सरकारको बजेटप्रति निर्माण व्यवसायी असन्तुष्ट, थप माग समेट्न आग्रह
काठमाडाैं । निर्माण व्यवसायी महासंघले सरकारले सार्वजनिक गरेको आगामी वर्षको बजेटमा असन्तुष्टि जनाएको छ ।समग्र रुपमा बजेट राम्रै भएपनि निर्माण व्यवसायीको पुर्नउत्थान, व्यवसायीहरुको इजाजतपत्रको नविकरणको शुल्क मिनाह, बैंक ग्यारेन्टी र बीमाको म्याद थप लगायतमा निर्माण व्यवसायका क्षेत्रमा परेको असरलाई सम्बोधन नगरिएको भन्दै असन्तुष्टि जनाएकाे हाे । महासंले एक विज्ञप्ती जारी गर्दै कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि चालिएका कदमहरुबाट प्रभावित निर्माण व्यवसाय समेतलाई पुर्नउत्थानमा जोड नदिइएको गुनासो गरेकाे छ । व्यवसायीहरुको इजाजतपत्रको नविकरणको शुल्क मिनाह, बैंक ग्यारेन्टी र बीमाको म्याद थप, श्रम सूचना बैंकको स्थापना, रोजगारीका लागि तालिमको व्यवस्था लगायतका व्यवस्थाहरु बजेटमा उल्लेख भएतापनि कोभिड १९ को कारण निर्माण व्यवसायको क्षेत्रमा परेको गम्भीर असरलाई स्पष्टका साथ सम्बोधन हुन नसकेकोले व्यवसायीलाई थप उत्साहित बनाउन सकेको छैन,’ विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।
प्राणी उद्यानको काम धमाधम, सडक स्तरोन्नति शुरु
भक्तपुर । सूर्यविनायक नगरपालिकामा निर्माण हुने राष्ट्रिय प्राणी उद्यान निर्माणको बाँकी काम धमाधम शुरु हुन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक प्रधानमन्त्री भएपछि विसं २०७३ असार ९ गते शिलान्यास गरेकाे उद्यानको काम केही समय रोकिए पनि अहिले उद्यान क्षेत्रको चारैतिर सडक स्तरोन्नति शुरु भएको छ । वन र वन्यजन्तुको प्रजनन, संरक्षण तथा अनुसन्धान गर्ने मूल उद्देश्यले निर्माण भइरहेको उद्यानको सिमाना वरिपरि १५ मिटर सडकको स्तरोन्नतिको काम सञ्चालन गरिएको पूर्वमन्त्री एवं सांसद महेश बस्नेतले जानकारी दिए । पहिलो चरणमा नगरपालिका–७ स्थित गुन्डुको खहरेबाट पाथीभरा मन्दिर सडकखण्डको चार किलोमिटर सडक स्तरोन्नति गरिने भएको छ । त्यसका लागि उद्यानले ३० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ । उनका अनुसार यस क्षेत्रभित्र पर्ने सूर्यविनायक घ्याम्पेडाँडा सडक बन्द हुनसक्ने भएकाले त्यसको विकल्पका रूपमा जगातीको आदर्श चोकबाट ८ नं वडा कार्यालय हँुदै घ्याम्पेडाँडा–रानीकोट जाने एउटा सडक र गुन्डु सिमलघार, पाइलटबाबा आश्रम हुँदै घ्याम्पेडाँडा–रानीकोट जाने अर्को गरी उद्यान क्षेत्रको १३ किलोमिटर सडक निर्माण हुने भएको छ । ती दुईवटै सडक आर्थिक वर्ष २०७७/७८ मा निर्माण हुने जानकारी दिँदै बस्नेतले यसका लागि उपत्यका सडक विस्तार आयोजनाअन्तर्गत काम हुने गरी रातो किताबमा कम्तीमा ५/५ करोड बजेट पर्ने सुनिश्चित गरेको बताए । “सरकारले यस क्षेत्रलाई वन्यजन्तुको प्रजनन, संरक्षण र अनुसन्धानका लागि चयन गर्दै प्राणी