युवा पलायन कम गर्न लोकसेवाको निःशुल्क तयारी कक्षा सञ्चालन गर्दै गाउँपालिका

भोजपुर । हतुवागढी गाउँपालिकाले लोकसेवा तथा शिक्षासेवा आयोगका परीक्षार्थीलाई लक्षित गरी स्थानीय स्तरमै निःशुल्क तयारी कक्षा सञ्चालन गरेको छ । गाउँपालिकाले यहाँका युवा जनशक्तिलाई आयोगको परीक्षा तयारीका लागि सहज होस् भन्ने उद्देश्यले कक्षा सञ्चालन सुरु गरेको हो । लोकसेवा र शिक्षकसेवा आयोगले लिने परीक्षा तयारीका लागि टाढा जानुपर्ने र धेरै शुल्क तिर्नुपर्ने बाध्यतालाई हटाउँदै स्थानीय स्तरमै निःशुल्क तयारी कक्षा सुरु गरेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । युवाहरुमा सिकाइ उपलब्धि बढाउँदै, मेहनती, प्रतिस्पर्धी र इमान्दार नागरिकका रुपमा स्थापित गराउने लक्ष्य समेत लिइएको उनको भनाइ छ । ‘युवायुवतीमा प्लस टु सकेपछि नै विदेश जाने प्रवृति छ । त्यसलाई कम गर्न तथा सरकारी सेवामा आकर्षण बढाउने उद्देश्यले निःशुल्क तयारी कक्षा सुरु गरिएको हो’, उनले भने । गाउँपालिकाले पाँच लाख रुपैयाँ रकम विनियोजन गरेर सञ्चालन गरेको हो । हाल तयारी कक्षामा ४६ जनाको परीक्षार्थीको सहभागिता छ । गाउँघरमै लोकसेवा तयारी कक्षा सञ्चालन भएपछि यहाँका युवायुवती खुसी भएका छन् । गाउँपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालन गरेपछि यसैका लागि काठमाडौंं, विराटनगरलगायत ठाउँमा जानुपर्ने बाध्यताको अन्त्य भएको तयारी कक्षामा सहभागी रामकुमारी राईले बताए । ‘गाउँपालिकाले सञ्चालन गरेको कक्षाले हामीलाई सहज भएको छ’, उनले भने, ‘गाउँपालिकामा नै कक्षा लिन पाउँदा खुसी लागेको छ  । यही लोकसेवा तयारी कक्षा सञ्चालन गरिएकोले हामीले धेरै खर्च गरेर काठमाडौं, विराटनगरलगायत ठाउँमा जानुपर्ने बाध्यता हटेको छ ।’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले तयारी कक्षा एक महिनासम्म सञ्चालन गरिने बताए । ‘सरकारी सेवामा प्रवेश गर्न सहजता थप्न तयारी कक्षा सञ्चालन गरेका हौँ’, उनले भने, ‘कक्षा सञ्चालनले उहाँहरुलाई निजामति तथा शिक्षा सेवाका क्षेत्रमा प्रवेश गर्न सहज हुन्छ भन्ने हाम्रो उद्देश्य हो ।’ गाउँपालिकाको सो योजनामा सीएससीआई एजुकेसन फाउन्डेसन दमकले सहजीकरण गरिरहेको छ । यसअघि विभिन्न गाउँपालिकामा पनि तयारी कक्षा सञ्चालन गरिरहेको फाउन्डेसनका प्रमुख राजु गौतमले बताए । एक महिनामा लोकसेवा तथा शिक्षासेवाका ६० वटा कक्षा सञ्चालन हुने उनको भनाइ छ । रासस

