बालेनले भने : नारायणहिटी दरबार परिसरको पर्खाल छिटो भत्काउनु

काठमाडौं । काठमाडौं महानगरपालिकाले नारायणहिटी दरबार संग्रहालय परिसरको पर्खाल भत्काउनका लागि तोकेता गरेको छ । महानगरले बुधबार एक पत्र जारी गर्दै नेपाल ट्रष्टको कार्यालयलाई पर्खाल भत्काउनका लागि पुनः ताकेता गरेको हो । निर्माण मापदण्ड, २०७२ को दफा १३(१५) मा व्यवस्था भए बमोजिम १.२ मिटर अग्लो पर्खाल र सो माथि ०.६ मिटर अग्लो जाली राखी निर्माण गर्नु पर्ने व्यवस्था रहेकाले महानगरले उक्त संग्राहालय परिसरको पर्खाल भत्काउनका ताकेता गरेको छ । पत्रमा ‘काठमाडौं महानगरपालिका वडा नं १ स्थित श्री नारायणहिटी दरबार संग्रहालयको सीमा पर्खाल, वस्ती विकास सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ को दफा १३(१५) मा व्यवस्था भए बमोजिम १.२ मिटर अग्लो पर्खाल र सो माथि ०.६ मिटर अग्लो जाली राखी निर्माण गर्नुपर्ने व्यवस्था भएको हुँदा निर्मित संरचनामा सोही बमोजिम सुधार गर्नु हुन आग्रह गर्दछौँ,’ महानगरपालिको जारी पत्रमा उल्लेख छ । यसअघि महानगरपालिकाले पुस १३ गते पत्रद्वारा पर्खालको पुर्नसंरचना गर्न अनुरोध गरेको थियो । तर, सो कार्य हालसम्म गरेको नदेखिएकाले नारायणहिटी दरबार संग्रहालय परिसरको पर्खाल भत्काउन पुनः ताकेता पत्र लेखिएको महानगरका सहरी व्यवस्थापन विभागका प्रमुख अर्चना श्रेष्ठ (शाक्य) ले जानकारी दिइन् । हाल महानगरको नेतृत्व बालेन्द्र शाह (बालेन)ले गरिरहेका छन् ।

आजदेखि न्युरोड क्षेत्रमा सवारी पार्किङ निषेध

नयाँ सडकमा मोटर साइकल पार्क गरिदै । काठमाडौं । काठमाडौँ महानगरपालिकाले आज मङ्गलबारदेखि न्युरोड क्षेत्रको कालोपत्र सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ । महानगरले काठमाडौँ टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्युरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको हो । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले विकल्पमा काठमाडौँ टावरमा तीन सयवटा चारपाङ्ग्रे र सात सयवटा दुईपाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने जानकारी दिए । महानगर प्रहरी प्रमुख पाण्डेले भोलिदेखि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएको जानकारी दिए । उनले भने, “भोलिदेखि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएका छौँ । यसले सवारी आवागमनमा सहज बनाउने अपेक्षा गरेका छौँ ।” उनले धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीरअस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरिने बताए । यसअघि झोँछे क्षेत्रमा सवारी पार्किङ निषेध कार्यान्वयन गरिसकिएको छ ।

काठमाडौं महलका व्यवसायीको आरोप : महानगर प्रहरीले व्यवसायीमाथि हातपात गर्यो

काठमाडौं । काठमाडौं महलका व्यवसायीहरुले काठमाडौं महानगरपालिका अगाडि विरोध प्रदर्शन गरेका छन् । सोमबार उनीहरुले काठमाडौं महानगरपालिका अगाडि भेला भइ प्रदर्शन गरेका हुन् । व्यवसायीहरुले आफूहरु सञ्चयकोषको काठमाडौं महलको ग्राउण्ड फ्लोरमा व्यवसाय गर्दै आइरहेको र एक वर्ष अवधि हुँदा पनि आफूहरुलाई महानगरपालिकाले नगरप्रहरी लगाएर अपमान गरेको बताए । व्यवसायी श्रीधर पोखरेलले महानगरसँग गरेको सम्झौता सकिन एक वर्ष बाँकी रहँदै महानगरले बर्बरतापूर्वक व्यवसायीहरुलाई अपमान गरेको जानकारी दिए । उनले महानगरले अदालतको आदेश विपरित व्यवसायीहरुमाथि धरपकड गरेको बताए । त्यस्तै काठमाडौं महल सञ्चयकोष भवन व्यापार संघका अध्यक्ष मिलन घिमिरेले महानगरले व्यवसायीहरुलाई आतंककारी शैलीमा धरपकड गरेको बताए । महानगरपालिकाका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोलीले आफूहरुमाथि हातपात गरेको बताए । त्यस्तै अर्का व्यवसायी मुरारी कोईरालाले सञ्चयकोषको अन्तिम फ्लोरमा ७५ जना व्यवसायीहरु व्यवसाय गर्दै आइरहेको तर महानगरपालिकाले फ्टपाथ व्यापारीहरुलाई गरेको भन्दा बढी ज्यादती गरेको बताए उनीहरुले महानगर र सञ्चयकोषको द्वन्द्वका कारण व्यवसायी मर्कामा परेको बताए ।