नेपाली बिरामीका लागि ह्याम्सको अन्तर्राष्ट्रिय साझेदारी

काठमाडौं । ह्याम्स अस्पतालले भारतको प्रतिष्ठित व्यास सुपर स्पेसालिटी अस्पताल, साकेतसँग रणनीतिक सहकार्य गरेको छ । नेपाली बिरामीलाई अन्तर्राष्ट्रियस्तरको विशिष्टीकृत स्वास्थ्य सेवामा सहज पहुँच उपलब्ध गराउने उद्देश्यले ह्याम्सले सहकार्य गरेको हो । सहकार्यको औपचारिक घोषणा काठमाडौंमा आयोजित कार्डियाक तथा थोरासिक शल्यचिकित्सासम्बन्धी चिकित्सकहरूको निरन्तर चिकित्सा शिक्षा (सीएमई) कार्यक्रममा गरिएको हो । सहकार्यले जटिल रोगहरूको उपचार, विशेषज्ञ चिकित्सकीय परामर्श, उपचार व्यवस्थापन तथा उपचारपछिको फलो–अप सेवालाई अझ व्यवस्थित र प्रभावकारी बनाउनेछ। यसबाट नेपाली बिरामीले अन्तर्राष्ट्रियस्तरको विशेषज्ञ सेवा सहज रूपमा प्राप्त गर्ने अपेक्षा गरिएको अस्पतालले जनाएको छ । कार्यक्रममा नेपाल र भारतका वरिष्ठ कार्डियोथोरासिक तथा थोरासिक शल्यचिकित्सा विशेषज्ञहरूले न्यून चिरफार (मिनिमली इन्भेसिभ) शल्यक्रिया, जटिल बिरामी व्यवस्थापन तथा बहुविषयगत उपचार प्रणालीका नवीन अभ्यासबारे अनुभव र अनुसन्धान आदानप्रदान गरेका थिए । ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारीले उक्त सहकार्यले जटिल स्वास्थ्य समस्या भएका नेपाली बिरामीलाई विश्वस्तरीय विशेषज्ञ सेवासँग प्रभावकारी रूपमा जोड्ने विश्वास व्यक्त गरे ।  उनले यसबाट उपचारको गुणस्तर, समन्वय र उपचारपछिको निरन्तर निगरानी प्रणाली थप सुदृढ हुने बताए । उनका अनुसार सहकार्यअन्तर्गत नेपाली बिरामीले ह्याम्स अस्पतालमार्फत विशेषज्ञ चिकित्सकीय परामर्श, उपचार योजना, आवश्यक परे भारतस्थित व्यास सुपर स्पेसालिटी अस्पतालमा उपचारको समन्वय तथा उपचारपछिको फलो–अप सेवा एकीकृत रूपमा प्राप्त गर्नेछन् । ह्याम्स अस्पतालले यस सहकार्यलाई आफ्नो अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्ने महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको जनाएको छ ।  साथै अन्तर्राष्ट्रिय मापदण्डअनुसारको सुरक्षित, गुणस्तरीय र बिरामीकेन्द्रित स्वास्थ्य सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई यसले अझ सुदृढ बनाउने विश्वास अस्पतालले व्यक्त गरेको छ ।

