‘आन्दोलनबाट भएको ठूलो क्षतिको ५० प्रतिशत रकम एडभान्स दिन्छौं, अनलाइनबाट पनि दाबी गर्न मिल्छ’ {अन्तर्वार्ता}

सरकारले मोटर बीमाअन्तर्गत सवारीसाधनको सुरक्षाको लागि तेस्रो पक्ष बीमा अनिवार्य गरेको छ । दुर्घटना भएको अवस्थामा यदि तेस्रो पक्षलाई क्षति पुगेको छ भने क्षतिअनुसारको भुक्तानी बीमा कम्पनीले दिन्छ । तर, नेपालमा बीमा हुँदाहुँदै पनि दुर्घटना भयो भने दुई चालक सडकमै आपसमा झगडा गर्न थाल्छन् । गल्ती कसको भन्दै क्षतिपूर्ति दिलाउन दबाब दिन्छन् । यस्तै, बीमामा ढिला दाबी भुक्तानी, क्षतिभन्दा बढी दाबीलगायतमा पनि विवाद हुने गरेको छ । यिनै विषय र समग्र मोटरबीमासँग सम्बन्धित रहेर युनाइटेड अजोड इन्स्योरेन्सका  वरिष्ठ प्रबन्धक तथा क्लेम हेड सञ्जय ज.ब.राणासँग विकासन्युजका लागि बबिता तामाङले कुराकानी गरेकी छन् ।  गत भदौ २३ र २४ मा जेनजी पुस्ताले गरेको प्रदर्शनमा देशभर मानवीय क्षतिसँगै ठूलो मात्रामा सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुग्यो । अहिले कम्पनीहरूमा दाबी परेको छ । युनाइटेड अजोडमा दाबीको अवस्था के छ ?  अहिलेसम्म हामीकहाँ २ सय जति दाबी परिसकेको छ । हाम्रोमा सम्पत्ति बीमाभन्दा पनि मोटरबीमा अन्र्तगतको सवारीसाधनको क्षतिको बढी दाबी परेको छ । हामीले फिल्डमा सर्भेयर खटाइसकेका छौं । न्यूनतम डकुमेन्टमा छिटोभन्दा छिटो क्लेम सेटल गर्ने भनेर लागिपरेका छौं । यो बेला बीमा कम्पनीको भूमिका कस्तो हुनुपर्छ ? जेनजी प्रदर्शनमा ठूलो मात्रामा धनजनको क्षति भएको छ । अहिले धेरै पीडामा पनि हुनुहुन्छ । यो बेला चाहिने भनेकै बीमा हो । ज–जसले आफ्नो सम्पत्तिको बीमा गर्नुभएको छ, उहाँहरूलाई बीमाले ठूलो राहत दिनेमा हामी विश्वस्त पार्न चाहन्छौं । बीमा नहुनेको क्षतिको सबै भार आफैले बेहोनुपर्थ्यो । , तर बीमा गरेको छ भने ढुक्क हुन सक्नुहुन्छ । अहिलेको यो विषम परिस्थितिमा हाम्रो मुख्य उद्देश्य छिटोभन्दा छिटो बीमितको क्षतिको क्षतिपूर्ति दिनु नै हो । त्यो पनि न्यूनतम कागजातको आधारमा । सर्भेयरलाई पनि हामीले त्यहीअनुसार खटाएका छौं । कसैको ठूलो क्षति छ भने हामीले अहिले तत्काल ५० प्रतिशत एडभान्स दिएर पनि काम अगाडि बढाउने तयारी गरेका छौं । यो मोटर बीमाको दाबी प्रक्रिया कसरी हुन्छ, बीमितले कसरी क्षतिपूर्ति पाउँछन् ?  दुर्घटना भइसकेपछि बीमितले हामीलाई निवेदन गर्नुहुन्छ । निवेदन भौतिक रूपमै उपस्थित भएर दिनुपर्छ भन्ने छैन । भाइबर, ह्वाट्सएप जहाँबाट सहज हुन्छ त्यहीबाट दिँदा हुन्छ । बीमा प्राधिकरणले दुई लाखभन्दा कम दाबीलाई सानो मानेको छ । सानो दाबी छ भने हामी इनहाउसबाटै मिलाउँछौं, त्यसको लागि बीमितलाई नै फोटो खिचेर पठाउन भन्छौं । आवश्यक परे मात्रै सर्भेयर खटाउँछौं । बीमितले सवारीसाधन मर्मत गरेको हो भने कुन–कुन पार्ट्स फेरेको र मर्मत गरेको हो त्यसको डिटेल्स अनि बिल माग्छौं । मागेको आवश्यक कागजात र बिलअनुसार हामीले भुक्तानी गछौं । ठूलो क्षतिको हकमा यदि सवारीसाधन दुर्घटनास्थलमै छ भने त्यहीँ सर्भेयर खटाउँछौं । सानो दाबीको हकमा एकपटक सर्भेयर खटाएपनि हुन्छ तर ठूलो दाबीमा पटक-पटक क्षति मूल्यांकनको लागि पठाउँछौं । सर्भेयरले दुर्घटना भएको सवारीसाधनको निरीक्षण गरेपछि हामीलाई रिर्पोटिङ गर्नुहुन्छ, त्यसपछि सवारीसाधनलाई मर्मतको लागि पठाउँछौं । कतिपय अवस्थामा भने पहिला सवारीसाधन मर्मतको लागि पनि पठाउन सकिन्छ । सर्भेयरले यतिसम्मको क्षति छ भनेपछि हाम्रो दायित्व यति हो भनेर त्यसलाई सिस्टममा राख्छौं । मर्मतपछि पनि सर्भेयरले के कति पार्ट्स फेरियो, कति