एभरेष्ट इन्स्योरेन्स  र नर्भिक इन्टरनेशनल हस्पिटलबीच  स्वास्थ्य सेवा सम्झौता

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी र नर्भिक इन्टरनेशनल हस्पिटलबीच नगद रहित स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा नर्भिक इन्टरनेशनल हस्पिटलका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिहं र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरेका छन् । यस सम्झौता अन्तर्गत एभरेष्ट इन्स्योरेन्स कम्पनीबाट एभरेष्ट हेल्थ कियर स्वास्थ्य बीमा लेख लिनु भएका ग्राहकहरुले नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भई उपचार गराउदा उक्त हस्पिटलबाट नगद रहित उपचार सेवा पाउने भएका छन् ।

सिद्धार्थ बैंकका ग्राहकहरुलाई नेपाल मेडिसिटी हस्पिटलमा १० प्रतिशत छुट

काठमाडौं । सिद्धार्थ बैंक र नेपाल मेडिसिटी हस्पिटल, भैसेँपाटीका बीच बैंकका कर्मचारी तथा कर्मचारीका परिवार, कार्डवाहक तथा कार्डवाहकका परिवार सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख पेमेन्ट सलुसन्स् सुरेशराज महर्जन र नेपाल मेडिसिटी हस्पिटलका तर्फबाट महा प्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका छन् । बैंकका सम्पूर्ण ग्राहकवर्गहरुले यस हस्पिटलमा स्वास्थ्य सेवा लिंदा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने सम्बन्धी सम्झौता भएको छ । यस अन्तर्गत बैंकका कर्मचारी तथा ग्राहकहरुले डेविट कार्ड, प्रिपेड कार्ड र क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा विशेष छुट उपभोग हुनेछ । सिद्धार्थ बैंकले हाल देशभर १२९ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १३९ एटिएम र १ हजार १०० भन्दा बढी पिओएस् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

तारकेश्वर नगरपालिकामा ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार

काठमाडौं । तारकेश्वर नगरपालिकाले ८० वर्षमाथिका नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार सेवा प्रवाह गर्ने भएको छ । ज्येष्ठ नागरिकमा उमेरसँगै रोगले पनि चाप्ने र टाढा रहेका स्वास्थ्य संस्थासम्म उपचारका लागि जान नसक्ने भएकाले घरैमा पुगेर निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको नगर स्वास्थ्य शाखा प्रमुख अरुणकुमार गिरीले बताए । सो कार्यक्रमका लागि स्वास्थ्यचौकी प्रमुखको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली बनाइएको छ । हरेक वडामा स्वास्थ्य जाँचका लागि आवश्यक उपकरण र औषधिको थप व्यवस्थापन गरिएको प्रमुख गिरीले बताए । नगरपालिकाले स्वास्थ्य सुविधालाई नागरिकको पहुँचसम्म पुर्याउन चार शहरी स्वास्थ्य केन्द्र र प्रत्येक वडामा एक एक स्वास्थ्यचौकी सञ्चालन गरेको छ । स्वास्थ्य सेवा सहज रुपमा उपलब्ध गराउन यस वर्ष नगरपालिकाले ५० लाख रुपैयाँ छुट्याएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा स्वास्थ्यका १२ कार्यक्रम स्वीकृत गरेको छ । रासस