लाङटाङ खोला जलविद्युत् आयोजना शुभारम्भ, ४ अर्ब पाँच करोड लागत लाग्ने

रसुवा । लाङ्टाङ राष्ट्रिय निकुञ्जको भू–भागअन्तर्गत गोसाइँकुण्ड गाउँपालिका क्षेत्रमा नयाँ विद्युत् आयोजना निर्माणको शुभारम्भ भएको छ । लाङ्टाङ खोलामा निरन्तर बग्ने पानीलाई सदुपयोग गर्दै ठूलोस्याप्रूm पुछारको दोभानमा बाँधबाँधी सुरूङमार्फत स्याफ्रुबेँसीमा पानी पु¥याई २० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको निर्माण शुभारम्भ भएको हो । चार अर्ब पाँच करोडको लागतमा निर्माण सम्पन्न गर्न मल्टी एनर्जी हाइड्रोपावर कम्पनीमार्फत सोमबारदेखि निर्माण सुरूभएको लाङ्टाङ खोला जलविद्युत् आयोजना अर्ध भूमिगतको संरचना बन्ने र ३० महिनाभित्र निर्माण सम्पन्न गरिने लक्ष राखिएको उक्त कम्पनी सञ्चालक समितिका सदस्य कर्नेल तामाङले जानकारी दिए । तीन दशमलव दुई मिटर साईजको व्यास रहने तीन किलोमिटर सुरूङको सहायताले स्याफ्रूबेँसीस्थित रसुवाको पूरानो सदरमुकामदेखि दक्षिण समथर क्षेत्रमा लगिने पानीबाट विद्युत् उत्पादन गरिने बताइन्छ । विद्युत्गृह भने बाहिरी सतहमा रहने छ । लाङ्टाङ खोलामा ३० मिटर लम्वाई र ३० मिटर चौंढाइँ भएको बाँध बाँधिने र सुरूङको सहायताले प्रतिसेकेन १२ घनमिटर पानी विद्युत् गृहमा पुग्नेछ । विद्युत् उत्पादनका लागि दुई वटा पेल्टन टरवाइन जडान हुने निमित्त आयोजना प्रमुख नारायण सुवेदीले जानकारी दिए । कोभिड–१९ को सङ्क्रमित समय भएकाले स्वास्थ्यका सबै मापदण्ड पूर्णरूपमा पालना गर्दै प्रमुख जिल्ला अधिकारी, स्थानीय गाउँपालिका प्रमुख, वडाअध्यक्ष, नेपाली कांग्रेसका सभापति, नेकपा एमालेका अध्यक्ष, लाङ्टाङ राष्ट्रिय निकुञ्ज तथा सुरक्षा निकायका प्रमुखसमेतको रोहवरमा विस्फोटक पदार्थको सहायताले सुरूङ खन्ने स्थानको पहिलो ढुङ्गा फुटाली आयोजना निर्माणको शुभारम्भ गरिएको सञ्चालक समितिका सदस्य तामाङले बताए । रसुवा जिल्लामा थुप्रै जलविद्युत् आयोजना सञ्चालनमा आए पनि लाङ्टाङ निकुञ्जको संरक्षित क्षेत्रभित्रको भू–भागमा यो पहिलो आयोजना भएको स्थानीय बासिन्दाले बताएका छन् । देशको ऊर्जा सङ्कट समाधान गर्न रसुवामा निर्माणाधिन जलविद्युत् आयोजनालाई आवश्यक सुरक्षा प्रदान गर्न र स्थानीय प्रशासनको क्षेत्रबाट गर्नुपर्ने सहयोग प्रदान गर्न आफू तयार रहेको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले बताए । यस्तै रसुवा जिल्लामा हालसम्म अन्य छ जलविद्युत् आयोजना सञ्चालित रहेका छन् । उत्तरी क्षेत्रमा १११ मेगावाट रसुवागढी, १४ दशमलव ३ माथिल्लो साञ्जेन, ४२ दशमलव ८ तल्लो साञ्जेन, १२० मेगावाट भोटेकाशी, ६ मेगावाट सुपर मैलुङ र दक्षिणी भेकमा १४ मेगावाट फलाखुखोला रहेका छन् । रसुवामा