जनकपुरमा भारतीय विश्वविद्यालयको अवैध नर्सिङ धन्दा, सीटीईभीटीको नाममा ठगी

काठमाडौं । भारतीय विश्वविद्यालयले नेपालको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी)बाट मान्यता लिएको भन्दै अवैध रूपमा नर्सिङ पढाइरहेको पाइएको छ । जनकपुरको मालपोत मार्गमा विगतमा मिथिला नर्सिङ क्याम्पस सञ्चालन भइरहेको भवनमा गुपचुप रुपमा नर्सिङ कार्यक्रम सुरु भएको खबर नेपाल नर्सिङ परिषदमा आएपछि यो घटना बाहिर आएको हो ।  परिषदले गोप्य सूचना पाएपछि सामाजिक सञ्जालमा थुप्रै भ्रामक विज्ञापन समेत फेला परेको नर्सिङ परिषदले जनाएको छ । विज्ञापनमा सीटीईभीटी जस्तै देखिने ड्रेस र त्यहाँ विद्यार्थीलाई दोस्रो वर्षमा अध्ययनरत भन्दै गरेको विज्ञापन देखिएपछि विगतका वर्षहरूदेखि यो अवैध गतिविधि सुरु भएको हुनसक्ने अनुमान परिषदले गरेको छ ।  गोप्य सूचना र विज्ञापन पछि यो विषयमा थप अनुसन्धान गर्न परिषदले सीटीईभीटीलाई जानकारी गराएको जनाएको छ ।  यस्ता गलत गतिविधिबाट जोगिन भन्दै परिषदले सूचनासमेत जारी गरेको परिषदका अध्यक्ष प्राध्यापक सरला केसीले बताइन् ।  उनका अनुसार एसियन इन्टरनेश्नल युनिभर्सिटी मणिपुर विश्वविद्यालयले सीटीईभीटीको सम्बन्धन जोडेर जनकपुरमा तीन वर्षको डिप्लोमा नर्सिङ कोर्ष सुरु गरिरहेको छ । जहाँ ‘करिअर केयर कन्सलटेन्सी’ नामक संस्थाले एसईई उत्तीर्ण गरेका विद्यार्थीलाई भर्ना गरी तीन वर्षे कोर्स सुरु गरेको छ ।  नेपालको सीटीईभीटीको मान्यता प्राप्त गरेको भन्दै भारतीय विश्वविद्यालयले अवैध रुपमा नर्सिङ कोर्स सञ्चालन गरिरहेको संकेत परिषद्ले पाएपछि उसले सार्वजनिक सूचना नै जारी गरेको छ । सूचनामा भनिएको छ, ‘हाल विभिन्न सामाजिक सञ्जालमा डिप्लोमा इन नर्सिङ असिस्टेन्ट कोर्स लगायतका कार्यक्रमहरूमा नेपाल बाहिर अध्ययन गराउने भनि विज्ञापन गरेको पाइएको सम्बन्धमा परिषदको ध्यानाकर्षण गराएको पाइएको छ ।’ परिदषका अनुसार भारतको एसियन इन्टरनेशनल युनिभर्सीटी मणिपुरले नेपालको सीटीईभीटीको नाम जोडेर तीन वर्षे डिप्लोमा इन नर्सिङ असिस्टेन्ट कोर्स गराइरहेको पाइएको छ ।  टिकटकमा प्रचार सामाजिक सञ्जालमा सञ्जिव कुमार शाह नामक टिकटक आइडीमा अनेक प्रचार गरिएका छन् । के तपाईं नर्सिङ गर्ने सोचमा हुनुहुन्छ र सिट पाउनुभएको छैन ? नेपाल सीटीईभीटीबाट सम्बन्धन प्राप्त संघम युनिभर्सिटी राजस्थानी र एसियन इनटरनेश्नल युनिभर्सिटी मणिपुर, सन्दीप युनिभर्सिटी, महाराष्टलाई सम्झनुहोस भनिएको छ ।  जहाँ सम्पर्कको लागि करिअर केयर कन्सलटेन्सी जनकपुरधाम मुरली चोक भनिएको छ र सम्पर्कको लागि नम्बर पनि राखिएको छ । नर्सिङ कोर्समात्र नभई एचए, बिटेक इन्जिनियरिङ लगायतका अन्य कोर्सबारे पनि त्यहाँ प्रचार गरिएको छ । विज्ञापनमा बोल्नेहरूलाई नै कोर्सको शुद्ध उच्चारण गर्नसमेत आउँदैन ।  