अनुहारले दिन्छ कलेजो बिग्रिएको चेतावनी, यी संकेत देखिए सतर्क हुनुहोस्

काठमाडौं । कलेजो हाम्रो शरीरको मुख्य अंग हो । जसले रगत शुद्धीकरण गर्ने र खानालाई ऊर्जामा रूपान्तरण गर्ने काम गर्छ । तर कलेजोमा समस्या हुँदा वा यसले राम्रोसँग काम नगर्दा हाम्रो शरीरले अनुहारमार्फत चेतावनीको संकेत दिने गर्छ ।  अनुहारमा परिवर्तन आउँदा हामीले समयमै ख्याल गर्यौं भने कलेजो जोगाउन सक्छौं । आउनूहोस आज कलेजो खराब हुँदा अनुहारमा कस्ता संकेतहरू आउँछन्, तिनको बारेमा संक्षिप्त रूपमा बुझौं ।  आँखा र छाला पहेँलो हुनु आँखा र छाला पहेँलो हुनु कलेजो बिग्रिएको सबैभन्दा मुख्य संकेत हो । जब कलेजोले रगतबाट बिलिरुबिन (पहेँलो पदार्थ) हटाउन सक्दैन तब आँखाको सेतो भाग र अनुहारको छाला पहेँलो हुन्छ । .यसलाई बेवास्ता गर्नु खतरनाक हुन सक्छ । अनुहार असामान्य तरिकाले सुन्निने यदि बिहान उठेपछि अनुहार विशेष गरी आँखा मुनिको भाग धेरै सुन्निएको देखिन्छ भने यो कलेजोको कार्यक्षमतामा कमी आएको संकेत हुन सक्छ । कलेजोमा समस्या हुँदा शरीरमा तरल पदार्थ जम्मा हुन थाल्छ जसले गर्दा सुन्निने गर्छ । अनुहारमा कालो दाग  कलेजो बिग्रिएपछि शरीरमा हार्मोनल सन्तुलन बिग्रन्छ । यसका कारण अनुहारमा अचानक खैरो वा कालो दाग देखिन थाल्छल । यसलाई प्रायः छालाको समस्या भनेर गलत बुझिन्छ । तर यो आन्तरिक कलेजो क्षतिको संकेत हुन सक्छ । माकुराको जालोको नसा यदि तपाईंले आफ्नो अनुहारमा माकुराको जालोजस्तै देखिने मसिना र राता नसाहरू देख्नुभयो भने सावधान रहनुहोस् । किनभने यो गम्भीर कलेजो रोगको संकेत हो । जब कलेजोले राम्रोसँग काम गर्न सक्दैन तब बढेको हर्मोनले रक्तनलीहरूलाई फैलाउँछ । यसले छालाको सतह नजिकै माकुरा जस्तो ढाँचा सिर्जना गर्छ । यी साना रक्तनलीहरू कलेजोको क्षतिको संकेत हुन सक्छन्, विशेष गरी सिरोसिसको ।

एकै परिवारका ७ जना चिकित्सक, डेढ अर्ब लगानीमा जीबी हस्पिटल बनाउँदै

काठमाडौं । झापाको दमक नगरपालिका-९ मा एक सय बेडको जीबी मेट्रिनिटी एण्ड चाइल्डकेयर जनरल हस्पिटल सञ्चालनमा आउने भएको छ । झापामा पेट्रोलपम्प, एमआरएफ टायरको लिडरसिप र रियल स्टेट व्यवसाय गरिरहेको लगानीकर्ता एवं चिकित्सक डा. सुमन आचार्यको परिवारले अब आफ्नै गाउँमा एक सय बढी शय्याको अस्पताल सञ्चालन गर्ने भएको हाे ।   डा. आचार्यले भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगिसकेकोले अब चाँडै सञ्चालनमा ल्याउने जानकारी दिए । ‘अहिले निर्माणको अन्तिम चरणमा छ,’ विकासन्युजसँग कुरा गर्दै आचार्यले भने, ‘छिट्टै हामी आफ्नै गाउँमा स्वास्थ्य सेवा सुरु गर्ने छौं ।’ एमबीबीएस गरेर विभिन्न अस्पतालमा सेवा दिँदै आएका आचार्यले आफ्नै गाउँठाउँमा स्वास्थ्य सेवा दिने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याउन लागेकाे बताए ।  ‘म एक चिकित्सक हुँ, पढाइ सकेपछि पाटनलगायत  विभिन्न अस्पतालमा काम गरेँ तर, अब स्वास्थ्य सेवा आफ्नै गाउँमा सेवा दिनुपर्छ भन्ने लाग्यो  अनि पारिवारिक सल्लाहमा अस्पताल सञ्चालन गर्ने निर्णयमा पुग्यौं,’ उनले भने । एकै घरमा ७ जना चिकित्सक बनिसकेपछि ७ जना चिकित्सकले एउटा अस्पताल सञ्चालन गर्न सक्ने भन्दै आफ्नै अस्पताल सञ्चालन गर्ने निर्णय गरेको उनले सुनाए ।  ‘मेरो श्रीमती पनि चिकित्सक हुन्, उनीसहित बुवाआमा र अन्य सदस्यसँग सल्लाह गर्यौं,’ आचार्य भन्छन्, ‘सबैको सहमति अनुसार एक सय बेडको अस्पताल बनाउने सहमति भयो ।’ पारिवारिक सहमति अनुसार आजभन्दा तीन वर्ष पहिलेदेखि अस्पताल निर्माण कार्य सुरु गरिएको थियो ।  आचार्यका बुवा घानु आचार्य पहिल्यैदेखि व्यवसायमा आबद्ध छन् । अस्पताल सञ्चालन गर्ने सुमनको निर्णयमा लगानी र सहयोग बुवा घानुकै छ । दमक नगरपालिका वडा नम्बर ९ मा ठूलो अस्पताल छैन । मान्छे बिरामी हुँदा बिर्तामोड, विराटनगर लगायत भारत जानुपर्ने बाध्यता छ । विशेषगरी महिलाहरूमा देखिने गाइनोसम्बन्धी समस्या र बालबालिका सामान्य बिरामी हुँदा पनि स्थानीयहरूले भौतारिनुपरेको छ ।  स्थानीय नागरिकलाई उपचारका लागि अन्यत्र जान नपरोस् भन्ने उद्देश्यले गाउँमै सेवा दिने योजना अनुसार अस्पताल सञ्चालनमा ल्याउने तयारी भइरहेको डा. आचार्यले बताए ।  उनी भन्छन्, ‘हाम्रो गाउँमा राम्रो अस्पताल छैन, नागरिकले सेवा लिन विराटनगर बिर्तामोड पुग्नुपर्छ, सामान्य सेवादेखि गम्भीर प्रकृतिका जोखिमबाट सेवा लिन सहज होस् भनेर हामीले अस्पताल सञ्चालन गर्ने योजना बनाएका हौं ।’ आचार्यले बन्न लागेको अस्पताल जनरल अस्पताल हुने बताए । महिला स्वास्थ्य (गाइनो) र बालरोग (पेड)लाई डेडिकेटेड गरे पनि पहिलो चरणमा जनरल अस्पतालका रुपमा सञ्चालन गरिनेछ ।  ‘हामीले सञ्चालन गर्न लागेको मल्टिस्पेसालिटी अस्पताल नै हो, जुन एक सय बेड भन्दा माथिको हुन्छ, । लक्षित बालबालिका र गाइनोलाई नै हो,’ आचार्यले भने ।  तीन वर्ष अगाडिदेखि निर्माण कार्य सुरु भएकाले संरचना अन्तिम चरणमा आइसकेको छ । परिवारका ७ जना चिकित्सक आचार्यको परिवारमा ७ जना चिकित्सक छन् । अहिले उनीहरू विभिन्न अस्पतालमा सेवा दिइरहेका छन् । एकै घरमा धेरै व्यक्ति चिकित्सक भइसकेपछि पनि आचार्य परिवारलाई अस्पताल खोल्न प्रेरणा मिलेको हो ।  उनी भन्छन्, ‘श्रीमती, भाइबहिनीलगायत घरैमा धेरै चिकित्सक पनि भयौँ, अर्को गाउँमा ट्रसरी  सेन्टरको सेवा दिने अस्पताल पनि भएन, हामीले आफै सक्ने भएपछि गाउँमै किन सुरु नगर्ने त भन्ने लाग्यो र त्यही अनुसार काम सुरु गर्यौं ।’ आचार्यको परिवारमा उनीसहित डा. जनश आचार्य, डा. ज्योति आचार्य, डा. दीक्षा आचार्य, डा. जेमिश आचार्य , डा. उत्सव आचार्य र डा. सञ्जीव विष्ट गरी ७ जना चिकित्सक छन् ।  डा. आचार्य र उनको परिवार विगत दुई दशकभन्दा बढी समयदेखि विभिन्न व्यवसायमा संलग्न रहँदै आएको छ, जसका कारण व्यवसायीक व्यवस्थापन, वित्तीय अनुशासन र उद्यम सञ्चालनमा राम्रो अनुभव हासिल भएको बताइएको छ । आचार्यले २०८३ सालसम्म अस्पताल सञ्चालनमा ल्याइसक्ने योजना बनाएका छन् । डेढ अर्ब लगानी अर्याल परिवारले सञ्चालन गर्न लागेको अस्पतालमा डेढ अर्ब रुपैयाँ लगानी रहेको सुमनले जानकारी दिए । उनका अनुसार यसको नाम जीबी मेट्रिनिटी एण्ड चाइल्डकेयर जनरल हस्पिटल राखिएको छ ।  