सबैभन्दा ठुलो २१६ मेगावाट अपर त्रिशूली वान नामक जलविद्युत् आयोजना भने निर्माण अगाडि बढाउने तरखरमा पुगेको छ । रसुवाको जल सम्पदाको उपयोग गर्दै पहिलो चरणमा २२ मेगावाट क्षमताको चिलिमे, दोश्रोमा छ मेगावाट मैलुङ र तेश्रोमा ६० मेगावाट क्षमताको अपर त्रिशूली थ्रिएले उत्पादन दिइरहेको गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले जानकारी दिए । विद्युत् विकासको सम्भावना छ भनी रसुवालाई विद्युत् जिल्लाको रूपमा परिचित गराउने पहिलो उत्पादक कम्पनी चिलिमे रहेको समेत अध्यक्ष तामाङले जानकारी दिए । रासस

१० कराेडमा खर्चमा बनाउन लागिएकाे सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बनाउन बोलपत्र आह्वान

रुपन्देही । नेपाल सरकारले सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बनाउन आज बोलपत्र आह्वान गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले सिद्धार्थ राजमार्गको सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बनाउन बोलपत्र आह्वान गरेको हो । एउटा दोहोरो लेनको हाइवे टनेल, रक शेड संरचना, रक फल मिटिगेशन र सुरुङमार्ग निर्माणका लागि मन्त्रालयले ग्लोबल टेन्डर आह्वान गरेको हो । पैतालीस दिनको समय दिएर सुरुङमार्गको टेन्डर आह्वान गरिएको हो । सुरुङमार्गका लागि रुपन्देही क्षेत्र नं २ का सांसद तथा अर्थमन्त्री विष्णु पौडेलले लामो समयदेखि पहल गर्दै आएका थिए । उनले अर्थमन्त्री भएपश्चात् यहाँ आउँदा सुरुङमार्गको काम आफ्नै कार्यकालमा अघि बढाउने विश्वास दिलाएका थिए । अर्थमन्त्री पौडेलले सुरुङ निर्माणका सबै प्रक्रिया सकेर समयमै काम सुरु हुने बताए । उनले आयोजना निर्धारित मितिमै सम्पन्न हुनेसमेत जानकारी दिए । सिद्धबाबामा खसिरहने पहिराबाट हुुने जनधनको क्षति रोक्न यो आयोजना महत्वपूर्ण रहने उनको विश्वास छ । सो सडक खण्ड प्रयोग गरेर गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ हुँदै बेनीसम्म गाडी चल्ने गर्छन् । हिउँदो होस् या वर्षायाम जुनुसकै बेला झर्ने चट्टानसहितको पहिरो खस्दा यात्रुको अकालमै मृत्यु हुुने गरेको छ । नरम माटोमा अडिएको चट्टान सुख्खायाममा पनि खस्ने समस्या छ । हरेक वर्ष यस क्षेत्रमा दुर्घटना भइराख्ने हुँदा यसलाई ‘मृत्यु मार्ग’ समेत भन्ने गरिन्छ । माथिल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको करीब चार किलोमिटर क्षेत्र पहिराको अत्यधिक जोखिममा छ । त्यसैलाई दृष्टिगत गरी माथिल्लो सिद्धबाबा मन्दिरदेखि रामापिथेकस पार्कसम्मको एक हजार ३०० मिटर क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि भौगर्भिक अध्ययन गरिएको थियो । सडक विभागका प्रवक्ता ई. शिवप्रसाद