प्रचारमात्र होइन त्यहाँ हुबहु सीटीईभीटीसँग मेल खाने ड्रेसमा पढिरहेका विद्यार्थीहरू पनि देखिन्छन् । परिषदका रजिष्ट्रार सकुन्तला प्रजापति विभिन्न भारतीय विश्वविद्यालय र सीटीईभीटीको नामबाट धेरै विद्यार्थीको जीवन बर्बाद भएको हुन सक्ने बताउँछिन् । उनी भन्छिन्, ‘सामाजिक सञ्जालमै म दोस्रो वर्षमा अध्ययनरत भनेका बहिनीहरूको आवाज पनि सुनिन्छ, अब उनीहरूको भविष्य के हुन्छ ?’ ठगीको उजुरी अवैध रुपमा नर्सिङ कोर्स सुरु भइरहेको यकिन भएपनि त्यो कहिलेबाट सुरु भएको हो, हाल कति विद्यार्थी अध्ययनरत छन् भन्ने विषयमा भने एकिन जानकारी भएको छैन । बरु यो संस्था अवैध हो भन्ने थाहा पाएपछि विद्यार्थी र अभिभावक मानसिक तनावमा परेका छन् । कतिपयले ठगीको मुद्दा दर्ता गराउने तयारी पनि गरिरहेका छन् । अध्यक्ष केसीका अनुसार त्यो संस्थालाई इण्डियन नर्सिङ काउन्सिलले पनि मान्यता दिएको छैन। उनी भन्छिन्, ‘यसले त विद्यार्थीलाई नराम्ररी ठग्यो कतिको भविष्य बर्वाद बनायो एकिन छैन, किन कि न त्यो संस्था दर्ता छ न त्यहाँ पढेका विद्यार्थीले नाम दर्ता नै गर्न पाउँछन्, त्यहाँ ‘डिप्लोमा नर्सिङ असिस्टेन भन्ने कोर्स सुरु गरेको रहेछ जो हामी परिषदमा दर्ता हुँदैन ।’ ‘भारतमा प्लस टु नगरी नर्सिङको पढाइ हुँदैन । नेपाली सीटीईभीटीको सम्बन्धन भनेको छ । नेपाली सीटीईभीटीले विदेशी विश्वविद्यालयलाई सम्बन्धन दिँदैन, उनी भन्छिन्, ‘यो सबै झुट हो । तर, कक्षा चाहिँ सुरु  भइरहेको छ । भन्ने जानकारी आएको छ । यो केसमा हामी भन्दा पनि विशेष सीटीईभीटी जोडिएको छ, हामी नाम दर्ता गर्ने बेलामा मात्र जोडिन्छौ । सीटीईभीटीलाई जानकारी गराएका छौं । यो विषयमा छानबिन हुँदैछ ।’  केसीका अनुसार जुन विषय अहिले पढाइ भइरहेको छ भन्नमा आएको छ यो विषयको कोर्समा नाम दर्ता लाइसेन्स नै दिँदैन । परिषदले एसईईपछि तीन विषयमा मात्र नाम दर्ता गर्छ । एउटा एसईईपछि पढाइ हुने डेढ वर्षको एएनएम कोर्स जुन अहिले बन्द भइसकेको छ । अर्को एसईईपछि तीन वर्ष पढ्ने पीसिएल नर्सिङ  र अर्को प्लसटु गरेर चार वर्ष पढेका बिएस्सी गरेका नर्स र अर्को मिडवाइफ गरेकाहरूको मात्र परिषदमा नाम दर्ता हुन्छ । अहिले त्यहाँ पढाइ भइरहेको भनिएको विषयमा नेपालमा नाम दर्ता नै नहुने केसी बताउँछिन् ।  सीटीईभीटीको टोली जनकपुरमा सीटीईभीटीबाट मान्यता प्राप्त कोर्स भन्दै भारतीय विश्वविद्यालयले नर्सिङ पढाइ सुरु गरेको विषयमा अध्ययन गर्न सीटीईभीटीको टोली जनकपुर गएको छ । सीटीईभीटीका सचिव महेश भट्टराईले यो विषयमा अध्ययन गर्न टोली जनकपुर गएकाले अध्ययन गरेपछि मात्र एकिन जानकारी दिन सकिने बताए ।  