बर्डफ्लुबाट सतर्क हुन भारतीय सरकारको आह्वान
नयाँ दिल्ली, १० कात्तिक । भारतको सङ्घीय सरकारले स्वास्थ्य सन्देश जारी गरी बर्ड बर्डफ्लुबाट सतर्क हुन आह्वान गरेको छ । बुधबार जारी सन्देशमा पंक्षीहरुसँग सकेसम्म टाढा रहन सवैलाई आग्रह गरिएको छ । मरेका र बिरामी पंक्षीको व्यवस्थापन गर्दा निकै सतर्कता अपनाउन पनि सन्देशमा विषेश जोड दिइएको छ । गतहप्ता मात्रै नयाँ दिल्ली र मध्यप्रदेशको चिडियाखानामा बर्ड फ्ल्युबाट केही चराहरु मरेका थिए । रासस/सिन्ह्वा
अब स्वास्थ्य चौकीमै मृगौला परीक्षण, पहिलो चरणमा २० लाख जनाको मृगौला परीक्षण
काठमाडौं १२, कात्तिक । सरकारले स्थानीय स्वास्थ्य चौकीमै मृगौला परीक्षणको व्यवस्था गरेको छ । मृगौला परीक्षणमा प्रयोग हुने ‘डिपिस्टिक फिट’ मनाङबाहेकका जिल्लामा पठाइसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयअन्तर्गतको आपूर्ति व्यवस्थापन महाशाखाले देशभर पहिलो चरणमा २० लाख जनाको मृगौला परीक्षण गर्न पुग्ने किट पठाएको छ । महाशाखाका निर्देशक डा.भीमसिंह टिंकिरीले मनाङमा बाटोको समस्याका कारण केही दिनपछि मात्र किट पुर्याउने जानकारी दिए । वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. विष्णु पहाडीका अनुसार किटको जाँचबाट सुरुको अवस्थामा पिसाबमा प्रोटिनको मात्रा लिक भएको छ कि छैन भन्ने पत्ता लगाइन्छ । कारोबार दैनिकबाट
उपत्यकामा रगतको अभाव, रगत सङ्कलन कार्यक्रम नहुँदा समस्या
काठमाडौं ८, कात्तिक । केही दिनदेखि काठमाडौँ उपत्यकामा ताजा रगतको अभाव भएकाले बिरामी र उनीहरूका आफन्त समस्यामा परेका छन् । दसैँदेखि उपत्यकामा रगत सङ्कलन कार्यक्रम नभएकाले अभाव भएको रक्त सञ्चार केन्द्रले जनाएको छ । केन्द्रका उपनिर्देशक प्रकाश यादवका अनुसार सोमबारदेखि अझै अभाव हुने सम्भावना छ । शनिबार ५० युनिटका लागि रक्तदान कार्यक्रम आयोजना गरे पनि १०/१२ युनिट मात्र सङ्कलन भएको छ । हाल दैनिक साढे ३५० युनिट रगतको माग छ तर सङ्कलन भने त्यो अनुरूप नभएको केन्द्रको भनाइ छ । उपनिर्देशक यादवका अनुसार दसैँको फूलपातीसम्म एक हजार २०० युनिटभन्दा बढी रगत सङ्कलन हुने गरेकोमा अहिले १०/१२ युनिट पनि सङ्कलन भएको छैन । रगतको अभाव हुन थालेकाले रक्तदाता स्वयंसेवक र आयोजकलाई रक्तदान गर्न केन्द्रले आग्रह गरेको छ । स्वयंसेवक रक्तदाता र रक्तदान कार्यक्रम सञ्चालन गर्ने संस्थाले भने यस्ता कार्यक्रम गर्ने संस्था वा व्यक्तिलाई प्रोत्साहन गर्नुका साटो बेवास्ता गर्ने गरेकाले यो समयमा बर्सेनि रगत अभाव हुने गरेको जनाएका छन् । गोरखापत्र दैनिकबाट ।