उद्यानको काम अगाडि बढाउनु सूर्यविनाकका बासिन्दाका लागि मात्रै नभई सिङ्गो भक्तपुरवासीका लागि गौरवको कुरा हो, अहिले उद्यानको कार्यालय भवन निर्माण सकेर सञ्चालनमा आइसकेको छ, सीमाङ्कन गर्ने, तारबार लगाउने काम भएका छन्, पशु अस्पतालको भवन निर्माण भइरहेको छ”, सांसद बस्नेतले भने, “यसै वर्ष दुई हात्ती र केही जङ्गली जनावर ल्याएर छाड्ने योजना छ, यो आयोजनालाई प्राथमिकतामा राखेर छिटो सम्पन्न गर्न सके कोरोनाले थलिएको पर्यटन व्यवसायलाई उकास्न सकिन्छ, सरकारले लागत पनि पाँच वर्षभित्र उठाउन सक्छ ।” सडक विस्तार शुरु भएपछि सांसद बस्नेतसहित राष्ट्रिय प्रकृति संरक्षण कोष खुमलटारका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार सिंह, सदर चिडियाखाना जावलाखेलका निर्देशक किरण पोखरेल, सूर्यविनायक नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवाली, सूर्यविनायक प्राणी उद्यानका व्यवस्थापन अधिकृत मिथिलेश महतो, वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटालगायत प्राविधिकसहितको टोलीले सडकको निरीक्षण गरेको थियो । आर्थिक वर्ष २०७६/७७ मा उद्यानको गुरुयोजनाबमोजिमको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाउन ८ करोड रूपैयाँ विनियोजन गरिएको थियो । गुरुयोजना पास भएसँगै डिपिआरको काम शुरु भएको छ । गुरुयोजनाअनुसार प्राणी उद्यानमा जीवजन्तुको कृत्रिम बासस्थान निर्माण हुनेछ, जसमा लोपोन्मुख प्रजाति एवं वन्यजन्तुको संरक्षण र प्रजनन केन्द्रको स्थापना गरिनेछ । घाइते, बिरामी र टुहुरा वन्यजन्तुको हेरचाह तथा उपचार गर्नका लागि पशु अस्पतालको भवन निर्माण कार्य भइरहेको छ । जैविक पर्यटन र जीवजन्तुको खुला चिडियाघर हुने यस उद्यानमा करिब एक हजार मानिस अटाउने सभाहलसमेत बनाउने लक्ष्य रहेको छ । सूर्यविनायक आसपासका सात सामुदायिक वनलगायत २५५ हेक्टर वन क्षेत्र निर्धारण गरी काम शुरु भएको छ । करिब रु सात अर्ब लगानीमा उद्यान निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । रासस
रुरु गाँउपालिकाकाे रिडीमा तीनमुखे पुल बन्दै
गुल्मी । बन्दाबन्दी अवधिमा रिडीमा दृश्यावलोकन स्तम्भसहितको तीनमुखे पुल निर्माण धमाधम भइरहेको छ । ऐतिहासिक, धार्मिक र पर्यटकीय गन्तव्यका रुपमा परिचित रुरुको रिडीमा भ्युटावरसहित झोलुङ्गे पुल निर्माण जारी रहेको छ । करीब ६ वर्षअघि शिलान्यास गरिएको पुल अलपत्र अवस्थामा थियो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अलपत्र पुल निर्माणलाई अघि बढाउन निर्देशन दिएपछि बन्दाबन्दीमा निर्माण रोकिएको छैन । पुल निर्माणको जिम्मेवारी लिएको निर्माण कम्पनीका करणजीत बर्माले झण्डै ८० प्रतिशत काम सम्पन्न भइसकेको बताए । पुलको स्याङ्जातर्फको टावर ब्लक निर्माण सम्पन्न भइसकेको छ । अब मुख्य पिलरको पाँचौं तलामा