देशकै पहिलो बलम्बु ‘फ्लाइओभर’ तयार (फोटो फिचर)
काठमाडौं । नेपालको सडक सञ्जालमा बहुप्रतीक्षित नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आयोजना अन्तर्गत बलम्बुस्थित ‘फ्लाइओभर’ को निर्माण सम्पन्न भएको छ । मुलुककै पहिलो आधुनिक फ्लाइओभरका रूपमा रहेको यस संरचनाले काठमाडौंको प्रवेशद्वारमा हुने ट्राफिक जामको समस्यालाई सदाका लागि अन्त्य गर्ने विश्वास गरिएको छ । आयोजनाका अनुसार फ्लाइओभरको कालोपत्रे गर्ने काम सकिएसँगै सडक बत्ती, ट्राफिक लाइट, सडक चिह्न र डिभाइडर राख्ने जस्ता सबै फिनिसिङका कामहरू सम्पन्न भइसकेका छन् । अहिले यो फ्लाइओभर सञ्चालनका लागि पूर्ण रूपमा तयारीअवस्थामा रहेको छ । १८० मिटर लम्बाइ र ७ मिटर चौडाइ रहेको यस फ्लाइओभरले त्रिभुवन राजमार्गलाई सुरुङमार्गसँग सिधा जोड्नेछ । यसले गर्दा काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधनहरू कुनै अवरोध बिना सुचारु रूपमा गुड्न पाउनेछन् । नागढुङ्गाको घुमाउरो र जोखिमपूर्ण सडकको विकल्पका रूपमा तयार भइरहेको सुरुङमार्ग आयोजनाको यो एउटा महत्वपूर्ण हिस्सा हो । फ्लाइओभर सञ्चालनमा आएपछि थानकोट-बलम्बु क्षेत्रमा हुने सवारी चाप उल्लेख्य रूपमा घट्ने र इन्धन तथा समयको समेत ठुलो बचत हुने अपेक्षा गरिएको छ ।
मनाङमा ३० मेगावाटको म्यार्दी आयोजना निर्माण हुने, प्रतिमेगावाट १३ करोड लागत
काठमाडौं । मनाङ जिल्लाको नासोङ गाउँपालिका र लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिकको बीचमा कूल ३० मेगावाट क्षमताको म्यार्दी जलविद्युत् आयोजना निर्माण हुने भएको छ । आयोजना निर्माणको प्रक्रिया स्वरूप वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयारीको काम सुरु गरेको छ । म्यार्दी खोला हाइड्रोपावर कम्पनी प्रालि आयोजनाको प्रस्तावक रहेको छ । आयोजना नदी प्रवाही प्रकृतिको रहेको छ । आयोजनाबाट वार्षिक रुपमा औसत १७३.४४ गिगावाट घण्टा ऊर्जा उत्पादन हुने विश्वास लिइएको छ । आयोजनाबाट उत्पादित बिजुली १० किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारण लाइन मार्फत धारापानीमा रहेको २२० केभी क्षमताको राष्ट्रिय प्रसारण प्रणालीमा जोडेर पठाइनेछ । आयोजनाको कूल लागत ३ अर्ब ९० करोड ९७ लाख रुपैयाँ रहनेछ । यस आधारमा प्रतिमेगावाट लागत १३ करोड ३ लाख रुपैयाँ रहनेछ । वन तथा वातावरण मन्त्रालयले आयोजनाका कारण पर्न सक्ने सम्भावित वातावराीय प्रभावका बारेमा जानकारी दिन सम्वद्ध सबै सरोकारवालालाई आग्रह गरेको छ ।
अमृत कन्स्ट्रक्सनले ६ महिनामै बनायो मोटरेबल पुल, लागत साढे ३ करोड रुपैयाँ
काठमाडौं । गोरखाको पालुङटार नगरपालिका-९ सेरास्थित चुक्तीखोला मोटरेबल पुल निर्माणको काम ६ महिनामा नै सम्पन्न भएको छ । गोरखाको अमृत कन्स्ट्रक्सनले गत असारमा जिम्मा लिएको पुल निर्माणको काम पुस मसान्तमा सम्पन्न भएको हो । ३ करोड ४१ लाख ४२ हजार रुपैयाँको लागतमा पुल निर्माणको सम्झौता भएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर मोहन श्रेष्ठले बताए । उनका अनुसार कार्यालयले ठेकेदार कम्पनीसँग १८ महिनाभित्र निर्माण सम्पन्न हुने गरी ठेक्का सम्झौता गरेको थियो । ‘निर्माण कम्पनीले ठेक्का सम्झौता भएको ६ महिनाभित्रै काम सम्पन्न गरेको छ,’ उनले भने । पुलको लम्बाइ २० मिटर छ भने चौडाइ ८.४० मिटर रहेको छ । पालुङटारको तल्लो सेरा र माथिल्लो सेरा जोड्ने चुक्तीखोला पुल निर्माण सम्पन्न भएसँगै त्यहाँका स्थानीयले राहतको सास फेरेका छन् । यसअघि पक्की पुल नहुँदा सेराका बासिन्दा काठे पुल हालेर आवतजावत गर्न बाध्य थिए । बर्खाको बेलामा विद्यार्थीलाई विद्यालयसम्म पुग्न पनि कठिनाइ हुने गरेको पालुङटार नगरपालिका-९ का वडाअध्यक्ष भोजराज पाण्डे बताउँछन् । ‘जिल्लामा विकास निर्माणका काम जिम्मा लिएर अलपत्र पार्ने प्रवृत्ति कायमै छ । यसरी निर्धारित समय अगावै काम सम्पन्न गर्ने निर्माण कम्पनीलाई प्रोत्साहन गर्नुपर्छ,’ उनले भने । मोटरेबल पुल बनेपछि आवतजावतसँगै कृषि सामग्री ढुवानी गर्न समेत सहज हुने छ ।