वर्षौंको मिहिनेतले बनेको ‘अटो हब’ क्षणभरमै ध्वस्त, पुनः निर्माणमा जुटे व्यवसायी
काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा प्रायः राजधानीका बजारहरूमा रौनक छाउने गर्छ । दशै/तिहारको माहोलले मानिसमा उत्साह भर्दै किनमेलको भीडले सडक र पसलहरू गुलजार हुन्थे । तर, यसपटक भने काठमाडौं सहर विगतका वर्षहरूमा जस्तो रौनक देखिँदैन । विशेषगरी, अटो क्षेत्रको हब भनेर चिनिने थापाथलीका शोरुमहरूमा नयाँ गाडी हेर्ने खरिद गर्ने र सम्झौता गर्ने ग्राहकको भीड लाग्ने गर्थ्यो । दैनिक सयौं मानिसको आवतजावत हुन्थ्यो । आज त्यही थापाथली शोक र खरानीमा परिणत भएको छ । भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा केही अराजक समूहले थापाथलीको अटो शोरुम विध्वंस नै गरिदियो । ग्राहकको चहलपहलले भरिने थापाथलीमा अहिले धुवाँको गन्ध, फुटेका सिसा र पोलिएका फलामका ढाँचा मात्रै देख्न सकिन्छ । अटो व्यवसायीहरूले कडा मिहिनेत र संघर्ष गरेर जोडेका ती गाडीका शोरुमहरू जलेर ध्वस्त भएपछि उनीहरूको सपना छिनभरमै चकनाचुर भएको छ । अर्बौंको क्षति बेहोर्नुपरेको छ । आगजनीपछि सीजी मोटर्सको शोरुम । सीजी मोटर्सका एक कर्मचारी भन्छन्, ‘हाम्रो शोरुममा २० वटा जति गाडी जलेर गाडी नष्ट भएका छन् । ८/१० वटा बाइकहरू पनि छन् । शोरुम त पुरै ध्वस्त भएको छ, नोक्सान विवरण भने अझै आएको छैन ।’ यस्तो अवस्थामा व्यवसायलाई कसरी अगाडि बढाउने भन्नेबारे उनीहरूले तत्कालका लागि अस्थायी समाधान खोजेका छन् । ती कर्मचारीका अनुसार अहिले सीजी मोर्टसको थापाथलीमा रहेको शोरुमलाई पानीपोखरीस्थित रिडाराको शोरुमतिर सारिएको छ । थापाथलीको शोरुमको अहिले पुनःनिर्माण भइरहेको छ । सुजुकीको पनि यस्तै कथा छ । सुजुकीका ११ वटा गाडीहरू जलेर नष्ट भएका छन् भने शोरुम पनि खरानीमा परिणत भएको छ । यसैगरी, महिन्द्रा ब्राण्डका गाडी पनि जलेका छन् । कम्पनीका अनुसार शोरुममा रहेका गाडीमध्ये तीन वटा सकुसल छन् भने एक गाडी पूर्णरूपमा नष्ट भएको छ । टाटा मोटर्सको शोरुममा पनि ठूलो क्षति पुगेको छ । करोडौं रुपैयाँ बराबरका गाडी र सम्पत्ति नोक्सान भएको टाटा मोटर्सकी मार्केटिङ हेड अभिरुचि गिरी बताउँछिन् । उनका अनुसार शोरुम र गाडीहरू तोडफोडसँगै जलेर नष्ट भएका छन् । ‘नोक्सानको विवरण आउन बाँकी छ । तर, नोक्सान करोडौंको भएको छ,’ उनले भनिन् । उनका अनुसार करिब ९ वटा गाडीमा क्षति पुगेको छ । जसमा धेरैजसो विद्युतीय सवारीसाधन ईभी रहेका छन् । शोरुमभित्र रहेका ५ वटा ईभीहरू जलेका छन् । यति ठूलो क्षति भोगे पनि टाटा मोटर्सले तत्कालै पुनर्निर्माण र सेवा सञ्चालनलाई प्राथमिकता दिएको उनको भनाइ छ । ‘हामी पुनः निर्माणमा लागिसकेका छौं । दिनरातै काम गरिरहेका छौं,’ उनले भनिन् । आगजनीपछि टाटा मोटर्सको शोरुम । क्षतिग्रस्त शोरुमकै छेउमा अस्थायी शोरुम बनाएर पुनः सुरु गरिएको उनको भनाइ छ । यस्ता खालका घटनाले मनोबल घटाउन नहुनेमा कम्पनी दृढ रहेको उनी बताउँछिन् । हालसम्म