ऊर्जाको इतिहासमा नाम लेखाउने अवसर मन्त्री विराजभक्त श्रेष्ठलाई छ : अध्यक्ष कार्की
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्की ऊर्जा क्षेत्रको इतिहासमा नाम लेखाउने अवसर मन्त्री विराजभक्त श्रेष्ठलाई रहेको बताएका छन् । इप्पानको २६ औं साधारण सभा तथा ८ औं अधिवेशनमा स्वागत मन्तव्य दिँदै कार्कीले यस्तो बताएका हुन् । ‘ऊर्जाको क्षेत्रमा इतिहासमा नाम लेख्ने समय आएको छ । अहिलेसम्म शैलजा आचार्य भन्ने गरेका थियौं । तर अब त्यो ठाउँमा विराजभक्त क्षेष्ठको नाम पाउन सक्ने छौं,’ उनले भने । उनले २०४९ सालमा सरकारले लिएको लक्ष्यले देश लोडसेडिङ अन्त्य गरेर ऊर्जा व्यापारमा प्रवेश गरेको बताए । निजी क्षेत्रको प्रवेश नभएको भए अहिले पनि १६ घण्टा लोडसेडिङको अवस्था भोग्नुपर्ने अवस्था रहने उनको भनाइ छ । बजेट र नीति तथा कार्यक्रम निजी क्षेत्रको समस्या समाधान गर्ने गरि आएको बताउँदै कार्यान्वयन हुने विश्वास व्यक्त गरे । ‘हामीले २÷३ वर्षदेखि निरन्तर उठाउँदै आइरहेको कुरा र वाचापत्रमा समेटिएको कुरा नीति तथा कार्यक्रम र बजेटमा पनि आएको छ । त्यसैले अब काम हुन्छ भन्ने विश्वास छ,’ कार्कीले भने, ‘टेक अर पे मा पीपीए गर्न भनेको छ । हामीले त्यो काम गर्छ भन्ने आशा छ। १८० दिनमा पीपीए गर्ने भनेको छ । १०० दिन पनि भएको छैन । त्यो काम पनि हुन्छ भन्ने आशा गरेका छौं ।’ बजेटमा आएका कुरा कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको समेत उनले बताए । ‘यस अगाडिको कुरा पनि बजेटमा धेरै कुरा आए । तर कार्यान्वयन हुन सकेनन् । तर यसपालि रास्वपाको दुइतिहाइ नजिकको सरकार आएको छ । हामीले उठाउँदै आएको कुरा नीति तथा कार्यक्रम र बजेटमा पनि आएको छ,’ कार्कीले भने, ‘यसपालि कार्यान्वयन हुन्छ भन्ने आशा छ ।’ आरसीओडीको म्याद थप्न पनि सरकारलाई अनुरोध गरे । ‘हामीले धेरै लामो समयदेखि आरसीओडीको म्याद थप्न आग्रह गरेका छौं । तर पटक पटक बोर्डमा गएपनि म्याद थप भएको छैन । मन्त्रीज्यूले म्याद थपिदिनु हुन्छु भन्ने हामीले आशा गरेका छौं ।’ सेबोनमा आइपीओको प्रक्रिया रोकिएको धेरै भएको भन्दै त्यसलाई समाधान गर्न पनि आग्रह गरे । ‘अप्लाइ गरेको २३ वर्ष भयो । तर अहिलेसम्म कहिले आइपीओ स्वीकृति हुन्छ थाहा छैन । हामीलाई तालुक मन्त्रालयबाट आउन आग्रह गरियो। हामी अर्थ मन्त्रालयबाट पनि गयौं। तर हाम्रो समस्या समाधान भएन,’ उनले भने, ‘सरकारले यो समस्याको समाधान गरिदिन्छ भन्ने आशा गरेका छौं ।’
ऊर्जा क्षेत्रमा ठूलो लक्ष्य : १० वर्षमा १०५ खर्बको योगदान, साढे ७ लाखलाई रोजगारी
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले निजी क्षेत्रको सक्रिय सहभागिताले देशको जलविद्युत् क्षेत्रमा ऐतिहासिक रूपान्तरण आएको दाबी गरेको छ । इप्पानको २४औं वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा निजी क्षेत्रका उपलब्धि, वर्तमान अवस्था र आगामी दशकका ऊर्जा लक्ष्यबारे विस्तृत छलफल गरिएको हो । इप्पानका अनुसार हाल नेपालको कुल जडित विद्युत् क्षमता ४ हजार ३०० मेगावाट पुगेको छ, जसमा निजी क्षेत्रको योगदान उल्लेखनीय रहेको छ । निजी क्षेत्रको प्रवेश हुनुअघि २६ वर्षअघि देशको विद्युत् उत्पादन