घ्यू बेचेर इनर्जी ड्रिंक, सहरपछि गाउँमा पनि फैलिँदैछ नसर्ने रोगको संकट

काठमाडौं । केही वर्षअघि काठमाडौंको एक अस्पतालमा कार्यरत चिकित्सक विवेक आचार्य जुम्ला पुगे । स्वास्थ्यसम्बन्धी कामसँगै रारा पुग्ने उद्देश्यले जुम्ला गएका उनले कालिकोट र जुम्लाका विभिन्न गाउँबस्ती घुम्ने अवसर पाए । गाउँमा पुग्दा ८०–९० वर्षका वृद्धवृद्धा बारीमा काम गरिरहेका, भारी बोकेर उकालो–ओरालो गरिरहेका दृश्यले उनलाई आश्चर्यचकित बनायो। सहरमा जन्मे–हुर्केका उनलाई यस्तो सक्रिय वृद्ध जीवनशैली निकै फरक लाग्यो। स्वास्थ्यकर्मीको दृष्टिले उनले यसलाई अझ गहिरो रूपमा हेरे। कुप्रो परेको शरीर भए पनि वृद्धहरू काममा सक्रिय देखिन्थे। जिज्ञासावश उनले केही वृद्धसँग कुराकानी गरे । एक वृद्धले भने, ‘अहिलेसम्म न टाउको दुखेर अस्पताल गएको छु, न औषधी खाएको छु । हातखुट्टा चलिरहेको छ, काम गरिरहेको छु । जुन दिन चल्न छोड्छ, त्यही दिन रोकिन्छ ।’ यसले उनलाई गाउँको प्राकृतिक जीवनशैलीप्रति झनै प्रभावित बनायो। बिहान–दिउँसो बारीको काम, आफ्नै खेतबारीमा उत्पादन भएको अर्गानिक खाना, तनावमुक्त जीवन । यी सबै स्वस्थ जीवनका आधार भएको उनले महसुस गरे । उनी भन्छन्, ‘खानपान र जीवनशैली त गाउँकै राम्रो । ज्यान पनि स्वस्थ, खान पनि मस्त ।’  तर पछिल्लो समय गाउँको अवस्था पनि तीव्र रूपमा बदलिँदै गएको छ ।  गाउँमा पनि बढ्दै बजारिया खानपान त्रिवि शिक्षण अस्पतालमा कार्यरत अर्का चिकित्सक खेम भुसाल केही महिनाअघि अछाम र बाजुरा पुगे । उनले सुनेको जस्तो अभावग्रस्त जीवनशैली त्यहाँ भेटेनन् । गाउँमा सडक पुगेको, विद्यालय र स्वास्थ्यचौकी स्थापना भएको देख्दा उनी खुशी भए । तर त्यहाँको खानपानले भने उनलाई चिन्तित बनायो ।  उनले गाउँका बालबालिकादेखि युवासम्मको हातमा चाउचाउ, बिस्कुट र चकलेट देखे । दिउँसोको खाजामा समेत चाउचाउ खान दिने चलन बढेको पाए । घरमा उत्पादन हुने सागसब्जी बेचेर प्याकेटका खानेकुरा किन्ने प्रवृत्ति देख्दा उनी अचम्मित भए ।  उनी भन्छन्, ‘सहरीया मात्र होइन, अब गाउँका मानिस पनि रोगी जीवन बिताउँदै छन् । जहाँ बारीमा फलेको अन्न छोडेर प्याकेटका खानेकुरा प्रयोग हुन्छन्, त्यहाँ स्वास्थ्य जोखिम बढ्दै जान्छ ।’  उनका अनुसार शहरको अस्वस्थ जीवनशैली गाउँसम्म फैलिन थालेको छ, जसले भविष्यमा गम्भीर स्वास्थ्य संकट निम्त्याउने संकेत देखिएको छ । ग्रामीण भेगका मान्छेहरूले गाउँमा उत्पादित वस्तुहरू बिक्री गरेर सहरबाट वस्तुत आयात गरेर उपभोग गर्दै आएका छन् । उनीहरुले गाउँको घ्यू बिक्री गरेर बजारको इनर्जी ड्रिंक पिउन थालेका छन् ।  