खर्च लाग्यो त्यसको भ्यालुएसन गरेर हामीलाई रिर्पोट बुझाउँछन् । यता बीमितको तर्फबाट पनि सबै बिल आउँछ । त्यहीअनुसार हामीले दाबी भुक्तानी गछौैं । ठूलो क्षतिको दाबीको हकमा पुलिस रिपोर्ट चाहिन्छ । दुर्घटनामा यदि मान्छेको मृत्यु भएको छ भने मुचुल्का पनि चाहिन्छ । दुर्घटनामा तेस्रो पक्ष, यात्रु वा ड्राइभरको मृत्यु भएको छ भने पोस्टमार्टम रिपोर्ट चाहिन्छ । साथै नाता प्रमाणित हुने कागजात, डेथ सर्टिफिकेट पनि माग्छौं । दुर्घटनाको केस यदि अदालतमा पुगेको छ भने त्यसको निर्णय पछि नै आउँछ । जिल्ला प्रशासनबाट पनि हामीलाई पत्र आउँछ, यसको नाममा भुक्तानी दिनु भनेर । गाडी मालिकले तेस्रो पक्षलाई भुक्तानी गरेको हो भने हामी भुक्तानी उहाँकै नाममा दिन्छौं । दाबीभन्दा कम भुक्तानी पाए भन्ने बीमितको गुनासो हुन्छ, कस्तो अवस्थामा दाबीभन्दा कम भुक्तानी हुन्छ ? हामीले दाबी भुक्तानी गर्ने भनेको सर्भेयरको रिपाेर्टअनुसार नै हो । नेपालमा धेरैले बीमालाई फाइदाको रूपमा हेर्ने गर्छन्, बीमा फाइदाको लागि भन्दा सहयोग दिने हो । उसको पहिलोको जुन स्थिति हो त्यही स्थितिमा फर्काउने हो । दुर्घटना हुनुभन्दा पहिला बीमितको सम्पत्ति जेजस्तो हालतमा थियो त्यही हालतमा पुर्याउने दायित्व हो । दाबीभन्दा कम भुक्तानी हुने अवस्था भनेको सर्भेयरको रिपोर्टले नै हो । बीमितले क्षतिभन्दा बढी दाबी गरेको हुन सक्छ, सर्भेयरले भ्यालुएसनपछि रकम घट्न सक्छ । हामीले मान्ने भनेको सर्भेयरको रिपोर्ट नै हो । अर्को रिपोर्टमा सर्भेयरले यति दाबी आउन सक्छ भनेर लेख्यो तर बिलमा त्यो आएन भने पनि रकम घट्न जान्छ । सवारी साधन मर्मत गर्ने बेलामा पनि यो–यो पार्ट फेरेको छ, यसको यति लाग्यो भनेपनि त्यसको निरीक्षण गर्दा यदि त्यो पाइएन भने पनि दाबी रकम घटेर आउँछ । दाबी जति पनि गर्न सक्छन्, सबै दाबी शतप्रतिशत सही हुँदैन । भ्यालुएनपछि तलमाथि हुन्छ । हाम्रो उद्देश्य भनेको क्षतिअनुसार बीमितले दाबी पाउनैपर्छ भन्ने नै हो । बढीजस्तो दाबी केमा आउँछ ? बढी त दुर्घटना नै हो  । दुर्घटनाबाट मानवीय र सम्पत्ति क्षतिको दाबी बढी  आउने गरेको छ । दुर्घटनामा आफ्नो गाडी मात्रै संलग्न छ भने क्षतिको मात्रै कुरा आउँछ तर आफ्नो कारणले तेस्रो पक्षको सवारी र मानवीय क्षति पुगेको छ भने त्यहीअनुसारको हुन्छ । कस्तो अवस्थामा दाबी अस्वीकार हुन्छ ? हामीलाई सबैभन्दा बढी आइरहने भनेको स्वामित्व हस्तान्तरण (ओनरसीप चेन्ज) उदाहरणको लागि मैले गाडी बेचेपछि मेरो हुँदैन, अर्कोलाई नामसारी गर्नुपर्छ । बीमा पोलिसी पनि त्यही हो । मैले बीमा पोलिसी पनि नामसारी गर्नुपर्छ । तर, कतिपय अवस्थामा सवारी बेचेपनि बीमालेख नामसारी भएको हुँदैन । त्यो केसमा दाबी भुक्तानी दिन समस्या हुने अस्वीकार नै हुने अवस्था आउन सक्छ । अर्को मादकपदार्थ सेवन गरेर सवारी चलाएको छ र दुर्घटना भएको छ भने दाबी पाइँदैन । तर,  तेस्रो पक्षको सम्पत्तिमा क्षति पुर्‍याएको अवस्थामा दाबी पाइन्छ ।  सरकारले तेस्रो पक्ष बीमा अनिवार्य गरेको छ, तैपनि कतिपयले गर्दैनन् भन्ने कुरा पनि आइरहन्छ नि ? तेस्रो पक्ष बीमा सरकारले अनिवार्य नै गरेको हुँदा नगर्ने भन्ने हुँदैन । किनभने अहिले लाइसेन्स, ब्लुबुक नवीकरण बीमा गरेको कागजात अनिवार्य माग्छ । नगरी सुख छैन । छिटपुट त्यस्तो हुन सक्छ । अर्को कम्प्रिहेन्सिभ बीमा  । तेस्रो पक्षले आफ्नो सम्पत्तिको क्षतिको कभर गर्दैन । कम्प्रिहेन्सिभ पोलिसी लिएको छ भने तेस्रो पक्ष बीमा र आफनो पनि कभर हुन्छ । बीमा दाबी समयमै पाइँदैन भन्ने बीमितको गुनासो भइरहन्छ, दाबी भुक्तानीमा