सवारी चालक अनुमतिपत्र नपाउँदा सेवाग्राही समस्यामा
काठमाडौं । सवारी चालक अनुमतिपत्र समयमा नपाउँदा सेवाग्राही समस्यामा परेका छन् । यातायात व्यवस्था कार्यालय भेरीमार्फत चालक अनुमतिपत्रका लागि आवेदन दिएका झण्डै ४५ हजार सेवाग्राहीले चालक अनुमतिपत्र पाएका छैनन् । सरकारलाई बुझाउनुपर्ने राजश्व रकम तिरेको एक वर्ष नाघेका सेवाग्राहीले पनि अझै चालक अनुमतिपत्र पाउन नसकेको निमित्त कार्यालय प्रमुख पूर्णबहादुर खत्रीले बताए । सरकारले चार वर्ष पहिले ‘स्मार्ट’ चालक अनुमति शुरु गरेदेखि नै सेवाग्राहीले समयमा चालक अनुमतिपत्र पाएका छैनन् । यातायात व्यवस्था कार्यालयबाट परीक्षा उत्तीर्ण गरेकाको चालक अनुमतिपत्र छपाइ यातायात व्यवस्था विभागले गर्दै आएको छ । विभागमा रहेको मुद्रणयन्त्र (छपाइ मेशिन)को क्षमताभन्दा धेरै कार्ड छाप्नुपर्ने भएकाले सेवाग्राहीले समयमा चालक अनुमतिपत्र नपाएको हुन सक्ने उनको भनाई छ । सडकमा छड्के जाँच हुँदा चालकले कार्यालयमा राजश्व तिरेको कागज देखाएर हिँड्ने गरेका छन् । रसिदको नम्बर नबुझिने भएर अहिले लेमिनेशन गरेर कागज बोक्नुको विकल्प नभएको चालक ईश्वर रेग्मीको भनाइ छ । सरकारले आधुनिक प्रविधिको प्रयोग गर्दै हस्तलिखित कार्डलाई ‘स्मार्ट’ चालक अनुमतिपत्रले विस्थापित गर्ने लक्ष्य राखे पनि आवश्यकताभन्दा कम छपाई हुँदा सेवाग्राहीले समयमा चालक अनुमतिपत्र नपाएका हुन् । विभागले चाँडो गर्ने भन्दै केही महिना निजी कम्पनीलाई छपाइको जिम्मेवारी दिएको निमित्त कार्यालय प्रमुख खत्रीले बताए। सङ्घीय सरकारले गत मङ्सिरमा यातायात व्यवस्था कार्यालय भौतिक पूर्वाधार विकास मन्त्रालयलाई हस्तान्तरण गरिसकेकाले यातायातको व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारको हो । प्रदेश सरकार आफैंले कार्ड छाप्न शुरु नगर्दा चालकले समयमै स्मार्ट कार्ड पाउन सकेका छैनन् । १९ करोड रुपैयाँ बढी राजश्व सङ्कलन बाँकेको नेपालगञ्जस्थित यातायात व्यवस्था कार्यालय भेरीले चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा १९ करोड ६१ लाख ८६ हजार ८८६ रुपैयाँ राजश्व सङ्कलन गरेको छ । सवारी साधनको नवीकरण, यातायात क्षेत्रको आम्दानी, चालक अनुमतिपत्र दर्ता तथा नवीकरण, ब्लुबुकसम्बन्धी दस्तुर दण्ड जरिवानालगायतका विविध शीर्षकमा उक्त राजश्व असुली गरिएको कार्यालयका लेखा अधिकृत दीपक गोराथोकीले बताए । उनका अनुसार सबैभन्दा धेरै साउन महिनामा चार करोड २० लाख ८३ हजार २७३ रुपैयाँ, भदौमा तीन करोड ९१ लाख ६५ हजार २३७ रुपैयाँ, असोजमा तीन करोड ९० लाख २७ हजार ३५८ रुपैयाँ, कात्तिकमा तीन करोड ३९ लाख आठ हजार २८३ रुपैयाँ र मङ्सिर महिना चार करोड १९ लाख २६ हजार ७३५ रुपैयाँ राजश्व सङ्कलन भएको छ । उक्त राजश्व गत आवको अघिल्लो र पछिल्लो पाँच महिनाको तुलनामा बढी हो । तीन सय बढी ट्रक प्यानमा दर्ता बाँके ट्रक यातायात सेवा प्रालिले आफ्ना ३०० भन्दा बढी ट्रकलाई स्थायी