एक लाख बढी नागरिक स्वास्थ्य बीमामा आवद्ध, सबैभन्दा बढी कैलालीमा
बैतडी । सरकारले गरीब तथा विपन्न नागरिकको सहज स्वास्थ्य सेवामा पहुँच पुर्याउन शुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम प्रदेश नं ७ मा प्रभावकारी बन्दै गएको छ । विसं २०७२ चैत २५ गते कैलालीबाट शुभारम्भ भएको स्वास्थ्य बीमा कार्यक्रममा प्रदेशभरीका हालसम्म एक लाख बढी नागरिक आवद्ध भएको स्वास्थ्य बीमा बोर्ड, प्रदेश नं ७ का संयोजक जनक साउदले जानकारी दिए । सो प्रदेशका बैतडी, बझाङ, अछाम, बाजुरा र कैलाली गरी पाँच जिल्लामा यो कार्यक्रम लागू भएको छ । प्रदेशभरीमा सबैभन्दा बढी कैलालीमा ७७ हजार १३१ जनाले स्वास्थ्य बीमा गरेका छन् । अछाममा ८ हजार ७९८, बाजुरामा नौ हजार २८०, बैतडीमा ६ हजार ९७, र बझाङमा आठ हजार २९ जना स्वास्थ्य बीमामा आवद्ध भएको संयोजक साउदले बताए । दुई करोड रुपैयाँ योगदान रकम सङ्कलन स्वास्थ्य बीमाबाट सो प्रदेशमा दुई करोड रुपैयाँ योगदान रकम सङ्कलन भएको छ । विस २०७२ चैत २५ गते शुभारम्भ भएको स्वास्थ्य बीमा कार्यक्रममा प्रदेशकै सबैभन्दा बढी कैलालीमा एक करोड ३६ लाख १७ हजार ७९ रुपैयाँ सङ्कलन भएको स्वास्थ्य बीमा बोर्ड कार्यालय धनगढीले जनाएको छ । बैतडीमा ३० लाख ७० हजार ११५, अछाममा १७ लाख ७३ हजार ७२५ ,बाजुरामा नौ लाख १६ हजार ८३० र बझाङमा नौ लाख आठ हजार योगदान रकम सङ्कलन भएको छ । स्वास्थ्य बीमा प्रभावकारी स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका सर्वसाधारणले सहज रुपमा स्वास्थ्य सेवा पाउन भन्ने उद्देश्यले सरकारले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको हो । नेपाल सरकार सामाजिक स्वास्थ्य विकास समितिमार्फत ल्याइएको स्वास्थ्य बीमा कार्यक्रम हाल प्रभावकारी बन्दै गएको छ । भौगोलिक कठिनाई, गरीबी, नागरिकको चेतनास्तरलगायत चुनौतीका बाबजुद पनि बीमा कार्यक्रममा नागरिकको आकर्षण देखिएको प्रदेश नं ७ का संयोजक जनक साउदले बताए । उनले भने, “थुप्रै चुनौतीबीच पनि हामीले जनतालाई विश्वासमा लिन सफल भएका छौ ।” गरीब नागरिकका लागि स्वास्थ्य बीमा बढी आवश्यक हुने भएकाले बीमा गराएर पैसाको अभावमा उपचारबाट वञ्चित हुनुपर्ने समस्याबाटमुक्त हुन सबै नागरिकलाई आग्रह गरिएको छ । बीमापछि आवश्यक परेका बेला स्वास्थ्य सेवा उपभोग गर्न पाउने, उपचारका लागि ऋण खोज्न नपर्ने, गुणस्तरीय सेवा पाइने भएकोले जिल्लामा पछिल्लो समय आकर्षण बढ्दै गएको हो । पाँच जनासम्मको परिवारले वार्षिकरूपमा प्रतिपरिवार दुई हजार ५०० रुपैयाँ तिर्नुपर्ने र पाँचभन्दा बढी भए प्रतिसदस्य ४२५ का दरले थप रकम शुल्क तिरेर एक वर्षको अवधिका लागि स्वास्थ्य बीमामा आवद्ध हुन सकिन्छ । पाँच जनाको परिवारका लागि प्रति परिवार वार्षिक ५० हजार रुपैयाँसम्मको सेवा पाइने र पाँचभन्दा थप सदस्य भएमा जनही १० हजार रुपैयाँ गरी बढीमा एक लाख रुपैयाँसम्मको सेवा पाइने बताइएको छ । आर्थिक अवस्था कमजोर भएका परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुँदा योगदान रकममा बीमा बोर्डले छुट दिने गरेको छ । अति गरीबलाई शत प्रतिशत, मध्यम गरीबलाई ५० प्रतिशत, स्वास्थ्य स्वयंसेविकाको परिवारलाई स्वास्थ्य बीमामा आवद्ध भए कूल योगदान रकमको रु २५० छुट दिइने बोर्डले जनाएको छ । स्वास्थ्य बीमामा आवद्ध हुँदा पाँच जनाको परिवार बराबर दुई हजार ५०० कूल योगदान रकम लाग्ने गरेको छ । सो भन्दा बढी सङ्ख्या भएका परिवारलाई थप ४५० का दरले योगदान रकम लाग्ने गर्दछ । हाल एक हजार ११८ औषधिका प्रकार औषधि स्वास्थ्य बीमा कार्यक्रममा सूचीकृत छन् । साथै सिटी स्क्यान, एमआरआई सुविधा बीमा कार्यक्रममा थपिएका छन् । कार्यक्रमबाट बीमा कर्ताले बहिरङ्ग, प्रसूति, एक्स–रे, प्रयोगशाला, घाउ चिरफार, टाँका सिलाइ, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, फिजियोथेरापी, मधुमेह, आँखा सेवा लगायतका ३२ बढी किसिमका सेवा पाउनेछन् । देशभरीका ४२ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएकोमा ३९ जिल्लामा सेवा प्रारम्भ भएको छ । सरकारले २०७५ सालभित्र देशका ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । रासस
पाँचथरमा हैजा फैलिँदा एकैसाथ एकसय ५० भन्दा बढी भेडाबाख्राले आँखा देख्न छोडे
काठमाडौं। पाँचथरको फालेलुङ गाँउ पालिकाका विभिन्न खर्कका भेडीगोठमा हैजा फैलिँदा एकैसाथ एकसय ५० भन्दा बढी भेडाबाख्राले आँखा देख्न छोडेका छन् । शुरुमा आँखाबाट आँशु आउने, कचेराले क्रमशः आँखा ढाक्न थाल्ने, नानी धमिलो हुँदै गएर पुरै आँखा सेतो हुने त्यसपछि आँखा चिम्म हुने समस्याका कारण फालेलुङ–४ महभीरका टेकबहादुर गुरुङ, फालेलुङ–२ जिमाहाका शुखवहादुर राई र फालेलुङ–३ का मनप्रसाद केरुङले फालेलुङ–४ बिखेमा सामूहिक रुपमा पालेका १३५ वटा भेडा बिरामी परेका छन् । यसरी बिरामी परेका भेडाले करीव एक सातासम्म आँखा नै नदख्ने भएकाले चरनमा जाँदा एक आसपमा ठोक्एिर लड्ने तथा गोठालालाई फर्काएर गोठसम्म ल्याउन पनि समस्या हुने गरेको भेडी गोठ सञ्चालक मनप्रसाद केरुङले बताए। यसैगरी फालेलुङ–६ बरभञ्ज्याङकी सविना राईका २१ वटा बाख्रामा पनि यस्तै समस्या देखिएको पशु प्राविधिक लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए। उहाँका अनुसार पहिलो पटक बिखेमा पालिएका एकाध भेडामा देखिएको यो समस्या क्रमशः एकदेखि अर्कामा साउनको अन्तिम सातादेखि बिखेस्थित भेडी गोठमा देखिएको थियो । ती भेडा बाख्रालाई आई ड्रप्स र बोरिक एसिड प्रयोग गरी आँखा सफा गरिदिँदा केही हदसम्म न्यूनीकरण भए पनि पूर्ण रुपमा नियन्त्रण भने नभएको उपचारमा संलग्न बाँस्कोटाको भनाई छ । रासस
डा.अनिल भट्टराईले बचाए दुई आमा छोरा, अहिलेसम्मकै दुर्लभ ‘ओपन हार्ट सर्जरी’ गर्न सफल
