जुम्लामा दुई जलविद्युत् आयोजना निर्माण हुँदै
खलङ्गा । जिल्लाका दुई स्थानीय तहमा जलविद्युत् आयोजना निर्माण हुने भएका छन् । यहाँको कनकासुन्दरी गाउँपालिका– २ घोडामौलामा १० मेगावाट र हिमा गाउँपालिकाको हिमा नदीबाट १० मेगावाट जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीले बताए । उनले भने, “आयोजना अध्ययनका लागि सङ्घीय सरकारले रु २९ लाख पाँच हजार बजेट विनियोजना गरेको छ, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले ती आयोजनासम्बन्धी सार्वजनिक सूचना प्रकाशित गरी सो जानकारी दिएको हो ।” आगामी आर्थिक वर्ष २०७७÷७८ मा कर्णालीमा ५२० मेगावाट जलविद्युत् आयोजनाको अध्ययन गर्ने भएको छ । सङ्घीय सरकारले आगामी आर्थिक वर्षमा कर्णाली प्रदेशको जुम्ला, हुम्ला र डोल्पा जिल्लामा जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन गर्नका लागि बजेट विनियोजन गरेको हो । रासस
विकासको ओझेलमा सिमल्टार बस्ती
काठमाडाैं । काठमाडौं महानगरपालिका सङ्घीय सरकारको राजधानी भएको स्थल हो । महानगरपालिकामा यस्ता पनि ठाउँ छन् जहाँ आधारभूत सुविधासमेत पुग्न सकेको छैन । गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सीमामा पर्ने महानगरपालिका–६ स्थित सिमल्टार नामक बस्ती ओझेलमा परेको स्थानीवासीको गुनासो छ । करिब ५ सय घर र ५ हजारभन्दा बढीको जनसङ्ख्या बसोबास गर्ने सिमल्टारको विकास निर्माणमा वडा एवं महानगरपालिकाको ध्यान नगएको साहित्यकार रामकुमार पण्डितले बताए । कुना काप्चामा परेको भागको सन्तुलित विकास गर्ने उद्देश्यले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संरचनामा तीन तहको सरकार गठन भए पनि राजधानीकै काँठ क्षेत्रका विकासमा जनप्रतिनिधिको ध्यान जान सकेको छैन । जनप्रतिनिधि मत केन्द्रित राजनीतिमै रमाइरहेका छन् । यस्ता स्थलको विकासमा कुनै पनि दलको ध्यान जाने गरेको छैन । अहिलेसम्म सिमल्टारबाट वडा तहमा निर्वाचन लड्नसमेत कुनै दलबाट स्थानीयवासीले टिकट समेत पाउँदैनन् भन्ने गुनासोसमेत यहाँका बासिन्दाको छ । महानगरपालिका–६ मा विश्वमै चर्चित ऐतिहासिक एवं सांस्कृतिकस्थल बौद्ध पर्छ । बौद्ध क्षेत्रमा स्थानीयवासीको सांस्कृतिक गुठी छ । तिनै गुठीका सदस्यको मत स्थानीय निर्वाचनमा निर्णायक हुने भएकाले परका बस्ती ओझेलमा पर्ने गरेको हो । जनप्रतिनिधि मतको राजनीतिभन्दा माथि उठ्न सकेनन् भने सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति नै वितृष्णा फैलने भएकाले सचेत हुनुपर्ने स्थानीयवासी विश्वराम पुडासैनी बताए । सिमल्टारमा सडक राम्रो छ्रैन । सडक बत्ती बिग्रिएको वर्षौं भए पनि बनाउनेतिर कसैको ध्यान गएको छैन । ढलको राम्रो प्रबन्ध छैन । खानेपानीको समेत समस्या छ । न्यूरोड, दरबारमार्गकै जत्ति कर तिर्ने सिमल्टारवासी सुविधामा भने त्यहाँका मानिसभन्दा फरक अनुभव गरेकोप्रति महानगरपालिकाको समेत ध्यान गएको देखिँदैन । विगत तीन वर्षमा वर्षमा वडाले सबैभन्दा बढी काम सिमल्टारमा गरेको वडाध्यक्ष दीपेन्द्रकुमार लामा बताए । यस वर्ष पनि त्रिवेणी मार्गमा ढलान भइरहेको, ब्लक छाप्ने काम भइरहेको बताएका छन् । महामृत्युञ्जय मन्दिर क्षेत्रमा खानेपानी, ढल, सडक बत्तीको काम भइरहेको पनि उनले जानकारी गराए । विगतमा सिमल्टार महानगरपालिकाकै विकट बस्तीका रूपमा रहेको वडा कार्यालयले जनाएको छ । कुनै ठाउँमा केही काम गर्नुपर्नेमा ध्यान जान नसकेको भए वडा कार्यालयमा जानकारी गराउन पनि वडाध्यक्ष लामाको आग्रह छ । समग्र वडाको समुचित विकास गर्न वडा कार्यालय लागिपरेको जनाइएको छ । बन्दाबन्दीका बेलामा राहत वितरणमा समेत वडा कार्यालय सिमल्टार क्षेत्रलाई प्राथमिकतामा राखेको थियो । रासस