क्षमता केवल २५२ मेगावाटमा सीमित थियो । अहिले निजी क्षेत्रले मात्र ३ हजार ४६३ मेगावाट विद्युत् उत्पादन गरिरहेको इप्पानको भनाइ छ । यसै उपलब्धिसँगै देशमा विद्युत् पहुँच १४ प्रतिशतबाट बढेर ९८ प्रतिशत जनसंख्यामा पुगेको इप्पानले जनाएको छ । ऊर्जा क्षेत्रमा भएको यो विस्तारले ग्रामीण तथा विकट क्षेत्रसम्म विद्युत् पहुँच विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेको संस्थाको दाबी छ । कार्यक्रममा बोल्दै इप्पानका अध्यक्ष गणेश कार्कीले सरकारले अघि सारेको ऊर्जा विकास मार्गचित्र र निजी क्षेत्रको भूमिकाबारे चर्चा गर्दै आगामी दशकका लागि ठूलो अवसर रहेको बताए । उनका अनुसार सरकारले आगामी १० वर्षमा २० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ र पीपीए (Power Purchase Agreement) लाई आधार बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएको छ । अध्यक्ष कार्कीले विद्युत् उत्पादन अनुमति (लाइसेन्स) को म्याद ५० वर्ष पुर्याउने तथा विद्युत् व्यापारमा निजी क्षेत्रलाई समेत सहभागी गराउने नीतिगत सुधारले ऊर्जा क्षेत्रमा सकारात्मक वातावरण बनेको उल्लेख गरे । साथै, सरकारले ल्याएको १०० दिने कार्यसूचीमार्फत ऊर्जा खपत र निर्यात विस्तार गर्ने रणनीतिलाई निजी क्षेत्रले पूर्ण रूपमा समर्थन गर्ने उनले बताए । यता, इप्पानका वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले आयोजना निर्माण प्रक्रियामा देखिएका प्रशासनिक तथा कानुनी जटिलताप्रति ध्यानाकर्षण गराउँदै एकलद्वार प्रणाली तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनका अनुसार एउटा आयोजना अघि बढाउन ८ वटा मन्त्रालय र २३ वटा विभाग धाउनुपर्ने बाध्यता अझै कायम छ, जसले लगानी वातावरण प्रभावित बनाइरहेको छ । उनले वन तथा जग्गा प्राप्तिका समस्या समाधान गर्दै १० मेगावाटभन्दा कम क्षमताका आयोजनामा पीपीए खुला गर्नुपर्ने र प्रसारण लाइनमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्नुपर्ने सुझाव पनि दिए । इप्पानका अनुसार हाल निजी क्षेत्रले ५ हजार ७९२ मेगावाट बराबरका १८७ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ भने १६ हजार मेगावाटभन्दा बढी क्षमताका आयोजना पीपीए सम्झौताको प्रतीक्षामा छन् । जलविद्युत्सँगै सौर्य ऊर्जा क्षेत्रमा पनि निजी क्षेत्रको विस्तार तीव्र देखिएको छ । हालसम्म २१ वटा सौर्य आयोजनाबाट १५० मेगावाट विद्युत् उत्पादन भइसकेको छ । ऊर्जा क्षेत्रले प्रत्यक्ष रूपमा पूर्वाधार विकासमा पनि ठूलो योगदान पुर्याएको इप्पानको अध्ययनले देखाएको छ । निजी क्षेत्रका आयोजनामार्फत हालसम्म ३ हजार ७०० किलोमिटर सडक, ४५० किलोमिटर सुरुङ, १६० स्वास्थ्य केन्द्र र १०५ विद्यालय निर्माण भएका छन् । यसैबीच, निजी क्षेत्रले सरकारलाई वार्षिक २५ अर्ब रुपैयाँभन्दा बढी राजस्व बुझाउँदै अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ । सरकारले ऊर्जा विकास मार्गचित्र २०८१ मार्फत सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । उक्त लक्ष्य पूरा भएमा आगामी १० वर्षमा १०५ खर्ब रुपैयाँ बराबरको आर्थिक योगदान हुने र करिब ७ लाख ५० हजार रोजगारी सिर्जना हुने इप्पानको प्रक्षेपण छ । साथै, निजी क्षेत्रले भारत र बङ्गलादेशमा विद्युत् निर्यातका लागि मनीकरण पावर लिमिटेडसँग सम्झौता गरिसकेको जानकारी दिइएको छ । यसले नेपाललाई ऊर्जा क्षेत्रमा आत्मनिर्भर बनाउँदै वैदेशिक मुद्रा आर्जनको प्रमुख स्रोत बनाउने विश्वास व्यक्त गरिएको छ ।