एकैपटक ४३ किसान पुरस्कृत

काठमाडौं । कृषि तथा पशु मेला प्रदर्शनीमा सहभागी ४३ किसानलाई पुरस्कृत तथा २९ किसानलाई सम्मान गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि ज्ञान केन्द्र खोटाङले संयुक्तरूपमा आयोजना गरेको कृषि तथा पशु मेला प्रदर्शनी कार्यक्रममा सहभागी किसानलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको हो । पुरस्कृत हुने किसानलाई पशुतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३ हजार, २ हजार ५ सय र २ हजार तथा बालीतर्फ प्रथम, द्वितीय र तृतीय हुने किसानलाई क्रमशः २ हजार ५ सय, २ हजार र १ हजार ५ सय नगदसहित प्रमाणपत्र प्रदान गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले जानकारी दिए । प्रदर्शनीमा १२० कृषि उपज राखिएको थियो । मेलामा कृषि उपजसँगै भैँसी, बाख्रा र भेडासमेत प्रदर्शनीमा राखिएको थियो । पुरस्कृत तथा सम्मानित हुने किसानलाई जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई र नगर उपप्रमुख विशन राईले मङ्गलबार संयुक्तरूपमा नगदसहित प्रमाणपत्र प्रदान गरेका थिए । दिक्तेलस्थित हाटडाँडामा आयोजित सो प्रदर्शनी करिब पाँच सय जनाले अवलोकन गरेको कृषि शाखा प्रमुख जैसीले जानकारी दिए । प्रदर्शनीमा फलफूल, तरकारी, दलहन तथा तेलहन, प्रशोधित कृषि उपज, राडीपाखी, छालाजुत्ता, ढाका कपडालगायत प्रदर्शनी कक्षमा राखिएको थियो । यही माघ १५ र १६ गते आयोजित कृषि तथा पशु मेला प्रदर्शनीमा विभिन्न विाद्यालयका विद्यार्थीले समेत अवलोकन गरेको जनाइएको छ । प्रदर्शनीमा नगरपालिकाभित्रका किसान समूह तथा किसानलाई मात्र सहभागिताका लागि अवसर दिइएको थियो । प्रदर्शनीले कृषि पेसाप्रति किसानको आकर्षण वृद्धि हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ । किसानलाई कृषि पेसाप्रति आकर्षित गर्ने उद्देश्यले जिल्लाका सबै स्थानीय तहले कृषि तथा पशु मेला प्रदर्शनी कार्यक्रम गर्दै आएको छ । दश स्थानीय तह रहेको जिल्लामा कृषि उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर निर्वाहमुखी कृषि प्रणालीलाई बिस्थापित गर्दै आधुनिक कृषि प्रणालीतर्फ आकर्षित गर्न सबै स्थानीय तहले नीति तथा कार्यक्रमसमेत बनाएर लागू गरेका छन् । जिल्लाका सबै स्थानीय स्थानीय तहले कृषिमा अनुदानको व्यवस्था गरेपनि पहुँचका व्यक्तिले मात्र सेवा लिने गरेको गुनासोसमेत आउन थालेका छन् । यद्यपि जिल्लामा पछिल्लो समय व्यावसायिक कृषि पेसा अपनाउने किसानको सङ्ख्या वृद्धि हुँदै गएको छ । वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देश पुगेर फर्किएका व्यक्ति सबैभन्दा बढी व्यावसायिक कृषि पेसामा लागेका छन् ।

बाँदर नियन्त्रणका लागि रूख काट्ने अभियानको विरोध

गण्डकी । बाँदर नियन्त्रणका लागि ‘मेरो रूख म काट्छु’ अभियान चलाउनेबारे पोखरा महानगरपालिका–१९ ले गरेको निर्णयको विरोध भएको छ । वडा कार्यालयले सोमबार सार्वजनिक सूचनामार्फत १० दिनभित्र घर वरपरका रूख कटान गरी बाँदर नियन्त्रण अभियानमा सहयोग पुर्याउन वडाबासीलाई सूचित गरेको थियो । वडाको उक्त निर्णय सार्वजनिक भएपछि वातावरणकर्मीलगायतले विरोध जनाएका हुन् । महानगरपालिकाका प्रमुख धनराज आचार्यले १९ नं वडाको रूख कटान गर्ने अभियानप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । स्थानीय सरकार सञ्चालन ऐनबमोजिम महानगरपालिकाबाट रूख कटानको कुनै निर्णय नभएको भन्दै सो कार्य नगर्न/नगराउन सेचत गराइएको उनले बताए । महानगरप्रमुख आचार्यले वडाले जारी गरेको उक्त सूचनाको भ्रममा नपर्नसमेत वडाबासीलाई अनुरोध गरेका छन् । वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले बाँदरबाट अति प्रभावित क्षेत्र लामाचौर र पुरुन्चौरमा बाँदर नियन्त्रणका लागि घर वरपरका रूख काट्न वडाबासीलाई सूचित गरेका थिए । वडाको उक्त सूचनाप्रति सामाजिक सञ्जालमा पनि टीकाटिप्पणी भइरहेको छ । रासस