विवाद किन हुन्छ ? कम्पनीले जानीजानी भुक्तानी ढिला गर्दैन । दाबी भुक्तानी ढिला हुनुको मुख्य कारण कागजपत्र नै हो । कम्पनीले मागेको कागजपत्र समयमै आएन भने हामीलाई भुक्तानी गर्न गाह्रो हुन्छ । बीमितसँग कागजपत्र नहुने होइन, आवश्यक कागजात उहाँहरूसँग हुन्छ । त्यही पाउनलाई पनि हामीलाई गाह्रो छ । उहाँहरूले ढिला गरी बुझाइरहेका हुन्छन् । हामीले नभएको डकुमेन्ट माग्दैनौं । रिर्पोट बनाउन समय लाग्ला तर हामीले मागेको लाइसेन्स र बिल बुकसमेत दिन आनाकानी गरिरहनुभएको हुन्छ । हामी त्यसमै अड्किरहेका हुन्छौं । बीमितलाई बीमा पोलिसीबारे जानकारी नभएर वा हामीले बुझाउन नसकेर पनि हुन सक्छ नि ? हामीले आफ्नो सम्पत्तिको बीमा गरेका छौं भने पोलिसीबारे जानकारी लिनैपर्छ । हामी सामान्य सामान किन्न जाँदा त राम्रो छ कि छैन सबै जाँच गरेर लिन्छौं तर त्यत्रो ठूलो पोलिसी लिँदा त्यहाँ के छ भन्ने कुरा पढ्दैनौं । दाबी परेपछि हामीले तपाईंको पोलिसीमा यस्तो छ भनेपछि उल्टै पहिल्यै किन जानकारी गराउनु भएन भन्नुहुन्छ । हामीले पोलिसीबारे बुझाउन नसक्नु हाम्रो गल्ती हुन सक्छ । तर बीमितले पोलिसी नै लिइसकेपछि आनन्दले बस्नुभएन । आफ्नो सम्पत्तिको बीमा गर्नेले त्यसमा जानकार हुनैपर्छ । बीमितलाई बीमा पोलिसी बुझाउन अभिकर्ताको भूमिका महत्त्वपूर्ण हुन्छ, यसमा उहाँहरूले आफ्नो भूमिका कतिको खेलेको पाउनुहुन्छ ? तेस्रो पक्ष बीमा सरकारले अनिवार्य गरेको हुँदा बीमितले त्यही अनिवार्य भएको हुँदा मात्रै गरेको हुन सक्छन् । कति जनाले अभिकर्ताको माध्यमबाट पनि बीमा गरेका हुुन्छन् । त्यसबाहेक बीमित आफै पनि बीमा गर्न गएको हुन्छ । उहाँहरूले पनि नबुझेको पाउँछु । कतिपयले बैंकबाट ऋण लिएको हुन्छ । त्यतिबेला बैंकले बीमा खोज्ने भएकाले उहाँहरू तुरुन्तै पोलिसी चाहियो भन्न आउनुहुन्छ । पोलिसी लिनुभन्दा अगाडि प्रपोजल फर्म (सम्पत्तिको विवरण) दिनुपर्ने हुन्छ । बीमितले प्रपोजल फर्म सही रूपमा राखिदिनुभयो भने पोलिसी पनि त्यहीअनुसार जारी हुन्छ । हामीले पनि दाबी भुक्तानी दिने बेलामा त्यही पोलिसीअनुसार नै दिने हो । तर कतिपय बीमितलाई चित्त बुझ्दैन । यस्तो कतिबेला हुन्छ भने उदाहरणको लागि मेरो एक करोडको सम्पत्ति छ तर बैंकबाट २० लाख रुपैयाँको मात्रै बीमा भएको छ । पोलिसी पनि त्यहीअनुसार जारी हुन्छ । बीमितले यो कुरा हेरेन र दाबी पर्ने बेलामा पुरै सम्पत्तिको बीमा खोज्नुभयो भने पाइँदैन । समस्या यहानेर हुन्छ । मोटर बीमामा फ्रड केस धेरै आउँछन् भनिन्छ, यसलाई कम्पनीले कसरी हेर्ने गरेको छ ? हामी साइडमा जाँदैनौं । हामीले हेर्ने भनेको कागजात नै हो । कदमकदाचित कसैले बढी क्लेम गर्ने प्रयास गरेको हुन सक्छ । जुन मानवीय स्वभाव पनि हो । त्यसमा हाम्रो सर्भेयरले सर्पोट गर्नुहुन्छ । सर्भेयरले क्षतिको मूल्यांकन गरेर बुझाएको रिर्पोटको आधारमा हामीले भुक्तानी गर्ने हो । बीमितले दिएको क्षतिको आधारमा होइन । क्षति भएपछि जति पनि दाबी गर्न पाइन्छ भन्ने बीमितको बुझाइ छ तर आफ्नो वास्तविक क्षति कति हो त्यसअनुसार दाबी गर्नुपर्छ । वास्तविक क्षति कति हो भ्यालुएसन गरेर रिर्पोट बुझाउने सर्भेयरको दायित्व हो । यसले गर्दा कम्पनी र बीमित दुवैलाई घाटा हुँदैन । हामी त्यसरी सोच्छौं । सवारीसाधनको अवस्था के छ, पुनःमर्मत गर्नुपरे केके फेर्नुपर्छ त्यो सबै हेर्ने दायित्व पनि सर्भेयरकै हुन्छ । यसमा बीमितले यो पनि बिग्रेको छ त्यो पनि बिग्रेको छ भनेर मर्मत गराउन लगाउने हो भने कम्पनीलाई घाटा लाग्छ ।  