जग्गासहित करिब १ अर्ब ४४ करोड रुपैयाँ लागतमा झापाको दमक नगरपालिका-९ मा हस्पिटल बनिरहेको हो । मेट्रिनिटी एण्ड चाइल्डकेयर जनरल हस्पिटल ६९:३१ को ऋण-पुँजी अनुपातमा वित्तीय व्यवस्थापन गरिने छ, जसअनुसार १ अर्ब दीर्घकालीन ऋण र ४४ करोड रुपैयाँ पुँजी रहने बताइएको छ ।  सन् २०२५ नोभेम्बरसम्म हस्पिटल निर्माण प्रगति ५० प्रतिशत पुगेको कम्पनीले जनाएको छ । सन् २०२० मा निर्माण सुरु भएको उक्त अस्पताल करिब २ एकड क्षेत्रफल जग्गामा सञ्चालन हुनेछ । मातृत्व तथा बाल स्वास्थ्य सेवामा विशेष ध्यान दिने उद्देश्यले स्थापना गरिएको यस अस्पतालले झापा, इलाम, मोरङ र भारतका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने दाबी गरेको छ ।

वैदेशिक रोजगारी जाने कामदारको स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारी जाने कामदारको स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्ने भएको छ ।      अन्तरराष्ट्रिय आप्रवासन दिवसका सन्दर्भमा शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारमा जानेका लागि निर्धारित स्वास्थ्य परीक्षण शुल्क अत्यन्तै महंगो भएको उल्लेख गर्दै पछिल्लो पटक भएको शुल्क वृद्धिमा पुनारवालोकन गर्नका लागि प्रक्रिया अगाडि बढाइएको बताए । 'स्वास्थ्य परीक्षण शुल्क चर्को भएको कुरा आएको छ, शुल्क वृद्धि खारेजको प्रक्रियामा जाँदैछौ', उनले भने । मन्त्रालयले केही समय अघि ६ हजार ५०० रहेको शुल्क बढाएर नौ हजार ५००  बनाएको थियो ।      मन्त्री भण्डारीले वैदेशिक रोजगारी जानेहरुलाई सीपमुलक तालिम दिने बाहानामा विभिन्न ठगीका घटना बढेको उल्लेख गर्दै सरकारले आफैले तालिम दिने विषयमा पनि सोचिरहेको बताए । उनले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रणमा संयन्त्रगत रुपमा काम सुरु गरिएको पनि उल्लेख गरे ।      कार्यक्रममा मन्त्रालयका सचिव डा कृष्णहरि पुस्करले मानव अधिकार हरेक श्रमिकको अधिकार भएकाले सम्मानजनक रुपमा श्रम गर्न पाउनुपर्नेमा जोड दिए । श्रमिकको अधिकार सुनिश्चित गर्न वैदेशिक रोजगार व्यवसायी, मानव अधिकार सञ्जाल, संघसस्थालगायत निजी क्षेत्रको हातेमालोबाट मात्रै सम्भव हुने उनको भनाइ थियो ।      वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष भुवनसिंह गुरुङले वैदेशिक रोजगारका नयाँ गन्तव्यमा रोजगार गर्न जान पाउने मानव अधिकारलाई राज्यले सहज बनाउनु पर्नेमा जोड दिए ।      मन्त्रालयका उपसचिव महेश पराजुली र संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडीपि) का प्रतिनिधि टेक टमाटाले श्रम र मानव अधिकारका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । मन्त्रालयले अन्तरराष्ट्रिय आप्रवासन दिवस पुस ७ गतेसम्म विभिन्न कार्यक्रम गरेर मनाइरहेको छ ।