उनले सीटीईभीटीले विदेशी विश्वविद्यालयलाई मान्यता दिने प्रावधान नभएकाले मान्यता दिने अवस्था नभएको बताए । ‘हामीलाई पनि जानकारी आएको छ, खास कुरो के हो अध्ययन हुन्छ, टोली गइसकेको छ, खासमा कुरोको चुरो केहो टोली फर्केपछि भन्न सकिन्छ,’ भट्टराईले भने ।  उनले अवैध रुपमा गतिविधि सञ्चालन भएको पाइए कारवाही गर्ने बताए । उनी थप्छन्, ‘हामीले  विदेशी शैक्षिक संस्थालाई सम्बन्धन दिनै मिल्दैन र दिँदैनौं पनि, सीटीईभीटीको नाममा गलत धन्दा गर्नेलाई त्यत्तिकै छोडिँदैन, कारवाही गर्छौं ।’ यो विषमा भने स्थानीय सरकारलाई कुनै जानकारी छैन । अवैध नर्सिङ कोर्स सञ्चालन गरेको विषयमा आफूलाई कुनै जानकारी नभएको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार शाह बताउँछन् ।  ‘हामीलाई यो विषयमा कुनै जानकारी पनि छैन, कसैले भनेको पनि छैन, बरु संस्थाको नाम भन्नुहोस् हामी त्यो ठाउँमा तुरुन्तै छापा मार्छौं ,’ उनले भने । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहालले पनि यो विषयमा आफूलाई कुनै जानकारी नभएको बताए । जिल्ला प्रहरी कार्यालयले पनि कुनै जानकारी नभएको जनाएको छ ।  परिषदका अध्यक्ष केसी भन्छिन्, ‘सबैलाई नर्सिङ पढ्ने हुटहुटी छ, यो बच्चाहरूको बिजोग हुन्छ एउटा तीन वर्ष समय जान्छ, अर्को पैसा जान्छ सँगै मानसिक तनाव पनि हुने भयो । यत्रो लगानी गरिसकेपछि त्यो लगानीको अर्थ नहुने भएपछि  त विद्यार्थीमात्र होइन अभिभावकलाई पनि मानसिक तनाव हुने भयो । अहिले अभिभावक बच्चा सबैलाई भर्ना नगर्न नगराउन सुसूचित गराएका छौं ।’ 

डेंगुको लक्षण र उपचार विधि

डेंगु इजिप्टी प्रजातीको पोथी लामखुट्टे एडिसको टोकाइबाट लाग्ने रोग हो । उक्त लामखुट्टेले टोकेको ४ देखि ७ दिनभित्र डेंगुको लक्षण देखा पर्दछ । डेंगु भएपछि उच्च ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने तथा जोर्नी दुख्ने गर्छ । डेंगु भएपछि शरीरको प्लेटलेट्स द्रुत गतिमा घट्न थाल्छ । मानिसले प्लेटलेट्स बढ्छ भनेर विभिन्न चिजहरु खाने गरेका छन् । तर त्यसको प्रयोग गर्नुहुँदैन । प्लेट्सलेट २० हजारभन्दा कम भएमा तुरुन्त भर्ना भएर प्लेटलेट्स चढाउने पनि हुनसक्छ ।  यसमा बिरामीलाई तुरुन्तै अस्पतालमा भर्ना गर्नुपर्छ अन्यथा समयमै उपचार नपाउँदा बिरामीको ज्यान समेत जान सक्छ । डेंगुको लक्षण पहिचान गरेर मात्रै यसको उपचार गर्न सकिन्छ । यसले स–साना सफा पानी जमेको स्थानमा फुल पार्ने गर्दछ । खास गरी वर्षाको पानी जम्ने टीनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमला, पानीका ट्ंयाकी आदिमा यस्ले फुल पार्दछ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्तमात्रामा हुने भएकाले पनि यो लामखुट्टे सहरमा बढी देखिने गरेको पाईन्छ ।  