कतिपय अवस्थामा चालकले जानीजानी दुर्घटना गराएको भन्ने कुरा पनि आउँछ । यो सिधै बीमामा धोका हो । यदि बीमितले यस्तो गरेको छ भने सर्भेयरले रिर्पोटिङको क्रममा पत्ता लगाइहाल्छ । बीमितले भुक्तानी पाउने कुरै आएन । विगतमा यस्तो घटना अलि बढी सुनिन्थ्यो । अहिले विस्तारै न्यूनीकरण हुँदै गएको छ । यसलाई न्यूनीकरण गर्नमा हामी निरन्तर छलफल गर्दै आएका छौं । सडकमा सवारी साधन एकापसमा ठोक्किए पछाडि सुरुमा झगडा सुरु हुन्छ, जबकि दुर्घटना भइसकेपछि जति क्षति भएपनि बीमाले कभर गर्छ । कारण के हुन सक्छ ?   विश्वका विभिन्न मुलुकमा दुर्घटना भयो भने सडक जाम गरेर झगडा गरेर कोही बस्दैन । दुर्घटना भएपछि नम्बर छोड्ने, कहाँ बीमा छ सो को जानकारी गराउने राम्रो अभ्यास छ ।  हाम्रोमा चाहिँ सुरुमै गल्ती कस्को भनेर झगडा सुरु हुन्छ । यसको विभिन्न कारण हुन सक्छन् । नेपालीहरू सडकमा हतार गर्छन् । जबकि उनीहरू चिया पसलमा बसेर घण्टौंसम्म कुरा गर्दा कुनै हतार हुँदैन । जब सवारी कुदाउन तयार हुन्छन् अनि हतार हुन थाल्छ । त्यसपछि जता खाली त्यतैतिर सवारी दौडाउन थाल्छन् । कतिपयले ट्राफिक नियम नै पालना नगरी सवारी चलाउँछन् । उनीहरूले न रातो बत्ती हेर्छन् न स्पीड न त जेब्राक्रसिङ । यसरी हतारले चलाउँदा धेरै दुर्घटना हुन्छ। दुर्घटना भएपछि पनि आफ्नै जिद्दी बढी हुन्छ । आफ्नो गल्ती हुँदा हुँदा पनि जिद्धी गर्ने नेपालीको बानी नै हो । एकआपसमा झगडा गर्दा सडक जाम हुन्छ । आफ्नो कारणले अरूले दुःख पाइरहेका हुन्छन् । सडकमा बसेर झगडा गर्नुपर्ने आवश्यकता नै छैन । किनभने अहिले हरेक सडकमा सीसीटीभी छ, त्यहाँबाट कस्को गल्ती थाहा भइहाल्छ । त्यस्तै प्रत्यक्ष घटनास्थलमा भएकाहरूले पनि भनिहाल्छन् गल्ती कस्को हो भनेर । अझ महत्त्वपूर्ण कुरा दुर्घटना भएपछि प्रहरीले पनि गल्ती कस्को भन्ने कुरा भनिहाल्छ । बीमा हुँदा पनि किन ढुक्क हुन सक्दैनन् चालक ? दुर्घटना भइसकेपछि तेस्रो पक्ष बीमा कभर हुन्छ, गल्ती मेरो होस् या उसको । यसमा व्यक्तिको खल्तीबाट एक रुपैयाँ पैसा जाँदैन । यो ज्ञान चालकमा नभएर पनि यो स्थिति आएको पनि हुन सक्छ । अर्को कुरा बीमा छ भनेर थाहा हुँदाहुँदै पनि अरूको गल्ती देखाउनका लागि झगडा गर्छन् । कतिपय चालक बीमाको झन्झटमा किन पर्ने, तत्काल क्षतिपूर्ति पाउनकै लागि पनि सडकमै मिलाउन खोजेको हुन सक्छन् । तर म यसलाई उहाँहरूको गलत बुझाइ भन्छु । अहिले हरेकसँग स्मार्टफोन छ, तत्काल फोटो खिचेर पठाउन सक्छ । निवेदन पनि अनलाइनबाटै दिन सक्छौं । क्षतिअनुसारको भुक्तानी दिन कम्पनीलाई कुनै समस्या छैन । दुर्घटनास्थलमा सबैभन्दा पहिले पुग्ने भनेको प्रहरी नै हो । दुर्घटनाको रिर्पोट प्रहरीसँग पनि हुन्छ । त्यो रिर्पोट बीमितसँग मागिराख्नुभन्दा प्रहरीको वेबसाइटबाटै लिन सक्ने व्यवस्था भयो भने दाबी भुक्तानी अझ प्रभावकारी होला कि ? पहिला, रिपोर्ट प्रहरीको वेबसाइटबाटै हेर्न मिल्ने व्यवस्था थियो । आजभन्दा चार/पाँच वर्षअघि कहाँ कति दुर्घटना भयो भन्ने जानकारी वेबसाइटबाट लिन्थ्यौं । यसरी वेबसाइटमा दुर्घटनाको रिपोर्ट सुचारु भयो भने हामीलाई धेरै सहज हुन्छ । अनलाइनमै भएपछि हामीले मागिरहनुपर्ने झन्झट हुँदैन । रिपोर्ट पनि एक्युरेट हुन्छ । जसले गर्दा सिधै लिंक हुन पनि पाइयो । पेपरलेस पनि हुँदै जान्छ । सबै कुरा अनलाइन हुन थालेपछि विवाद पनि नआउने र रिपोर्टहरू त्यसरी स्क्यानिङ भएर जाने कुरा पनि भएन । यसले कम्पनीलाई भार कम हुँदै जान्छ । मोटर बीमा सम्बन्धी नियामक निकायको छुट्टै निर्देशिका छ । प्राधिकरणको निर्देशनले दाबी प्रक्रियामा कुनै असर गरिरहेको छ ? डकुमेन्टेसनको पार्टमा