अख्तियारको निर्देशनप्रति आपत्ति, जलविद्यत् लाईसेन्स खारेज नगर्न माग
१६ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न जलविद्युत् आयोजनाको अनुमतिपत्र खारेजी गर्न दिएको निर्देशन विपक्षमा अर्थ मन्त्रात्रलय, उर्जा मन्त्रालय र व्यवस्थामिका संसद्को अर्थसमिति उभिएको छ । जलविद्युत् आयोजनाका प्रवद्र्धकले समयसीमाभित्र काम नगरेको भन्दै आयोगले पटक–पटक गरी १३ वटा जलविद्युत् आयोजनाको अनुपतिपत्र खारेजी गर्न उर्जा मन्त्रालयलाई निर्देशन दिएको थियो निर्माण प्रक्रिया अगाडि बढेका र लगानीसमेत भइसकेका आयोजनाको अनुमतिपत्र खारेज गर्न निर्देशन दिएर आयोगले आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएको भन्दै व्यवस्थापिका–संसद अन्तरगतको अर्थ समिति अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आलोचना गरेको छ । अख्तियारले दिएको त्यस्तो निर्देशन दिएको बारेमा आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीसँग स्पष्टीकरण लिने भएको छ । सभासद्हरुले आयोगको निर्देशनको विरोध गर्दा सम्वन्धित मन्त्रालयका मन्त्री तथा सचिवहरुले सभासद्हरुको भनाईप्रति सहमति जनाएका छन् । जलविद्युत् आयोजनाको अनुमतिपत्र लिएर काम नगर्ने प्रवद्र्धकलाई कारबाही गर्नु जायज भएपनि काम सुरु भइसकेका र सुरु गर्ने प्रक्रियामा रहेकालाई समेत कारबाही गर्नु र खारेजीको लागि निर्देशन दिनु कानुनीरुपमा गलत भएको समितिले ठहर गरेको छ । नेपाली प्रवद्र्धक बुटवल पावर कम्पनीको संयोजनमा विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषले लगानी गर्ने ३७.५ मेगावाट क्षमताको काबेली ‘ए’ जलविद्युत् आयोजनाको काम अगाडि नबढेको भन्दै आयोगले केही समयपहिले अनुमतिपत्र खारेज गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको थियो । आईतबार बसेको अर्थसमितिको बैठकमा धारणा राख्ने अधिकांश सांसद्हरुले उक्त जलविद्युत् आयोजनाको अनुमति खारेज गर्ने सन्दर्भमा आयोगले दिएको निर्देशन गलत भएको तर्क गर्दै तत्काल निर्देशन सच्याउनुपर्नेमा जोड दिएका थिए । ताप्लेजुङ र पाँचथर जिल्लामा काबेली नदीमा निर्माण हुने उक्त आयोजनालाई अगाडि बढाउन चालु आवको बजेट वक्तव्यमा समेत व्यवस्था गरिएको छ । सरकारले अन्तर्राष्ट्रियरुपमा गरेको आह्वानअनुसार न्यून बोलकबोल गर्ने बुटवल पावरले उक्त आयोजना प्राप्त गरेको थियो । सन् २०१२ को सेप्टेम्बरमा उत्पादन अनुमतिपत्र प्राप्त गरेको आयोजनाले एक वर्षभित्र विद्युत् खरिद सम्झौता(पिपिए) गरिसक्नुपर्ने थियो । नेपाल विद्युत् प्राधिकरणले समयमा निर्णय गर्न नसक्दा उक्त सम्झौता समयमै हुन सकेको थिएन । सुरुमा ३० मेगावाट क्षमतामा अगाडि बढाउन खोजिएको उक्त आयोजना पछि परियोजना विकास सम्झौता(पिडिए)मा संशोधन गरी ३७.