नसर्ने रोगको जड : अस्वस्थ खानपान र निष्क्रिय जीवनशैली नेपालमा पछिल्लो समय नसर्ने रोग तीव्र रूपमा बढिरहेका छन् । उच्च रक्तचाप, मधुमेह, मुटुरोग, किड्नी रोग, नसा च्यापिने समस्या जस्ता दीर्घरोग बढ्नुको प्रमुख कारण अस्वस्थ खानपान र निष्क्रिय जीवनशैली रहेको चिकित्सकहरू बताउँछन् ।  वीर अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. ध्रुव गैरेका अनुसार धेरै मानिस जानेर वा नजानेर दीर्घरोगको जोखिममा परिरहेका छन् ।  उनी भन्छन्, ‘आजभोलि संसारभरि नै सुगर, प्रेसर, कोलेस्ट्रोल, क्यान्सरजस्ता नसर्ने रोग बढ्दै गएका छन्। यसको मुख्य कारण हाम्रो आहारविहार र जीवनशैली नै हो ।’  उनका अनुसार जंक फुडको बढी सेवन, सागसब्जी र फलफूल कम खानु, व्यायाम नगर्नु, चिल्लो र गुलियो खानेकुरा बढी खानु र शारीरिक गतिविधि कम हुनु नसर्ने रोगका प्रमुख कारण हुन् ।  बालबालिकामा समेत मोटोपनको समस्या बढ्दो छ । चिल्लो, गुलियो र प्याकेटका खानेकुरा यसको मुख्य कारण मानिन्छ ।  चिनीजन्य पेय पदार्थको बढ्दो प्रयोग नेपालीहरूको परम्परागत खाना दाल, भात, रोटी र तरकारी भए पनि पछिल्लो समय यसको स्थान जंक फुडले लिँदै गएको छ । खाजाको रूपमा दही–चिउरा छोडेर चाउमिन, पिज्जा, बर्गर र इनर्जी ड्रिंकको प्रयोग बढेको छ। चिकित्सकका अनुसार एउटा इनर्जी ड्रिंकमा करिब १० चम्चा र सफ्ट ड्रिंकमा ८ चम्चासम्म चिनी हुन्छ। यस्ता पेय पदार्थले तत्काल ऊर्जा दिएको जस्तो देखिए पनि दीर्घकालीन रूपमा स्वास्थ्यलाई गम्भीर असर पुर्‍याउँछन् ।  अध्ययनअनुसार चिनीजन्य खाद्य तथा पेय पदार्थले मधुमेहको जोखिम २७ प्रतिशत, मुटु तथा रक्तनलीसम्बन्धी रोगको जोखिम १७ प्रतिशत र उच्च रक्तचापको जोखिम १२ प्रतिशतले बढाउने देखिएको छ ।  सम्पन्नतासँगै बिग्रँदै जीवनशैली वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार आर्थिक अवस्था सुधारिँदै जाँदा जीवनशैली पनि अस्वस्थ बन्ने प्रवृत्ति देखिन्छ । उनी भन्छन्, ‘मान्छे सम्पन्न हुँदै जाँदा बढी खान थाल्छ, मीठो र चिल्लो खान थाल्छ। पहिले मकै र भटमास खाने व्यक्ति अब बोसोयुक्त मासु र तयारी खाना खान थाल्छ। यसले स्वास्थ्य बिगार्दै लैजान्छ ।’  उनका अनुसार सम्पन्नतासँगै हिँडडुल घट्ने, व्यायाम कम हुने, रक्सी र सुर्ती सेवन बढ्ने तथा तनाव बढ्ने हुँदा दीर्घरोगको जोखिम बढ्छ । तर जीवनको एक चरणमा पुगेपछि मानिस स्वास्थ्यप्रति सचेत हुँदै जीवनशैली सुधार्ने प्रयास पनि गर्छ ।  नसर्ने रोगबाट बढ्दो मृत्युदर विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक वर्ष करिब ४ करोड १० लाख मानिस नसर्ने रोगका कारण मृत्यु हुने गरेका छन् । नेपालमा पनि अवस्था चिन्ताजनक छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सन् २०१० मा कुल मृत्युमध्ये ५१ प्रतिशत नसर्ने रोगका कारण हुने गरेकोमा अहिले यो संख्या बढेर ७१ प्रतिशत पुगेको छ । सन् २०४० सम्ममा कुल मृत्युमध्ये ७९ प्रतिशत नसर्ने रोगकै कारण हुने प्रक्षेपण गरिएको छ ।  