समस्या छ । दाबी भुक्तानीमा ढिलाइ हुनुको मुख्य कारण भनेकै कागजपत्र हो । हामीले मागेको कागजपत्र समयमै नपाउँदा भुक्तानीमा ढिला हुन्छ । प्राधिकरणले हामीलाई यति दिनभित्र क्लेम सेटल गर भनेर भनेको छ, त्यो हामी गर्न पनि तयार छौं । तर बीमितलाई पनि दुर्घटना भइसकेपछि यति दिनभित्र तपाईंको कागजात बुझाउनुपर्छ भनेर तोकिएको छैन । यदि तोकिदिने हो भने दाबी पेन्डिङ हुने कुरा नै आउँदैन । बीमितलाई दुर्घटना भएको यति दिनभित्र कागजात बुझाउनुपर्छ भनेर नियमले नै बाँधिदिने हो भने हामीले समयमै कागजात पाउँछौं । जति चाँडो कागजात प्राप्त हुन्छ, त्यति चाँडै हामीले सेटल गर्न सक्छौं । बीमितको कागजात बुझाउने समय अनिश्चित हुँदा उहाँहरूले जति बेला पनि कागजात बुझाउन सक्छन् । तर प्राधिकरणले यति दिनभित्र बुझाउनुपर्छ भनेर म्यान्डेटरी गर्यो भने तुरुन्तै सेटल पनि हुन्छ । अन्तिममा केही छ बीमा दाबीसम्बन्धी भन्नैपर्ने विषय ? मोटर बीमा सम्बन्धमा ज्ञान निकै कम छ । यसमा हाम्रो पनि कमीकमजोरी छन् । त्यही भएर स्कुलदेखि नै यदि बीमासम्बन्धी शिक्षाको सुरुवात गर्यौं भने यसले ठूलो योगदान पुर्याउँछ जस्तो लाग्छ । आजभन्दा १०/१५ वर्ष अगाडि बीमा कसैलाई थाहा थिएन ।  अहिले त कमसेकम अलिअलि बुझ्दै आएका छन्, बीमा के र किन गर्ने भनेर । सबभन्दा बढी बीमा भनेको फाइदा होइन भनेर चाहिँ बुझ्नुपर्ने हुन्छ । बीमामा फाइदा र घाटाको कुरा नै आउँदैन । आफ्नो सम्पत्ति जेजस्तो छ पहिलाको स्थिति पूर्ण त्यही हिसाबले क्षतिपूर्ति दिने हो । बीमाले तपाईंलाई फाइदा पनि हुँदैन घाटा पनि हुँदैन । हामीलाई पनि अझै मोटर बीमासम्बन्धी सचेतन नपुगेको हो कि जस्तो लाग्छ । मलाई लाग्छ स्कुलदखि बीमासम्बन्धी ज्ञान चाहिँ बढाउनैपर्छ । हुन त हामीले समय समयमा विभिन्न जागरुकतासम्बन्धी कार्यक्रम गर्दै आएका छौं । तालिम पनि दिँदै आएका छौं । तर मानिसमा अझै चेतना आइसकेको छैन । यससम्बन्धमा सचेतना अझै बढाउनु आवश्यक छ । 

हुवावेको एटलस ९५० : एनभीडीयालाई हल्लाउने ‘एआई बम’ !

बेइजिङ । चिनियाँ टेलिकम दिग्गज हुवावेले बिहीबार आफ्नै एसेन्ड चिप प्रयोग गरेर कृत्रिम बौद्धिकता (एआई) को लागि नयाँ कम्प्युटिङ प्रणाली सार्वजनिक गरेको छ । सार्वजनिक चिपले अमेरिकी प्रतिद्वन्द्वी एनभीडीयामाथि दबाब बढाएको छ । हुवावेले आफ्नो नयाँ ‘एटलस ९५० सुपरक्लस्टर’ आगामी वर्षमै सार्वजनिक गर्ने योजना बनाएको छ । ‘प्रतिस्पर्धा निर्विवाद रूपमा आइसकेको छ र यसको गति बढिरहेको छ,’ एनभीडीयाका प्रवक्ताले सीएनबीसीसँगको एक विज्ञप्तिमा भने, ‘ग्राहकहरूले विश्वका सबैभन्दा लोकप्रिय व्यावसायिक एप्लिकेसन र ओपन–सोर्स मोडेलहरू चलाउन सबैभन्दा राम्रो प्रविधि स्ट्याक छनोट गर्नेछन् ।’ संयुक्त राज्य अमेरिकाले चीनलाई एआई मोडेल सिकाउन प्रयोग हुने अत्याधुनिक सेमिकन्डक्टरहरूबाट काट्ने प्रयास गर्दै आएको छ । यसलाई सामना गर्न, चिनियाँ कम्पनीहरूले प्रायः कम कार्यक्षम तर स्वदेशमै निर्मित चिपहरूको ठूलो संख्यालाई समूहबद्ध गरेर समान कम्प्युटिङ क्षमता हासिल गर्ने रणनीति अपनाएका छन् । हुवावेले २०२८ को अन्त्यसम्म आफ्ना एसेन्ड चिपका तीन नयाँ संस्करण ल्याउने र हरेक वर्षको संस्करणमा कम्प्युटिङ क्षमता दोब्बर पार्ने लक्ष्य राखेको जनाएको छ। यी चिपहरूले हुवावेको एआई कम्प्युटिङ संरचनाको आधार तयार गर्छन्, जसमा सुपरक्लस्टर धेरै सुपरपोडहरूसँग जडित हुन्छ र ती सुपरनोडहरूबाट बनेका हुन्छन् । सुपरनोडहरू एसेन्ड चिपमा निर्मित हुन्छन् र अमेरिकी प्रतिबन्धले लगाएका प्राविधिक अवरोधलाई पार गर्न विशेष प्रणाली