सडक बनेको १० वर्षपछि तापखोलामा पक्की पुल शिलान्यास
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीबाट केपिलासगढी गाउँपालिका–३ बास्पानी हुँदै बाक्सिला बजार जोड्ने सडकखण्डमा पर्ने तापखोलामा पक्की पुल शिलान्यास गरिएको छ । जिल्लाको उत्तरी क्षेत्रका स्थानीय बासिन्दाको व्यापारिक केन्द्र बाक्सिला बजार जोड्ने सबैभन्दा छोटो दूरीकोे दिक्तेल–खार्मी–बाक्सिला सडकखण्डको तापखोलामा निर्माण गरिने पक्की पुल शनिबार प्रदेशसभा सदस्य राजन राईले औपचारिकरुपमा शिलान्यास गरेका हुन् । प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय यातायात पूर्वाधार निर्देशनालय, पूर्वाधार विकास कार्यक्रम प्रदेश नम्बर १ नेपाल, उदयपुरको लगानीमा पुल निर्माणको काम शुरु गरिएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताए । ७ करोड ६१ लाख २४ हजार ५ सय ४३ रूपैयाँ बजेटमा पूरा गरिने तापखोलाको मोटरेबल पक्की पुल ३५ मिटर लम्बाइ र ८.४० मिटर चौडाइको हुने जनाइएको छ । गत जेठ ८ गते पुल निर्माणको काम जिम्मा लिएको रौता–रोशन–सुशम–आदित्य जेभीले विसं २०७८ मङ्सिर–७ गते सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ । तोकिएको मितिभन्दा अगाडि नै निर्माणको काम सम्पन्न गरेर हस्तान्तरण गर्ने लक्ष्यका साथ काम थालिएको ठेकेदार कम्पनीका प्रतिनिधि लक्ष्मण बस्नेतले बताए । आर्थिक वर्ष २०६६/६७ मा निर्माण सम्पन्न गरेर सञ्चालनमा आएको दिक्तेल–खार्मी–बाक्सिला सडकखण्डको तापखोलामा ढिलै भए पनि पक्की पुल निर्माण हुने भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । विसं २०६६ मा साविक खार्मी गाविसको रु १४ लाख बजेटबाट निर्माण शुरु गरिएको सो सडक विसं २०७७ मा पूरा गरेर सञ्चालनमा ल्याइएको थियो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट १५ किलोमिटर टाढा पर्ने खार्मी क्षेत्रको सडकखण्डमा यसपल्ट प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको १५ लाख बजेटबाट खार्मीको कालिका माविदेखि तापखोलासम्म स्तरोन्नति गरिएको छ । निर्माण सम्पन्न भएको लामो समयसम्म ढुवानीका सवारीसाधन मात्र सञ्चालन हुँदै आएको सो दिक्तेल–खार्मी–बाक्सिला सडकखण्डमा गत वर्षदेखि नियमित बस तथा सुमो सेवासमेत शुरु भएको छ । हिउँदभर करिब छ महिनामात्र सञ्चालन हुने सो सडक खार्मीको अधिकांश क्षेत्रका स्थानीय बासिन्दासँगै पाथेका, बास्पानी, बाक्सिला, सप्तेश्वर, सुङ्देल, दिप्सुङलगायतका स्थानीय बासिन्दाले उपयोग गर्दै आएका छन् । कच्ची अवस्थामा सञ्चालन हुँदै आएको दिक्तेल–खार्मी–बाक्सिला सडक स्तरोन्नतिका लागि नगरपालिकाले पहिलो प्राथमिकतामा राखेको नगर प्रमुख दीपनारायण रिजालले बताए । “दिक्तेल–खार्मी–बाक्सिला सडक नगरवासीका लागि मात्र नभई उत्तरपूर्वी क्षेत्रका स्थानीय बासिन्दाको लागि प्रमुख मार्गमा पर्दछ”, उनले भने, “यो सडकलाई स्तरोन्नति गरेर बाह्रै महिना सञ्चालनमा ल्याउन केपिलासगढी गाउँपालिकासँग सहकार्य गरेर नगरपालिकाको तर्फबाट गर्नुपर्ने सहयोग आवश्यक सहयोगलाई निरन्तरता दिइनेछ ।” दिक्तेल बजारबाट खार्मी हुँदै बाक्सिला भएर भोजपुरसम्म जोडिने उक्त सडकको सुङ्देलसम्म ट्र्याक खोलिसकिएको छ । सो सडक सञ्चालनमा आउन सके दिक्तेल बजारबाट खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बुको सिमानामा पर्ने धार्मिक तथा पर्यटकीयस्थल सालपा पोखरी जाने सबैभन्दा छोटो मार्ग बन्नेछ । रासस