भूकम्पपछिको पुनर्निर्माणः साढे ३ खर्ब खर्च, ८ लाख घर बैंकिङ पहुँचमा, यस्तो छ प्रगति विवरण
काठमाडौं । भूकम्पले क्षति भएको सरचना पुर्नर्निमाण गर्नमा साढे ३ खर्ब रुपैयाँ खर्च भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार ६ वर्षको अवधिमा ३ खर्ब ५७ अर्ब रुपैँया खर्च भएको हो । प्राधिकरणले भूकम्पपछि भएको भएको पुर्नर्निमार्णमा भएको खर्च र कार्यप्रगति सार्वजनिक गर्दै यो अवधिमा सो रकम खर्च गरेको बताएको हो । यो अवधिमा प्राधिकरणले विपद्लाई अवसरका रूपमा उपयोग गरी भूकम्पप्रभावित ३२ जिल्लामा निजी आवास, शैक्षिक तथा स्वास्थ्य संस्था एवं पुरातात्विक सम्पदासहित ठूलो संख्यामा क्षतिग्रस्त संरचनालाई भूकम्पप्रतिरोधी ढंगले पुनर्निर्माण गर्नका लागि छुट्याइएको बजेटबाट हालसम्म सो रकम खर्च भएको जनाएको छ । पुनर्निर्माणका लागि स्वीकृत पञ्चवर्षीय पुनर्निर्माण तथा पुनस्र्थापना योजनाअनुसार परिमार्जित कुल बजेट आवश्यकता ४ खर्ब ८८ अर्ब रुपैंयामध्ये हालसम्म नेपाल सरकार एवं दातृ निकायहरुको समेत गरी गत वर्ष चैत मसान्तसम्म कुल ३ खर्ब ५७ अर्ब रुपैँया खर्च भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले बताए । उनका अनुसार दाता सम्मेलनमा प्रतिबद्धता व्यक्त भएको ४ सय १० अर्ब रुपैयाँमध्ये ६७ अर्ब राहत तथा उद्दार एवं अन्य कार्यक्रममा खर्च भएको र भारतीय एक्जिम बैंकतर्फको ४९ अर्ब रुपैयाँ नेपाल सरकारतर्फ स्रोतान्तर भएको हुँदा वास्तविक प्रतिबद्धता रकम जम्मा २ सय ९४ अर्ब रुपैयाँ मात्र रहेको छ । यसमध्ये २ सय ४३ अर्ब रुपैँयाका लागि सम्झौता भई स्रोत सुनिश्चितता भएको छ । गैरसरकारी संस्थाहरुसँग करिव ९० अर्ब रुपैँया परिचालनका लागि सम्झौता भई करिव ७२ अर्ब रुपैँया परिचालन भएको उनले बताए । नेपालको पुनर्निमाणमा दातृ निकायबाट प्रतिबद्धता भएको सत प्रतिशत् रकम परिचालन हुने सुनिश्चत भएको उनको भनाई छ । उनले पुनर्निर्माणबाट करिब ८ लाख घरपरिवारको बैंक खातामार्फत् वित्तीय पहुँचमा बृद्धि भएको समेत बताए । यस्तै हालसम्म पुनर्निर्माण र पुनस्र्थापनाको प्रमुख क्षेत्र निजी आवासमा ९३ प्रतिशतको उपलब्धि प्राप्त भएको छ । अनुदान सम्झौता गरेका ८ लाख ११ हजार ७ सय ५४ लाभग्राहीमध्ये घर पुनर्निर्माण सुरु गरेका कुल लाभग्राहीको संख्या ७ लाख ५३ हजार १ सय ४ अर्थात् झण्डै ९३ प्रतिशत पुगेको छ । पहिलो किस्ता वितरण ९९.८६ प्रतिशत, दोस्रो किस्ता वितरण ८६.७८ प्रतिशत र तेस्रो किस्ता वितरण ७८.६६ प्रतिशत पुगिसकेको छ । आर्थिक वर्षभित्र निजी आवासको मूलभूत काम सम्पन्न गर्ने लक्ष्य रहेको उनको भनाई छ । यस्तै, भूकम्पबाट क्षतिग्रस्त कुल ७ हजार ५ सय ५३ विद्यालयमध्ये ८३ प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न भएको उनले बताए । १७ प्रतिशत विद्यालय पुनर्निर्माण भइरहेका छन् । यी विद्यालयको पुनर्निर्माण यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । त्यस्तै, कुल १ हजार १ सय ९७ स्वास्थ्य संस्थामध्ये ६ सय ९८ को पुनर्निर्माण सम्पन्न भएको छ भने २९६ को पुनर्निर्माण जारी छ । यस्तै, कुल ४ सय १५ सरकारी भवनमध्ये ९० प्रतिशतको पुनर्निर्माण सम्पन्न भइसकेको छ । प्राधिकरणअन्तर्गत निर्माण भइरहेका सुरक्षा निकायका २ सय १६ वटा संरचनामध्ये २ सय १४ को पुनर्निर्माण सम्पन्न भइसकेको छ । पुनर्निर्माणका क्रममा विभिन्न जिल्लामा ७६२ कि.