डिजाइन प्रयोग गरिएको हुन्छ । हुवावेका अनुसार नयाँ एटलस ९५० सुपरनोडमा ८,१९२ एसेन्ड चिपहरू जडान हुनेछन् र सम्पूर्ण एटलस ९५० सुपरक्लस्टरमा ५ लाखभन्दा बढी चिप प्रयोग गरिनेछ । आगामी २०२७ मा सार्वजनिक हुने एटलस ९६० संस्करणले प्रत्येक नोडमा १५ हजार ४८८ एसेन्ड चिपहरू समर्थन गर्नेछ । पूरा सुपरक्लस्टरमा एक मिलियनभन्दा बढी एसेन्ड चिप हुने हुवावेले दाबी गरेको छ । यी प्रणालीहरू एनभिडियाका चिपले चलाइने प्रणालीसँग कसरी तुलना गर्छन् भन्ने स्पष्ट भएको छैन । तर हुवावेले आफ्नो प्रेस विज्ञप्तिमा भनेका अनुसार यी नयाँ सुपरनोडहरू केही वर्षसम्म विश्वकै सबैभन्दा शक्तिशाली हुनेछन्। बिहीबारको भाषणमा हुवावेका उपाध्यक्ष तथा घुमाइदार अध्यक्ष एरिक सुले आफ्नो आगामी एटलस ९५० सुपरनोडले एनभिडियाको आगामी वर्ष सार्वजनिक हुने एनभीएल १४४ प्रणालीभन्दा ६.७ गुणा बढी कम्प्युटिङ शक्ति दिने दाबी गरे। उनले २०२७ मा सार्वजनिक हुने अर्को एनभिडिया प्रणालीभन्दा पनि हुवावेको उत्पादन सबै दृष्टिले अघि रहने दाबी गर्दै एटलस ९५० सुपरक्लस्टर एलन मस्कको एक्सएआई कोलोसर सुपरकम्प्युटरभन्दा १.३ गुणा बढी शक्तिशाली हुने बताए । ‘चीनको आफ्नै चिप प्रविधिमा आत्मनिर्भरता बढाउने हालैको सरकारी जोडसँग हुवावेको यो उपलब्धि समयानुकूल मेल खान्छ,’ एसिया ग्रुपका पार्टनर र डिजिटल अभ्यासका सहअध्यक्ष जर्ज चेनले भने । उनका अनुसार हुवावेले आफ्नो प्राविधिक क्षमता बढाएर देखाउने सम्भावना भए पनि ‘विश्वको एआई नेतृत्व लिन यसको महत्त्वाकांक्षा कम आँक्न मिल्दैन ।’ अनुसन्धान फर्म सेमीएनालिसिसले गत अप्रिलमा पत्ता लगाएको थियो कि हुवावेले विकास गरेको क्लाउडम्याट्रिक्स प्रणाली एनभीडीयाभन्दा राम्रो प्रदर्शन गर्न सक्षम थियो— यद्यपि प्रत्येक एसेन्ड चिपले एनभिडिया प्रोसेसरको मात्र एक–तिहाइ प्रदर्शन दिने गर्छ । हुवावेले पाँच गुणा बढी चिप प्रयोग गरेर यो लाभ प्राप्त गरेको थियो । ‘कम्प्युटिङ शक्ति एआईको लागि सधैं मुख्य कारक रहँदै आएको छ र रहिरहनेछ,’ घुमाइदार अध्यक्ष सुले बिहीबार शाङ्घाईमा सुरु भएको कम्पनीको वार्षिक हुवावे कनेक्ट कार्यक्रममा भनेका थिए । यो कार्यक्रम शनिबारसम्म चल्नेछ । यही कार्यक्रममा दुई वर्षअघि हुवावेले एटलस ९०० सुपरक्लस्टर घोषणा गरेको थियो । कम्पनी अहिले ‘एटलस ९०० एआई क्लस्टर’ बिक्री गर्छ जसमा ‘हजारौं’ एसेन्ड चिप प्रयोग गरिएको हुन्छ । हुवावेले बिहीबार जनाएअनुसार २० भन्दा बढी कम्पनीलाई ३०० प्लस एटलस ९०० एथ्री सुपरनोड तैनाथ भइसकेका छन् । एनभीडीयामाथि बढ्दो दबाब हुवावेको यो घोषणा चीनले एनभीडीयाको विकल्प विकास गर्ने प्रयासलाई अघि बढाइरहेको बेला आएको हो । यसै हप्ताको सुरुवातमा दुई देशले स्पेनमा भएको व्यापार वार्ता सकेका थिए, जसमा बाइटडान्स स्वामित्वको टिकटकको अमेरिकी सञ्चालनबारे दीर्घकालीन विवाद समाधान गर्ने बाटोबारे छलफल भएको थियो । सोमबार चीनले एनभिडियाविरुद्ध एकाधिकारसम्बन्धी जाँचलाई थप समय दिने घोषणा गरेको थियो । यसपछि अमेरिकी चिप निर्माता कम्पनीमाथि थप दबाब बढेको छ । फाइनान्सियल टाइम्सले स्रोतहरूलाई उद्धृत गर्दै चीनले एनभीडीयाको आरटीएक्स प्रो ६००० डी  चिप परीक्षण र अर्डर रोक्न आदेश दिएको खबर सार्वजनिक गरेपछि बुधबार एनभिडियाको सेयर मूल्य २ प्रतिशतभन्दा बढी घट्यो । एनभिडियाका सीईओ जेन्सेन हुआङले यो प्रतिबन्धको खबर सुनेर आफू ‘निराश’ भएको बताए । उनले यसअघि नै हुवावेलाई ‘शक्तिशाली’ प्रतिस्पर्धी भनेका थिए । चीनले एनभीडीयाको एआई चिप्स प्रतिबन्ध लगाएपछि सीईओ हुवाङ असन्तुष्ट चीनको कडाइपछि एनभीडीयाको एच २० चिप उत्पादन संकटमा, ४.५ अर्ब डलर बराबरको स्टक घाटा  

