१५ वर्ष नपुग्दै बालबालिका चुरोटको लतमा, सबैभन्दा बढी उपत्यकामा

काठमाडौं । नेपालमा १५ वर्ष नपुग्दै बालबालिका चुरोटको लतमा लाग्ने गरेको पाइएको छ । सोमबार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार सबैभन्दा बढी ५.५ प्रतिशत काठमाडौं उपत्यकाका किशोरकिशोरीहरू १५ वर्ष नपुग्दै चुरोट लगायतको सुर्तीजन्य पदार्थको लतमा फसेको पाइएको हो ।  यस्तै, गण्डकी प्रदेशको ग्रामीण क्षेत्रमा ४.४ प्रतिशत किशोरकिशोरी चुरोटको लतमा छन् । जहाँ सहरी क्षेत्रका ३.८ प्रतिशत १५ वर्ष नपुगेका किशोरकिशोरी लतमा छन् । यस्तै, लुम्बिनी प्रदेशको सहरी क्षेत्रमा २.४ र ग्रामीण क्षेत्रमा १.१ प्रतिशत किशोरकिशोरी १५ वर्ष नपुग्दै चुरोट सेवन गरिरहेको पाइएको छ । यस्तै कर्णाली प्रदेशको ग्रामीण क्षेत्रमा ३.८ र सहरी क्षेत्रमा १.९, सुदूरपश्चिम प्रदेशमा ग्रामीण क्षेत्रमा ४.१ र सहरी क्षेत्रमा ३.४ प्रतिशत किशोर किशोरी १५ वर्ष नपुग्दै चुरोटको कुलतमा लागेका छन् ।  यसरी चुरोट सेवन गर्ने किशोरकिशोरीमध्ये ६.४ प्रतिशत स्कुल नगएका, कक्षा १ देखि ५ सम्म पढेका ५.९ प्रतिशत रहेका छन् भने धनीभन्दा गरीब परिवारका किशोरकिशोरी अझ बढी रहेको देखाएको छ । अति गरिब वर्गका २५.५ प्रतिशत सुर्तीजन्य पदार्थको कुलतमा लाग्दा अति धनी वर्गका १६.१ प्रतिशत मात्रै सुर्तीजन्य पदार्थको कुलतमा लागेको देखाएको छ ।  ५.१ प्रतिशत महिला कुनै न कुनै सुर्तीजन्य पदार्थको लतमा नेपाल समग्ररूपमा सुर्तीजन्य पदार्थ सेवन गर्नेहरूको संख्या बढेको छ । अझ रोचक त के भने अहिले १५ देखि ४९ वर्ष उमेर समूहका ५.१ प्रतिशत महिला कुनै न कुनै सुर्तीजन्य पदार्थको लतमा लागिरहेको पाइएको छ ।  तम्बाखु, चुरोट, बिँडी, भेपलगायत विभिन्न सुर्तीजन्य पदार्थ प्रयोग गर्नेको महिलाको संख्या बढेको पाइएको छ । सोही उमेर समूहका पुरुष भने ४१.८ प्रतिशत लतमा छन् ।  सहरीभन्दा ग्रामीण क्षेत्रमा बढी सुर्तीजन्य पदार्थ सेवन गर्नेमा सहरी क्षेत्रका भन्दा ग्रामीण क्षेत्रका नागरिक बढिरहेका छन् । ग्रामीण क्षेत्रमा २०.० प्रतिशत नागरिकले सुर्तीजन्य पदार्थ सेवन गर्दा सहरी क्षेत्रका १९.९ प्रतिशतले सेवन गर्ने गरेका छन् । प्रदेशअन्तर्गत हेर्दा सबैभन्दा बढी कोशी प्रदेशका २४.५ र सबैभन्दा कम सुदूरपश्चिममा १५.६ प्रतिशतले सुर्तीजन्य पदार्थ खाने गरेको पाइएको छ । विज्ञहरू भने ग्रामीण क्षेत्रका नागरिक सुर्तीजन्य पदार्थ स्वास्थ्यमा पार्ने असरबारे जानकारी नहुँदा सेवन गरिरहे पनि सहरी क्षेत्रका नागरिक सबै कुरा जानकारी हुँदा पनि सेवन गर्ने गरेको बताउँछन् ।  अझ विद्यालय तथा कलेज पढ्दै गरेका बालबालिका भेपलगायतका बजारमा नयाँ आएका सुर्तीजन्य पदार्थको लतमा छन् । स्वास्थ्यमा पार्ने असरबारे सचेत उनीहरू बढी सेवन गर्ने गरेको बताउँछन् ।  

