यी हुन डब्लुएचओले लकडाउन हटाउन तोकेका ६ वटा सुचक, नेपालले पनि पुरा गरेर खोल्ला त ?

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रबन्ध निर्देशक टेड्रोस अधनोम घब्रेससले धेरै देशहरुले लकडाउनको चपेटाबाट बाहिर निश्कन चाहेको बताएका छन् । डब्लुएचओले तोकेका विभिन्न ६ ओटा सुचकहरु पुरा गरेर मात्रै लकडाउनको चपेटाबाट बाहिर निश्कन सकिने जानकारी दिएको छ । नेपालमा पनि लकडाउन भएको आज २८ दिन भइसकेको छ । डब्लुएचओको लकडाउन हटाउन यस्ता छन् ६ वटा सुचक –कोरोना भाईरस संक्रमणको फैलावट रोकेको हुनुपर्ने । –सार्वजनिक स्वास्थ्यमा विशेष ख्याल राखी यसको क्षमतामा विस्तार हुनुपर्ने । –आईसोलेसन, क्वारेन्टाइनलगायत प्रत्येक केशलाई ट्रेस गर्न सक्ने अस्पतालको क्षमता भएको हुनुपर्ने । –नर्सिङ होमलगायत संवेदनशिल क्षेत्रमा भाईरस फैलन सक्ने चुनौतिको सामना गर्न सक्ने अवस्था भएको हुनुपर्ने । –काम गर्ने स्थानमा सामाजिक दूरी र विभिन्न सरसफाईका सुचकहरु पुरा गरेको हुनुपर्ने । –विदेशी पर्यटक तथा बाहिरबाट आउने यात्रुहरुमार्फत आउने ईम्पोर्ट केशलाई नियन्त्रण तथा व्यवस्थापन गर्न सकिने क्षमता बनाउनुपर्ने, जनताहरुलाई यसको चुनौतिको घडी अन्त्य भएको अनुभव गराएको हुनुपर्ने।

काेराेनाकाे संक्रमण देखिएसँगै गुर्जाे खानेको संख्या ह्वात्तै बढ्याे, यस्ता रहेछन् फाइदा

काठमाडाैं । कोभिड-१९ संक्रमण देखिनुभन्दा पहिले फाट्टफुट्ट रुपमा प्रयोग हुने गुर्जाे अहिले धेरैले प्रयोग गर्न थालेका छन् । यसको प्रयोग बढ्न थालेपछि कैलालीको टीकापुर आसपासमा अभाव हुन थालेको छ । नर्सरीमा फालाफाल पाइने गुर्जाे यतिखेर अभाव हुन थालेपछि कतिपयले मूल्य तिरेर ल्याउन थालेका छन् । यहाँ उद्योगी, प्राध्यापक, स्वास्थ्यकर्मी र योगसाधकले मात्र नभई यतिखेर सर्वसाधारणले गुर्जाे खान थालेका छन् । कसैले दिनमा एकपटक त कसैले सांँझबिहान दुई पटक खाने गरेका छन् । गुर्जाे, मरीच, बेसार र अदुवा मिसाएर पकाइएको झोल खाने गरेको उनीहरुको भनाइ छ । ‘गुर्जाे, मरीच, घोडताप्रे र बेसार मिसाएर पकाइएको एक चिया गिलास झोल साँझबिहान खाइरहेको छु’, उद्योगपति सुरतबहादुर विष्टले भने- ‘गुर्जाेको झोल हाम्रो परिवारले एक वर्षदेखि खाइरहेको छ । हामीलाई फाइदा भएको महसुस भएको छ ।’ उनले आफ्नो प्रयोगका लागि बारीमा गुर्जाे रोपिएको बताए । ‘लकडाउनपछि गुर्जाे माग्न धेरै आउंँछन्, औषधि हो, सङ्कटका बेला दिनुपर्छ भनेर अलिअलि सबैलाई दिने गरेका छौँ’, विष्टले भने, ‘गुर्जाे खानेको संख्या ह्वात्तै बढेको छ ।’ गुर्जाे खोज्न महिलाहरु यतिखेर नर्सरीमा जाने गरेका छन् । ‘कोरोना भाइरस संक्रमणबाट बच्न गुर्जाे प्रमुख जडिबुटी हो भन्ने सुनेपछि हाम्रो टोलमा अधिकांशले गुर्जाे खान थालेका छन्’, स्थानीयवासी सीताकुमारी खनालले भने, ‘पहिले सजिलै पाइने गुर्जाे यतिखेर पाउन गाह्रो भएको छ ।’ गुर्जो कैलालीका सबैजसो सामुदायिक वन तथा नर्सरीमा पाइन्छ । ‘यो लहराजस्तै हुन्छ । गुर्जो जुनसुकै रुखमा लहराको रुपमा फैलिएको हुन्छ’, खनाल भन्छन्, ‘यसको टुक्रा माटामा गाडिदिए सजिलै उम्रन सक्छ ।’ पछिल्लो समय आयुर्वेद स्वास्थ्यकर्मीले पनि गुर्जाेको प्रयोग गर्न सुझाव दिन थालेका छन् । ‘मानिसमा प्रतिरोधात्मक शक्ति बढाउने भएकाले गुर्जाेको नियमित प्रयोगले लाभ मिल्छ’, टीकापुर आयुर्वेद अस्पतालका प्रमुख अशोककुमार मिश्रले भने, ‘सुत्केरीले बाहेक सबैले गुर्जाे प्रयोग गर्न सक्छन् । नेपालमा जहाँ पनि पाइने गुर्जाे जडिबुटीको रुपमा प्रयोग गर्ने बानी बसाल्न हो भने स्वस्थ रहन सकिन्छ ।’ भागीरथी पोलिक्लिनिक टीकापुरका आयुर्वेदिक चिकित्सक बमबहादुर सिंह नेपाली गुर्जोको नियमित सेवन गरेमा मधुमेह, उच्च रक्तचाप, थाइराईड भएका बिरामीलाई फाइदा गर्ने बताउँछन् । ‘प्रतिरोधात्मक शक्ति बढाउने भएकोले धेरैले सेवन गर्न थालेका छन्’, डा नेपाली भन्छन्, ‘गुर्जोसँगै अन्य औषधि पनि आवश्यक हुन्छ । यसको सेवनले घाटा भने गर्दैन ।’