लेखा नम्बर (प्यान) वितरण गरेको छ । अध्यक्ष महेन्द्र मल्ल ठकुरीले तीन महिनादेखि नै आफूहरुले प्यानसम्बन्धी नियम कार्यान्वयन गरेको बताए । सरकारले चालू आर्थिक वर्ष २०७६÷०७७ को बजेटमार्फत एक हजारभन्दा बढीको खर्च देखाउन प्यान बिल अनिवार्य छ । यो व्यवस्था पुस १ गतेदेखि कडाइ गरेसँगै ढुवानी व्यवसायीले दर्ता नभएका गाडीको काम लिन बन्द गरेका हुन् । ढुवानीमा मूल्य अभिवृद्धि कर (भ्याट) र प्यानको विरोध भएपछि सहजीकरणको उपाय पत्ता लगाउन कार्यदल बनाएको थियो । “पुुस १ गतेबाट नियम लागू भए पनि हामीले यो तीन महिना अघिबाटै लागू गरिसकेका छौँ”, अध्यक्ष मल्ले बताए । प्यान नलिएका ट्रक र यातायात व्यवसायीका ढुवानी साधनमा मालसामान लोड अनलोड गर्न पाइँदैन । सरकारले चालू आव २०७६÷०७७ को बजेटमार्फत एक हजार रुपैयाँभन्दा बढीको खर्च देखाउन प्यान बिल अनिवार्य गरेको हो । बाँकेमा पनि राजश्व अनुसन्धान कार्यालय कोहलपुरले जिल्लास्थित सरोकारवाला निकायलाई बोलाएर प्यान बिल अनिवार्य गर्न निर्देशन दिइसकेको छ । रासस
भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै काठमाडौंमा आर्किटेक्चरल सम्मेलन हुँदै
काठमाडौं । नेपाल पर्यटन बर्ष मनाउने अन्तिम तयारीमा जुटिरहेका बेला काठमाडौं बृहत राष्ट्रिय सम्मेलन सुरु हुने भएको छ । सोसाईटी अफ नेप्लिज आर्किटेक्ट (सोना) को आयोजनामा शुक्रबारदेखि काठमाडौंमा सुरु हुने सम्मेलनमा देशभरका पाँचसय भन्दा बढीको सहभागिता हुँदैछ । सोनाका महासचिव सुरज खनालका अनुसार नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै ‘आर्किटेक्चरल रेस्पोन्सेस टू टूरिजम इन नेपाल’ भन्ने एजेण्डासहितको सम्मेलन आयोजना गर्न लागिएको हो । पर्यटकीय क्षेत्र आर्किटेक्चरल हिसाबले जति मजबुत हुन्छ, त्यतिनै पर्यटकीय सम्भावना बढ्ने हुनाले यसतर्फ सरकारको ध्यानआकृष्ट गर्न सम्मेलन सहयोगी हुने आयोजकको दावी रहेको छ । सम्मेलनले आर्किटेकटहरुको विगतको भूमिकाको समीक्षा गर्दै आगामी प्रयत्नलाई थप प्रभावकारी बनाउन सहयोग पु¥याउने सोनाकी अध्यक्ष अञ्जु मल्ल प्रधानले बताइन् । सम्मेलनमा शहरको परिकल्पना, विपद्पछिको संरचना र पर्यटकीय पूर्वाधारमा नयाँ मार्गप्रसस्त गर्न छुट्टाछुट्टै छलफल हुने सोनाका महासचिव खनालले जानकारी दिए । कम लागतमा नै संरचनालाई दीगो र बहुउपयोगी बनाउन आर्किटेक्टको भूमिका महत्वपूर्ण रहने भन्दै देशको पर्यटन विकासमा टेवा पुर्याउन सम्मेलनको आयोजना गरिएको खनालको दावी छ । शुक्रबारबाट सुरु हुने सम्मेलन दुईदिनसम्म चल्नेछ । सम्मेलनमा आर्किटेक्ट, व्यवसायी, सरकारी निकायका साथै नेपालका पर्यटन र निर्माणक्षेत्रसँग जोडिएका अग्रणी संस्थाहरुको समेत सहभागिता रहनेछ ।
किसान पाइप प्रडक्टस् टोलीले गर्याे जापानमा ७ दिने औद्योगिक भ्रमण