काम भइरहेको छ । पिलर सात तला बनेपछि भ्युटावरको निर्माण काम पूरा हुने बर्माले बताउनुभयो । पाल्पा र गुल्मीतर्फको पिलरको काम यस महिनामा सम्पन्न हुनेछ । कोभिड –१९ को महामारीमा पनि कामदारले कामलाई निरन्तरता दिएका हुन् । कामदारमा अहिले कोभिड –१९ का कारण मनोबल कमजोर भइरहेकाले काम अघि बढाउन आगामी महिना समस्या हुने बर्माको धारणा छ । गुल्मी जिल्लामा कोभिड –१९ को प्रभाव बढ्दो मात्रामा देखिएको छ । यसै आवमा काम सम्पन्न हुने भए पनि बन्दाबन्दीले सामग्री ल्याउन समस्या हुँदै आएको छ । सङ्घीय सरकारको कुल ९ करोड ८८ लाख २६ हजार ३ सय ३२ रुपैयाँ लागतमा पुल निर्माण भइरहेको हो । नयाँ बाटो रुबिनामना जेभीले निर्माणको जिम्मा पाए पनि ढिलासुस्ती हुँदा स्थानीय बासिन्दा पुल नै नबन्ने हो कि भन्ने चिन्तामा रहँदा निर्माण धमाधम भएपछि खुशी देखिएका छन् । नेपालको धार्मिक पर्यटकीय क्षेत्र रहेको गुल्मी जिल्लाको रुरु गाउँपालिका, पाल्पा तानसेनको अर्गली र स्याङ्गजाको कारीकोट जोड्ने झोलुङ्गेपुल निर्माण हुँदा स्थानीय बासिन्दामा खुशी छाएको हो । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको संगमस्थल रिडीमा बन्ने तीनमुखे पुल नेपालकै नमूना बन्ने रुरु गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष रामलाल विश्वकर्माले बताए । पुल बनेपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि हुने उनको विश्वास छ । कालीगण्डकीको किनारबाट नै पाल्पा, गुल्मी र स्याङ्जा जोडिने पुल बनेपछि आवतजातमा सहज हुने स्थानीय बासिन्दा चूरामणि तिमिल्सेनाले बताउनुभयो । धार्मिक पर्यटन गन्तव्यका रुपमा प्रख्यात रिडीमा पर्यटक आगमन बढ्दा समग्र यस क्षेत्रको विकासमा ठूलो योगदान पुग्ने तिमिल्सेनाको जिकिर छ । विसं २०७१ मंसिर १५ गते शिलान्यास गरिएको पुल निर्माण पक्षको लाहपरबाहीका कारण अलपत्र अवस्था रहेको थियो । परराष्ट्रमन्त्रीका सचिवालय सदस्य जंग नेपालीका अनुसार चुनाव जितेपछि अलपत्र पुल निर्माणले निरन्तरता पाएको छ । मन्त्रीको निर्देशनपछि तीनमुखे पुल निरन्तर रुपमा भइरहेको र यसै आव २०७६/७७ मा काम सम्पन्न हुने नेपालीले बताए । सङ्घीय सरकारको स्थानीय पूर्वाधार विकास तथा कृषि सड्क विभागको सहयोगमा पुल निर्माण भइरहेको छ । कुल ५४० मिटर लम्बाइ रहने पुलका प्रत्येक तीन लुठ्ठाको लम्बाइ १ सय ८० मिटर हुनेछ । नेपालकै चार धाममध्ये (मुक्तिनाथ, बराह, देवघाट) रुरु एक हो । यस क्षेत्रलाई भारतको बनारससँग पनि तुलना गर्ने चलन छ । रिडीस्थित शालिग्राम पाइने कालीगण्डकी नदीमा स्नान गर्दा पुण्य प्राप्ति हुने विश्वास छ । रिडी पौराणिक कालदेखि नै पवित्र तीर्थस्थलमा रुपमा परिचत छ । पाल्पाको अर्गलीतर्फको भागमा ऋषिकेश मन्दिर र गुल्मी जिल्लाको रिडीतर्फ रुरुकन्याको तपोभूमि रहेको पाइन्छ । रासस