नेपालले सुरुङमार्ग निर्माण प्रक्रियामा प्रवेश गरेको उल्लेख गर्दै असार २३ गते दिउँसो १२ बजेभित्रै योग्य निर्माण कम्पनीलाई बोलपत्र आह्वान गरिएको जानकारी दिए । सुरुङमार्ग निर्माणका लागि सरकारले यसअघि स्वीस सरकारको सहयोगमा सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार गरिसकेको छ भने अर्थ मन्त्रालयले अघिल्लो वर्ष नै १० अर्ब १५ करोड बजेट सुनिश्चितता गरिसकेको छ । भारत सरकारको सहयोगमा झण्डै आधा शताब्दीअघि निर्माण कार्य पूरा भएको सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्ड (बुटवलको चिडिया खोलादेखि दोभानसम्म) सात किलोमिटर अत्यन्त जोखिमयुक्त सडक हो । अहिले सुरुङमार्गबाहेक एशियाली विकास बैंकको सहयोगमा सिद्धार्थ राजमार्गको स्तरोन्नतिको काम पनि भइरहेको छ । त्यस्तै सडक विभागले बर्तुङ–तमघास खण्डको समेत स्तरोन्नति गरिरहेको छ । रासस

रसुवागढी जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणमा ढिलाइ

रसुवा । निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको प्रसारण लाइन र उपकरण जडान कार्य ढिलाइ भएको छ । विद्युत्गृहमा उपकरण जडान गर्ने जिम्मा पाएको इन्डियन कम्पनी भोइथ भारत एवं टिमुरेदेखि थाम्बुचेतसम्म १० किमी दूरीको प्रसारण लाइन निर्माण गर्ने मुड्वरी एन्ड जेभी कम्पनी लिमिटेडले तोकिएको तालिकाअनुरूप काम नगर्दा विद्युत् आयोजनाको संरचना बनाउने कार्य ढिलाइ भएको हो । कोरोना सङ्क्रमितको सङ्ख्या तीव्ररूपमा फैलिरहेको दर्शाउँदै भोइथ कम्पनीका दक्ष जनशक्ति भारतबाट नआएका कारण १११ मेगावाट क्षमताको विद्युत् गृहका उपकरण जडान कार्यमा ढिलाइ भएको रसुवागढी जलविद्युत् आयोजनाले जनाएको छ । ठेकेदार कम्पनीले विद्युत् उत्पादनमा आवश्यक उपकरण आयोजनास्थलमा पु¥याइसकेको छ । वर्तमान अवस्थामा ती सामानको जडान कार्य ५० प्रतिशत प्रगति हासिल गर्नुपर्ने समयावधि पुग्दासमेत काममा शून्यता छाएको प्राविधिकले बताएका छन् । एक वर्षदेखि छजना उसका कर्मचारी सामान कुरुवाका रूपमा पालेपहरा दिने काम मात्र गरिबसेका छन् । गत वर्षदेखि नै उपकरण जडानमा आलटाल हुँदै आएको छ । कोभिड–१९ को मापदण्ड पालना गर्दै काम नगराउने उक्त कम्पनीउपर आयोजनाले सम्झौताअनुरूप कारवाही गर्ने तयारी गरेको छ । उपकरण जडानका लागि एक वर्षभन्दा बढीको समयावधि लाग्ने र उत्पादन गराउने समयसीमा नजिकिँदै गएको अवस्थामा कार्यतालिकाअनुसार तोकिएका काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाही गर्ने तयारी भएको हो । रसुवागढी जलविद्युत् आयोजनाबाट आगामी २०७९ असार महिनाबाट विद्युत् उत्पादन गराउने लक्ष्य छ । राष्ट्रिय प्राथमिकताअन्तर्गतको विद्युत् आयोजना