टाटा मोटर्सका नेपालभर २१ वटा शोरुम तथा १ सय ८५ भन्दा बढी चार्जिङ स्टेसन (एसी फास्ट र डीसी फास्ट) रहेका छन् । साथै १६ वटा डेडिकेटेड इभी सर्भिस सेन्टर र ब्याट्री डायग्नोसिस एण्ड रिपेयर फेसिलिटी बाग्लुङमा रहेको छ । जसले गर्दा नेपालकै सबैभन्दा ठूलो ईभी सञ्जाल रहेको कम्पनीको दाबी छ । यसैगरी, अटो व्यवसायी तथा नेपालमा हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका प्रबन्ध निर्देशक दीपक थपलियाले आफ्नो शोरुममा भएको आगजनीबाट ५ वटा गाडी नष्ट भएको जानकारी दिए । ‘शोरुममा पूर्ण आगजनी नभए पनि ५ वटा गाडीहरू जलेका छन् । शोरुमको सिसा फुटेको छ, कम्प्युटर र अन्य सामग्री तोडफोड भएको छ,’ उनले भने । थपलियाले यसलाई जेनजी नभएर नेपालीहरूको असन्तुष्टिको समग्र परिणामको रूपमा हेरेको बताए । ‘आन्दोलन त अरु सबैको हुन्छ । तर यो सबैको असन्तुष्टि रहेको नतिजा हो,’ उनले भने । व्यावसायिक नोक्सानको पीडाका बाबजुद पनि उनले यसलाई ठूलो मानवीय क्षतिसँग तुलना गरेनन् । ‘हामीलाई क्षति पुगेको छ तर त्योभन्दा ठूलो क्षति भनेको मानवीय क्षति भएको छ,’ थपलियाले भने, ‘तर यस्तो नगरिनुपर्ने थियो ।’ अहिले दश नै शोकमा डुबेको बताउँदै यस घटनाले पर्यटन, अन्तर्राष्ट्रिय सम्बन्ध, विदेशी लगानी लगायत धेरै क्षेत्रमा नकारात्मक असर पारेको उनको बुझाइ छ । उनले भने, ‘जे भयो त्यो दुःखद हो, तर त्यसमै अड्किरहन मिल्दैन । अब हामीले मनोवैज्ञानिक र व्यावसायिक रूपमा अगाडि बढ्नुपर्छ । अहिलेको प्राथमिकता भनेको कर्मचारीहरूलाई सुरक्षित महसुस गराउनु र सामान्य काममा फर्कन सहयोग गर्नु हो । व्यापारको हिसाबले मूल्यांकन अझै गरिएको छैन । तर जे भयो त्यो स्वीकार छ । मुख्य कुरा देश राम्रो हुनुपर्छ, प्रगति गर्नुपर्छ भन्ने चाहना हो ।’ थपलियाले यस्ता घटनाले लगानीकर्ताहरूको मनोबल घटाउने र स्वदेशमा केही गरौं भन्ने भावनालाई धक्का पुर्याउने चिन्ता व्यक्त गरे । उनले कसैले पनि लगानी गर्न छाडे भने, देशमा प्रगति हुने वातावरण नै नबन्ने र त्यसको फाइदा विदेशीहरू उठाउने बताए । यदि नेपालीहरूले लगानी गर्न छोडेमा विदेशीहरूले आएर व्यापार गर्ने र देश आफ्नो नियन्त्रणमा नरहने खतरा उनले औंल्याए । अटो हबका रुपमा परिचित थापाथलीमा रहेका आधा दर्जन बढी शोरुममा आगजनी भएको थियो । सुजुकी, महिन्द्रा, हुण्डाई, सिप्रदी र सीजी लगायत शोरुमहरूमा आगजनी भएको थियो । थापाथलीमै रहेका जिकर, किया, हुण्डाईको ईभी, प्रोटोन, एमजी, निशान र जीएमडब्लू लगायतका शोरुमहरू सुरक्षित छन् । जेनजी आन्दोलनले दशैंको मुखमा व्यवसायीहरूलाई गहिरो पीडा दिएको छ । तर, यसका बाबजुद पनि व्यवसायीहरूले मनोबल नघटाई, देशको प्रगतिका लागि सकारात्मक सोचका साथ अगाडि बढ्ने संकल्प लिएका छन् ।
शिक्षामन्त्रीलाई केशरमहलमा पदभार ग्रहण गराउने तयारी, यी हुन् गर्नैपर्ने ६ काम