काठमाडौं । बरिष्ठ मुटुरोग विशेषज्ञ उप-प्रध्यापक डा. अनिल भट्टराईको नेतृत्वमा त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा रहेको मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा अहिलेसम्मकै दुर्लभ खुल्ला हृदय शल्यक्रिया (ओपन हार्ट सर्जरी) सफल रुपमा सम्पन्न भएको छ । रामेछाप सुनपाती गाउँपालिकाकी २४ वर्षीया (३७ हप्ताकी गर्भवती महिला) प्रमिला अर्यालको मुटुको सफल शल्यक्रिया सम्पन्न भएको हो । आमा र छोरा दुवैको स्वास्थ्य अवस्था अहिले राम्रो रहेको शल्यक्रियाको नेतृत्व गरेका डा. भट्टराइले जानकारी दिए । अर्याललाई टाईप ए अरोटिक डिसेक्शन विथ प्रेगनेन्सी रोग लागेको थियो । यो दुर्लभ रोग हो । यो रोग लागेपछि विरामी बाँच्ने सम्भवना अत्यन्तै न्यून हुन्छ । तर, मनमोहनको यो ९ वर्षको ईतिहाँसमा पहिलोपटक हो यस्तो रोग लागेका विरामीको सफल शल्यक्रिया भएको डा. भट्टराईले जानकारी दिए । उनले भने,“बच्चा जन्मिँदा बेहोस थियो । तीन घण्टापछि उसको होस आएको छ । आमालाईपनि अहिले भेन्टिलेटरबाट छुट्याएर आईसियूमा सारिएको छ ।” आमा र बच्चा दुवै बचाउन सफल भएकोमा खुशी व्यक्त गर्दै डा. भट्टराईले भने,“मेरो करिअरको १३ वर्षको ईतिहासमा यस्तो दुर्लभ रोग लागेका विरामीको सफल शल्यक्रिया गरेर नयाँ जीवन दिन पाउँदा खुशी लागेको छ । मेरो टिमलाई म धन्यवाद भन्न चाहन्छु ।” सेन्टरका कार्यकारी निर्देशक प्राध्यापक डा. उत्तमकृष्ण श्रेष्ठलेपनि यस्तो दुर्लभ रोग लागेको विरामीको आफ्नो सेन्टर र यसका डाक्टरहरुले सफल शल्यक्रिया सम्पन्न गरेर आमा र छोरा बचाउन सफल भएकोमा खुशी व्यक्त गरे । उनले भने,‘‘म टिमप्रति आभारी छु । उहाँहरुलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु।’ उक्त शल्यक्रियामा कार्डियाक सर्जरी टिमका डा. भट्टराईका साथै डा. प्रभात खकुरेल, डा. रवि बराल र डा. निकेश भण्डारी सहभागी थिए । त्यस्तै एनस्थेसिया टिममा डा. विश्वास प्रधान, डा. विभुष श्रेष्ठ, डा. मन्दिरा बस्नेत, डा. प्रिष्का बास्तोला र डा. अर्जुन गुरुङ सहभागी थिए । गाईनोकोलोजीमा भने डा. ज्योति शर्मा, डा. बेखा लक्ष्मी मानन्धर, डा. सुनिति रावल, डा. सुनिता बज्राचार्य र डा. सुभाना माष्के सहभागी थिए । त्यस्तै बाल रोग विशेषज्ञमा भने डा. प्रदीप पौडेल र डा. कविता मानन्धर उपचारमा संलग्न थिए । परफ्युजन टिममा महेन्द्र भट्ट, पुर्ण मोक्तान र रविन्द्र शाह संलग्न थिए । नर्सिङ स्टाफहरुमा जया शर्मा, अर्चना गुरुङ, योजना रेग्मी, सरिता त्रिपाठी, लक्ष्मी योञ्जन, रुची शाह र रबिना मानन्धर थिए । डा. भट्टराई सामाजिक सेवामासमेत सक्रिय छन् । उनको पहलमा सयौं असहाय, गरिब तथा दुर्गमका मुटुरोगीहरुको सफल उपचार भएको छ । अहिलेसम्म उनले ९० भन्दा बढि विरामीको निःशुल्क मुटुको शल्यक्रिया गरिसकेका छन् । डा. भट्टराईले रुकुम, रोल्पा, कालिकोट, पर्वत, पाल्पालगायत ४० भन्दा जिल्लामा आफ्नो नेतृत्वमा निःशुल्क मुटु शिविर लिएर गएका छन् । शिविरको क्रममा भेटिएका गम्भिर प्रकृतिका मुटुरोगीहरुलाई आफ्नो पहलमा काठमाडौं ल्याई सफल उपचार गराएर घर पठाएका छन् । उनले ‘सेभ द हार्ट’ नामक सामाजिक संस्थामार्फत यस्तो कार्य गरिरहेका छन् ।