५ मेगावाट बनाइएको थियो । कुल १० करोड २० लाख अमेरिकी डलर लागत रहेको आयोजनामा बुटवल पावरको २२ प्रतिशत इक्विटी रहेको छ भने सन् २०१३ नोभेम्बरमा विश्व बैंक र नेपाल सरकारबीच चार करोड डलर वित्तीय लगानी सम्झौतासमेत भइसकेको छ । यस्तै ३८ प्रतिशत आइएफसीले लगानी गर्नेछ । आयोजनाका लागि भनेर बुटबल पावरले नागरिकबाट केही सेयरसमेत उठाइसकेको छ । आयोजना अगाडि बढाउन जग्गा खरिदको कार्य लगभग अन्तिम चरणमा पुगेको छ भने २४ किलोमिटर पहँच मार्ग समेत निर्माण भइसकेको छ । हालसम्म रु ५४ करोड खर्च भइसकेको र आगामी माघबाट निर्माण सुरु गर्ने लक्ष्य राखिएको छ । तर आयोगले स्थलगत अवस्था र प्रगतिको अध्ययन नै नगरी आयोजनाको अनुमतिपत्र खारेज गर्ने निर्देशन दिएको भन्दै सांसदहरु दीपक कुईंकेल, कमला पन्त, जनार्दन ढकाल, जगदीशनरसिंह केसी, विदुर सापकोटा, गोगाल दहित, विक्रम पाण्डे, शेरबहादुर तामाङ, सुरेन्द्र पाण्डे, चन्द्रकान्त भण्डारीले आपत्ति प्रकट गरेका थिए । समितिको बैठकमा उपस्थित बुटवल पावरका कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठ, लगानीकर्ता पद्म ज्योति, प्रदीपकुमार श्रेष्ठलगायतले आयोगले आफूहरुको लगानी खतरामा पारिदिएको धारणा राखेका थिए । काबेली ‘ए’ जलविद्युत् लासेन्स खरेज हुँदैन– अर्थमन्त्री समितिको बैठकमा उपस्थित अर्थमन्त्री डा रामशरण महतले १९ वर्षपछि विश्व बैंक लगानी गर्न आएको सन्दर्भमा कुनै पनि हालतमा सो आयोजना रोक्न नहुने धारणा राखेका थिए । विभिन्न बहाना निकालेर आयोजना रोकिए त्यसले नेपालको सन्देश अन्तर्राष्ट्रियरुपमा पुनः गलत जाने भन्दै उनले सबै खालका व्यवधान हटाउन सरकार तयार रहेको बताए । सार्वजनिक–निजी साझेदारीमा पहिलोपटक निर्माण हुन लागेको आयोजनामा देखिएका बाधा तथा व्यवधान हटाएर सहज वातावरण बनाउन आयोगसँग पनि छलफल गर्न सरकार तयार रहेको उनको कथन थियो । अर्थ मन्त्रालयका सचिव सुमन शर्माले आयोजनालाई सहज रुपमा अगाडि बढाउने वातावरण बनाइने प्रतिवद्धता व्यक्त गरे । ऊर्जा मन्त्रालयका सचिव राजेन्द्रकिशोर क्षेत्रीले प्रवद्र्धकको सुरक्षा गर्न र लगानीमैत्री वातावरण बनाउन मन्त्रालय तत्पर रहेको धारणा राखे ।
राष्ट्रघात हुने गरी खेतानलाई म्याग्नेसाइट दिन सकिनः उद्योगमन्त्री
१२ कात्तिक । उद्योग मन्त्री महेश बस्नेतले पुरानै शर्त अनुसार नेपाल ओरिन्ड म्याग्नेसाइट खेतान ग्रुपलाई संचालन गर्न दिन नसकिने बताएका छन् । खेतान ग्रुपले प्रश्ताव गरेको भन्दा पनि बढी सुविधा राखेर मन्त्रालयले कम्पनी संचालनको अनुमति दिन लागेकोले आफूले रोकेको मन्त्री बस्नेतको भनाइ छ । मंगलवार साँझ आफ्नै निवासमा आर्थिक पत्रकारहरुसँगको भेटमा मन्त्री बस्नेतले यस्तो बताएका हुन् । आफू