काठमाडौं । किसान पाइप प्रडक्ट स्प्रा.लि. र जापानको सेकिस्युइ कम्पनीको सहकार्यमा १२ जना नेपालीले जापानको औद्योगिक अवलोकन भ्रमण गरेका छन् । जापानको ख्याती प्राप्त अन्तर्राष्ट्रिय ब्राण्ड “डुरास्ट्रिम सीपीभीसी” उत्पादन गर्ने कम्पनी सेकिस्युइसँगको प्राविधिक साझेदारीमा किसान पाइप प्रडक्टस्ले नेपालमा किसान ब्राण्डको सीपीभीसी उत्पादन थालेपछि नेपाली टोलीजापानको औद्योगिक भ्रमणमा गएको हो । ७ दिन लामो अवलोकन भ्रमणमा उद्योग अवलोकन, डुरास्ट्रिम सीपीभीसी निर्माण गर्दा प्रयोग भएको प्रविधि, गुणस्तर कायम गर्न कम्पनीले अपनाएको विधि, ब्राण्डिङ, बजारिकरणबारे जानकारी लिएका थिए । नेपाली टोलीले डुरास्ट्रिम सीपीभीसीप्रडक्सन टिमसँग अन्तरक्रिया गरेको थियो । त्यस क्रममा सेकिस्यु इसीपीभीसी (स्पेसियालिटी प्रडक्टस्)जनरल म्यानेजर योरीताकायामा उचीले आफ्ना प्रडक्टको बारेमा जानकारी दिएका थिए। उनले सेकिस्युइ सीपीभीसी विश्वमा नम्बर वान सीपीभीसी कम्पाउण्ड म्यानुफ्याक्चरर कम्पनी कसरी बन्यो भनेर प्रस्तुतिकरण गरेका थिए । भ्रमणको क्रममा नेपाली टोलीले सेकिस्युइको लामो इतिहास झल्कने संग्रहालयको पनि अवलोकन गरेका थिए। किसान पाइप प्रडक्टस्को तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक अजयकुमार पाण्डेले किसान पाइप प्रडक्टस्को बारेमा प्रस्तुतिकरण गरेका थिए । नेपाली टोलीले जापानी टिमलाई ढाका टोपी, ढाकाको खादा लगाएर थान्का उपहार प्रदान गरेका थिए । जापानिजहरुले नेपाली पोशाक र नेपाली थान्कालाई निकै मन पराउने गर्दछन् । भ्रमण टोलीमा सहभागी डिलरहरुले जापान भ्रमण निकै फलदायी भएको बताएका छन् । जापानी उत्पादनहरु गुणस्तरीय हुन्छ भन्ने कुरा पहिलैदेखि सुनेको तर कसरी गुणस्तरीय सामान बनाउने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा बजारिकरण गर्ने बन्ने बारेमा महत्वपूर्ण सिकाइ भएको उनीहरुले बताएका छन् । महेन्द्र नगरका वितरक तेज खड्काले डुरास्ट्रिम सीपीभीसी बनाउँदा सेकिस्युइले प्रयोग गरेको प्रविधिनि कै राम्रो भएको बताए । उच्चस्तरको प्रविधिले डुरास्ट्रिमको ताप वहन क्षमता अरु पाइपको तुलनामा तीन गुणा बढी रहेको उनले बताए । राप्तीका वितरक सुमन श्रेष्ठ डुरास्ट्रिम ब्राण्ड साँच्चिकै सबैभन्दा उत्कृष्ठ ब्राण्ड रहेको महसुस भएको बताए । उच्चस्तरको प्रविधिको प्रयोगसहित गुणस्तरीय उत्पादनमा सेकिस्युइ र किसान प्रडक्टस्बीच साझेदारमा उत्पादन शुरु भएकोमा उनी निकै उत्साहित देखिन्छन् । पोखराका ज्ञानेश्वरराज श्रेष्ठ किसान प्रडक्टस्ले जापानको उत्कृष्ट कम्पनीसँग साझेदारी गरी गुणस्तरीय उत्पादन बजारमा ल्याएकोले नेपालमा किसान सीपीभीसीले उपभोक्ताको विश्वास छिट्टै जित्ने उनले बताए । अवलोकन भ्रमणपछि किसान पाइप प्रडक्टस्का उत्पादनको गुणस्तर उपभोक्तालाई बुझाउन सजिलो हुने उनको भनाई छ । भ्रमण टोलीमा किसान पाइप प्रडक्टस्का अध्यक्ष विष्णु प्रसाद पाण्डे, प्रबन्ध निर्देशक अजयकुमार पाण्डे, सञ्चालकहरु भीमलाल पौडेल र राजेन्द्र माडवारी सहित ८ जना किसानका डिलर प्रतिनिधि सहभागी थिए ।