भएका कारण निर्धारित समयमै सम्पन्न गराउन कोभिड–१९विरुद्वको स्वास्थ्य मापदण्ड अपनाई काम अगाडि बढिरहेको छ । जमीन अभावका कारण टिमुरे पारी भीरको फेद भोटेकोशी खोला बगरमा प्रिफेव मोडेलबाट बनाइएका कर्मचारी आवास तथा कार्यालयमा बाढी तथा पहिराको असर, हिउँदको समयमा बेजोडले आइरहने हावाहुरी, धुलो, धुवाँसमेत लाई कुनै प्रवाह नगरी अहोरात्र काम गरिरहेको प्राविधिक बताउँछन् । आयोजनाको सम्पूर्ण संरचना भूमिगत रहेको छ । रसुवागढीस्थित भोटेकोशी खोलाको बाँध एवं विद्युत् गृहमा पानी लाने चार हजार १८५ मिटर लामो सुरुङ भने एक–डेढ वर्षअगाडि नै निर्माण सम्पन्न भएको छ । यसैगरी रसुवाढीमा उत्पादित बिजुली राष्ट्रिय प्रसारणको चिलिमेस्थित थाम्बुचेतको हवसम्म पु¥याउने १० किमी दूरीको प्रसारण लाइन निर्माणको कामसमेत ढिलासुस्ती भएको छ । निर्माणको जिम्मा पाएको मुड्वरी एन्ड जेभी ठेकेदार कम्पनीले गत वैशाख १५ गतेभित्र निर्माणस्थलमा पु¥याई सक्नुपर्ने सामग्रीसमेत अहिलेसम्म ढुवानी गरेको छैन । आयोजनाका अनुसार निर्माण सामग्री ढुवानी गरी ल्याउने वातावरणसहित उक्त ठेकेदार कम्पनीलाई अनुमति प्रदान गरिए पनि ढुवानीमा आलटाल भइरहेको छ । निर्माण गर्नुपर्ने ३२ टावरमध्ये १८ मा सिमेन्ट कङ्क्रिट गरिए पनि अझै १४ वटा खाल्टो खनेर छोडिएको छ । आयोजनाले दिएको कार्यतालिकाअनुरूप ठेकेदार कम्पनीले काम नगर्दा नजिकिँदै गरेको वर्षाले भूक्षय निम्त्याउने खतरा बढ्न थालेको छ । केही कामदार आफूले कार्यस्थलमा राखेको र सामान तयारी भए पनि कोभिड–१९ को सङ्क्रमणका कारण ढुवानी गरी ल्याउन समस्या परेको जनाउँदै मुड्वरी एन्ड जेभीका प्रबन्ध निर्देशक अजय मुड्वरीले टावरको काम आगामी भदौ/असोजसम्ममा सम्पन्न हुने बताए । नजिकिँदै गएको बर्खायामलाई दृष्टिगत राखी टावर राख्नका लागि खनिएका गहिरा खाल्टा कार्यतालिकाबमोजिम तुरुन्तै सिमेन्ट कङ्क्रिट गर्न आयोजनाको आग्रह भइरहेको आयोजना प्रमुख छवि गैह्रेले बताए । यस्तै आयोजनाको सर्जट्याङ्कबाहेक अन्य संरचना निर्माण गर्ने काम लगभग पूरा भइसकेको छ । कोभिड–१९ को सङ्क्रमण रोक्ने स्वास्थ्यको मापदण्ड पूर्णरूपमा पालना गर्दै सिभिलतर्फको काम तीव्ररूपमा अगाडि बढिरहेको छ । निर्माण कार्यमा संलग्न चिनियाँ कम्पनी सिडब्लुईले २०० नेपाली र ६० चिनियाँ कामदारका साथ द्रुतरूपमा काम अगाडि बढाइरहेको प्राविधिकले जनाएका छन् । १३ अर्ब ६४ करोडको लागतमा पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ सन् २०१३ बाट सुरु गरिएको निर्माण कार्य विगतका समयमा भएको पेट्रोलियम पदार्थको अभाव, समयसमयको सडक अवरुद्व, भूकम्पको असर जस्ता विविध कारणले सम्पन्न गर्न ढिलाइ भएको आयोजनाले जनाएको छ ।