सडक विस्तार गर्न विश्व बैंकको ५४ अर्ब रुपैयाँ ऋण, नागढुंगा- नौविसे सडक खण्डलाई लाभ

काठमाडाैं । नेपालको सडक पूर्वाधार विकास गर्नका लागि विश्व बैंकको ४५ करोड अमेरिकी डलर (५४ अर्ब रुपैयाँ ) ऋण दिने भएकाे छ। बैंकले जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त ऋण साहयताबाट नेपालको रणनीतिक सडक पूर्वाधारको विकास हुने विश्वास गरिएको छ। कोरोनापछिको अवस्थामा अन्तरदेशीय व्यापार बृद्धि, थप रोजगारी सिर्जना तथा सुरक्षित सडक यातायातको विकासका लागि खर्च हुनेगरी उक्त ऋण स्वीकृत गरिकएको बैंकले जनाएकाे छ । नेपाल रणनीतिक सडक सञ्जाल र व्यापार सुधार आयोजनाका लागि स्वीकृत भएको यो ऋणबाट विशेषगरी नागढुंगा- नौविसे- मुगलिङ सडक खण्डको स्तरोन्नति तथा कमला- ढल्केबर- पथलैया सडक खण्डको स्तरोन्नतीको काम हुने छ। नेपाल स्ट्राटेजिक रोड कनेक्टिभीटी एण्ड ट्रेड इम्प्रुभमेन्ट प्रोजेक्ट अन्तगर्तको यो सहयोग मुलत नागढुंगा–नौबिसे–मुग्लिन सडक तथा कमला–ढल्केवर–पथलैया सडकको सुधार र स्तरोन्नतीमा खर्च हुनेछ । नागढुंगा–नौबिसे–मुग्लिन सडक बिस्तारका लागि अर्थ मन्त्रालय र विश्व बैंंकबीच गत वर्षदेखि नै छलफल भइरहेको थियो । यो खण्ड विस्तारका लागि  २० अर्ब रुपैयाँ ऋण लिने सरकारको तयारी थियो । यस अघि नारायणगढ–मुग्लिन सडकको विस्तार पनि विश्व बैंककै ऋण सहयोगमा गरीएको थियो । ‘यी दुई सडक नेपालको कनेक्टभिटी तथा भारतलगायत अन्य देशहरुको सँगको व्यापारका लागी महत्वपुर्ण रहेको छ’, विश्व बैंकद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ । यी दुवै सडक भारत र अन्य देशसँग नेपालले गर्ने व्यापारको लागि महत्वपूर्ण भएकाले यसको स्तरोन्नतीमा विश्व बैंकले सहायता उपलब्ध गराएको बताएको छ। यसबाहेक, उक्त सहायताबाट राष्ट्रिय सडक सुरक्षा परिषद र सडक विभागको क्षमता अभिवृद्धीमा र अतिव्यस्त सडकहरूको स्तरोन्नती समेत हुने विश्व बैंकले बताएको छ। नेपालका लागि विश्व बैंकका राष्ट्रिय म्यानेजर फारिस हदाद जार्भोसले सडक आयोजनाहरूको सुधारमा खर्च हुने रकमले नेपालमा कोभिड-१९ बाट अर्थतन्त्रमा परेको असर न्यूनिकरणमा सहयोग पुग्ने अपेक्षा राखिएको बताएका छन्।