काठमाडौं । अन्तरिम सरकारको मन्त्रीहरूले धमाधम पदभार ग्रहण गरिरहँदा शिक्षामन्त्री को बन्छ भन्ने विषयमा धेरैको चासो बढेको छ । धेरैजसोले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेकी सुमना श्रेष्ठ फेरि शिक्षामन्त्री बन्छन् कि भन्ने चर्चा गरिरहे पनि उनले भने आफू शिक्षामन्त्री नबन्ने घोषणा गरिसकेकी छन् । अहिले अधिकांश मन्त्रालय तथा सरकारी कार्यालयहरू जलेर नष्ट भएका छन् । यो संकटबाट शिक्षा मन्त्रालय पनि बच्न सकेन । सिंहदरबार भित्र रहेको शिक्षा मन्त्रालयमा आगजनी भएको छ । मन्त्रालयका केही काम सिंहदरबारभित्रका हालको भवनबाट सुरु भइरहेको छ भने अब आउने नयाँ मन्त्रीलाई केशर महलमा पदभार ग्रहण गराउने तयारी शिक्षा मन्त्रालयले गरेको छ । यस्तो अवस्था नयाँ शिक्षामन्त्रीलाई चुनौतीमात्र नभई काम गरेर देखाउने अवसर पनि रहेको कतिपयको तर्क छ । भलै समयावधि ६ महिनाका लागि मात्र भए पनि यो ६ महिनामा धेरै काम गर्न सकिने शिक्षा क्षेत्रका विज्ञहरू बताउँछन् । शिक्षामन्त्रीले गर्नुपर्ने गर्नुपर्ने काम शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला अब बन्ने शिक्षा मन्त्रीले ६ महिनामा ६ काम गरिसक्नुपर्ने बताउँछन् । उनी धेरै काम गर्न नसके पनि ६ काम गर्नै पर्ने काम रहेको बताउँछन् । उनका अनुसार अबको शिक्षामन्त्रीले सबैभन्दा पहिले पूर्व शिक्षा मन्त्री गिरिराजमणि पोख्रेलले सुरु गरेको तीनवटा ऐन कार्यान्वयन गर्नुपर्ने छ । उनी भन्छन्, ‘अब आउने मन्त्रीले सबैभन्दा पहिले विद्यालय शिक्षा, उच्च शिक्षा, व्यावसायिक शिक्षा यी तीन कुरालाई अहिलेको सन्दर्भमा जोडेर र अहिलेका कुरालाई पनि समावेश गरेर व्यवहारिक ढंगले काम गर्नुपर्छ ।’ प्रा.डा. कोइराला अबको मन्त्रीले गर्न सक्ने र गर्नैपर्ने अर्को काम विद्यार्थीको लागि अनिवार्य बचत प्रणाली सुरु गर्नुपर्ने बताउँछन् । ‘यसको लागि बैंक, पालिका र अभिभावकसँग सहकार्य गरेर विद्यार्थीलाई नै कमाऊ भन्न सक्ने मान्छे चाहियो,’ उनी भन्छन्,‘ विद्यार्थीलाई आफै काम पनि गर्न सक्ने र बचत पनि गर्न सक्नेगरी अबको मन्त्रीले काम गर्नुपर्छ ।’ उनका अनुसार अबको मन्त्रीले गाउँघरका जति पनि खाली जमिनहरू छन् ती जमिन पालिकाले लिजमा लिएर, केही विद्यार्थीलाई, केही घरधनीलाई दिने र त्यहाँ के खेती गर्न सकिन्छ बाँदरले नखाने, दुम्सीले नखाने खेती गर्न लगाउने र त्यसलाई उद्यमसँग जोड्न सक्नुपर्छ । कोइराला अबको मन्त्रीले गर्नसक्ने अर्को काम गाउँमा खाली भएका घरहरूलाई संग्राहलयको रूपमा राख्नसक्नुपर्ने बताउँछन् । ‘जुन ठाउँ जेका लागि प्रख्यात छ वा पाइन्छ त्यसैको संग्राहलयका रूपमा बनाउन सकियो भने यसले पर्यटन पनि बढाउँछ, गाउँ खाली पनि हुँदैन तर, गाउँको स्वरूप फेरिन्छ । यी तीन/चारवटा काम गर्न सक्यो भने देश बन्थ्यो,’ उनी भन्छन् । ‘गर्छन् भन्ने पत्यार त लाग्दैन तर यति गर्न सक्ने मान्छेचाहिँ अहिलको आवश्यकता हो,’ कोइराला भन्छन्, ‘अब विद्यार्थीलाई पढाउने भन्दा पढाउने कला सिकाउनुपर्छ । केटाकेटी अब जान्ने भइसकेका कुरा यही जेनजी आन्दोलनले पनि देखाएको छ । अबको विद्यार्थीलाई पढ्ने कला सिकाउने व्यवस्था यी ६ महिनामा ६ वटा काम मात्र गर्न सक्यो भने धेरै हुन्छ ।’ शिक्षाविद् डा. विष्णु कार्की शिक्षा विधेयक पास गराउन भूमिका खेल्नुपर्ने बताउँछन् । सामुदायिक विद्यालयका शिक्षक कर्मचारी र निजी विद्यालय सञ्चालकहरू विभिन्न माग राख्दै सडकमा आइरहेको अवस्थाका बाबजुत पनि विधेयक पास हुने अन्तिम अवस्थामा पुगेको थियो । अब आउने मन्त्रीलाई भने यो विधेयक पास गर्ने मौका छ । ‘अबको विद्यालय शिक्षा कस्तो हुनुपर्छ, कसरी जानुपर्छ भन्ने कुरा अबको मन्त्रीले विचार गर्न सक्नुपर्छ,’ डा. कार्की भन्छन्,‘अबको मन्त्रीले विद्यालय शिक्षा विश्वविद्यालय शिक्षा र प्राविधिक शिक्षालाई जोड दिएर काम गर्न सक्नुपर्छ।’ शिक्षामन्त्रीले सबैभन्दा पहिले तीन तहको शिक्षालाई गम्भीर ढंगले अगाडि लान सक्नुपर्छ । अहिलेको सामुदायिक विद्यालयको अवस्था त्यहाँभित्रको राजनीति र निजी विद्यालयको मनोमानीले विद्यालय शिक्षा कहिल्यै राम्रो हुन नसकेको भन्दै डा. कार्की व्यक्तिगत स्वार्थका कारण डुबेको शिक्षालाई अबको सार्वजनिक शिक्षा कस्तो हुन्छ भनेर सबैलाई बुझाउन सक्ने किसिमको नेतृत्व शिक्षा क्षेत्रलाई आवश्यक रहेको बताउँछन् । नेपालमा शिक्षकको भूमिका के हुने, राजनीति कतिसम्म गर्न पाउने भन्ने कुरा स्पष्ट सिकाउने पर्ने देखिन्छ । यो खाका अबको शिक्षामन्त्रीले गर्न सकेन भने फेरि उही ताल हुने, विद्यालय बन्द गर्ने, सडकमा आउने कुरा दोहोरिने बताउँदै डा. कार्की पहिले विद्यालय शिक्षा त्यसमा पनि निजी र सामुदायिक शिक्षा र शिक्षकहरूको व्यवस्थापन गर्नुपर्ने काम सबैभन्दा पहिले गर्न आवश्यक रहेको बताउँछन् । उनी अबको मन्त्रीले निजी विद्यालयको हकमा पनि स्पष्ट भन्न सक्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘व्यापार गर्न दिने हो भने गर्न दिऔं, हैन शिक्षा सरकारको सरोकारको विषय हो भने शिक्षामा व्यापार गर्न पाइँदैन, यो विषयमा स्पष्ट काम गर्न सक्ने र नेतृत्व लिन सक्ने मान्छे अब चाहिन्छ ।’ नेपालको विश्वविद्यालय शिक्षा अझ बिग्रेको छ । प्राध्यापक र विद्यार्थीको राजनीतिले विश्वविद्यालय शिक्षा ध्वस्त भएको बताउँदै कार्की अबको मन्त्रीले यसका यसमा पनि स्पष्ट खाका बनाउनुपर्ने बताउँछन् । ‘विश्वविद्यालयमा पढ्ने विद्यार्थीमा धेरै ज्ञान हुन्छ, उसले देश, समाज, विश्व सबै बुझेको हुन्छ,’ डा. कार्की भन्छन्, ‘अब उहाँहरूलाई विश्वविद्यालयमा राजनीति होइन शिक्षाको गुणस्तरका कुरा गर्नुपर्छ भन्न सक्नुपर्छ ।’ उनका अनुसार राजनीति गर्नेलाई पढाइ छोडेर राजनीति गर्न लगाउने र पढ्ने विद्यार्थीलाई भोलिको रेक्टर–भिसी सबै तपाईंहरू नै हो भनेर पढाइमा केन्द्रित गराउनेगरी अबको नेतृत्वले काम गर्नुपर्छ । विश्वविद्यालय भोलिका लागि वैज्ञानिक, अनुसन्धानकर्ता राजनीतिज्ञ उत्पादन गर्ने थलो भएको बताउँदै यहाँ राजनीति नभई कसरी काम गर्ने भन्ने कुरा सिकाउनुपर्ने उनी बताउँछन् । व्यावसायिक शिक्षा तथा तालिम