मन्त्री हुनु अघि मन्त्रालयले गरेको सहमतिले राष्ट्रघात हुने भन्दै उनले खेतान ग्रुपसँग थप छलफल गरेर मात्र उद्योग संचालनको प्रक्रिया अगाडि बढाउन सकिने प्रष्ट पारे । ‘कम्पनी चलाउन गरेको प्रश्तावभन्दा बढी सुविधा प्रदान गर्ने गरी सहमति भएको रहेछ’,– मन्त्री बस्नेतले भने– यस्तो राष्ट्रघात हुन दिनु भन्दा बरु तत्कालको लागि आफूलाई केहि आरोप लागे पनि रोक्न आवश्यक देखेर रोक्यौं । कम्पनी संचालनको लागि खेतान ग्रुपलाई नदिएकोमा कमिसनमा कुरा नमिलेको भन्ने आरोपप्रति संकेत गर्दै उनले दिएको भए झन बढी खायो भन्ने आरोप लाग्ने र राष्ट्रघात पनि हुने बताए । मन्त्री बस्नेतले आफू नीजीकरण र उदारिकण विरोधी नभएको पनि बताए । ‘म ब्यक्तिगत रुपमा र पार्टी पनि निजीकरण र उदारिकणको विपक्षमा छैन,’– मन्त्री बस्नेतले भने– सामाजिक उत्तरदायित्वसहितको निजीकरण हुनुपर्छ । तत्काल १२/१३ करोड रुपैयाँ थप लगानी गरे सो कम्पनी संचालन हुने अवस्था रहेको उनले जानकारी दिए । कम्पनीमा सरकारको ७५ प्रतिशत सेयर लगानी भएपनि केहि रकम थप लगानी गरेकै भरमा नीजी कम्पनीले १२ बर्षसम्म नाफा लिन सक्ने अवस्था सिर्जना भएकोले खेतान ग्रुपसँगको सम्झौता रद्द गरिएको उनको भनाइ छ । के थिए शर्तमा ? उद्योग संचालनको लागि मन्त्रालय, कम्पनी र खेतान समूहबाट सहमति भएका शर्तहरु –उद्योग व्यावसायिक उत्पादन थालेपछि दुई वर्षसम्म ५ प्रतिशत, अर्को दुई वर्षसम्म १० प्रतिशत र अर्को तीन वार्षसम्म १५ प्रतिशत मुनाफा कम्पनीलाई बुझाउने । –लगानी उठेपछि ५ वर्ष सम्म नाफाको ५० प्रतिशत मुनाफा कम्पनीलाई बुझाउने । –बजार उपलब्ध भएमा उत्पादन क्षमता बृद्धि गरी सोही अनुसार Recovery Period पनि छोट्याउनु पर्ने । –पाएसम्म योग्य स्थानीय व्यक्तिहरुलाई रोजगारीको मौका दिने । –प्रचलित ऐनले यस्तो उद्योगलाई तोकिएको वातावरण संरक्षण सम्बन्धित प्रावधानको पालना गर्ने । –उपारोक्त अनुसार तोकिएको समयपछि कम्पनीको संचालन कुन किसिमले गर्ने भन्ने कुरा कम्पनीको साधारण सभाले तय गर्ने । –उद्योग संचालन गर्ने नीतिगत निर्णभ भएपछि प्रस्तुत प्रस्तवको अधारमा तयार गरेको सम्झौतामा कम्पनी र खेतान समूह हस्ताक्षर गर्ने । –खेतान समूहले माग गरेका थप सुविधा सम्बन्धमा नेपाल सरकारको प्रचलित ऐन, कानून बमोजिम उपलब्ध गराउने संचालन समितिले प्रयास गर्ने । –प्रविधि सफल नभएमा लागेको खर्च खेतान समूहले बेहोर्ने र व्यवस्थापन नेपाल सरकारलाई बुझाउने । –यस बाहेकका अन्य कुरा कम्पनीसँग हुने सम्झौतामा समावेश गर्नेछ । (कम्पनीमा ७५ प्रतिशत नेपाल सरकार को र १२ दशमलब ५ प्रतिशत खेतान समुहको शेयर रहेको छ ।) उद्योग संचालनको लागि खेतान समूहबाट प्रस्तुत भएको प्रस्तावका मुख्य बुंदाहरु –आफ्नो