उत्तम भ्लोन लामा समूहबाट ६ जना उम्मेदवार निर्विरोध निर्वाचित
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) मा उत्तम भ्लोन लामा समूहको तर्फबाट विभिन्न पदका ६ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिले बिहीबार साँझ सार्वजनिक गरेको उम्मेदवारहरूको अन्तिम नामावलीअनुसार भ्लोनको समुहबाट उपमहासचिव पदमा हिमसिला पावर कम्पनी लिमिटेडकी अध्यक्ष कविता पोखरेल निर्विरोध निर्वाचित भएकी हुन् । सचिवहरुमा रिडी पावर कम्पनी लिमिटेड, साझा पावर कम्पनी लिमिटेड तथा भोजपुर शिवालय हाइड्रोपावर कम्पनी प्रालिका अध्यक्ष कुबेरमणि नेपाल, ग्रीन हाइडेल प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक विजय मोहन भट्टराई, ह्वाइट लोटस पावर लिमिटेडकी कार्यकारी निर्देशक सुमन जोशी, युनियन हाइड्रोपावर लिमिटेड तथा चेन्ज नेपालकी अध्यक्ष अभिज्ञा मल्ल तथा तुन्डी पावर कम्पनी प्रालिकी उपमहाप्रबन्धक ईशा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । सचिव पदमा सुरुमा ७ जनाको उम्मेदवारी परेको भए पनि दाबी विरोधमाथिको छानबिनपछि २ जनाको उम्मेदवारी खारेज भएको थियो । पद संख्या अनुसार कायम रहेका ५ उम्मेदवार स्वतः निर्वाचित भएका हुन् । निर्विरोध निर्वाचित सबै उम्मेदवार लामाको टिमका रहेका छन् । वरिष्ठ उपाध्यक्ष पदका लागि उत्तम भ्लोन लामा र बलराम खतिवडा प्रतिस्पर्धामा छन् । इप्पानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । उपाध्यक्ष पदमा उत्तरकुमार श्रेष्ठ, नरेन्द्र बल्लभ पन्त, बिक्रम बिष्ट, भरतप्रसाद नेपाल, भरतबहादुर खत्री, सुसन कर्माचार्य र हिमप्रसाद पाठक चुनावी मैदानमा छन् । सात उम्मेदवारमध्ये पाँच जना उपाध्यक्षमा निर्वाचित हुनेछन् । महासचिव पदका लागि टेकनाथ (टी.एन.) आचार्य र प्रकाशचन्द्र दुलालबीच प्रतिस्पर्धा हुनेछ भने कोषाध्यक्ष पदमा मिथुन चक्रवर्ती प्रसाद पौडेल र शंकर बस्याल उम्मेदवार छन् । खुलातर्फ सात सदस्य पदका लागि १४ जनाले उम्मेदवारी दिएका छन् । महिलातर्फ तीन सदस्य चयन हुने व्यवस्था रहेकामा चार जनाको उम्मेदवारी परेको छ । खुला सदस्यतर्फ अनुप आचार्य, इन्दिरा पन्त, कदम केसी, जगदीश शिवाकोटी, जगतबहादुर पोखरेल, नारायण कँडेल, प्रदीप ओली, डा.भूषण गुरागाईं, मिलन खड्का, वर्णन लामिछाने, बाबुराम थापा, सकुन्द ओझा, सन्तोषराज नेपाल र सोमनाथ कँडेल प्रतिस्पर्धामा छन् । महिला सदस्यतर्फ ज्योति गैरे, प्रतिमा ज्ञवाली, सङ्गीता धमला र सिर्जना खड्का चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । इप्पानको विधानअनुसार कार्यसमितिमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव, पाँच सचिव, एक कोषाध्यक्ष, सात खुला सदस्य तथा तीन महिला सदस्य रहने व्यवस्था छ । इप्पानको २४औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशन शुक्रबार (जेठ २९ गते) आयोजना हुँदैछ ।