परिषद् (सीटीईभीटी)मा पनि ठूलो राजनीति छ । अबको नेतृत्वले यहाँ पनि धेरै काम गर्नुपर्ने छ । अब प्रविधि, सीप र सिर्जनशीलताबिनाको शिक्षाको काम छैन । यो बाटोमा नेपालको शिक्षा जानै पर्ने छ । विश्वका विकसित मुलुकमा हेर्ने हो भने प्रविधि युक्त र प्राविधिक भइसकेको छ । विज्ञहरू अबको शिक्षामन्त्री अहिलेको ६ महिनाका लागि मात्र मन्त्री हुने भएकाले ऐन नीति नियमको जानकार भन्दा शिक्षा क्षेत्रका विषयमा बुझेको व्यक्ति हुनुपर्ने बताउँछन् । ‘अहिले जुन भत्किएका, बिग्रिएको कुरा छ, यसलाई सुधार गर्न ६ महिना लाग्छ,’ उनीहरू भन्छन्, ‘ऐन नियम कानुनको काम गर्ने हो भने त्यही अनुसारको विज्ञता भएको हुनुपर्छ ।’ यो ६ महिनामा अहिलेकै विद्यमान ऐनमा बसेर सुधार गर्नुपर्छ । गर्न सकिने कामहरू प्रशस्त छन् । प्रशासनिकभन्दा प्राविधिक विषयमा गर्नुपर्ने भएकाले अलि बढी विज्ञता भएको, विश्वमा शिक्षा कसरी भइरहेको छ नेपालमा हामी कसरी लान सक्छौं भन्ने विषयमा अलि बढी जानकार राख्ने र नेतृत्व गर्न सक्ने व्यक्ति मन्त्री हुनुपर्छ,’ प्रा.डा. कोइरालाले भने ।
समस्या भ्रष्ट मानसिकतामा
नेपालको शासनसत्तामा आरोह-अवरोह काटमार र छलकपटबाहेक केही पनि छैन । भीमसेन थापा जेलमै सड्नु पर्यो । फत्तेजंग चौतारी र माथवरसिंह थापा लगायतहरू काटिनु पर्यो । जंगबहादुरको उदय हुन कोतपूर्व घट्नु पर्यो । राणाशासनको पतन गर्न शहीदहरूले रगत बगाए । प्रजातन्त्र प्राप्त गर्न धेरै मान्छे मर्नु पर्यो । समकालीन राजनीतिक दललाई सत्तामा पुर्याउने धेरैले ज्यान बलिदान दिए । १७ हजार मानिसको बलिदानपछि माओवादी सत्तामा पुग्यो । राजालाई सत्ताच्युत गरी दलको शासन प्रारम्भ गर्न धेरै मान्छे जनआन्दोलनको क्रममा मृत्युवरण गरे । हरेक परिवर्तनको निर्णायक बिन्दुमा कुनै न कुनै रूपमा हिंसाको राजनीति निर्णायक भयो । कोतपर्वपछि राणा बलिया भए । २००७ सालपछि राजा बलिया भए । २०४६ सालको आन्दोलन, १० वर्षको सशस्त्र द्वन्द्व र २०६३ सालको आन्दोलनले राजनीतिक दल बलिया भए अनि सत्ता सम्हाले । यही भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन पनि हिंसात्मक र ध्वंशात्मक बन्यो । धेरै युवाले ज्यान बलिदान गरे । संसद, सिहंदरबार, अदालत, सञ्चार, औद्योगिक प्रतिष्ठान र निजी घरमा व्यापक तोडफोड, लुटपाट र आगजनी भयो। अहिले अर्को पक्ष सत्तामा आइपुगेको छ । रक्तपातपूर्ण यात्राबाट सत्तारोहण जारी छ । यद्यपि, बिचरा जनता कहिल्यै बलिया हुन पाएनन् । हामीले सधैं व्यवस्थामा समस्या देख्यौं, संविधानमा र पद्धतिमा समस्या देख्यौं । तर, हाम्रो व्यवहार, नैतिकता र जीनमा भएको समस्या बिर्सियौं । ठूलो समस्या भ्रष्ट मानसिकतामा छ भन्ने बिर्सियौं । भ्रष्ट मानसिताको सम्बन्धमा एउटा अन्तर्राष्ट्रिय प्रसंगबाट सुरु गरौं । हालै २०२५ सेप्टेम्बरमा फ्रान्समा ‘ब्लक एभ्रिथिङ’ नामक आन्दोलन चलिरहेको छ । फ्रान्सका राष्ट्रपतिले एमानुएल माक्रोनले त्यहाँ दुई वर्षमा पाँचवटा प्रधानमन्त्री फेरिसकेका छन् । यो प्रदर्शन पनि एक्स, टिकटक, टेलिग्राम, फेसबुक जस्ता सामाजिक सञ्जालमार्फत संगठित छ । यसमा नागरिक स्वतफूर्त सहभागी रहेका छन् । उनीहरूले कारफोर, अमेजन, ओशाँजस्ता ठूला खुद्रा पसलहरूको बहिष्कार, बैंकबाट पैसा झिक्ने अभियान, नगरपालिका भवनजस्ता प्रतीकात्मक स्थानहरूको शान्तिपूर्ण कब्जा, छिमेकी सभा र हड्ताल कोष स्थापना जस्ता कार्य गर्दै आएका छन् । उक्त प्रदर्शन हुनुको पछाडि नयाँ प्रधानमन्त्री सेबस्टियन लेकोर्नुले राष्ट्रिय बजेटबाट ४३.८ मिलियन फ्रांक कटौती, घाटा घटाउने योजना, दुईवटा राष्ट्रिय बिदा हटाउने प्रस्ताव, पेन्सन फ्रिज गर्ने निर्णय र स्वास्थ्य क्षेत्रमा ५ अर्ब फ्रांकको कटौती गर्ने जस्ता कार्यक्रमका विरुद्ध छन् । नेपालमा पनि भर्खरैमात्र भ्रष्टाचार नियन्त्रण र सुशासन सुनिश्चितताको माग गर्दै युवापुस्ता जेनजीले गरेको आन्दोलनको कारण सरकार विघटन भई नयाँ सरकार निर्माण भएको छ । युवाले राजनीतिक र प्रशासनमा हस्तक्षेप बढाई भ्रष्टाचार निर्मूल पार्न अठोट गरेका छन् । फ्रान्स र नेपालमा सँगसँगै आन्दोलन भएपनि मागहरूमा व्यापक फरक छ । फ्रान्सको आन्दोलन नागरिकले प्राप्त गर्ने शासकीय सेवासुविधा कटौतीको विषयमा छन् भने नेपालमा जेनजीका माग शासकीय सुधार र सुशासनमा केन्द्रित छन् । सरकार विरुद्धको आन्दोलन धनी र गरिबी दुवै देशका नागरिकले गर्दछन् । फ्रान्स हाम्रोभन्दा विकसित र कम भ्रष्टाचार हुने मुलुकको सूचीमा पर्दछ । फ्रान्स भ्रष्टाचार सूचकांक, २०२५ मा १०० मा ६७ अंक प्राप्त गरी अंकतालिकाको २५औं स्थानमा रहेको छ । जबकि नेपाल ३४ अंक प्राप्त गरी १०७ औं स्थानमा रहेको छ । यसको अर्थ हो- नेपाल अत्यधिक भ्रष्ट मुलुकमा पर्दछ भने फ्रान्स भ्रष्टाचार निकै कम हुने मुलुकको सूचीमा पर्दछ । नेपालका भ्रष्टाचार बढ्दै जानुका पछाडि विविध कारण भएता पनि जवाफ दिनु नपर्ने डिप स्टेट प्रणालीको विकास हुनु नै हो । नेपालमा भ्रष्टाचार निवारणका विधिगत प्रयास आजभन्दा ३५ वर्ष अगाडिबाट नै भएको हो । यद्यपि अपेक्षाकृत रूपमा भ्रष्टाचार न्यूनीकरण हुन सकेन । यसका पछाडि धेरै कारण होलान् । त्यसमध्येको एउटा कारण हो– भ्रष्ट मानसिकता । अझ तिखो रूपमा भन्दा लुटेरा मानसिकता हो । भ्रष्ट मानसिकता के हो र कोसँग छ भन्ने केही तथ्य उजार गरौं । २०८१ साल चैत्रमा दुर्गा प्रसाईंहरूले राजा फर्काउन गरेको आन्दोलनमा लुटपाट मच्चियो । खासगरी नेपाली व्यापारी मीनबहादुर गुरुङले सञ्चालन गरेको भाटभटेनी लुटियो । दिनदहाडै लुटपाट भयो । राज्य निरीह सावित भयो । त्यही समयमा यातायात बन्द भयो, कर्फ्यु लाग्यो, सवारीसाधन चल्न पाएनन् । त्यही मौकामा पठाओ, राइडरहरूले अफलाइन सेवा दिए । सय रुपैयाँमा यात्रा गर्न सकिनेमा दुई/तीन समय समेत लिन भ्याए । अप्ठ्यारोको बेला मानवीयता देखाउनु पर्नेमा झन् लुटियो । यिनै राइडरहरूले पंक्तिकारसँग कयौं पटक नेता, कर्मचारी र व्यापारी सबै भ्रष्ट भएको सुनाउँदै गाली व्यक्त गरे । आफूले नपाउँसम्म अरूलाई भ्रष्ट भन्ने, मौका पाए आफू त्योभन्दा दोब्बर लुट्ने संस्कार र अभ्यास नै भ्रष्टाचारको जडो हो । भदौ २३ गते युवाहरूले गरेको आन्दोलको क्रममा कलिला विद्यार्थीको मृत्युपछि उत्पन्न परिस्थितिले भदौ २४ गते आगजानी र लुटपाट मच्चियो । यस पटकको निशानामा व्यापारिक भवन, प्रशासनिक भवन, भौतिक संरचना, निजी सम्पत्ति र होटलसमेत परे । यसले अर्बौंको क्षति गरेको छ । यसको वास्तविक क्षति अध्ययनले देखाउला तर यसमा देखिएका दृष्य निकै दर्दनाक छन् । जित्न कसले जित्यो थाहा छैन तर, राज्यले अर्बौं क्षति भोग्न पर्यो । यस पटक पनि फेरि निशानामा परेको भाटभटेनीमा आगजानी र लुटापाट भयो । यसको प्रतिफलमा हजारौं मान्छेको रोजीरोटी गुमेको छ । लगानी गर्नेको मनोबल कमजोर भएको छ, व्यवसायी हतोत्साहित भएका छन् । होटलहरू जले, हजारौं काम गरी खानेहरू बेरोजगार हुनुपर्यो । व्यवसायीलाई क्षति पुग्यो । राज्यलाई कर घाटा निश्चित छ । लगानी सुरक्षा नहुँदा लगानी वातावरण धराशायी भयो । सरकारी भवन जलेर नष्ट भए । सहज रूपमा सेवा दिनसक्ने अवस्था छैन । हामी राज्यप्रति कति गैरजिम्मेवार छौं ? हामी हाम्रो दायित्व निर्वाह गर्न किन सक्दैनौं ? हाम्रो रगतमा अपराध मात्रै छ ? परोपकार किन छैन ? गम्भीर प्रश्न हामीमाथि नै छ । यसले बढ्दै गएको साक्षरता अर्थहिन देखाउँछ । चेतनाको स्तर कमजोर देखाउँछ । यस्तो चेतनाले लोकतन्त्र धान्न सक्दैन । उद्यमशीलता प्रवद्र्धन गर्दैन । यसलाई फ्रान्सँग जोडेर हेरौं । फ्रान्समा भएको आन्दोलनमा असन्तुष्ट प्रर्दशनकारीले ठूला महल र व्यापारिक सामान नकिन्ने अभियान चलाएका छन्, अवज्ञा गरेका छन्, बहिष्कार गरेका छन् । हामीलाई मन पर्दैन भने बहिष्कार गर्ने अधिकार छ । त्यहाँ गएर खरिद नगर्ने अधिकार छ । राजस्व चुहावट गरेको मुद्दा गर्ने अधिकार छ । तर तोडफोड गर्ने, लुटपाट गर्ने, जलाउने अधिकार छैन । लोकतन्त्रमा समस्याका निकास बलबाट होइन, विवेक र कानुनबाट खोज्नुपर्छ । कसै उपर चित्त बुझ्दैन भने अदालत छ । अनुसन्धान गर्ने निकाय छन् । पात्र हटाउने हो । प्रवृत्ति हटाउने हो । संस्था ध्वस्त गर्ने होइन । साक्षरता बोकेका तर सचेतना शून्य भएका रोगीप्राणीले सभ्यता प्रदर्शन गर्न नसक्ने रहेछन् । सभ्यता र सम्पदाको जर्गना गर्न नसक्ने रहेछन् । फेरि फ्रान्सँग जोडर हेरौं– त्यहाँ प्रदर्शनकारीले नगरपालिका भवन शान्तिपूर्ण कब्जामा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । तर हाम्रोमा भने ठ्याक्कै उल्टो भयो । सबैथोक खरानी बनाइदिए । नागरिकलाई बर्दी बिनाका प्रहरी भनिन्छ । सरकार जवाफदेही भएन भन्दैमा हामीलाई पनि जवाफदेही नहुने छुट छैन । भ्रष्ट पद्धतिको विकास भयो भन्दैमा आफू पनि भ्रष्ट बन्नु हुन्न । यस आन्दोलनमा लुटेरा मानसिकता जबरजस्त देखियो । नतिजा नदिने प्रक्रिया खोज्ने र हरेक सार्वजनिक काममा व्यक्तिगत लाभ खोज्ने कर्मचारीतन्त्र सुध्रिएन भने नेताको जस्तै भैरवनाथ गणमा गएर सुरक्षा