डेंगुको लक्षणहरू  १. उच्च ज्वरो आउनु २. टाउको दुख्नु ३. आँखा दुख्नु ४. मांसपेशी र जोर्नी दुख्नु ५. थकाई लग्नु ६. वाकवाकी लाग्नु वा वान्ता हुनु ७. छालामा रातो दागहरू देखा पर्नु ८. पेट दुख्ने ९. गिजा वा नाकबाट रगत बग्ने १०. सास फेर्न गाह्रो हुनु ११. चिडचिडापन हुनु यद्यपि, गम्भीर अवस्थामा (डेंगु हेमोरेजिक ज्वरो) को जोखिम बढ्ने गर्दछ ।  यस्तो अवस्थामा रक्तनलीमा क्षति पुग्ने र शरिरबाट  प्लेटलेट्स कम हुँदै जान्छ । डेंगु पत्ता लगाउनका लागि रगत जाँच गर्नुपर्छ । रातो रगत सेतो रगतको मात्रा हेर्ने गर्नुपर्छ । कलेजो (लिभल र किड्नीको फंसन) डेगेँको एन्टीजेन र एन्टीवडी चेक गर्नुपर्ने हुन्छ ।  डेंगुको उपचार डेंगुको कुनै खास औषधि वा सही उपचार उपलब्ध छैन । यस्तो अवस्थामा बढीभन्दा बढी पानी पिउनुपर्छ । अत्यन्तै गम्भीर अवस्थामा, रोगीलाई इलेक्ट्रोलाइट सप्लीमेंट दिनुपर्छ । केही अवस्थामा,  ब्लड प्रेसर मोनिटरिंग र ब्लड ट्रांस्फ्यूजनमार्फत पनि उपचार गरिन्छ । डेँगु लामखुटेले टोकेर लाग्ने रोग भएको हुनाले लामखुटेलाई नै टोक्न नदिनु यसको प्रमुख रोकथाम हो । तसर्थ, झुल लगाएर सुत्ने, पुरा व्लाउज भएको कपडा लगाउने, धुप वाल्ने, पानी जम्ने खाडललाई नष्ट गर्नुपर्छ ।  डेंगुको रोकथाम  १.जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने २.पूरै शरिर ढाक्ने लुगा लगाउने  ३.साँझ हुनुभन्दा पहिले घरको झ्याल र ढोका बन्द गर्ने  ४.पानी  जम्मा गरेर नराख्ने  ६.घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने   उपचार  डेंगु आँफै निको हुने रोग हो । यसको कुनै स्पेशल उपचार छैन । डेंगुमा देखिएको लक्षणको उपचार गर्ने हो । डेँगुमा विशेष गरी प्रशस्त मात्रामा पानी खानुपर्छ । ब्लडप्रेसर ध्यान दिएर जाँच गर्नुपर्छ ।  (डा. विनयकुमार  रेग्मी ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका जनरल फिजिसियन एवं वरिष्ठ वाथरोग विशेषज्ञ हुन् )  

कोभिडका लागि बनेका बहुउद्देश्यीय भवन अब अस्पताल र विपद् उत्थानमा प्रयोग गरिँदै

काठमाडौं । सन् २०१९ अन्तिम ताका चीनको वुहान सहरमा पहिलोपटक देखा परेको कोरोना भाइरसले छोटो समयमै विश्वभर महामारीको रूप लिएको थियो । कोरोना महामारीसँगै यसको सङ्क्रमण रोक्न थुप्रै पूर्वाधारसँगै क्वारेन्टिनका लागि विभिन्न भवनहरू निर्माण गरिएका थिए । वैश्विक कोरोना महामारी सकिएपछि त्यस्ता बहुउद्देश्यीय क्वारेन्टिन भवनहरूलाई अस्पताल तथा विपद् उत्थानमा उपयोग गर्न थालनी गरिएको छ । नेपालमा सङ्घीय सरकारअन्तर्गतको ‘मझौला तथा साना सहरमा खानेपानी, सरसफाइ, स्वच्छता र स्वास्थ्य सेवामार्फत