भैरहवा–लुम्बिनी–तौलिहवा सडक निर्माण तीव्र

भैरहवा । शाक्यमुनि बुद्ध जन्मस्थल लुम्बिनी आउने बौद्ध धर्मावलम्बीका लागि मुख्य मार्गका रुपमा रहेको भैरहवा–लुम्बिनी–तौलिहवा सडकखण्ड निर्माणले तीव्रता पाएको छ । तीन खण्डमा विभाजन गरेर निर्माण शुरु गरिएको सो सडक हालसम्म ६५.६६ प्रतिशत पूरा भएको सडक आयोजना कार्यालयले जनाएको छ । भैरहवाको बुद्धचोकदेखि विमानस्थलसम्मको ६ लेन सडक ३.६ किलोमिटर, विमानस्थलदेखि लुम्बिनीको पर्सा चोकसम्म चार लेन सडक १४.५ किलोमिटर र पर्सा चोकदेखि कपिलवस्तुको तौलिहवासम्म दुई लेन सडक २३ किलोमिटर गरी जम्मा ४१.१ किमी सडक निर्माणलाई निरन्तरता दिइएको सडक आयोजना कार्यालयको सूचना शाखाले जनाएको छ । भैरहवा–लुम्बिनी– तौलिहवासम्मको सडक निर्माणका लागि भारतीय निर्माण कम्पनी गवार कन्स्ट्रक्सन लिमिटेड गुणगाँवले सन् २०१७ जुन २२ मा सम्झौता गरेको हो । निर्माण शुरु गरिएको ३० महिना अर्थात् २०२० जनवरी १२ सम्म सक्ने सम्झौता भए पनि निर्माण कम्पनीले विभिन्न कारण देखाउँदै २०२० अप्रिल ३० सम्म म्याद थपेको थियो । थपिएको म्यादसम्म पनि मजदूरको अभाव र नदीजन्य पदार्थको समस्याका कारण पूरा गर्न नसकिएको जनाउँदै सडकका आयोजना प्रमुख प्रदीपराज शाक्यले अबको तीन महिनामा निर्माण पूरा हुने जानकारी दिनुभयो । एशियाली विकास बैंकको आर्थिक सहयोगमा २ अर्ब १६ करोड ८५ लाख ७५ हजार ९ सय ११ रुपैयाँ लागतमा निर्माण भइरहेको सो सडकका बीच भागमा ग्रिन बेल्ट तथा दायाँबायाँ सर्भिस लेन र नाली रहने आयोजना प्रमुख शाक्यले जानकारी दिए । हालसम्म नाला, ग्याभिन (तारवाल), रुख कटान, बिजुलीका खम्बा तथा तार जडान र मुआब्जा वितरणको काम सकिएको बताउँदै सडकको प्राविधिक समन्वय, निगरानी र परीक्षण गर्ने इञ्जिनियरिङ कन्सलटेन्टका निमित्त टिम प्रमुख इ अयोध्या श्रेष्ठले अब भने कालोपत्रेको काम धमाधम भइरहेको जानकारी दिए । बन्दाबन्दी समयमा पनि नियमितरुपमा काम भइरहेको निर्माण कम्पनीका नेपाली प्रतिनिधि मधुसूदन आचार्यले भने, “निर्माणका क्रममा कुनै समस्या नपरे अबको तीन महिनामा सम्पूर्ण सडक निर्माणको कार्य पूरा गरिने छ ।” नेपालमा पैदलमार्गबाट धेरै पर्यटक भित्रिने मुख्य नाकाका रुपमा रहेको बेलहियासंँग बुद्धचोक हुँदै जोडिएको सो सडकको निर्माणपछि बुद्ध जन्मस्थल लुम्बिनीलगायत बुद्धस्थल अवलोकन भ्रमणमा यात्राका लागि सजिलो हुने देखिएको छ । निर्माणको अन्तिम अवस्थामा पुगेको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल करीब दुई महिनापछि सञ्चालन भएसंँगै सो सडकले पर्यटन तथा औद्योगिक क्षेत्रको विकासमा महत्वपूर्ण टेवा दिने उद्योग व्यापार सङ्गठन रुपन्देहीका अध्यक्ष नारायण भण्डारीले विश्वास व्यक्त गरे । रासस

गौरवका आयोजनामा सञ्चालित उपकरण सुरक्षाको माग

काठमाडाैं । काेभिड–१९ को त्रासबीच राष्ट्रिय गौरवका आयोजनालाई गति दिने सरकारको नीतिअनुसार पूर्वाधार निर्माणमा सक्रिय व्यवसायीलाई अज्ञात समूहबाट पटक–पटक हतोत्साहित गर्ने गरी भइरहेका घटनाका दोषीलाई कारवाही गर्न नेपाल निर्माण व्यवसायी महासङ्घले माग गरेको छ । दाङ जिल्ला गढवा गाउँपालिका–१ जेठानगाउँस्थित कल्याणकोट–कालाकाटे गढवा सिक्टा हुलाकी सडक निर्माणका लागि राप्ती नदी किनारमा पार्किङ गरी राखिएका पाँच वटा स्काभेटरमा सोमबार राति अज्ञात समूहबाट आगजनी गरिएको घटनाप्रति कडा आपत्ति जनाउँदै महासङ्घले सुरक्षा माग गरेको हो । आगजनीका कारण चार स्काभेटर जलेर नष्ट भएको छ । एउटामा आंशिक क्षति पुगेको महासङ्घका महासचिव रोशन दाहालले मङ्गलबार जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । बा२क ४४८२, बा१क २२७१, बा२क ३१४८, रा१ख ७१३ र एउटा परीक्षणका क्रममा रहेको (अनटेस्ट) स्काभेटरमा आगजनी गरिँदा करोडौँको क्षति भएको उनले बताए। उक्त सडकखण्डको निर्माण बज्रगुरु–कान्छाराम कन्स्ट्रक्शन जेभीले गरिरहेको छ । दुवै कम्पनी महासङ्घका सदस्य छन् । “निर्माण व्यवसायी र उपकरणको सुरक्षालाई लिएर महासङ्घले पटक–पटक प्रधानमन्त्री, मन्त्री, सुरक्षा निकायका प्रमुखसहित सरोकार भएका सबैको ध्यानाकर्षण गराइरहँदासमेत अज्ञात समूहको गतिविधिमा कुनै कमी नआउनु चिन्ताको विषय हो”, महासचिव दाहालले भने ।  रासस