याला गरी वार्षिक ४ अर्ब ३८ करोड ३६ लाख रुपैयाँ वितरण गर्ने गरेको तथ्यांमा उल्लेख छ ।
स्टाण्डर्ड चार्टर्ड, इन्भेष्टमेन्ट र हिमालयनले १ अर्बको साधारण सेयर गर्नु पर्ने
काठमाडौं, २६ भदौ । अहिले संचालमा रहेका तीन वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षभित्रमा नै सर्वसाधारणलाई करिब १ अर्ब रुपैयाँ बराबरको साधारण सेयर दिइसक्नु पर्ने भएको छ । स्टाण्डर्ड चार्टर्ड, नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकले साधारण सेयर प्रदान गर्नुपर्ने भएको हो । नेपाल राष्ट्र बैंकले गरेको ब्यवस्था अनुसार सर्वसाधारणलाई ३० प्रतिशत सेयर प्रदान नगरका कारण उनीहरुले सेयर दिनुपर्ने भएको हो । राष्ट्र बैंकले चालु आर्थिक वर्ष भित्रै सर्वसाधारणलाई ३० प्रतिशत सेयर दिइसक्नु पर्ने बाध्यकारी व्वस्था गरेको छ । स्टाण्डर्ड चार्टर्ड बैंकले सर्वसाधारणलाई २२ दशमलब ९७ प्रतिशत मात्रै सेयर दिएको छ । राष्ट्र बैंकको नियम अनुसार उसले सर्वसाधारणको सेयर हिस्सा ३० प्रतिशत पु¥याउन ७ दशमलब ०३ प्रतिशत सेयर प्रदान गर्नुपर्ने हुन्छ । बैंकको अहिले चुक्ता पूजी २ अर्ब ४ करोड रुपैयाँ भएको कारण उसले सो परिमाणको साधारण सेयर प्रदान गर्दा पनि १४ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर प्रदान गर्नुपर्ने हुन्छ । यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकले ४१ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर सर्वसाधारणलाई दिनुपर्ने भएको छ । इन्भेष्टमेन्टको चुक्ता पूजी ४ अर्ब १४ करोड रुपैयाँ भएको र उसकोमा सर्बसाधारणको सेयर हिस्सा २० प्रतिशत मात्रै भएकोले सो परिमाण बराबरको सेयर दिनुपर्ने भएको हो । हिमालय बैंकले पनि सर्वसाधारणलाई ३० प्रतिशत सेयर दिएको छैन । उसको अहिले २ अर्ब ७६ करोड रुपैयाँ चुक्ता पुँ भएकोमा सर्वसाधारणको सेयर हिस्सा १५ प्रतिशत मात्रै छ । उसले थप १५ प्रतिशत सेयर सर्वसाधारणलाई प्रदान गर्दा ४१ करोड ४० लाख रुपैयाँ बराबरको सयर प्रदान गर्नुपर्ने हुन्छ । यी बैंकहरुले दुई विकल्पमा सर्वसाधारणलाई सेयर प्रदान गर्न सक्ने छन् । नेपाल राष्ट्र बैंकले दुई विकल्प दिएको कारण उनीहरुले उक्त विकल्पहरु प्रयोग गर्न सक्ने भएका हुन् । ती विकल्पहरुमा अहिले संस्थापकसँग रहेको सेयर सर्वसाधारणमा परिणत गर्ने वा थप सेयर नै जारी गर्ने भन्ने हो । थप सेयर जारी गर्दा उनीहरुले प्रिमियम मूल्यमा पनि सेयर जारी गर्न सक्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।
विदेशी राजदूतहरुको प्राथमिकतामा विनोद चौधरी