लकडाउनमा तनाब बढ्यो ? कम गर्न यस्ता छन् विज्ञका ५ टिप्स

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोक्न विश्वभरका सरकारले लकडाउन गरेको कारण मानिसको सामान्य मानवीय गतिविधिलाई नै असामान्य बनाइ दिएको छ । हरेक दिन लाखौं संक्रमित भएको र हजारौं मरेको समाचारले धेरैको मन अत्तिएको छ । अहिलेको अवस्थामा घरमा बसेका धेरैले आफूलाई सुरक्षित महसुस गरेका छन् । किनभने यो रोगको एउटा मात्र बच्ने उपाय हो अरु मासिनसँगको शारीरिक दुरी । मानिसको थुकको छिट्टाबाट पनि सर्ने र हालसम्म कुनै पनि उपचार पत्ता नलागेको कारण मासिनहरु यो रोगसँग अत्तालिएका छन् । सारा दुनियाँ घरभित्र बस्दा फ्रन्ट लाइनमा बसेर ड्युटीमा खटिरहेको स्वास्थ्यकर्मी, सुरक्षाकर्मी होस वा अरु पेश व्यवसायका व्यक्तिहरु, उनीहरु सबैले आफूलाई सबैभन्दा धेरै असुरक्षित महसुस गरेका छन् । कोभिड–१९ को डरले धेरैले काम पनि त्यागेका छन् । तर अत्यावश्यक सेवामा संलग्न धेरैले काममा आउँदिन भनेर भन्न सकेका छैनन् । किनभने उनीहरुलाई अत्यावश्यक सेवा प्रवाह गर्नै पर्ने दायित्व छ । त्यस्ता अत्यावश्यक पेशामा संगलग्न धेरै व्यक्तिहरु अहिलेको अवस्थामा सबैभन्दा बढि तनावमा छन् । प्रस्तुत छ यस्ता अत्यावश्यक पेशामा संलग्न तथा घरमा बसिरहेका मानिसका लागि तनाव कम गर्ने उपाय के कस्ता हुन सक्छन् भनेर हामीले त्रिवि शिक्षण अस्पतालका मानसिक स्वास्थ्य विभाग प्रमुख मनोचिकित्सक प्राध्यापक डा. सरोज ओझासँग कुराकानी गरेर यो सामग्री तयार पारेका छौं । यो समय हरेक मानिसहरुको लागि एउटा निकै नै ठूलो चुनौती हो । त्यसमा पनि अत्यावश्यक सेवामा संलग्न जो कोहीको लागि यो समय निकै तनावपूर्ण रहेको छ । यो समयमा हामीलाई सबैभन्दा पहिला आफ्नो र आफ्नो परिवारको धेरै माया लागेको छ । तर, हामी कदापि नबिर्सौ कि हाम्रो यो सेवालाई इतिहासले पनि बिर्सने छैन । सारा संसार घरभित्र बसेको अवस्थामा हामीले गर्न पाएको पुण्यको कामलाई कसैले पनि चानचुने नसोचौं । सर्वप्रथम आफूले गरेको कामप्रति आफै गर्व गर्नुपर्छ । हामी आफूलाई सुरक्षित राख्दै अरुलाई पनि सुरक्षित राख्न सक्षम छौं । यो समयमा आफुमा भएको तनावलाई यसरी कम गर्न सकिन्छः १. सन्तुलित भोजन तनाव कम गर्नका लागि सबैभन्दा महत्वपूर्ण उपाय हो सन्तुलित