तनहुँमा ४७ प्रतिशत आवास निर्माण सम्पन्न
सांकेतिक तस्विर काठमाडाैं । गोरखा भूकम्पको पाँच वर्ष पूरा हुँदा तनहुँ जिल्लामा ४७ प्रतिशत निजी आवास निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) तनहुँका अनुसार पूर्णतर्फ १३ हजार ९४६ र आंशिकतर्फ एक हजार १८५ लाभग्राही रहेकामा सात हजार २१४ निजी आवास पुनःनिर्माण सम्पन्न भएको हो । व्यास नगरपालिकामा दुई हजार ३७४ लाभग्राहीमध्ये एक हजार १३६, भानु नगरपालिकामा चार हजार ५९९ लाभग्राहीमध्ये दुई हजार ४१३, बन्दीपुर गाउँपालिकामा एक हजार ६४ लाभग्राहीमध्ये ५२४, आँबुखैरेनी गाउँपालिकामा ८९२ लाभग्राहीमध्ये ५३० र देवघाट गाउँपालिकामा ६४८ लाभग्राहीमध्ये २९२ जनाको निजी आवास निर्माण सम्पन्न भएको छ । त्यस्तै घिरिङ गाउँपालिकामा ३०६ लाभग्राहीमध्ये १४२, भीमाद नगरपालिकामा एक हजार २९६ लाभग्राहीमध्ये ४०३, म्याग्दे गाउँपालिकामा एक हजार ३९५ लाभग्राहीमध्ये ६८९, शुक्लागण्डकी नगरपालिकामा एक हजार ९३९ लाभग्राहीमध्ये ८४६ र ऋषिङ गाउँपालिकामा ६१८ लाभग्राहीमध्ये २३९ जनाको निजी आवास निर्माण सम्पन्न भएको सो एकाइले जनाएको छ । एकाइ प्रमुख जयप्रकाश गुप्ताका अनुसार कूल लाभग्राहीमध्ये पूर्ण घर क्षति भएका १३ हजार ७० र आंशिक घर क्षति भएका ७१७ गरी कूल १३ हजार ७८२ लाभग्राहीले पहिलो किस्ताबापतको रकम बुझेका छन् । त्यस्तै आठ हजार ९७६ लाभग्राहीले दोस्रो किस्ताबापतको रकम बुझेका छन् । ‘तेस्रो किस्ताबापतको रकम बुझ्नेको सङ्ख्या सात हजार २१४ रहेको छ’, एकाइ प्रमुख गुप्ताले भने, ‘घर निर्माण सम्पन्न गरेकाले उनीहरु तेस्रो किस्ताबापतको रकम बुझेका हुन् ।’ पहिलो किस्ता बुझ्नेमा व्यास नगरपालिकामा दुई हजार १९७, भानु नगरपालिकामा चार हजार २२१, बन्दीपुर गाउँपालिकामा एक हजार २५, आँबुखैरेनी गाउँपालिकामा ८५३, देवघाट गाउँपालिकामा ५७२, घिरिङ गाउँपालिकामा २५०, भीमाद नगरपालिकामा एक हजार १३६, म्याग्दे गाउँपालिकामा एक हजार २७३, शुक्लागण्डकी नगरपालिकामा एक हजार ७४७ र ऋषिङ गाउँपालिकामा ५०८ लाभग्राही छन् । दोस्रो किस्ता बुझ्नेमा व्यास नगरपालिकामा एक हजार २९३, भानु नगरपालिकामा दुई हजार ८५९, बन्दीपुर गाउँपालिकामा ७१८, आँबुखैरेनी गाउँपालिकामा ५७१, देवघाट गाउँपालिकामा ३७०, घिरिङ गाउँपालिकामा १७७, भीमाद नगरपालिकामा ६६०, म्याग्दे गाउँपालिकामा ८४१, शुक्लागण्डकी नगरपालिकामा एक हजार १९० र ऋषिङ गाउँपालिकामा २९७ लाभग्राही छन् । बन्दाबन्दीका कारण निकासा रोकियो कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि बन्दाबन्दी लागू भएपछि निकासा रकम रोकिएको छ । बन्दाबन्दीका कारण प्रथम, दोस्रो र तेस्रो किस्ताबापतको रकम निकासा गर्न नसकिएको एकाइ प्रमुख गुप्ताले जानकारी दिए । उनका अनुसार ३३४ लाभग्राहीलाई पहिलो, ६६६ लाभग्राहीलाई दोस्रो र २५८ लाभग्राहीलाई तेस्रो किस्ताबापतको रकम निकासा गर्न बाँकी छ । ‘लाभग्राहीले कार्यालयमा रकम निकासाका लागि निवेदन दिए पनि चैत ११ गतेदेखि बन्दाबन्दी भएकाले उक्त रकम निकासा गर्न सकिएको छैन’, उनले भने, ‘बन्दाबन्दी सकिनेबित्तिकै उक्त रकम निकासा गरिनेछ ।’ व्यास नगरपालिकाका ८६ लाभग्राहीको पहिलो, ५० लाभग्राहीको दोस्रो, ४६ लाभग्राहीको तेस्रो, भानु नगरपालिकाका ५६ लाभग्राहीको पहिलो, २०२ लाभग्राहीको दोस्रो, ४९ लाभग्राहीको तेस्रो किस्ता निकासा हुन बाँकी छ । बन्दीपुर गाउँपालिकाका २८ लाभग्राहीको पहिलो, २३ लाभग्राहीको दोस्रो, १९ लाभग्राहीको तेस्रो, आँबुखैरेनी गाउँपालिकाका ३९ लाभग्राहीको पहिलो, आठ लाभग्राहीको दोस्रो र २० लाभग्राहीको तेस्रो किस्ता निकासा हुन बाँकी छ । देवघाट गाउँपालिकाका चार लाभग्राहीको पहिलो, १२ लाभग्राहीको दोस्रो, चार लाभग्राहीको तेस्रो, घिरिङ गाउँपालिकाका १६ लाभग्राहीको पहिलो, १८ लाभग्राहीको दोस्रो, चार लाभग्राहीको तेस्रो, भीमाद नगरपालिकाका ३० लाभग्राहीको पहिलो, ८७ लाभग्राहीको दोस्रो र ८७ लाभग्राहीको तेस्रो किस्ता निकासा हुन बाँकी छ । त्यस्तै म्याग्दे गाउँपालिकाका ३१ लाभग्राहीको पहिलो, ६५ लाभग्राहीको दोस्रो, शुक्लागण्डकी नगरपालिकाका १५ लाभग्राहीको पहिलो, १५२ लाभग्राहीको दोस्रो, १८ लाभग्राहीको तेस्रो र ऋषिङ गाउँपालिकाका २९ लाभग्राहीको पहिलो, ४९ लाभग्राहीको दोस्रो र ११ लाभग्राहीको तेस्रो किस्ता निकासा हुन बाँकी रहेको एकाइले जनाएको छ । रासस
पुनःनिर्माणको पाँच वर्ष : २० हजार घर बनाउन बाँकी
काठमाडौं । शुक्रबार वैशाख १२, अर्थात् गोरखा भूकम्पको पाँच वर्ष बितेको छ । यो पाँच वर्षमा पुनःनिर्माणका सम्पूर्ण काम सम्पन्न गर्ने योजना पूरा हुनसकेको छैन । निजी आवास पुनःनिर्माणको कामले तीव्रता लिए पनि अझै २० हजारभन्दा बढी घर निर्माण सम्पन्न भएको छैन । धादिङ जिल्लामा सर्वेक्षणबाट पहिचान भएका कूल लाभग्राही ७० हजार ५ सय ८१ रहेको थियो । सर्वेक्षणमा आफ्नो घर छुटेको भन्दै गुनासो गरेपछि थप भएका लाभग्राही १३ हजार ८ सय ५९ गरी ८४ हजार ४ सय ४० परिवार लाभग्राही सूचीमा छन् । यसमध्ये पहिलो किस्ता लिने लाभग्राही ७९ हजार ७ सय ६२ छन् । हालसम्म घर निर्माण सम्पन्न गरी ६३ हजार १ सय ७ परिवारले तेस्रो किस्ता लिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार धादिङका व्यवस्थापन सूचना प्रणालीविज्ञ इञ्जिनीयर दीपेन्द्र पौडेलले बताए । यसरी हेर्दा अझै २१ हजार ३ सय ३३ नागरिकको घर निर्माण हुनसकेको छैन । धादिङ जिल्लामा एक हजार ४ सय २ परिवारले पुनरावेदन दर्ता गराएका छन् भने लाभग्राही परिवर्तनका लागि ४ सय ६९ परिवारले निवेदन दिएको जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ । प्रवलीकरण (रेक्ट्रोफिटिङ) का लागि पाँच हजार १ सय १२ परिवार लाभग्राही कायम भएकामा २४ जनाले मात्र दोस्रो किस्ता लिएर प्रवलीकरणको काम सकेका छन् । चार सय १२ परिवार जोखिमयुक्त लाभग्राही पहिचान भएकामा २ सय १३ परिवारले मात्र घर निर्माण गरेका छन् । १ सय २९ भूमिहीन लाभग्राही रहेकामा १२ परिवारले मात्र तेस्रो किस्ता लिएका छन् । निजी आवास निर्मणमा कहालीलाग्दो अवस्था छ । निजी आवास पुनःनिर्माणको काम पुस मसान्तसम्म सक्ने भनिए पनि लकडाउनका कारण पुनः निर्माणको काम सबै प्रभावित भएको र समयमै नसकिने अवस्थामा भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका वित्तीय व्यवस्थापनविज्ञ आनन्दराज पाण्डेले बताए । बन्दाबन्दीका कारण पुनःनिर्माणको काम ठप्प भएको छ । निर्माण सामग्री गाउँसम्म लान सकिएको छैन । निर्माण मजदुर क्वारेनटाइनमा बसेका छन् । कोही बाहिर निस्कन नपाएका कारण पुनःनिर्माण प्रभावित भएको पाण्डेको भनाइ छ । लाभग्राही सूचीमा नपरे पनि वास्तविक पीडितहरु छुटेको अवस्थामा सरकारी निकायले विशेष निर्णय गरेर वास्तविक पीडितलाई लाभग्राही कायम गर्नुपर्ने देखिएको छ । वैशाख १२ को भूकम्पपछि तत्काल घर आवश्यक हुनेले घर निर्माण गरेर बनाएकाहरु, केही सीमान्तकृत टोलहरुमा बस्तीका अधिकांश परिवार यसरी लाभग्राही सूचीमा नपरेर सरकारले दिने अनुदानबाट बञ्चित भएकाले उनीहरुका लागि पुनःनिर्माण प्राधिकरणले विशेष निर्णय गरेर लाभग्रही कायम गर्नुपर्ने यससम्बन्धी वकालत गर्दै ट्रान्सपरेन्सी इन्टरनेशनल धादिङका जिल्ला अधिकृत सानुबाबु तिमिल्सिनाले बताए । रासस
भूकम्पका पाँच वर्ष : ३५ प्रतिशत निजी आवास निर्माण
काठमाडौं । वि.सं २०७२ वैशाख १२ गते विनाशकारी भूकम्प गएको पाँच वर्ष बितेको छ । भूकम्पले जिल्लाको निजी आवास निर्माण निकै सुस्ताएको छ । भूकम्पले क्षति पुर्याएको पाँच वर्ष बित्दा पनि राज्यले सोचेजस्तो रुपमा भूकम्प अतिप्रभावित १४ जिल्लामध्ये भक्तपुरमा पूर्ण लाभग्राही सूचीमा परेर निजी आवास पुनः निर्माण गर्नेको सङ्ख्या निकै कम रहेको छ । पाँच वर्षको अवधिमा भक्तपुरमा ३५ प्रतिशत निजी आवास निर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले जनाएको छ । जिल्लामा पुनःनिर्माण गर्नुपर्ने २८ हजार ५ सय ४५ र प्रवलीकरण गर्नुपर्ने ६ सय ९९ गरी कूल २९ हजार २ सय ४४ लाभग्राही सूचीमा परे पनि हालसम्म १० हजार ३ सय ३१ निजी आवास पुनःनिर्माण सम्पन्न गरेको कार्यालयका इञ्जिनीयर एवं सूचना अधिकृत भोजराज भट्टले जानकारी दिए । पुनःनिर्माण लाभग्राहीमध्ये २४ हजार ७ सय २७ ले अनुदान सम्झौता गरेका छन् । त्यसमध्ये २४ हजार ७ सय २४ ले प्रथम किस्ता, १० हजार ६ सय ८१ ले दोस्रो