हाल स्वास्थ्य संस्थामा आउने बिरामीमध्ये ६० देखि ७० प्रतिशत नसर्ने रोगका बिरामी छन् ।  सुर्ती र मदिरा पनि प्रमुख कारण नसर्ने रोगको अर्को प्रमुख कारण सुर्तीजन्य पदार्थ र मदिरा सेवन हो । बालबालिकादेखि युवासम्म यस्तो लतमा फस्ने प्रवृत्ति बढ्दै गएको छ । अध्ययनअनुसार काठमाडौं उपत्यकामा ५.५ प्रतिशत बालबालिका १५ वर्ष नपुग्दै सुर्ती सेवनमा लागेका छन् । १५ देखि ४९ वर्ष उमेर समूहका ५.१ प्रतिशत महिला र ४१.८ प्रतिशत पुरुष सुर्तीजन्य पदार्थ सेवन गर्छन् ।  चिकित्सकहरूका अनुसार यसले मुटु, कलेजो र फोक्सोसम्बन्धी गम्भीर रोग निम्त्याउने जोखिम बढाउँछ । 

ललितपुरमा नेशनल चेष्ट सेन्टर सञ्चालनमा, श्वासप्रश्वासका बिरामीलाई उपचार सेवा दिने

काठमाडौं । श्वासप्रश्वाससम्बन्धी बिरामीलाई सर्व सुलभ रुपमा विशेषज्ञ चिकित्सा सेवा प्रदान गर्न ललितपुर महानगरपालिका-१३ स्थित मान भवनमा ‘नेशनल चेष्ट सेन्टर’ सञ्चालनमा ल्याइएको छ । पछिल्लो समय विभिन्न कारणले श्वासप्रश्वास (छाती) सम्बन्धी रोग दिनप्रतिदिन गम्भीर जनस्वास्थ्य समस्याका रूपमा बढ्दै गएको छ । यस्तो अवस्थामा स्वदेशमा नै श्वासप्रश्वाससम्बन्धी केन्द्रित भएर एकीकृत सेवा प्रदान गर्न पहिलोपटक छुट्टै ‘सेन्टर’ को स्थापना गरिएको हो । ‘सेन्टर’बाट फोक्सोको कार्यक्षमता परीक्षण, डिजिटल एक्स-रे तथा आवश्यक इमेजिङ सुविधा, एलर्जी तथा दमको परीक्षणसम्बन्धी सेवा, सिओपिडी, दम, क्षयरोग तथा अन्य दीर्घकालीन श्वासप्रश्वास रोगको समग्र उपचार, कोभिडपश्चात् फोक्सो परीक्षण क्लिनिक, धुमपान त्याग परामर्श सेवा, विशेषज्ञ परामर्शसहित नियमित फलोअप, अत्याधुनिकस्तरको प्रयोगशाला सुविधा, बिरामीलाई सहज रूपमा औषधि उपलब्ध गराउन आफ्नै फार्मेसी सञ्चालन, बिरामीलाई एकै स्थानबाट सम्पूर्ण सेवा प्राप्त गर्ने सुविधा प्रदान गरिने जनाइएको छ । यसले गर्दा बिरामीको समय र खर्च दुवै बचत गर्ने अपेक्षा गरिएको छ । ‘नेशनल चेष्ट सेन्टर’द्वारा जारी विज्ञप्‍तिका अनुसार ‘सेन्टर’को  उद्देश्य केवल उपचारमा मात्र सीमित छैन । यसको दीर्घकालीन लक्ष्य श्वासप्रश्वास रोगको रोकथाम र जनचेतना अभिवृद्धि गर्नु पनि हो । विज्ञप्तिमा भनिएको छ, ‘नियमित स्वास्थ्य परीक्षणको महत्वबारे जानकारी गराउने, वायु प्रदूषणबाट जोगिने उपायबारे सचेतना फैलाउने, सुर्तीजन्य पदार्थ त्याग्न प्रोत्साहन गर्ने तथा विद्यालय, कलेज र समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने ‘सेन्टर’  योजना रहेको छ । श्वासप्रश्वास रोगको समयमै पहिचान र उपचार नगरेमा यसले दीर्घकालीन जटिलता निम्त्याउन सक्छ । प्रारम्भिक अवस्थामा नै परीक्षण तथा उपचार सुरु गर्न सकेमा रोग नियन्त्रण सम्भव हुन्छ र जीवनस्तर सुधार गर्न सकिन्छ । त्यसैले ‘रोकथाम नै उपचारभन्दा उत्तम’ भन्ने सिद्धान्तलाई आत्मसात गर्दै सेन्टरले समग्र, समन्वित र वैज्ञानिक सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।’  बढ्दो प्रदूषण, बदलिँदो जीवनशैली, धुमपान सेवन र महामारीपछिको अवस्थाले नेपालमा श्वासप्रश्वास रोगलाई गम्भीर चुनौतीका रूपमा उभ्याएको छ । यस्तो अवस्थामा विशेषज्ञ, प्रविधिसहितको तथा बिरामीमैत्री सेवा केन्द्रको आवश्यकता महसुस गर्दै यो पहल सुरु गरिएका छ । ‘सेन्टर’  काठमाडौँ उपत्यकामात्र होइन, देशभरबाट आउने बिरामीलाई समेत सेवा प्रदान गर्ने लक्ष्य राखेको विज्ञप्तिमा उल्लेख छ । श्वासप्रश्वास रोगका लागि पूर्ण रूपमा समर्पित, बहुआयामिक सेवा दिने छुट्टै ‘चेष्ट सेन्टर’को अभाव रहँदै आएका अवस्थामा यो ‘सेन्टर’ स्थापनाले स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थपेको बताइएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार विश्वभर हरेक वर्ष करोडौँ मानिस विभिन्न प्रकारका श्वासप्रश्वास रोगबाट प्रभावित भइरहेका छन् । दीर्घकालीन अवरोधात्मक फोक्सो रोग (सिओपिडी), दम, निमोनिया, क्षयरोग तथा फोक्सोसम्बन्धी रोगले गर्दा विश्वव्यापी रूपमा पर्दछन् । विज्ञप्तिमा भनिएको छ, ‘विश्वमा सिओपिडीले मात्र हरेक वर्ष लाखौँ मानिसको मृत्युको कारण बन्ने गरेको छ । नेपालको सन्दर्भमा पनि अवस्था कम चिन्ताजनक छैन । उपलब्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययनहरूका आधारमा नेपालमा करिब १० देखि १२ प्रतिशत वयस्क जनसङ्ख्यामा कुनै न कुनै प्रकारको दीर्घकालीन श्वासप्रश्वास समस्या रहेको अनुमान गरिएको छ ।’ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार  दीर्घकालीन श्वासप्रश्वास रोगहरू नसर्ने रोग प्रमुख समस्याका रूपमा उल्लेख गरिएको छ । नेपालमा हुने कुल मृत्युको झण्डै ९-१० प्रतिशत हिस्सा सिओपीडीलगायतका दीर्घकालीन फोक्सो रोगसँग सम्बन्धित रहेको तथ्याङ्कले देखाएको छ । दमको समस्या वृद्धवृद्धामा मात्र होइन, बालबालिका तथा युवामाझसमेत बढ्दो क्रममा देखिएको छ । सहरी क्षेत्रमा विद्यालय उमेर समूहका बालबालिकामा एलर्जीजन्य दमको दर उल्लेख्य रूपमा बढेको विभिन्न अध्ययनहरूले देखाएका छन् । विगतमा श्वासप्रश्वास समस्या प्रायः वृद्धवृद्धामा सीमित देखिने गरेकामा पछिल्लो समय युवा तथा कामकाजी उमेर समूहमा समेत यसको दर बढ्नु भविष्यका लागि गम्भीर र जटिल सङ्केत हो । विज्ञप्तिमा