राजीनामाको मागबीच उपकुलपति जोशीको अडान– जिम्मेवारीबाट पछि हट्दिनँ

काठमाडौं । शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुनिलराज जोशीले आफू विश्वविद्यालय सञ्चालनको जिम्मेवारीबाट पछि नहट्ने स्पष्ट पारेका छन् ।  उनको राजीनामाको माग गर्दै वरिष्ठ चिकित्सक डा. गोविन्द केसी धनगढीमा २४औं आमरण अनशनमा रहेका बेला जोशीले सामाजिक सञ्जालमार्फत आफ्नो अडान सार्वजनिक गरेका हुन् । फेसबुकमा स्टाटस लेख्दै उपकुलपति जोशीले सुदूरपश्चिमका नागरिकबाट प्राप्त समर्थन र विश्वासप्रति कृतज्ञता व्यक्त गरेका छन् ।  उनले विश्वविद्यालयलाई सफलतापूर्वक सञ्चालनमा ल्याउने आफ्नो संकल्प अझ बलियो बनेको उल्लेख गर्दै लेखेका छन्, ‘सुदूरपश्चिम प्रदेशका सम्पूर्ण आदरणीय जनसमुदायबाट प्राप्त अपार माया, अटुट समर्थन र विश्वासप्रति हामी हार्दिक कृतज्ञता व्यक्त गर्दछौं । यहाँहरूको स्नेह र साथले यस परियोजनालाई सफलतापूर्वक सम्पन्न गर्ने हाम्रो दृढ संकल्पलाई अझ सशक्त बनाएको छ ।’ जोशी विश्वविद्यालयको उपकुलपतिमा दुई पटक नियुक्त भएका व्यक्ति हुन् । विश्वविद्यालयका लागि पटक–पटक आवेदन आह्वान गर्दा पनि योग्य उम्मेदवार नपाइएपछि उनलाई पुनः उपकुलपतिको जिम्मेवारी दिइएको थियो ।  यसअघि तत्कालीन सरकारले उनलाई पदबाट हटाएको थियो भने पछि फेरि सोही पदमा नियुक्त गरिएको थियो । विश्वविद्यालय सञ्चालनको तयारी अन्तिम चरणमा पुगेका बेला डा. केसीले जोशीको नियुक्ति खारेज गर्नुपर्ने मागसहित आमरण अनशन थालेका छन् ।  केसीको मुख्य मागमध्ये गेटास्थित विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारलाई पदमुक्त गर्नुपर्ने विषय पनि रहेको छ । यता, विश्वविद्यालय सञ्चालनको प्रक्रिया अघि बढ्न लागेका बेला त्यसलाई अवरोध गर्न खोजिएको भन्दै सुदूरपश्चिमका केही स्थानीयवासीले असन्तुष्टि जनाएका छन् ।  धर्मशालामा अनशनरत डा. केसीमाथि दबाब बढेपछि उनलाई सेती प्रादेशिक अस्पताल सारिएको थियो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि हाल उनी अस्पतालको आईसीयूमा उपचाररत छन् । सरकारी वार्ता टोली र डा केसी पक्षबीच छलफल जारी प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा जेपी अग्रवाल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा‍. विकास देवकोटा र शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलसहितको टोलीले वार्ता गरिरहेको छ ।  डा. केसीलाई उपचारका लागि राखिएको सेती प्रादेशिक अस्पतालमै उनका प्रतिनिधि डा अमृत जैसी र पवन थापासँग वार्ता जारी रहेको शिक्षा सचिव पौडेलले जानकारी दिए । पहिलो चरणमा डा. केसीका प्रतिनिधिसँग छलफल गरी सहमतिको प्रयास भइरहेको र त्यहाँ हुने निष्कर्षअनुसार डा. केसीसँग थप वार्ता हुने उनले बताए । डा. केसी विभिन्न पाँचबुँदे माग राखेर गत बिहीबारदेखि अनशनमा छन् । स्वास्थ्यमा समस्या देखिएपछि शनिबारदेखि सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्षमा राखेर उनको उपचार भइरहेको छ ।  डा. केसीले गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलगायत चिकित्सा शिक्षा आयोगमा स्वार्थ बाझिने गरी भएका नियमविपरितका नियुक्ति बदर गरी ऐनका विवादित प्रावधान शीघ्र संशोधन, चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधारविना निजी कलेजहरूमा सिट वृद्धि गर्ने निर्णय वा प्रस्तावहरू तत्काल खारेजीको माग गरेका छन् । राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ बमोजिम चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउने कानुनी प्रावधान शीघ्र कार्यान्वयन गर्नुका साथै विगतमा सरकारसँग भएका लिखित सहमतिहरूको पालना, सुदूरपश्चिमलगायत सीमावर्ती क्षेत्रका नागरिकहरू स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका लागि छिमेकी मुलुकसँग परनिर्भर हुनुपर्ने बाध्यताको अन्त्य गर्दै नागरिक अधिकार र राष्ट्रिय आत्मसम्मानको रक्षाका लागि आवश्यक पूर्वाधार तथा सेवा प्राथमिकताका साथ विस्तार गर्नुपर्ने माग गरिएको छ ।  यसैगरी गत भदौ २३ र २४ गते भएका जघन्य हत्या, आगजनी, लुटपाटलगायत घटनाका दोषीलाई कारबाही तथा २०४६ सालदेखि हालसम्मका उच्च पदस्थ राजनीतिज्ञ र पदाधिकारीहरूबाट भएका भ्रष्टाचार एवं अपराधको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गरिनुपर्ने डा. केसीको माग छ ।

सरकार र केसी आईसीयूमै संवाद हुँदै, सहमतिको खोजीमा दुवै पक्ष

काठमाडौं । चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै २४औँ आमरण अनशनमा बसेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता थालेको छ । सरकारको उच्चस्तरीय वार्ता टोली शनिबार धनगढी पुगेर उपचाररत केसीसँग संवादमा जुटेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार वार्ता टोलीमा शिक्षा सचिव चुडामणि पौडेल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा तथा प्रधानमन्त्रीका स्वास्थ्य विज्ञ सल्लाहकार प्रा. डा. जगदीश अग्रवाल सहभागी छन् । शिक्षा सचिव पौडेल शनिबार नै धनगढी पुगिसकेका छन् । अनशनका क्रममा स्वास्थ्य अवस्था जटिल बनेपछि डा. केसीलाई सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरिएको छ । उनी चिकित्सकहरूको निगरानीमा उपचाररत रहँदै वार्तामा सहभागी भएका छन् । सरकार र डा. केसी पक्षबीच पाँच बुँदे मागबारे छलफल भइरहेको छ । स्रोतका अनुसार केसीले अघि सारेका पाँचमध्ये दुई मागमा सकारात्मक सहमतिको संकेत देखिए पनि गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारलाई पदमुक्त गर्नुपर्ने मागमा भने सहमति जुट्न सकेको छैन । विवादित बुँदामा सहमति खोज्न आज पनि दुवै पक्षबीच थप छलफल जारी रहने जनाइएको छ । सरकारले संवादमार्फत निकास निकाल्ने प्रयास गरिरहेको जनाएको छ भने डा. केसी पक्षले मागहरूको स्पष्ट कार्यान्वयनको सुनिश्चितता खोजिरहेको छ ।