१४ करोड लागतमा बन्दै गरेकाे भाेजपुर रङ्गशालाको ८५ प्रतिशत काम सकियो
भाेजपुर । प्रदेश नं १ सरकारको प्राथमिकतामा रहेको भोजपुर रङ्गशाला निर्माणको काम ८५ प्रतिशत सम्पन्न भएको छ । सदरमुकाम नजिकै रहेको कोदारमा शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाको १४ करोड पाँच लाख लागतमा गत मङ्सिरदेखि रङ्गशालाको निर्माण सुरु गरिएको हो । आगामी २०८० सालसम्म निर्माण अवधि भए पनि सरकारले समयमा बजेट दिएमा सम्झौताअघि नै काम सम्पन्न गर्ने निर्माण कम्पनी रायामाझी, मार्सेली जेभीले जिकिर गरेको छ । कम्पनीका प्रमुख श्याम श्रेष्ठले भने, ‘हालसम्म रङ्गशालाको ८५ प्रतिशत काम सम्पन्न भएको छ, सरकारले समयमा बजेट पठाउन सक्यो भने चालु आर्थिक वर्षमा निर्माण पुरा गछौँ ।’ हालसम्म कार्यालय भवन, फाउन्डेसन लगाउनेलगायत स्टक्चरको काम अन्तिम चरणमा पुगेको छ भने प्यारापिट बनाउने, रिटेनिङवाल लगाउने काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । त्यस्तै खेलमैदानमा दुबो लगाउने काम पनि भइरहेको छ । करिब २५ रोपनी क्षेत्रमा निर्माण भइरहेको सात हजार वर्गमिटरको रङ्गशालामा पाँच हजार मानिस अट्न सक्ने गरी सात प्यारापिट निर्माण हुने शहरी विकास तथा भवन निर्माण कार्यालयले जनाएको छ । निर्माण भरहेको रङ्गशालाको शुक्रबार मुख्यमन्त्री शेरधन राईले समेत स्थलगत अनुगमन गरेका छन् ।
सात निर्माण कम्पनीमाथि कारवाही, समयमा स्पष्टीकरण नदिए कालोसूचीमा राखिने
काठमाडाैं । सडक डिभिजन कार्यालय हेटौँडाले सम्झौताबमोजिम निर्माण सम्पन्न नगर्ने तथा सम्पर्कमा नआउने सात निर्माण कम्पनीमाथि कारवाही थालेको छ । कार्यालयका सूचना अधिकारी लोमस उपाध्यायका अनुसार पटकपटक लिखित र मौखिकरुपमा ताकेता गर्दासमेत सम्पर्कमा नआएपछि ती सात वटा निर्माण कम्पनीसगँको ठेक्का सम्झौतासमेत तोडेर आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको हो । उनका अनुसार आशिया कन्स्ट्रक्सन, सौरभा कन्स्ट्रक्सन, सरस्वती निर्माण सेवा, सोनु कन्स्ट्रक्सन, नन्दनी कन्स्ट्रक्सन, जिपिवी कन्स्ट्रक्सन र दामुचन्द्रमाला कन्स्ट्रक्सनविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाईएका छ । ती कम्पनीसँगको ठेक्का सम्झौता तोडिएको छ भने कालोसूचीमा राख्ने प्रक्रिया समेत अगाडि बढाइएको छ । कार्यालयले गत असोजमा ती कम्पनीसँगको सम्झौता तोडिएको हो । एघार वर्ष अगाडि विभिन्न सडक निर्माण र मर्मत ठेक्काको सम्झौता गरेका ती निर्माण कम्पनीलाई निर्माण सम्पन्न गर्न तोकता गरिए पनि लामो समयदेखि सम्पर्कमा नआएपछि कारवाही गरिएको कार्यालयले जनाएको छ । ती निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सार्वजनिक खरीद अनुगमन कार्यालय काठमाडौंमा सिफारिस गरिएको छ । सार्वजनिक खरिद अनुगन कार्यालयले ३० दिनभित्र स्पष्टीकरण पेश गर्न ती कम्पनीलाई निर्देशन दिएको छ । तोकिएको समयमा स्पष्टीकरण नदिएमा कालोसूचीमा राखिने छ । बारा, पर्सा र मकवानपुरमा कार्यक्षेत्र रहेको सो सडक डिभिजन कार्यालयले चालू आर्थिक वर्षमा विभिन्न स्थानमा २० वटा पुल र पक्की सडक निर्माण गरिरहेको प्रमुख खड्गलाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार पुल र सडक निर्माणको लागत करीब ४० करोड रुपैयाँ रहेको छ । रासस
मनकामना केबलकार तीन चरणमा स्तरोन्नती गरिँदै, दुई वर्षभित्र अत्याधुनिक प्रविधियुक्त बन्ने
काठमाडौं । मनकामना दर्शन प्रालिले सञ्चालित केबलकारको स्तरोन्नती गर्ने भएको छ । गत मंसिरमा सञ्चालनको २३ औं वर्षमा प्रवेश गरेको मनकामना केबुलकारले नयाँ प्रविधियुक्त बनाउन विभिन्न तीन चरणमा स्तरोन्नति गर्न लागेको हो । लामो समयसम्मको सञ्चालनमा मर्मत, सम्भार खर्च बढ्न गएको, नयाँ प्रविधि विकास भई सो प्रविधियुक्त बनाउन विभिन्न चरणमा स्तरोन्नती गर्दै जाने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार प्रथम चरणमा तत्काल अति आवश्यक र मर्मत गर्न नसकिने पार्टपुर्जाहरु फेरिने छ र दोस्रो चरणमा नयाँ प्रविधि मैत्री बनाउन पूर्वाधार तयार तथा केही अन्य थप पार्टपुर्जाहरु फेर्ने योजना रहेको छ । र, अन्तिम चणमा हाल ‘एनालग सिस्टम’ बाट डिजिटल सिस्टममा स्तरोन्नति गर्ने, केबल लठ्ठा फेरबदल गर्ने, कम्युनिकट केबललाई ‘सेट्रा’ मा रुपान्तरण गर्ने, डीसी ड्राइभलाई एसी ड्राइभमा रुपान्तरण गरी हाल विद्यमान प्रविधियुक्त बनाउने कम्पनीले जनाएको छ। यससँगै उक्त तीन चरणममा कार्य गर्न करीब दुई वर्ष लाग्ने र आगामी पच्चिसौँ वार्षिक उत्सवमा नयाँ प्रविधिबाट सञ्चालन हुने कम्पनीले जानकारी गराएको छ । साथै, उक्त कार्य गर्दा नियमित मर्मत, सम्भार अलावा उपरोक्त कार्यको लागि पटक पटक सेवा अवरूद्ध हुन जाने यात्रु तथा भक्तजनलाई जानकारी गराएको छ। सो अवधिभर अवरुद्ध हुने समय अलावा केवलकार सेवा यथावत सञ्चालन हुने पनि कम्पनीले जनाएको छ।