मध्यपहाडी लोकमार्गमा कालोपत्रको काम ठप्प
काठमाडौं । कोभिड–१९ बाट जोगिन र जोगाउन भन्दै मध्यपहाडी लोकमार्गको कालोपत्रको काम ठप्प भएको छ । जाजरकोट र रुकुम पश्चिमको करिब ४२ किलोमिटर काम ठप्प भएको हो । जाजरकोट, रुकुमपूर्व र रुकुम पश्चिम गरी २ सय १४ किलोमिटर सडक मध्यपहाडी लोकमार्गअन्तर्गत पर्दछ । लकडाउनका कारण राष्ट्रिय गौरवको आयोजनाका काम नरोक्ने सरकारी निर्णय भए पनि मध्यपहाडी लोकमार्गको काम मजदुर अभावकै कारण रोकिएको छ । रुकुम र जाजरकोट खण्डको काम रोकिएपछि तोकिएको समयमा निर्माण नहुने पक्का भएको छ । आयोजनाले रुकुम खण्डमा आगामी असार मसान्तभित्र कालोपत्र गरिसक्ने लक्ष्य लिएको थियो । सानीभेरी–चौरजहारी सडकखण्डको ३२ किलोमिटर कालोपत्रको काम करिब एक महिनादेखि रोकिएको लोकमार्गको दैलेख आयोजना कार्यालयले जनाएको छ । कालोपत्र गर्नका लागि ठिक्क परेको काम रोकिएपछि समस्या भएको छ । रुकुमको ३२ किलोमिटर र जाजरकोटको १० किलोमिटर सडकमा कालोपत्र गर्ने ठिक्क पारिएको भए पनि लकडाउनका कारण मजदुर नहुँदा काम रोकिएको छ । अन्य मेशिनबाट हुने काम जारी रहेको निर्माण कम्पनीले बताएका छन् । शर्मा सिंह एन्ड ब्रदर्स जेभीका विश्वास उप्रेतीका अनुसार कालोपत्र गर्नका लागि आधारभूत काम सकिएको थियो, कालोपत्र शुरु हुनै लाग्दा लकडाउन हुँदा काम रोकिएको छ । बाँकी कच्ची कटान गर्ने काम भने उपकरणमार्फत हुने काम भने चालु रहेको छ । जाजरकोट खण्डमा रहेको ८२ किलोमिटर सडकखण्ड मध्ये ५५ किलोमिटर शर्मा सिंह एन्ड ब्रदर्स जेभीले काम गर्ने ठेक्का पाएको छ । “अहिले मेशिनको काम मात्र भएका छन्”, उप्रेतीले भने, “अब दुई, चार दिनभित्र मेशिनको काम रोकिने सम्भावना छ, नेपालगञ्जबाट आउने सामग्री आउन छाडिसकेको छ । तेलको आपूर्तिसमेत ठप्प भएको छ ।” जाजरकोटको सबैभन्दा जटिल मानिएको छेडागाड नगरपालिकाको मन्ताभिरमा कटानको काम शुरु भएको उनले बताए । त्यस्तै रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको हासिवाङदेखि चौरजहारी र जाजरकोटको भेरी नगरपालिकाको सिमानासम्मको काम रोकिएको छ । अग्ला ठाउँ सम्याउने, क्रसर र नालाको काम भने मेशिनमार्फत जारी राखिएको छ । उक्त खण्डसहित पहिले नै ठेक्का लागेका सबै सडकमा कालोपत्रको काम आगामी असार मसान्तसम्म सकिनुपर्ने हो । कालोपत्रको म्याद सकिन करिब एक महिना मात्र बाँकी भएकाले निर्धारित समयमा काम पूरा नहुने पक्का भएको छ । बाहिरबाट आएका दक्ष कामदार लकडाउनका कारण फर्किएका छन् । यही वैशाख २५ गतेपछि लकडाउन खुकुलो भए बाहिर गएका कामदारलाई बोलाएर कालोपत्रको काम जारी राख्ने तयारी छ । अहिलेकै अवस्थामा रहेर काम गर्दा १० किलोमिटर कालोपत्रको काम असार मसान्तसम्म सकिने अनुमान छ । बाँकी २२ किलोमिटर कालोपत्र आगामी मङ्सिरभित्र गर्ने गरी आवश्यक तयारी थालिएको छ । लकडाउनकै कारण