काठमाडौं । गत दुई साताभित्रै नेपालस्थीत तीन देशका राजदूतहरु चौधरी ग्रुपको कार्यालय सानेपा पुगे । नेपालका लागि जापानी राजदूत मासाशी ओगावा, इजरायलका राजदूत यारोन मायेर र साउदी अरेवीयाका राजदूत अब्दुलनसिर एच अल हारथीले चौधरी ग्रुपका अध्यक्ष विनोद कुमार चौधरीलाई भेटे । र, ती देशका राजदूतहरुले आ–आफ्नो देशमा लगानी गर्न चौधरीलाई आग्रह गरे । केही समयअघि बेलायती राजदूत र डीएफआईडीका प्रतिनिधिहरू समेत विनोद चौधरीलाई भेट्न चौधरी गु्रप पुगेको थिए । नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लू बोडे पनि नवलपरासीस्थित चौधरी ग्राममा पुगेका थिए । नेपालको औद्योगिक घराना चौधरी समूहका अध्यक्ष विनोद चौधरी अमेरिकाको फोब्र्स पत्रिकामा विश्वका अर्बपतिको सूचीमा समावेश भएपछि चर्चामा छन् । फोब्र्सले चौधरीलाई १४६५ औं अर्बपतिमा सूचीकृत गरेपछि देश÷विदेशमा चौधरी समूह र उनीप्रति चासो बढ्दै गएको छ । फोब्र्सले उनको सम्पत्ति १ अर्ब १० करोड डलर बराबर भएको उल्लेख गरेकोे छ । फोब्र्सको सूचिमा परेपछि अन्तराष्ट्रिय जगतका महत्वपूर्ण मञ्चहरुमा चौधरी देखिन थालेका छन् । गत मार्च ६ तारिकमा बेलायतको माथिल्लो सदन ‘हाउस अफ लड्र्स’ले अन्तराष्ट्रियस्तरमा ख्यातीप्राप्त लगानीकर्ताको सम्मानमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै चौधरीले विश्वको धनाढ्यहरुबीच नेपालमा लगानी गर्न आग्रह गरे । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भारत र नेपालमा गरि दुई पटक भेट गरिसकेका छन् । चौधरी ग्रुपको भारतमा धेरै ठूलो लगानी छ । सोही कारण भारतले उनलाई निकै महत्व दिदै आएको देखिन्छ । चौधरीले भारत, अफ्रिका, कम्बोडिया लगायत २५ देशमा लगानी गरेका छन् । उनीसँग भेट्नुको मुख्य उदेश्य आफ्नो देशमा लगानी गर्न आग्रह गर्नु नै भएको देखिन्छ । चौधरी ग्रुपका महाप्रबन्धक मदुसूदन पौडेलका अनुसार विदेशी राजदूत र कूटनीतिकसँगको भेटमा विनोद चौधरीले विदेशी लगानीकर्ताहरूका लागि नेपाल उत्कृष्ट गन्तव्य भएको जनाउँदै नेपालमा लगानी गर्न आग्रह गर्दै आएका छन् । तर, राजदूतहरुले भने आ–आफ्नो देशमा लगानी गर्न आग्रह गर्दै आएका छन् । आफ्नो कार्यलयमा आएका जापानी राजदूत मासाशी ओगावालाई चौधरीले नेपालमा लगानीका लागि जापानका लगानीकर्ताहरुलाई प्रोत्साहन गर्न आग्रह गरे । ‘अन्तर्राष्ट्रिय लगानीकर्ताहरु नेपालको लगानीको वातावरणका बारेमा पक्कै पनि निश्चिन्त हुन सकिरहेका छैनन् । तर, जसले यहाँं लगानी गरेका छन् उनीहरुले अपेक्षाभन्दा धेरै मुनाफा आर्जन गरिरहेका छन्’ चौधरीको भनाइ थियो, ‘जापानी लगानीकर्ताहरुका लागि पनि यो निकै आकर्षक अवसर हो । उनीहरुलाई यस बारेमा जानकारी दिनु आवश्यक छ ।’ चौधरीले जापान र सिंगापुर जस्ता विकसित मुलुकमा गरिने लगानीको तुलनामा पनि नेपालमा गरिने लगानीबाट आकर्षक प्रतिफल प्राप्त हुने बारेमा राजदूत ओगावाको ध्यानाकर्षण गराए । चौधरीको यो सुझावपछि राजदूत ओगावाले विश्वमै चर्चित चौधरी ग्रुपको उत्पादन जापान पठाउन र आफ्नो देशमा लगानी गर्न आग्रह गरे । इजरायलमा यतिखेर चर्को द्वन्द्व छ । इजरायलले कृषि क्षेत्रमा गरेको विकासबारे विश्वमै चर्चा हुन्छ । इजरायल सरकारले नेपालीका लागि कामदार खुला गरेको छ । सरकारले पनि दक्ष जनशक्ति उत्पादनका लागि टे«निङ लिनका लागि नेपाली कामदारलाई इजरायल पठाउने जानकारी गराइसकेको छ । नेपालका लागि इजरायलका राजदूत यारोन मायेरले अघिल्लो साता चौधरी ग्रुपको अवलोकन भ्रमण गरे । सो अवसरमा ग्रुपका अध्यक्ष चौधरीले नेपाल कृषि प्रधान मुलुक भएकाले इजरायलले त्यहाँको अनुभव नेपालमा प्रयोग गर्नसक्नुपर्ने सुझाव दिए । नेपालको दुई तिहाइ जनसंख्या कृषिमा संलग्न रहे पनि व्यावसायिक कृषिमा नेपाल पछाडि परेको जानकारी गराउँदै चौधरीले व्यावसायिक कृषिमा इजरायलको विशेषज्ञता नेपालका लागि प्रभावकारी सावित हुने विश्वास व्यक्त गरे । राजदूत मायेरले नेपालको कृषि क्षेत्रलगायतमा लगानी विस्तारका लागि इजरायली लगानीकर्ताहरुलाई प्रोत्साहन गर्ने बचन दिए । चौधरी ग्रुपले नेपालमा गरिरहेको लगानी विस्तार र रोजगारी सिर्जनाबाट नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याएको धारणा उनको थियो । यस्तै, नेपालका लागि साउदी अरेवीयाका राजदूत अब्दुलनसिर एच अल हारथीले पनि चौधरी ग्रुपको अवलोकन भ्रमण गरेका छन् । सो अवसरमा आफ्नो समूहले ल्याएको सिजी नेपाल सोसल बिजनेसका बारेमा चौधरीले अवगत गराएका थिए । नेपालमा कार्यान्वयनमा ल्याइएको सिजी नेपाल सोसल बिजनेसको अवधारणाबाट आफू प्रभावित भएको राजदूत हारथीले बताए । उनंले नेपाल र साउदी अरेबियाका लगानीकर्ताहरुको साझेदारीका लागि आफूले पहल गर्ने धारणा पनि राखे । विश्वको चौथो ठूलो अर्थतन्त्र जापानले समेत आफ्नो देशमा नेपाली लगानीकर्तालाई लगानी गर्न आग्रह गर्दै नेपाली उद्यमीको कार्यालयमा पुगिरहदा विश्वका विभिन्न देशमा कार्यरत नेपाली राजदूत के गरिरहेको छन् ? नेपाल सरकार र नेपाली राजदूतहरुले काठमाडौंमा विदेशी राजूतहरुले चौधरीसँग गरिरहेको भेटसँग धेरै सिक्न जरुरी छ । नेपाल सरकारले विदेशी लगानीकर्ताहरूलाई आफ्नो देशमा लगानी गर्न बोलाइरहेका छ । सार्वजनिक रुपमा गरिने आह्वान मात्र प्रभावकारी हुँदैन । नेपालले भोगेको पनि त्यहि हो । जसरी नेपालस्थित विदेशी राजदूतहरु चौधरी ग्रुप पुगेर आफ्नो देशमा लगानी गर्न अग्रह गरिरहेका छन्, त्यसरी नै विभिन्न देशमा रहेका नेपाली राजदूतले आफ्नो देशमा लगानी गर्न आग्रह गर्दै सम्भावित ठूला लगानीकर्ताको ढोकासम्म पुग्नु जरुरी छ । आर्थिक कुटनीति समृद्धिलाई केन्द्रमा राख्नु गरिनु जरुरी छ । विश्वमा भईरहेको अभ्यास पनि यहि हो ।