काठमाडौं महानगरपालिकाले कीर्तिपुर अस्पताललाई सहयोग गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्वास्थ्य उपकरण खरिद गर्न कीर्तिपुर अस्पताललाई सहयोग गर्ने भएको छ ।       कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपचारका लागि आवश्यक पर्ने उपकरण खरिद गर्न कामपाको वार्षिक कार्यक्रमअन्तर्गत कार्यवाहक प्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र शिक्षा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनको रोहवरमा सम्झौता भएको हो । उक्त सम्झौतामा कामपाका तर्फबाट स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र अस्पतालका तर्फबाट अध्यक्ष डा. भरतकुमार प्रधान श्रेष्ठले हस्ताक्षर गरे ।      कामपाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत मेडिकल उपकरण खरिद अनुदानका लागि सम्झौता गरेको हो । यसका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको छ । सम्झौताबमोजिम सार्वजनिक खरिद प्रक्रियाबाट अस्पतालले स्वास्थ्य उपचारका लागि आवश्यक पर्ने एक थान एनेस्थेसिया मेसिन, २५० केभीएको एक थान जेनेरेटर र ५०० एम।ए।को एक थान डिजिटल एक्स–रे मेसिन खरिद गर्नेछ ।       काठमाडौं महानगरवासी तथा कीर्तिपुर अस्पतालमा उपचारका लागि आउने बिरामीलाई गुणस्तरीय सहज र सरल उपचार सेवा प्रदान गर्न कामपाले सहयोग गरेको हो । कार्यवाहक प्रमुख डङ्गोलले, जलनसहितको उपचार प्रदान गरिने अस्पतालको सेवालाई गुणस्तरीय र सहज बनाउने उद्देश्यले अनुदान उपलब्ध गराएको बताइन् ।  अस्पताल नाफा कमाएर बाँड्ने नभई सेवा भावबाट सञ्चालन भएको उल्लेख अस्पतालका अध्यक्ष श्रेष्ठले भजे, 'जलनका बिरामीको उपचार कठिन हुन्छ । यसलाई सहज बनाउने कामपाबाट निरन्तर रुपमा हामीले सहयोगको अपेक्षा गरेका छौँ ।'

नेपालमा नवजात शिशुको मृत्युदर घट्यो, प्रति एक हजार जीवित जन्ममा १७ को मृत्यु

काठमाडौं । नेपालमा नवजात शिशुको मृत्युदर घटेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको एक सर्वेक्षणअनुसार पाँच वर्ष अघिको भन्दा नवजात शिशुको मृत्युदरमा सुधार आएको हो ।  यसअघि प्रति एक हजार जीवित जन्ममा २१ जना नवजात शिशुको मृत्यु हुने गरेकोमा पछिल्लो पाँच वर्षमा यो घटेर एक हजार जीवित जन्ममा १७ नवजात शिशुको मृत्यु हुने गरेको पाइएको हो । यसअघि सन् २०१६ र सन् २०२२ मा गरिएको अध्ययनअनुसार नेपालमा एक हजार जीवित जन्ममा २१ जना नवजात शिशुको मृत्यु हुने गरेको पाइएको थियो । अध्ययनअनुसार सहरी क्षेत्रमा नवजात शिशुको मृत्युदर १६ र ग्रामीण क्षेत्रमा १९ रहेको छ । पाँच वर्ष अगाडि सहरी क्षेत्रमा १९ र ग्रामीण क्षेत्रमा २५ थियो ।  यस्तै, सर्वेक्षणले नवजात शिशु जन्मपछिको मृत्युदर १० प्रतिशत, शिशु मृत्युदर २७ प्रतिशत र बाल मृत्युदर ४ प्रतिशत र ५ वर्ष मुनिका बालबालिकाको मृत्युदर  ३१ प्रतिशत रहेको छ । बालमृत्युदरअन्तर्गत नवजात शिशु र ५ वर्ष मुनिका बालबालिकाको रोक्न सकिने मृत्यु अन्त्य गर्ने दिगो विकास लक्ष्य (एसडीजी) लक्ष्य ३.२ अनुसार अन्तर्राष्ट्रिय समुदायले बाल मृत्युदर घटाउने समग्र उद्देश्य कायम राखेको छ । विश्वव्यापी लक्ष्यले नवजात मृत्युदरलाई कम्तीमा १,००० जीवित जन्ममा १२ मृत्यु र ५ वर्ष मुनिका बालबालिकाको मृत्युदरलाई कम्तीमा १,००० जीवित जन्ममा २५ मृत्युसम्म घटाउनुपर्ने बताएको छ ।  यद्यपि बाल मृत्युदर घटाउनु हरेक देशको राष्ट्रिय योजना तथा कार्यक्रमहरूमा अझै पनि सबैभन्दा महत्त्वपूर्ण उद्देश्यहरूमध्ये एक बनेको छ । दिगो विकास लक्ष्यअनुसार सन २०३० भित्र नेपालले नवशिशु मृत्युदर १२ मा झार्ने लक्ष्य राखेकोमा यो लक्ष्यलाइ संशोधन गर्दै १६ मा झार्ने लक्ष्य राखेको छ ।  यो सर्वेक्षणमा मृत्युदरहरू महिलाहरूको जन्म इतिहासबाट सङ्कलन गरिएको जानकारीको आधारमा गणना गरिएको हो ।  प्रतिवेदनअनुसार नेपालको सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा नवजात शिशुको मृत्युदर बढिरहेको छ । सुदूरपश्चिममा प्रति एक हजार जीवित जन्ममा २६ जनाको नवजात शिशुको मृत्यु हुने गरेको छ भने सबैभन्दा कम बागमती प्रदेशमा नवजात शिशुको मृत्यदुर छ । जहाँ प्रति एक हजार जिवित जन्ममा १२ प्रतिशत नवजात शिशुको मृत्यु हुने गरेको छ ।  यस्तै, कोशी र गण्डकी प्रदेशमा प्रति एक हजार जीवित जन्ममा १४,१४ प्रतिशत,कर्णाली प्रदेशमा २२ प्रतिशत र मधेश प्रदेशमा २० प्रतिशत नवजात शिशुको मृत्यु हुने गरेको छ ।