किस्ता र १० हजार ८५ लाभग्राहीले तेस्रो किस्ताको रकम लगेका छन् भने थप २ सय ४६ पुनःनिर्माण सम्पन्न गरिसकेकाले तेस्रो किस्ता लैजाने चरणमा रहेको सूचना अधिकृत भट्टले जानकारी दिए । उनका अनुसार प्रथम किस्ता ८५ दशमलव आठ प्रतिशत, दोस्रो किस्ता ३६ दशमलव पाँच प्रतिशत र तेस्रो किस्ता लैजाने ३४ दशमलव पाँच प्रतिशत लगेका छन् । हाल दुई हजार ५ सय ४ को निजी आवास पुनःनिर्माण शुरु गरेका छन् भने पहिलो किस्ताको ५० हजार अनुदान लिएर पनि घर नबनाउनेको सङ्ख्या भने ११ हजार ८ सय ९२ रहेको छ । त्यस्तै पूर्णक्षति नभएको तर प्रवलीकरण गर्नुपर्ने निजी आवासअन्तर्गत प्रवलीकरण लाभग्राही सूचीमा रहेका ६ सय ९९ मध्ये ३ सय ५९ ले मात्रै अनुदान सम्झौता गरेर प्रथम किस्ता लगेका छन् भने दोस्रो किस्ता लैजाने दुई लाभग्राही मात्रै रहेका छन् । जिल्लाका चार नगरपालिकामध्ये सबभन्दा धेरै सूर्यविनायक नगरपालिकामा ४२ प्रतिशतले निजी आवास निर्माण सम्पन्न गरेका छन् । यस नगरपालिकामा पुनःनिर्माणका लागि सात हजार १ सय ६५ ले प्रथम किस्ता, तीन हजार ४ सय २७ ले दोस्रो किस्ता र तीन हजार २ सय २९ ले तेस्रो किस्ताको अनुदान रकम लगेका छन् । भूकम्पमा सबैभन्दा धेरै आवासमा क्षति पुगेको चाँगुनारायण नगरपालिकामा भने निजी आवास निर्माणमा ३७ दशमलव नौ प्रतिशत सम्पन्न भएको छ । यो नगरपालिकामा १० हजार ४३ ले प्रथम किस्ता, चार हजार ४ सय ५५ ले दोस्रो किस्ता र चार हजार २ सय ६५ ले तेस्रो किस्ता लिएका छन् । त्यस्तै सबैभन्दा कम क्षति भएको मध्यपुरथिमि नगरपालिकामा ३१ दशमलव छ प्रतिशतले मात्रै निजी आवास निर्माण गरेका छन् । यहाँका दुई हजार १ सय ५४ ले प्रथम किस्ता, ८ सय १ ले दोस्रो किस्ता र ७ सय ७२ तेस्रो किस्ताको अनुदान रकम लगेको जिल्ला कार्यालयका इञ्जिनीयर एवं सूचना अधिकृत भट्टले जानकारी दिए । भक्तपुर नगरपालिकामा भने निजी आवास निर्माणमा २२ दशमलव दुई प्रतिशत मात्रै सम्पन्न भएको छ । यहाँ पाँच हजार ७ सय २१ ले प्रथम किस्ता, दुई हजारले दोस्रो किस्ता र एक हजार ८ सय १९ ले तेस्रो किस्ता रकम लगेका छन् । जग्गासम्बन्धी मुद्दा मामिला, घर झगडा, बहुस्वामित्वको विवाद, पुराना बस्तीमा जग्गाको क्षेत्रफल सानो, हरित क्षेत्रमा परेको, नगरपालिकाको मापदण्डअनुसार बाटो, जग्गा क्षेत्रफल र नक्सा नरहेकोजस्ता कारणले पुर्ननिर्माणमा समस्या आएको उनको भनाइ छ । समस्या समाधानका लागि कार्यालयले अनुगमन एवं अन्तक्र्रिया कार्यक्रम, जनप्रतिनिधिसँग छलफल, इन्सेकलगायत विभिन्न संस्थाले सार्वजनिक सुनुवाइ गर्दै आएको छ । पहिलो किस्ता लिएकाले आगामी असार मसान्तसम्म दोस्रो किस्ता र आगामी मङ्सिर मसान्तसम्म पुनःनिर्माण सम्पन्न गरी तेस्रो किस्ताको रकम लिई सक्नुपर्ने प्राधिकरणले जनाएको छ । रासस