लिनुपर्छ भन्ने सन्देश समेत छोडेको छ । प्रदर्शनका क्रममा भएका घटनाका फुटेज बाहिरिएका छन् । लुट्नेहरूको ताँती देखिन्छ । यस्ता भ्रष्ट मानसिकता र निर्लज्ज मानसिकताले समृद्ध नेपाल बन्दैन । विकसित देशमा आन्दोलन पनि रचनात्मक हुन्छ, सिर्जनशील हुन्छ । तर, नेपालमा जस्तो सरकार, त्यस्तै नागरिक । सरकार र नागरिकको मिल्दो कम्बिनेशन छ । भ्रष्टाचार भ्रष्ट मानसिकताको उपज हो । भ्रष्ट मानसिकता हुनेहरू अवसर नपाउँदा भ्रष्टाचारको विरोध गर्छन् । नेता, राजनीतिज्ञ, कर्मचारी, पत्रकार र व्यापारी सबैलाई गाली गर्छन् । पायो भने लुट्छन् भन्ने तथ्य फेरि उजागर भएको छ । हामी सबै अटाउने र सबै रमाउने समाज खोज्छौं । तर, यस्तो दरिद्र मानिसकताले त्यो सम्भव छैन । राज्यका हरेक क्षेत्रमा काम गर्ने कर्ताहरूको जन्म समाजको कोखबाट भएको हुन्छ । फेरि समाज व्यक्तिहरूबाटै निर्माण हुन्छ । पाइला–पाइला ठग्ने मात्र हो भने यो देश कहिल्यै बन्दैन । जुन देशका नागरिक बलिया छन्, त्यो देश बलियो हुन्छ, लोकतन्त्र जीवन्त हुन्छ । जब नागरिक नै भ्रष्ट भए तिनले जन्माउने नेतृत्व पनि भ्रष्ट नै सावित हुन्छ । भनिन्छ- हरेक समाजले आफ्नो गक्ष अनुसारको नेता जन्माउँछ । समाजबाट कर्मचारी, व्यापारी, पत्रकार वा अन्य पेशाकर्मी बन्दछन् । म कस्तो छु ? मैले के गरेको छु ? स्वमूल्यांङकन नै जरुरी छ । सुधार आफैंबाट, आफ्नै परिवारबाट जरुरी छ । सूचना, प्रविधि र सञ्जाल तथा रोबोटिक युगको मानिसले व्यवहार उही दास र ढुङ्गेयुग अनुसारको गरेर विकास कहिल्यै हुँदैन । विकासको साझेदार नागरिक पनि हुन् । सचेत र विवेकशील नागरिकले मात्र मुलुक र संविधानको रक्षा गर्न सक्छ । भ्रष्टाचारविरुद्ध खबरदारी गर्नसक्ने हिम्मत गर्न सक्छ । आफै भ्रष्ट समाजको अनुहारमा कुरूप देखिन्छ । यसपटकको प्रदर्शनले जनताप्रति सिधा रूपमा उत्तरदायी नहुने र जनसराेकारका विषयलाई नजरअन्दाज गर्ने सरकारको बहिर्गमन संविधानको धाराबाट मात्र होइन, सडकको राप र चापले पनि बहिर्गमन हुन्छ भन्ने सन्देश छोडेको छ । जनभावनाको अवमूल्यन गर्ने, क्षमतावान व्यक्तिलाई पन्छाउने, आन्तरिक लोकतन्त्रलाई कमजोर बनाउने राजनीतिक दल, तिनका कार्यकर्ता र जनमतको दुरुपयोग गर्ने दललाई नागरिकप्रति सचेत र संवेदनशील हुन थप्पड हानिदिएको छ । नतिजा नदिने प्रक्रिया खोज्ने र हरेक सार्वजनिक काममा व्यक्तिगत लाभ खोज्ने कर्मचारीतन्त्र सुध्रिएन भने नेताको जस्तै भैरवनाथ गणमा गएर सुरक्षा लिनुपर्छ भन्ने सन्देश समेत छोडेको छ । अबको पुस्ता सेवा खोज्छ, आसन र भाषण होइन, सुनिश्चितता खोज्छ, शासन होइन भन्ने आदेश राज्य संयन्त्रलाई दिएको छ । अतः युवाले कसैलाई सत्ताको घोडाबाट भुइँमा पछार्न र कसैलाई सत्ताको सिंहासनमा चढाउने रगत चढाएका छैनन् । भ्रष्टाचार नियन्त्रण गरी जनआक्रोश र जनअसन्तुष्टिलाई सम्बोधन गर्न पठाएका छन् । सुशासनको माग गरेर मृत्युवरण गर्ने युवाको रगतलाई न्याय गर्नु अन्तरिम सरकारको मुख्य अभिभारा हो ।