कोभिड–१९ रोकथाम तथा नियन्त्रण आयोजना’ले निर्माण गरेका बहुउद्देश्यीय भवनहरूमा सो कार्यको थालनी गरिएको छ । कतिपय भवन विपद् प्रतिकार्य तथा आश्रयस्थल समेत उपयोग हुन थालेका छन् । एसियाली विकास बैंक (एडिबी) र नेपाल सरकारको पहलमा ‘समृद्ध र उत्थानशील एसिया प्यासिफिकका लागि जापान कोष (जेएफपीआर)बाट सञ्चालित उक्त परियोजनाअन्तर्गत मुलुकका विभिन्न १५ पालिकामा २० बहुउद्देश्यीय भवन निर्माण गरिएका थिए । स्थानीय तहलाई हस्तान्तरण गरिएका अधिकांश भवन स्वास्थ्य केन्द्रका रूपमा र विपद् आश्रयस्थलका रूपमा उपयोग गर्ने कार्यको सुरुआत भएको आयोजना उपप्रमुख मनिना वैद्यले जानकारी गराए । भरतपुर र वीरगञ्ज महानगरपालिका तथा बुटवल, नेपालगञ्ज र धनगढी उपमहानगरपालिकाका साथै भीमदत्त, टीकापुर, गुर्भाकोट,  विदुर, सूर्यविनायक, लालबन्दी, बराहक्षेत्र र मेची नगरपालिका एवं राप्ती गाउँपालिकामा ती भवनहरू निर्माण गरिएका छन् । कोभिड–१९ को महामारीका बेला क्वारेन्टिनको अभाव पूर्ति गर्न निर्माण गरिएका त्यस्ता भवन हाल कतिपय पालिकाले खोप केन्द्र, स्वास्थ्य ल्याब, उपचार आकस्मिक कक्ष तथा अन्य विपद्उत्थानलगायत कार्यमा उपयोग गर्न थालनी गरिएको उपप्रमुख वैद्यले बताए ।   सबै बहुउद्देश्यीय भवनमा अक्सिजनको सुविधासहित कुल ३२० श्यया छन् भने महिला र पुरुष छुट्टाछुट्टै वार्ड तथा अपाङ्गतामैत्री रहेका उनले बताए । भवनमा प्रशासनिक, चिकित्सकीय, नर्सिङ कक्ष तथा स्टोर रुम समेत रहेका छन् । उनका अनुसार बहुउद्देश्यीय भवनबाहेक महिला र पुरुष तथा तथा अपाङ्गमैत्री सुविधासहितका ३० घुम्ती शौचालयसमेतको व्यवस्था गरिएको छ । साथै १२८ ‘ह्याण्ड वासिङ स्टेसन’, १३० स्थानमा स्वास्थ्य केन्द्रमा हेल्थ डेस्कसम्बन्धी मेडिकल सामग्रीलगायतका पूर्वाधार निर्माण गरिएको छ । टीकापुर नगरपालिकाले त्यहाँस्थित बहुउद्देश्यीय भवनमा सिकलसेल रोगको उपचार र तथा रोकथाम केन्द्र स्थापना गरी सेवा थालनी अघि बढाएको छ । टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौंरा थारुले आवश्यक पूर्वाधारसहित तयारी अवस्थामा प्राप्त सो भवनमा जनशक्ति राखेर सेवा सुचारु गर्ने काम अन्तिम चरणमा पुगेको बताए । विशेषतः थारु जतिमा मात्र लाग्ने सिकलसेल रोग दाङदेखि कञ्चनपुरसम्मका थारु जातिमा देखिएको छ । स्वास्थ्य प्रयोजनका लागि बनेको भवन भएकाले उपचार केन्द्र बनाउन सहज भएको जानकारी दिँदै उनले भने, 'हामीलाई हस्तान्तरण भएपछि जनशक्ति र व्यवस्थापन गरेर सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका रूपमा अघि बढाएका छौँ, हामीले उपचारका साथै यो रोग किन र कसरी लाग्छ, तथा लाग्नै नदिले सचेतना गतिविधि पनि गर्ने योजनाका साथ काम अघि बढाएका