परिवार नियोजन संघमा ब्रम्हलुट, विघटनको संघारमा

काठमाडौं १७, भदौ । नेपाल परिवार नियोजन संघमा भएको व्यापक अनियमितताका कारण संघको अस्तित्व नै संकटमा पर्ने खतरा बढेको छ । संघको नेतृत्वले दातृ निकायबाट प्राप्त रकम अनियमितता तरिकाले खर्च गर्ने र संघको कामकाज प्रचलित ऐन, कानुन र संघको विधानलाई समेत उल्लघंन गर्दै मनोमानी ढंगले संचालन गर्न थालेपनि संघको अस्तित्व संकटमा परेको हो । संघले आफ्ना कार्यक्रम संचालन गर्न कानुनबमोजिम पेन गर्नुपर्ने कागजात पेस नगर्ने, परियोजनाहरु स्वीकृतिबिना नै संचालन गर्ने, कार्यक्रम संचालन गरेपश्चात अनुमोदन नगर्ने, समाज कल्याण् परिषद्बाट अनुगमन नगराउनेलगायत समाज कल्याण ऐन २०४९, समाज कल्याण नियमवाली २०४९, संस्था दर्ता ऐन २०३४ तथा नेपाल परिवार नियोजन संघको विधानका व्यवस्थाहरु संघको केन्द्रीय समितिले लगातार उल्लघंन गरिरहेका कारण संघ संकटमा परेको छ । जसका कारण करिब १ करोड जनताले प्राप्त गरेको सेवा बन्द हुने अवस्थामा रहेको छ भने करिब ६ सय कर्मचारीको भविष्य अन्योलमा परेको छ । नेपाल समाचारपत्र दैनिकबाट  ।

आर्य फर्माको बिक्री सूची ‘झुटो’, औषधि फर्माको ल्यावमै यस्तो विवरण

काठमाडौं १०, भदौ । औषधि बनाउन प्रयोग हुने सहायक रसायन स्युडोफ्रिडिन नेपाल भित्र्याएर लागुऔषधका तस्करलाई बिक्री गरेको अभियोगमा अनुसन्धान दायरामा तानिएका आर्य फर्मा ल्यावका सञ्चालकले औषधि निर्माण गरी विक्रि गरेको झुठो विवरण भेटिएको छ । नेपालमा स्युडोफ्रिडिन मगाएर एमफेटामाइन बनाउन भारत हुँदै बर्मा र चीन पुर्‍याउने गरेको आरोपमा लागू औषध नियन्त्रण ब्युरोले आर्य फर्माका सञ्चालक रतनलाल संघाई र कामदारलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ खबर शुक्रबारको कान्तिपुरमा समचार छ । अनुसन्धानका क्रममा आर्यले नेपाल भित्र्याएको स्युडोफ्रिडिन औषधि बनाउन प्रयोग गरेको विवरण ब्युरोमा पेश गरेको थियो। उनीहरुले धरान, काठमाडौं, नेपालगञ्ज, धनगढीका औषधि विक्रेताको सूची देखाएका थिए । ब्युरोका एसएसपी गणेश केसीका अनुसार उनीहरुले औषधि दिएको दाबी गरेका औषधिका डिलरलाई बोलाएर सोधपुछ गर्दा उनीहरुले आर्यबाट औषधि नकिनेको बताएका छन् । ‘आर्यले औषधि दिएको दाबी गरेका वितरकहरुसँग जानकारी माग्दा उनीहरुको सबै विवरण झुठो देखियो,’ केसीले भने‘ वितरकको बयानबाट आर्यले स्युडोफ्रिडिनको दुरुपयोग गरेको थप प्रमाण फेला पर्‍यो ।’ ललितपुरको पाटनभित्र रहेको प्लाष्टिकको फ्याक्ट्रिमा ४ सय ७० केजी स्युडोफिड्रिन फेला परेपछी ब्युरोले संघाई समूहका रतनलाल संघाई, कर्मचारी दिलिप पण्डित मोहित हलान, श्याम तामाङ र बद्री वन पक्राउ परेका थिए । अनुसन्धानका लागी प्रहरीको न्यायिक हिरासतमा रहेका रतनले आफूले आर्यको कारोबार नहेर्ने र त्यसबारे केही जानकारी नभएको दाबी गरे पनि पक्राउ परेका म्यानेजर पण्डितले पवन र रतनको निर्देशनमा हुने स्युडोफ्रिडिनको तस्करीबारे बयानमा सकारेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले जानकारी दिए । ‘रतनले आफूलाई थाहा छैन भनेर छल्ने प्रयास गरिरहेका छन्, तर अनुसन्धानकोक्रममा फेला परेका प्रमाणले स्युडोफ्रिडिनको तस्करी पुष्टि हुने पर्याप्त प्रमाणहरु फेला परिसकेका छन्,’ ब्युरोका एसएसपी केसीले भने ।

पूर्वराष्ट्रपतिले मागे अमेरिका जाने खर्च, उपचार गर्न एक करोड भन्दा बढी लाग्ने

काठमाडौं ९, भदौ । पूर्वराष्ट्रपति रामवरण यादवले उपचारका लागि अमेरिका जानुपर्ने भन्दै सरकारसँग रकम मागेका छन् । भारतको चण्डिगढमा हालै भएको उपचारपछि अमेरिका जानुपर्ने भन्दै पूर्वराष्ट्रपति यादवले सरकारसँग खर्च मागेका हुन् । अमेरिकामा हुने उपचारका लागि आर्थिक व्यवस्था मिलाउन आग्रह गर्दै बुधबार उनका स्वकीय सहायक किरण पन्थीले मुख्य सचिव सोमलाल सुवेदीलाई भेटेर पत्रसमेत बुझाएका छन् । यादव प्रोस्टेट ट्युमर (पिसाबसम्बन्धी समस्या)का कारण बिरामी भएर साउन तेस्रो साता चण्डिगढ गएका थिए । पुष्पकमल दाहाल नेतृत्व सरकारको पहिलो मन्त्रिपरिषद बैठकले भारतमा भएको उनको स्वास्थ्योपचारका लागि १० लाख रुपैयाँ दिने निर्णय गरेको थियो । उक्त रकम यादवले बुझिसकेका छैनन् । चण्डिगढमा चिकित्सकले उच्च चिकित्सा प्रविधि प्रयोग गरी केही हप्ताभित्रै शल्यक्रिया गराउन सुझाव दिएकाले पूर्वराष्ट्रपति यादव यथाशीघ्र सुविधासम्पन्न अस्पताल जानुपर्ने भएको उनका स्वकीय सचिवालयले मुख्य सचिवलाई बुझाएको पत्रमा उल्लेख छ । नेपालमा उक्त सुविधा नरहेको भन्दै अमेरिका जान इच्छुक यादवले त्यहाँको एक अस्पतालमा सेप्टेम्बर दोस्रो साताका लागि समय पाएका छन् । पूर्वराष्ट्रपति यादव, छोरी अनिता, सुरक्षाकर्मी र सहयोगी गरी ४ जनाको यातायात, कम्तीमा डेढ महिनाको अमेरिका बसाइ र अस्पतालमा गरेर एक करोडभन्दा बढी रकम खर्च हुने अनुमान गरिएको छ । यादव निकट स्रोतका अनुसार अप्रेसन गराउन खोजेको अस्पतालमा सुरुमै ३७ हजार डलर डिपोजिट गर्न भनेको छ । अस्पतालमा ६३ हजार डलर खर्च हुने अनुमान छ । समाचार स्रोत कान्तिपुर दैनिक ।