खर्चमा नर्या प्रविधि भित्र्याउने –सो प्रविधि सुहाउंदो औजार तथा उपकरण उपलब्ध गर्ने । –परिक्षण उत्पादन गर्ने र विभिन्न प्यारामीटर निर्धारण गरी परिक्षण उत्पादन स्थिरता ल्याउने । –व्यापारिक उत्पादन गर्ने । –उत्पादन विविधीकरण वारे अध्ययन गर्ने । –व्यापारिक उत्पादन भएपछि तोकिएको समयसम्म नाफा आर्जन गरेको आधारमा तोकिएको रकम कम्पनीलाई बुझाई बांकी रकमबाट आफ्नो लगानी उठाउंदै जाने । –हालको प्रक्षेपण Recovery Period अनुसार भएमा आफ्नो लगानी ७ वर्षभित्र उठाउने । –लगानी उठेपछि ५ वर्षम्म नाफाको ५० प्रतिशत कम्पनीलाई बुझाउने ।
६ प्रतिशतमा कृषि कर्जा, ४ प्रतिशत बैंकलाई अनुदान
११ कात्तिक । कृषि व्यवसाय गर्न चाहने युवाले बाणिज्य बैंकहरुवाट नै ६ प्रतिशत व्याजमा ऋण पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले तयार पारेको युवाहरुलाई व्यवसायिक कृषि कर्जामा प्रदान गरिने व्याज अनुदान सम्वन्धी कार्यविधि, २०७१ मा कृषि ब्यवसाय गर्नको लागि युवाहरुले लिने ऋणको ब्याजदर ६ प्रतिशत भन्दा बढी हुन नहुने ब्यवस्था गरेको हो । राष्ट्र बैंकले तयार पारेको कार्यविधि अर्थमन्त्रालयले स्वीकृत गरिसकेको छ । यो कार्यविधि लागू भएपछि कृषि क्षेत्रमा लाग्न चाहने युवाले सस्तो व्याजदरमा बाणिज्य बैंकहरुवाट सहज रुपमा कर्जा पाउन सक्ने छन् । तर सस्तो दरको कर्जा पाउनको लागि ग्रामीण क्षेत्रमा कृषि व्यवसाय गर्नुपर्ने शर्त तोकिएको छ । कार्यविधिमा महानगरपालिका र उपमहानगरपालिका बाहेकका क्षेत्रलाई ग्रामीण क्षेत्र तोकिएको छ । यस्तो कर्जा लिनको लागि २१ बर्ष उमेर पुगेर ४५ बर्ष नकटेका ब्यक्तिले मात्र सुविधा पाउने कार्यविधिमा उल्लेख छ । बैंकहरुले युवा कृषकलाई ६ प्रतिशत ब्याजमा कर्जा प्रदान गर्नुपर्ने र बैंकहरुलाई सरकारले थप ४ प्रतिशत ब्याज अनुदान दिने ब्यवस्था गरिएको छ । यसो हुदा बैंकहरुले कृषि कर्जामा १० प्रतिशत ब्याज लिन पाउने भएका छन् । यस्तो कर्जामा बीमा शुल्क र कर्जा सुचनासम्बन्धि शुल्क वाहेक अन्य कुनै पनि प्रकारका शुल्क लिन नपाउने कार्यविधिमा उल्लेख छ । बैंकहरुले एक जना कृषकलाई १ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गर्न नपाउने शर्त तोकिएको छ । यस्तो कर्जाको सावा ब्याजको भुक्तानी अवधि ३ महिनाभन्दा बढी हुनुपर्ने ब्यवस्था गरिएको छ । बाणिज्य बैंकहरुले १ अर्ब रुपैयाँसम्म युवा किसानलाई अनुदानको व्याज लिन पाउने गरी कर्जा प्रवाह गर्न पाउने छन् । सो भन्दा बढी लगानी गर्नु परेमा नेपाल राष्ट्र बैंकको अनुमति लिनुपर्ने हुन्छ । यसरी प्रदान गरिएको कर्जा बढीमा ५ वर्षको लागि हुनेछ । बैंकहरुले सरकारबाट पाउने ४ प्रतिशत व्याज अनुदान बैंकको खातामा नै शोधभर्ना हुने व्यवस्था मिलाइएको छ ।