छौँ ।' यो रोग नियन्त्रणमा सङ्घीय सरकारको खास ध्यान जान नसकेको गुनासो गर्दै नगर प्रमुख थारुले हाल टीकापुर क्षेत्रका लागि मात्रै यो उपचार केन्द्र भए पनि आगामी दिनमा विस्तार गर्दै लैजाने योजना रहेको सुनाए । यस रोगमा खासगरी रगतको अभाव हुने समस्या बढी देखिएको छ । कोरोना महामारीको सिकाइले १५ सहरका निर्माण गरिएका २० बहुउद्देश्यीय भवनमा ३२० श्ययाका अस्पताल तयार गरिएका हुन् । सङ्घीय सरकारअन्तर्गत सन् १८ अगष्ट २०२१ बाट सुरु भएको उक्त परियोनजामा आगामी सेप्टेम्बरमा सम्पन्न हुन लागेको छ । आयोजनाको यो कार्यले पूर्वाधारको कमी भएका सहरमा व्यवस्था गरिएका यी पूर्वाधारले सहरको परिचय दिने मापदण्ड पूरा गर्नसमेत योगदान दिएको आयोजनाको भनाइ छ । कोभिडसँगै भविष्यमा आइपर्ने सङ्क्रमक रोगसँग लड्न तथा विपद् उत्थानशीलरप्रतिरोधी संरचना र सरसफाइ स्वच्छता र स्वास्थ्य संरचनाको प्रवर्द्धन गरी समुदायलाई उत्थानशील बनाउन पहल गर्ने आयोजनाको उद्देश्य रहेको छ । त्यस्तै खानेपानी संस्था र पालिकाको उत्थानशील क्षमता अभिवृद्धिमा सहयोग पुर्याउने तथा सङ्क्रामक रोगहरूसँग लड्न जनचेतना अभिवृद्धि गर्ने समेत आयोजनाको उद्देश्य रहेको छ । उक्त संस्थाबाट करिब रु ६५ करोड अनुदान र नेपाल सरकारका तर्फबाट उक्त रकमको करिब १० प्रतिशत रकम समेतबाट परियोजनाले सो कार्य गरेको हो । मेची नगरपालिकाले आफ्नो क्षेत्रमा रहेको बहुउद्देश्यीय भवनलाई विभिन्न समयमा देखिने कालाजारलगायत अन्य सङ्क्रामक रोगको उपचार तथा विपद्मा प्रयोग गर्न सुरु गरेको नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिए । आवश्यक पूर्वाधारसहितको उक्त भवनमा नगरपालिकाले हाल जनशक्ति व्यवस्थापन गरी प्रयोगमा ल्याएको उनले बताए । ती बहुउदेश्यीय भवनसँगै सहरी सरसफाइको अभिन्न अङ्गको रूपमा थप शौचालयको पनि विकास गर्ने कार्य भइरहेको जनाएको छ । आयोजनाले ती सहरमा हुने विभिन्न प्रकारका प्रकोपका बेला प्रयोग हुनसक्ने प्रकारका ३० वटा घुम्ती शौचालय पनि ती नगरहरूमा उपलब्ध गराएको छ । ट्याक्टरको सहायताले एक ठाउँबाट अर्को ठाउँमा लैजान सकिने, महिला तथा पुरूष लागि छुट्टाछुट्टै भाग रहेको, हात धुने सुविधायुक्त ती शौचालयहरू अहिले नगरहरूले विभिन्न मेला तथा भीडभाड हुने क्षेत्रहरूमा प्रयोग गरिरहेका छन् । सहरी सफाइका लागि सरकारले भरतपुर, मेचीनगर, टीकापुर र धनगढीका थप पाँच वटा जीर्ण शौचालयहरू मर्मत सुधार गरी अत्याधुनिक बनाएको छ । त्यसैगरी हाल बागलुङ, लमजुङ, बराहक्षेत्र (सुनसरी), सिराहा, पर्सा, कपिलवस्तु र काठमाडौँमा गरी थप १० अपाङ्गतामैत्री सुविधायुक्त सार्वजनिक शौचालयहरू पनि निर्माणको अन्तिम चरणमा रहेको आयोजनाले जनाएको छ । रासस