मी. सडक पुनर्निर्माण गर्नुपर्नेमा ५२५ कि.मी. सडकको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने बाँकीको पुनर्निर्माण मुलतः यसै आव भित्रै सम्पन्न हुने उनको भनाई छ । सम्बन्धित सामग्री पुनर्निर्माणका ६ वर्ष: यस्तो छ प्रगतिको फेहरिस्त, सुशिल ज्ञवालीको विचार
कैलालीको छ लेन सडकः सम्झौता सकिँदा आधा पनि काम सकिएन
भजनी । कैलालीको टीकापुर नगरपालिका-१ को जमरा पुलदेखि बसपार्कसम्मको छ लेन सडक बन्दाबन्दी र विद्युत् पोल नसार्दा निर्माण कम्पनीले सडक निर्माण आधासमेत गर्न सकेको छैन । टीकापुर-१ जमरा पुलदेखि बसपार्कसम्म स्मार्ट सिटीअन्तर्गत निर्माण हुन लागेको छ लेन सडक विद्युत् पोलको कारण देखाउँदै निकै सुस्त गतिमा निर्माण भइरहेको छ । बहुप्रतिक्षित विसं २०७७ फागुन ७ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी दुई वर्षका लागि सम्झौता भएको सडक समयावधि सकिँदासमेत आधासमेत निर्माण हुन सकेको छैन । सङ्घीय सरकारको २० करोड रुपैयाँ लागतमा निर्माण हुने जमरा पुलदेखि बसपार्कसम्मको दुई दशमलव तीन किलोमिटर छ लेन सडक रमण केएस जेभीले निर्माण गरिरहेको छ । हालसम्म कम्पनीले सडकमा नाला, कल्भर्ट र वाल निर्माणको काम गरिरहेको छ । समयवधि सकिँदासमेत सडकको बेससमेत नबन्दा स्थानीयवासी आक्रोशित बनेका छन् । सडकको बेससमेत निर्माण नहुँदा सडक धुलाम्मे बन्न पुगेको हो । निर्माण कम्पनीको लापर्वाहीका कारण मुख्य सडक क्षेत्रका बासिन्दाले दिनहुँ धुलो खानुपरेको स्थानीय व्यापारी बताउँछन् । “निर्माण कम्पनीको लापर्वाहीले सडकमा धुलो उडेर हैरान छौं । अन्य नियमनकारी निकायले पनि व्यवस्था गर्दै आएका छन् ।” स्थानीय व्यापारी हेमन्त रावलले भने, “कोरोनाको भन्दा पनि बढी हामीलाई यो धुलोको समस्या छ, बाहिर राखेको सामानसमेत बिग्रिन्छ, वैशाखको महिनामा हावा चल्दा त स्वास फेर्नसमेत मुस्किल हुने अवस्था छ ।” उनले सडकमा पानी नहालेको दिन सामान बाहिर राख्न सकिने अवस्था नरहेको जनाउँदै सडकमा पानी हालेको दिन भने केही राहत हुने गरेको बताए । सडकमा पानी हाल्ने काम निर्माण कम्पनी गरेको भए पनि वैशाख महिनाको चर्को घामले सडकमा हालेको पानी केही घण्टामै सुक्ने गरेको छ । बाटोमा खाल्डाखुल्डी छन् । कालोपत्रे खनेर ग्राभेल मात्रै राख्दा सडकमा दुर्घटना हुने गरेको छ । टीकापुर नगरपालिकाले निर्माण कम्पनीलाई पटक–पटक बोलाएर निर्माण कार्य तत्काल सम्पन्न गर्न दबाब दिँदै आएको भए पनि कम्पनीले आलटाल गर्दै आइरहेको नगरपालिकाको नगर उपप्रमुख केशरी विष्टले बताए । “निर्माण कम्पनीले दुई किलोमिटर सडक बनाउन अनेक बाहाना गर्दै आइरहेको छ, हामीले पटक–पटक बोलाएरै भनेका छौं ।” उनले भने, “सडक डिभिजन कार्यालय, सम्बन्धित इञ्जिनीयर, निर्माण कम्पनीलाई ताकेता गर्दा पनि सडकले गति लिन सकेको छैन । समयमा सडक निर्माण नहुँदा अन्य विकास निर्माणका कार्यसमेत प्रभावित बन्ने अवस्था आएको छ ।” निर्माण कम्पनीले भने सडकखण्डमा पर्ने ३३ केभी प्रसारण लाइन र बन्दाबन्दीका कारण निर्माण प्रभावित बनेको बताउँदै आएको छ । विद्युत्ले प्रसारण लाइनअन्तर्गतका पोल नसार्दा सडक निर्माणको काम प्रभावित बनेको हो । उक्त सडकखण्डमा विद्युत्का १४ वटा पोल परेका छन् । सात टावर र सात टिबलर पोल रहेका छन् । यी पोल झण्डै ३६ वर्षअघि निर्माण गरिएका हुन् । तत्कालीन अवस्थामा फराकिलो सडक र बस्ती कम भएका कारण बजार क्षेत्रबाटै ३३ केभी प्रसारण लाइन लगिएको थियो । हाल बस्ती बढेसँगै ३३ केभी प्रसारण लाइन बजारको मध्य भागमा पर्न गएको छ । निर्माण कम्पनीका इञ्जिनीयर गगन शाहीले विद्युतीय पोल र बन्दाबन्दीका कारण निर्माण कार्य समयमा नसकिएको जानकारी दिनुभयो “सडकमा पर्ने विद्युतीय पोलका कारण हामीलाई कम्पेक्सन गर्न गाह्रो भएको हो । नौ महिना जति बन्दाबन्दीले काम गर्न सकिएन ।” उनले भने, “त्यसकारण केही ढिलो भए पनि हामी चार लाइन कालोपत्रेको काम असारभित्र सक्ने गरी तयारी गरेका छौँ । काम सम्पन्न कहिले हुन्छ त्यो आफूहरुलाई पनि थाहा छैन ।” उनले कम्पनीले सडक निर्माणको म्याद थपका लागि प्रक्रिया अगाडि बढाएको जनाउँदै विद्युत् पोल नसारेसम्म काम प्रभावित भइरहने बताएका छन् । निर्माण कम्पनीले छिटोछरितो काम गर्न खोजेको भए पनि विद्युत् पोल सडक निर्माणमा सबैभन्दा बढी बाँधक बनेको छ भने कम्पनीलाई विद्युत् पोल बाहना हुँदै आएको स्थानीयको आरोपसमेत छ । रासस
काठमाडौं-हेटौंडाको दैनिक यातायात सेवा आगामी जेठ २५ गतेसम्म बन्द हुने
मकवानपुर । मकवानपुरको भीमफेदी-कुलेखानी सडकखण्डमा पर्ने सिस्नेरी-दक्षिणकाली-काठमाडौं जोड्ने सडक आज(बैशाख १० गते) बिहानैदेखि काठमाडौं-हेटौंडातर्फको यातायात सञ्चालनमा रोक लगाइएको वाग्मती प्रदेश यातायात पूर्वाधार निर्देशनालयले हेटौंडाले जनाएको छ । भीमफेदी-कुलेखानी हुँदै काठमाडौं जाने यातायत अवरुद्ध हुँदा आज बिहानैदेखि त्रिभुवन राजपथबाट हेटौंडा-काठमाडौंतर्फको हलुका यातायात सेवा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । उनले निजी कार, जिप र मोटरसाइकललाई मात्र कान्तिराजपथ हुँदै काठमाडौंतर्फ जाने रुटलाई अनुमति दिइएको र आज बिहानैदेखि ती क्षेत्रबाट सामान्य यातायात काठमाडौंतर्फ प्रस्थान गरेको उल्लेख गरे । मदन भण्डारी राजमार्गअन्तर्गत रहेको सिस्नेरी सडकखण्डको काठमाडौंको छैमलेबाट मकवानपुरको हेबीसम्म निर्माणाधीन सडकमा अहिले कालोपत्र गर्नुपरेका कारण काठमाडौं-हेटौंडातर्फ दैनिक यातायात सेवालाई आजदेखि आगामी जेठ २५ गतेसम्म सञ्चालनमा रोक लगाइएको वाग्मती प्रदेश यातायात पूर्वाधार निर्देशनालयका प्रमुख डा सहदेव भण्डारीले बताए । उनका अनुसार भीमफेदी-कुलेखानी सडकखण्डको फाखेल सडकको ढल निर्माण, सडकमा कालोपत्र गर्ने क्रममा केही हप्ताअघिदेखि फाखेल सडकखण्डबाट काठमाडौंतर्फको यातायात सेवालाई एक महिनासम्मका लागि रोक लगाइएको थियो । वाग्मती प्रदेश, भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले भीमफेदीबाट चिसापानीगढी र हेबीसम्मको सडक विस्तार र कालोपत्र गर्न दुई चरणमा गरी ३४ करोड रुपैयाँ विनियोजित गरिएको सो मन्त्रालयका प्रशासकीय अधिकृत हरिप्रसाद उप्रेतीले बताएका छन् । रासस