भोजन । तपाईहरु धेरैलाई थाहा नहुन सक्छ तर सन्तुलित भोजनले तनावलाई कम गर्न निकै नै मद्दत गर्दछ । हामी हामीले खाएका खानेकुरा हौं । अर्थात हामी जस्तो खानेकुरा खान्छौं, हामी त्यस्तै बन्छौं भन्ने एउटा प्रख्यात भनाई रहेको छ । पर्याप्त पानी, फलफूल, स्वस्थ खानाले दिमागलाई शान्त राख्नको लागि धेरै मद्दत गर्दछ । यस्तो समयमा तनाव कम गर्न भन्दै रक्सी, सुर्ती, चुरोटको सेवनले झनै तनाव बढाउन सक्छ । त्यसैले सर्वप्रथम सन्तुलित आहारमा सबैभन्दा बढी ध्यान दिनुहोस् । २. शारीरिक व्यायम तनाव कम गर्ने अर्काे उपाय हो शारीरिक व्यायम । यसको लागि तपाईलाई घर बाहिरै गएर दौडिनु पर्छ भन्ने छैन । जिम जानुपर्छ भन्ने पनि होइन । तपाईले घरमा बिहानै उठेर घरभित्रै गीत बजाएर नाच्ने, बिहान समयमा उठ्ने, आफूलाई मन लागेको गीत सुन्दै मनपर्ने खानेकुरा बनाउने, घर सरसफाई गर्ने जस्ता काम गर्न सक्नुहुन्छ । यसलाई अन्य सामान्य दिन जस्तो सोचेर काममा जानुहोस् । काममा पनि सकेसम्म एकैठाउँमा लामो समयसँग नबस्नुहोस् । किनभने लामो समय एकैठाउँमा एउटै काम घोरिएर गर्दा झनै तनाव बढ्छ । ३. २४सैं घण्टा समाचारको पछि नदौडिनुहोस् अहिलेको अवस्थाको बारेमा जानकार भएको राम्रो हो । तर, जतिबेला पनि कति जनाको मृत्यु भयो, कति संक्रमित भए, नेपालमा कति जनामा कोरोना देखियो भन्ने जस्ता समाचारहरुबाट टाढा बस्नुहोस् । कार्यालयमा हुँदा पनि कोभिड–१९ को बाहेक अन्य कुरा गर्नुहोस् । साथीहरुसँग अन्य समयको भन्दा धेरै हाँसिमजाक गर्नुहोस् । एकअर्काेको आत्माबल बढाउने प्रयास गर्नुहोस् । ४. केही समय विश्राम गर्नुहोस् यदि तपाई काममा हुनुहुन्छ र धेरै तनाव महसुुस गरिरहनु भएको छ भने केही समय कानमा एयरफोन हालेर केही आनन्द लाग्ने धुनहरु सुन्नुहोस् । र, केही समय शान्त भएर बस्नुहोस् । आँखा बन्द गरेर लामो लामो सास फेर्नुहोस् । धेरै पानी पिउनुहोस् । अनि एकैपटकमा धेरै काम गर्ने प्रयास नगर्नुहोस् । ५. समयमा सुत्ने, उठ्ने गर्नुहोस् दिमागलाई स्थिर अवस्थामा राख्नलाई मद्दत गर्ने अर्को उपाय हो समयमा सुत्ने र समयमा उठ्ने । समयमा सुत्ने र उठ्ने बानीले तपाईलाई तनाव मुक्त हुने धेरै सहयोग गर्छ । एउटा तालिका बनाएर समयमा उठ्ने, खाने, रमाईलो गर्ने र समयमा सुत्ने बानी बसाल्नुहोस् ।