मध्यपहाडी लोकमार्गअन्तर्गत बैरीदहदेखि पूर्वको क्षेत्रमा पनि कालोपत्र शुरु भएको छैन । त्यहाँ पनि उपकरणबाट हुने काम भने चालु छ । उपकरणभन्दा श्रमिकबाट गर्नुपर्ने काम धेरै भएपछि समस्या परेको निर्माण कम्पनीले बताएका छन् । मध्यपहाडी लोकमार्गले रुकुमपूर्व र पश्चिमको १ सय २३ किलोमिटर खण्ड ओगटेको छ भने जाजरकोटमा ८२ किलोमिटर रहेको छ । रुकुममा केही खण्डमा कालोपत्रको काम भइसकेको छ । त्यस्तै लोकमार्गका अरू सबै खण्डमा ठेक्का लागे पनि मुसीकोट नगरपालिकाको सेरीगाउँदेखि हासिबाङसम्मको १२ किलोमिटरमा बाँकी छ । आयोजना कार्यालयका अनुसार ठेक्का टुङ्गो लागे पनि सार्वजनिक गर्ने र सम्झौताको काम हुन सकेको छैन । आयोजनाको काम रोकिएपछि स्थानीयवासी निराश भएको जाजरकोट भेरी नगरपालिकाका–११ कालाभुरका धर्मबहादुर घर्तीले बताए । काम रोकिएपछि फुर्सदिलो भएर बसेको उहाँको भनाइ छ । निर्माण कम्पनीले दक्ष जनशक्ति बाहिरबाट ल्याएर काम गर्दै आएको छ । स्थानीय मजदुरलाई बाहिरबाट आएका दक्ष जनशक्तिले सिकाएको भरमा काम गर्दै आएका छन् । भेरी नदीमा निर्माण हुने भनिएको मध्यपहाडी लोकमार्गको पुल निर्माण हुन नसकेर ठप्प भएको छ । अहिले लकडाउनका कारण झन समस्य भएको छ । त्यस्तै कर्णाली प्रदेशको सामरिक महत्वको आयोजना नलगाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को कामसमेत ठप्प भएको छ । बाहिर जिल्लाका मजदुर लकडाउनका कारण घर फर्केपछि डिपिआरको काम ठप्प भएको हो । रासस
बन्दाबन्दीमा जलविद्युत् निर्माणको काम हुँदै
खलङ्गा । जुम्लाको तिला गाउँपालिका–७ मा निर्माणाधीन तिला लघु जलविद्युत्को काम शुरु गरिएको छ । कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि जारी लकडाउनमा सामाजिक दूरी कायम गर्दै एक मेगावाटको जलविद्युत् निर्माणको काम भइरेहको छ । राष्ट्रिय प्रसारण लाइनमा जोडिने जलविद्युत् गाउँपालिकाको गौरवको अयोजना भएकाले निर्माण थालिएको गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए । गाउँपालिकाको समपुरक कोषमा सङ्घीय अर्थ मन्त्रालयको सहयोग अनुदानमा दुर्ई करोड ८९ लाख रूपैयाँ जुम्लाका सङ्घीय सांसद गजेन्द्रबहादुर महतको निर्वाचन क्षेत्र पूर्वाधार विकास कोष कार्यक्रमको १० करोड रूपैयाँमध्ये १२ करोड ५० लाख रूपैयाँ बराबरको रकम यो वर्ष खर्च हुने गाउँपालिका अध्यक्ष योगीले जानकारी दिए । जलविद्युत् निर्माणपछि जुम्लाका एक नगरपालिकासहित सात गाउँपालिकाका स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुनेछन् । जलविद्युत् निर्माणको जिम्मा पाएका ठेकेदार साहसी शाहीले चालू आर्थिक वर्षको असार मसान्तसम्म निर्माण गरी निर्धारित समयमा सम्झौताअनुसार गाउँपालिकालाई हस्तान्तरण गरिने बताएका छन् । जलविद्युत्का महत्वपूर्ण मेसिन लकडाउनले गर्दा नाखा सिमानामा रोकिएकाले काममा समस्या आएको