भनिएको छ, ‘कोभिड-१९ महामारीपछि स्थिति झन् जटिल बनेको छ । सङ्क्रमण निको भएपछि पनि धेरै व्यक्तिहरूमा लामो समयसम्म श्वास फेर्न गाह्रो हुने, छाती भारी हुने, दीर्घकालीन खोकी लागिरहने तथा फोक्सोको कार्यक्षमता घट्ने समस्या देखिएको छ । जसलाई ‘लङ कोभिड’का रूपमा चिनिन्छ । नेपालमा पनि कोभिड-१९ पश्चात श्वासप्रश्वाससम्बन्धी परामर्श तथा परीक्षण गराउने बिरामीको सङ्ख्या उल्लेख्य रूपमा बढेको चिकित्सकहरूको अनुभवले देखाएको छ । अर्कातफ काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूषणले श्वासप्रश्वास रोगलाई थप तीव्र बनाइरहेको छ । विभिन्न अन्तर्राष्ट्रिय वायु गुणस्तर सूचकाङ्कहरूमा काठमाडौं विश्वकै उच्च प्रदूषण भएका सहरको सूचीमा पटकपटक अग्रस्थानमा देखिँदै आएको छ ।’ सवारीसाधनको अत्यधिक चाप, पुराना डिजेल इन्जिन, निर्माणकार्यबाट उड्ने धुलो, उद्योगजन्य उत्सर्जन तथा खुला फोहर दहनजस्ता कारणले वायु प्रदूषणको स्तर उच्च बनाएको छ । वायु प्रदूषणको दीर्घकालीन सम्पर्कले दम, सिओपिडी, फोक्सोको क्यान्सर तथा मुटुरोगसमेत निम्त्याउने जोखिम बढाउँछ । श्वासप्रश्वास रोग बढ्नुको अर्को प्रमुख कारण सुर्तीजन्य पदार्थको प्रयोग हो । चुरोट, बिँडी, खैनी, सुर्ती तथा अन्य तम्बाखुजन्य पदार्थको नियमित सेवनले फोक्सोको कार्यक्षमता घटाउनुका साथै दीर्घकालीन अवरोधात्मक फोक्सो रोग, फोक्सोको क्यान्सर तथा मुटुरोगको जोखिम बढाउँछ ।  विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा अझै पनि उल्लेख्य प्रतिशत वयस्क जनसङ्ख्या कुनै न कुनै रूपमा तम्बाखुजन्य पदार्थ प्रयोग गर्छन् । परोक्ष धुमपानका कारण घरपरिवारका सदस्य, विशेषगरी महिला र बालबालिका पनि जोखिममा रहेका छन् । ग्रामीण क्षेत्रमा समस्या फरक स्वरूपमा देखिएको छ । दाउरा, गुइँठा तथा जैविक इन्धन प्रयोग गर्दा निस्कने धुवाँले घरभित्रको वायु प्रदूषण बढाउने गर्छ । परम्परागत चुलोमा खाना पकाउँदा महिला तथा बालबालिका प्रत्यक्ष रूपमा धुवाँमा बस्न बाध्य हुने हुँदा दीर्घकालीन खोकी, दम तथा सिओपिडीजस्ता समस्या बढ्ने गरेको छ । यसरी सहरी प्रदूषण र ग्रामीण भित्री धुवाँ दुवैले नेपालमा श्वासप्रश्वास रोगको भार बढाइरहेका छन् ।’  यी सबै तथ्य र चुनौतीहरूलाई मध्यनजर गर्दै स्थापना गरिएको नेशनल चेष्ट सेन्टरले विशेषज्ञ सेवा एउटै छानामुनि उपलब्ध गराउने लक्ष्य लिएको छ । सेन्टरमा वरिष्ठ छाती तथा श्वासप्रश्वास रोग विशेषज्ञ चिकित्सकहरूको टोलीले नियमित परामर्श, परीक्षण तथा उपचार सेवा प्रदान गर्ने विज्ञप्तिमा उल्लेख छ ।