अनपेक्षित नियुक्ति, अप्रत्याशित बहिर्गमन

काठमाडाैं । वि.सं २०७५ सालमा एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा जसरी रोशन कुमार न्यौपाने नियुक्त भए । त्यसलाई बैंकिङ क्षेत्रले आश्चर्यका रुपमा लियो । भेट्रान र अनुभवी बैंकरले हाँकिरहेको बैंकिङ क्षेत्रमा एक्कासि रोशन सीईओ बनेपछि धेरैलाई त्यो खबर अनपेक्षित लाग्यो ।  सञ्चार माध्यमले कान्छो सीईओ भन्दै समाचार बनाए । बैंकिङ क्षेत्रका भेट्रानले उनको खिसिट्युरी गरे । बैंक बुझेकाहरुले उनको अनुभव र क्षमतामाथि प्रश्न गरे । किनकी उनले १० वर्षमात्रै बैंकिङ गरेर सीईओ बन्ने भाग्यमानी बैंकर बने । २०७५ मा सीईओमा नियुक्त हुँदा उनले बैंकिङ क्षेत्रमा १० वर्षमात्रै काम गरेका थिए ।  तर, बैंक सञ्चालकहरुले उनीमाथि विश्वास गर्यो र बैंकको बागडोर सम्हाल्न जिम्मेवारी दियो । अनुभव कम भए पनि उनले एनआईसी एसिया बैंकको बिजनेस ग्रोथ भने ह्वात्तै बढाए । धेरैले अपेक्षा गरेका थिएनन् कि उनले एनआइसी एशियालाई अन्य बैंकको प्रतिस्पर्धी बनाउँछन् भनेर । तर, रिटेलमा सबैभन्दा बढी कारोबार गर्ने बैंकको सूचीमा उनले एनआइसी एशियालाई पुर्याए । पहिलो कार्यकालमा उनको वाहवाही नै भयो । बैंकिङ क्षेत्रका भेट्रान सीईओहरुले नै पछ्याउने किसिमको पफर्मेन्स उनले गरे ।  तर, उनको दोस्रो कार्यकाल भने तुलनात्मक रुपमा सन्तोषजनक रहेन । विश्वमहामारीका रुपमा फैलिएको कोरोना र त्यसपछिको आर्थिक संकटले एनआइसी एशिया बैंकलाई एक किसिमबाट थला नै पार्यो । यो बीचमा उनी जसरी पनि बैंकबाट बाहिरिने प्रयासमा थिए । त्यो किसिमको दबाब सञ्चालकबाट पनि रहेको स्रोतको दाबी छ । तर, उनले निरन्तर काम गरिरहे ।  अहिले एक्कासि उनी बैंकबाट बाहिरिए । जसरी उनी कान्छो सीईओका रुपमा नियुक्त भएर सबैलाई आश्चर्य बनाएका थिए, त्यसैगरि अहिले एक्कासि राजीनामा दिएर सबैलाई अचम्मित बनाएका छन् । दोस्रो कार्यकाल सकिन ११ महिना बाँकी हुँदै नै उनले पदबाट राजीनामा दिए । उनले व्यक्तिगत स्वास्थ्य र पारिवारिक कारण उल्लेख गरे पनि त्यसभित्रको अन्तर्य भने फरक नै रहेको बैंक स्रोतको दाबी छ ।  बैंकका अनुसार उनको राजीनामा पनि स्वीकृत भइसकेको छ । उनी ७ वर्ष सीईओ बनेर बैंकबाट बाहिरिएका हुन् ।  बैंकका सूचना अधिकारी अर्जुन राज खनियाँका अनुसार न्यौपानेले बुधबार बैंक सञ्चालक समिति समक्ष राजीनामा पत्र बुझाएको थिए । बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले राजीनामा पत्र स्वीकृत गरेसँगै न्यौपाने बैंकबाट बाहिरिएका हुन् । पारिवारिक समस्याका कारण राजीनामा दिएको खनियाँ बताउँछन् ।  वित्तीय सूचकमा उनको कार्यकाल उनी पहिलो पटक सीईओ बन्दा आर्थिक वर्ष २०७४/७५ मा बैंकको निक्षेप १ खर्ब ५१ अर्ब २१ करोड रुपैयाँ थियो । उनी बैंकबाट बाहिरिँदै गर्दा बैंकको निक्षेप ३ खर्ब १९ अर्ब ६ करोड रुपैयाँ (आर्थिक वर्ष २०८१/८२) पुगेको छ ।  उनको कार्यकालमा निक्षेप १११ प्रतिशतले बढेको छ ।  यस्तै, आर्थिक वर्ष २०७४/७५ मा १ खर्ब २० अर्ब ४ करोड रुपैयाँ रहेको कुल कर्जा आर्थिक वर्ष २०८१/८२ मा २ खर्ब २४ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । उनले आफ्नो कार्यकालमा कर्जा लगानी पनि ८६ प्रतिशत बढाएको तथ्याङ्कबाट देखिन्छ । बैंकले यस अवधिमा साना तथा मझौला उद्यम कर्जा र कर्पोरेट कर्जामा बढोत्तरी हासिल गरेको जनाएको छ ।  आर्थिक वर्ष २०७४/७५ मा १ खर्ब ७० अर्ब ९४ करोड रुपैयाँ रहेको कुल सम्पत्ति आर्थिक वर्ष २०८१/८२ मा ३ खर्ब ७८ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । यो अवधिमा बैंकको सम्पत्ति १२१.