ठेकेदार शाहीले भने । सो जलविद्युत् १६ करोड लागतमा निर्माण हुने गाउँपालिकाले जनाएको छ । जलविद्युत् निर्माणमा यहाँका स्थानीयवासीले काम पाएपछि भारतलगायत तेस्रो मुलुक जान नपरेको र गाउँमै विकासे निर्माणको काम पाउँदा यहाँका स्थानीयवासीमा खुशी छाएको स्थानीयवासी टोपबहादुर रावतले बताए । जुम्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका सांसद गजेन्द्रबहादुर महतले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि तिला लघु जलविद्युत् योजना छनोट गरेका हुन् । यहाँका जनताको सबैभन्दा ठूलो समस्या भनेकै विद्युत् भएकाले पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि एक मात्र योजनामा तिला जलविद्युत् निर्माणमा राखेको उनले बताए । गत असोजमा जुम्ला सदरमुकाम खलङ्गा बजार एक महिनासम्म अन्धकार भएपछि सदरमुकाम उज्यालोका लागि सांसद महतको सांसद विकास कोषबाट २४ लाख ६० हजार रूपैयाँको लगानीमा २०० केभी ९१६० किलोवाट० डिजेल प्लान्ट मेसिनबाट यहाँका २२ हजार उपभोक्ता र जिल्लाका सरकारी कार्यालयले केही महिनासम्म डिजेट प्लान्टबाट काम चलाएका थिए । सदरमुकाम खलङ्गा बजारले अझै पनि १५ घण्टा लोडसेडिङको मार खेपिरहेको छ । रासस
बबई सिँचाइ आयोजना पुनः सञ्चालन
राजापुर । बर्दिया जिल्लामा बन्दाबन्दीका कारण रोकिएका आयोजनाका काम सञ्चालनमा आएका छन् । सरकारले महत्वपूर्ण योजनामा काम सुरक्षित भएर सञ्चालन गर्न अनुमति दिएपछि कामले निरन्तरता पाएका हुन् । सरकारले आयोजना सञ्चालनका लागि बनाएको मापदण्डानुरुप व्यवस्था गर्ने गरी आवश्यकता र प्राथमिकताका आधारमा काम सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय बर्दियाले अनुमति दिएको छ । आवश्यक स्वास्थ्य सुरक्षा प्रबन्ध गरी काम सञ्चालन गर्न सकिने निर्णय गरिएअनुसार जिल्लामा सञ्चालनमा रहेका राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजना, कर्णाली नदी व्यवस्थापन आयोजना, रम्मापुर–गुलरिया–रझना सडक, भादापुल निर्माण, मधुवन र बारबर्दिया नगरपालिका जोड्ने सडकलगायत स्थानीय तहका ठूला साना योजना पुनःसञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । बबई सिँचाइ आयोजनाले पुनः काम शुरु गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट काम गर्ने अनुमति लिएर आयोजनाले काम शुरु गरेको हो । जिल्लामा ३८ ठेक्कामार्फत काम सञ्चालन हुँदै आए पनि अहिले १५ वटाले मात्रै अनुमति पाएका छन् । जिल्ला प्रशासन कार्यालय र पालिकाहरुले दिएको निर्देशनानुसार काम गर्ने मजदूरको स्वास्थ्य सुरक्षालाई ध्यान दिई निर्माण कम्पनीले बनाएको शिविरमै खाने, बस्ने र स्वास्थ्य जाँचको व्यवस्था मिलाइएको निर्माण व्यवसायी रामबाबु सुवेदीले बताए । जिल्लामा बबई सिँचाइ आयोजनासहित ठूला, मझौला र साना गरी झण्डै दुई सय योजना सञ्चालनमा छन् । रासस