सामुदायिक विद्यालयमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले बालबालिकामा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवर्द्धन गर्न विद्यालयमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसको प्रारम्भ चार वटा सामुदायिक विद्यालयमा नमूना कार्यक्रममार्फत हुने महानगरले जानकारी दिएको छ । स्वास्थ्य विभागका मेडिकल अधिकृत डा. दिवश न्यौपाने भन्छन्, ‘यो कार्यक्रममा व्यक्तिगत सरसफाइ र स्वच्छता, पोषण, जीवनशैली र नसर्ने रोग, सरुवा रोग र एन्टिमाइक्रोवियल रेसिस्टेन्स, प्राथमिक उपचार र सुरक्षा तथा मानसिक स्वास्थ्य र नेतृत्व गरी पाँचवटा विषयमा प्रशिक्षण प्रदान गरिन्छ ।’ सहपाठी बालबालिकाबीच आपसी सिकाइ, प्रयोगात्मक र भूमिका निर्वाह, अभिलेख र अनुगमन सिकाइका मुख्य विधि हुन् । पाठ्यक्रममा आधारित तीन महिना तालिम दिएपछि बाँकी नौ महिना विद्यार्थीलाई समूहगत रूपमा निरोगात्मक स्वास्थ्य प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्न दिइन्छ । एउटा स्वास्थ्य क्लबमा १५ जनादेखि २० जनासम्म छात्रछात्रा राखिनेछ । कार्यवाहक प्रमुख सुनिता डङ्गोलले, स्वास्थ्य सचेतना अभिवृद्धि गर्न र बालबालिकाबीच सहसिकाइका लागि यो विधि उपयुक्त हुने जानकारी दिइन् । उनले भनिन्, ‘विद्यालयमा कार्यक्रम लैजाँदा कार्यान्वयन गर्नेलाई बोझ महसुस हुने गरी लैजानु हुँदैन, आवश्यक छ । जसरी पनि कार्यान्वयनमा जानुपर्छ भन्ने तत्परता जागृत गराउनुपर्छ । अनिमात्र कार्यक्रम दिगो र प्रभावकारी हुन्छ । यसको नतिजा ढिलो देखिन्छ । तर, सकारात्मक हुन्छ ।’ विद्यालयहरूमा किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी कार्यक्रम पनि चाहिएको छ । शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले भने, ‘सामुदायिक विद्यालयका विद्यार्थीलाई सकारात्मक प्रतिस्पर्धाका लागि आत्मविश्वाशयुक्त बनाउनु पर्नेछ । यसका लागि पुस्तकरहित शुक्रबारका कार्यक्रमभित्रका कार्यक्रमको प्रभावकारी सिकाइका लागि थप मिहनेत गर्नुपर्नेछ ।’ कार्यशालामा स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले नमूना कार्यक्रमबाट प्राप्त पृष्ठपोषणका आधारमा वृहत कार्यक्रम तर्जुमा गरिने बताए । ‘सम्भवतः यो कार्यक्रम विद्यालयमा पहिलो हुनुपर्छ । यसलाई नतिजा प्रदान गर्ने बनाउँछौँ,’ उनले भने । शिक्षा अधिकृत केशव ज्ञवालीले विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षकलाई कार्यक्रमका पक्ष बुझाउन सकेमात्र कार्यान्वयनमा सहज हुने बताए । विद्यालयमा अध्ययनरत छात्रछात्रालाई स्वास्थ्यका विषयमा प्रशिक्षित गराएर स्वास्थ्य दूतका रूप विकास गर्ने कार्यक्रमलाई साना डाक्टर नाम दिइएको हो । विद्यार्थी, परिवार र समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने कार्यक्रमको लक्ष्य हो ।