५७ प्रतिशत बढेको छ ।  तर, आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब ३९ करोड रुपैयाँ नाफा गरेको बैंकले आर्थिक वर्ष २०८१/८२ मा १६ करोड रुपैयाँ झरेको छ । यो अवधिमा बैंकको नाफा भने ८८.४६ प्रतिशत घटेको छ । पछिल्लो समय बैंकको खराब कर्जा बढ्दा र गैर बैंकिङ सम्पत्ति बिक्री नहुँदा बैंकको नाफा घटेको हो ।  उनी सीईओ बन्दा बैंकको चुक्ता पुँजी ८ अर्ब ८३ करोड रुपैयाँ थियो भने बाहिरिँदा १४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । बैंकको चुक्ता पुँजी १७५७.४९ प्रतिशत बढेको छ ।  विभन्न अडिट फर्ममा काम र क्याम्पसमा अध्यापन गराएका न्यौपानेसँग १७ वर्षको बैंकिङ अनुभव छ । न्यौपाने भन्दा अगाडि लक्ष्मण रिसाल बैंकको सीईओ थिए ।   अब नयाँ क्षेत्र रोज्छु : रोशन न्यौपाने न्यौपानले अब बैंकभन्दा फरक क्षेत्र रोज्ने बताएका छन् । उनले हामीसँग संक्षिप्त कुराकानी गर्दै बैंकिङ भन्दा पृथक क्षेत्र रोज्ने बताएका छन् । यस्तो छ उनीसँग गरिएको संक्षिप्त कुराकानी : बैंक किन छोड्नु भयो ?  कति अरुलाई अर्ती उपदेश मात्रै दिने ? आफू पनि गर्न सकिन्छ की सकिँदैन भनेर टेस्ट गर्ने हिसाबमा पेसा व्यवसाय गर्न सकिन्छ भन्ने सोचमा छु ।  भनेपछि तपाईं अब अर्कै पेसा रोज्दै हुनुहुन्छ ?  बैंकिङ भन्दा बाहिरिएको व्यवासायिक जोर्नी गर्न पाए हुन्थ्यो भन्ने इच्छा छ ।  कुन क्षेत्र हो भन्न मिल्छ ?  अहिले यो क्षेत्र नै भनेर छनोट गरेको छैन । तर, देशको मुख्य सम्भावना भएका जुन(जुन क्षेत्र छन्, त्यही क्षेत्र लाई एक्सप्लोर गर्नुपर्ला भन्नेछ ।  तपाईं अन्य पेसामा आवद्ध हुने भन्नुभयो । बैंकप्रतिको वितृष्णा भएर यो क्षेत्र छोड्न लाग्नु भएको हो ?  बैंकप्रतिको वितृष्णा भन्दा पनि नयाँ सम्भावनाहरूको खोजि भनेर हेर्नुपर्ला । बैंकिङ भन्दा बिगर वल्डलाई एक्स्प्लोर गरौं भन्ने हिसाबले गएको हो । यो वितृष्णा भएर भन्दा पनि बढी अवसर सम्भावनालाई एक्सप्लोर गर्न खोजेको हो ।   एक समय बैंकलाई एउटा उचाइमा पुर्याउनु भएको थियो । तर, तपाई बैंकबाट बाहिरिँदै गर्दा त्यो अवस्थामा बैंक छैन । सोही कारणले बैंक छोड्नु भएको हो ?  त्यस्तो होइन । मेरो कार्यकाल नै सकिन लागेको छ । त्यसमाथि मेरो श्रीमतीको स्वास्थ्य त्यति राम्रो छैन । ६ महिनाको बेड रेस्ट भएको छ । अस्ति मात्रै २ हप्ता भारतमा लगेर सर्जरी गरेर आफैं बसेर लिएर आएको हो । आफ्नो कार्यकाल पनि धेरै नभएको र सीईओ जस्तो मान्छे लामो समयसम्म बिदामा बस्न ठिक नहुने भएकाले पारिवारिक कारणले छोड्नु परेको हो । त्यस्तो अन्य कुनै अवस्थाका कारण होइन ।  बैंकको अवस्था नराम्रो भएर त छोडेको होइन ? बैंक ठिक छ । राम्रो छ ।  पछिल्लो समय केही सूचकहरूमा बैंक पुछारमा छ नी ?  कसैले प्रोभिजन गर्नुपर्ने जति गरेको छ । कसैले गरेको छैन । कसैले टपअप गरेर अर्निङ देखाएको छ । रिस्ट्रक्चर, रिसेड्यूल गरेर अर्निङ देखाएको छ । हामीले त्यस्तो काम केही पनि गरेको छैन । हाम्रो स्ट्रेन्थ थाहा छँदैछ । राम्रो पोजिसन छ । अब बैंकको सीईओमा कस्तो व्यक्ति आउनु पर्छ ? बैंकभित्रैको जनशक्ति तयार छ ?  सन्तोष राठी सर भए राम्रो हुने भन्ने मेरो धारणा छ । उहाँ पनि बैंकको चलाउन वा नेतृत्व गर्न सक्षम हुनुहुन्छ ।  अहिलेको बैंकिङ क्षेत्र कस्तो छ ?  अब अर्थतन्त्र पनि रिबाउन्ड गर्छ । बैंकिङ पनि रिबाउन्ड गर्छ । र, भविष्य राम्रो देख्छु । बैंकिङको डार्क डे सकिँदै गएको छ । अब ब्राइट डेज (चम्किला दिनहरू) आउँदैछन् ।